शुक्रबार , मंग्सिर २३, २०७९

चोभार : सिद्धिपुर र श्री आदिनाथ लोकेश्वरको सन्दर्भ

चोभार अवस्थित मछिन्द्रनाथ अर्थात् आदिनाथ लोकेश्वरको कथा चाहिँ धेरै असिना पानी परेकोले सिद्धिपुरका बासिन्दाहरूले देउतालाई नै गोदावरी खोलामा फ्याँकेको कथा पाइन्छ ।

image

  • महेश्वर महर्जन

हामी सामान्यतः मछिन्द्रनाथ भन्ने बित्तिकै वर्षा र सहकालको देवता भनेर चिन्छौ ।  तर चोभार अवस्थित मछिन्द्रनाथ अर्थात् आदिनाथ लोकेश्वरको कथा चाहिँ धेरै असिना पानी परेकोले सिद्धिपुरका बासिन्दाहरूले देउतालाई नै गोदावरी खोलामा फ्याँकेको कथा पाइन्छ ।

चोभार तथा थसिका ज्येष्ठ नागरिकहरूको भनाई तथा जनश्रुति अनुसार धेरै वर्ष पहिले थसि अर्थात् ललितपुर अवस्थित सिद्धिपुरका बासिन्दाहरूले अति असिनाका कारण गोदावरी खोलामा फ्याँकेको श्री आदिनाथ खोला सँगसँगै बग्दा बग्दै कालान्तरमा उपत्यकालाई छोडेर जान मन नलागी चोभारको नख्खु खोलाको दोभानमा अड्किएर बसेको “नन्द ग्वा”ले देखेका थिए । चोभारको चौरमा गाई चराउँदै गरेका चोभारवासी “नन्द ग्वा “ले नख्खु खोलाको दोभानमा अड्किएर बसेको बच्चा अर्थात् श्री आदिनाथलाई बचाउन खोलामा गए । बच्चालाई समाउन खोज्दा उक्त बच्चाले “मलाई नछोऊ, मलाई नछोऊ” भनी कराउन थाले र नन्द ग्वालाई श्री आदिनाथले आफ्नो रूप दर्शन गराएका थिए । आदिनाथको दर्शन पाएपछि नन्द ग्वाले श्री आदिनाथलाई बिन्ती चढाए : ” प्रभु हाम्रो गाउँको वसुन्धरा मन्दिर विगत केही समयदेखि खाली रहेको छ, उक्त ठाउँमा प्रभु विराजमान भइदिनुस् ।“

नन्द ग्वाको बिन्तीलाई आदिनाथले स्वीकार गरे र नन्द ग्वा: खुसी हुँदै श्री आदिनाथलाई लिन म बाजागाजा लिएर आउँछु भनी गाउँ पसे । नन्द ग्वा:ले सबै गाउँवासीलाई खबर गर्दागर्दै फर्केर आउन ढिला भए । उता श्री आदिनाथ आफूलाई कहिले लिन आउँछ भन्दै नख्खु खोलाको दोभानबाट माथि चोभार डाँडाको गाउँतिर हेरि रहे । त्यही भएर हालसम्म पनि श्री आदिनाथ मूर्तिमा आँखा अलि माथि हेरिरहेको जस्तो देखिन्छ । नन्द ग्वा: विभिन्न बाजागाजाका साथ पहिलेको ठाउँमा आइ पुगे । तर पहिलाको ठाउँमा श्री आदिनाथले दर्शन दिनु भएन । यताउता चारैतिर सबैले आँखा लगाए तर कहीँ  भेटिएन ।  नन्द ग्वा: र पुरोहित बिच गन्थन हुन थाले । नन्द ग्वा:ले आफूले यतै देखेको हो भनी जिद्दी गर्न थाले । त्यसै बखत सोही ठाउँमा पुरोहित र नन्द ग्वालाई  श्री आदिनाथले दर्शन दिए । पुरोहितले श्री आदिनाथलाई देख्नासाथ खोलामा कलश थापे र श्री आदिनाथ त्यस कलश भित्र विराजमान भए । यसैको प्रतीक स्वरूप अहिले पनि कलश थाप्दा पानी बगेको पट्टी कलशको पछाडिको भाग पारेर थापिन्छ । हालसम्म पनि नख्खु खोलाको दोभानमा मेलाको बेला दाफा स्वां खन्याउने गरिन्छ ।

त्यस बेला श्री आदिनाथ स्वयं प्रकट भई भनेका थिए ” म सिपुर (सिद्धिपुर थसी) को देवता हुँ, मलाई परापूर्वकालदेखि नै थसिका नेकु खलक (नेम्कुल) मार्फत नित्य पूजा गरी आइरहेको हुनाले अबका दिनहरूमा पनि नित्य कर्म गर्दा नेम्कुल खलकबाट नै गरियोस् भन्दै आज्ञा दिए । गाउँवासीहरूले उक्त कुरामा सहमत भए र  विभिन्न बाजागाजा सहित सिन्दूर जात्रा गरी चोभारमा खाली रहेको श्री वसुन्धरा माजुको मन्दिरमा श्री आदिनाथको स्थापना गरे । थसी (सिद्धिपुर) का वासिन्दा मध्ये चार नेम्कुल खलकहरू नाङ्गो खुट्टाले सेतो वस्त्र लगाई कपाल मुन्डन गरी थसी (सिद्धिपुर) देखी चोभार सम्म हिँडेर पूजा गर्ने जाने चल्न हाल सम्म यथावत् नै छ । यसर्थ सिद्धिपुरको प्वं देवता नै हालको श्री आदिनाथ लोकेश्वर हुन् भन्ने जनविश्वास रहेको पाइन्छ ।

Tags:

सम्बन्धित समाचार