शुक्रबार , जेठ २९, २०८३

आँधीखोला : दृष्टिविहिन बाआमालाई काँधमा बोकेका श्रवण कुमारको मूर्ति

परापूर्वकालदेखि नै प्रसिद्धि कमाएको यो खोलो स्याङजा जिल्लाको उत्तर पश्चिम क्षेत्रबाट सुरु भई स्याङ्जाकै मिर्मीमुनि पुगेर कालीगण्डकी नदीसँग मिसिन्छ ।

image

नेपालको गण्डकी अञ्चलअन्तर्गत पर्ने स्याङ्जा जिल्लाको प्रसिद्ध नदीको नाम आँधीखोला हो । उत्तरमा पञ्चासे क्षेत्र र पश्चिमतर्फ डहरेको लेकबाट सुरु भएर बग्ने यो नदी धेरै तल पुगेर कालीगण्डकीमा मिसिन्छ । परापूर्वकालदेखि नै प्रसिद्धि कमाएको यो खोलो स्याङजा जिल्लाको उत्तर पश्चिम क्षेत्रबाट सुरु भई स्याङ्जाकै मिर्मीमुनि पुगेर कालीगण्डकी नदीसँग मिसिन्छ ।

पौराणिक पात्र श्रवण कुमारको दृष्टिविहिन बाआमाको कथा:

वाङसिङ देउराली गा.वि.स. को घ्याङसिरीमा अवस्थित श्रवण कुमारको मन्दिरले ऐतिहासिक महत्व बोकेको छ । श्रवण कुमार हिन्दू धर्मको धार्मिक ग्रन्थ रामायणमा उल्लेखित एक पात्र हुन् । श्रवणकुमारलाई माता पिताका अतुलनीय भक्तका रूपमा मानिएको छ ।

किंवदन्ती अनुसार प्राचीन कालमा श्रवण कुमारले आफ्ना अन्धाअन्धी बाबुआमालाई खर्पनमा बोकेर तीर्थ गराउन विभिन्न ठाउँहरूमा डुलाउँथे । यसैक्रममा डहरे देउरालीमा आएर बाबुआमालाई एक ओडारमा राखी आफू पानी खोज्न जाँदा श्रवणकुमारको अचानक वाण लागि मृत्यु भयो । त्यसपछि अचनाक पुत्र शोकको सन्तापले जलेको हृदयबाट मूल फुटेर बगेको अन्धाअन्धीको आँसुले खोला बग्यो र त्यही आँसुका प्रतीकका रूपका नै यो आँधीखोलो बगेको छ ।

वाण कसले हान्यो भन्ने कुरामा यसप्रकारको युक्ति सुन्न पाइन्छ,

राजा दशरथका पालामा उनी शिकार खेल्दै आउँदा एकपटक त्यही घ्याङसिरी भन्ने ठाउँमा आएका थिए रे । शिकार खोज्ने क्रममा जङ्गलको नजिकै एउटा पानीको कुण्डमा मृगले पानी खान लागेको सम्झी बाण प्रहार गर्दा उनका भान्जा श्रवण कुमारलाई लागि उनको त्यही मृत्यु भयो ।

राजा दशरथले श्रवण कुमारका बाबुआमालाई निकै सम्झाउने प्रयास गर्दा पनि उनीहरूको मन फर्केन र उनलाई हामी दुई अन्धा अन्धीलाई जस्तै तिमीलाई पनि पुत्रशोक परोस भनी सराप दिएका थिए रे ।  त्यही श्रापका कारण राम वनवास जाँदा रामको वियोगमा दशरथको मृत्यु भएको थियो ।उनीहरूको आँसुले बगेको त्यो ‘सरापीखोला’ पछि आएर ‘सरादीखोला’ बन्यो भन्ने किंवदन्ती छ ।

यही ठाउँमा अहिले श्रवण कुमारको मन्दिर बनाएर प्रत्येक बालाचर्तुदशीमा सत्बीज छर्ने, भजन कीर्तन गर्ने, छेलो हान्ने एवम् विभिन्न प्रतियोगितात्मक खेल र मेला लाग्ने गर्दछ । पौराणिक कथाका कारण पोखरीको पानीको नुनिलो स्वाद मानिसको आँसुको जस्तै हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । यस क्षेत्रमा आफ्ना दृष्टिविहीन बाबुआमालाई दुईवटा टोकरीमा काँधमा बोकेका श्रवणकुमारको मूर्ति छ।

श्रवणकुमारको अन्धा-अन्धी बाआमाको मूर्ति, फोटो : चक्र भण्डारी

वर्षायाममा यो खोलो आफ्नो खहरेपनलाई बेसंहारले उर्लाउँदै निकै गडगडाउँछ अनि खेतीबालीका याममा किसानहरूलाई वारिपारि गर्न निकै कठीन बनाउँछ भने तन्नेरी मायालुलाई भेट हुन पनि अवरोध गर्छ । त्यसैले त्यही परिवेशलाई समेटेर अलापिएको प्राचीन लोकलय ‘आँधीखोला उर्लेर आयो, आउने थिन मायाले बोलायो’ आज पनि चर्चित छ ।


सन्दर्भ :
उपल्लो आँधीखोला क्षेत्रमा प्रचलित लोकगीतको अध्ययन- सृजना सापकोटा
ज्ञानपार्कडटकम, The Historical and Pilgrimage Site Andha-Andhi, सुस्मिता पौडेल

सम्बन्धित समाचार