Photo by: Himal Darpan
एक वर्ष पहिले भृकुटीमण्डपमा बालबालिका खोजतलासमा इन्टर्नसिप गर्न आएका ट्रेनीहरूलाई सामाजिक कार्य र समाज कल्याणको बारेमा बुझाइरहेका बेला उनीसँग मेरो चिनजान भयो । उनको कुरा ध्यान दिएर सुन्ने ट्रेनीहरूमध्ये म पनि एक थिएँ । उनी त्यो समय बालबालिका खोजतलास सँगैको सरकारी संस्था राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव रहेछन् । उनका कुराहरू सुनिसकेपछि यस्तो सकारात्मक सोच भएको मान्छेको कथा के रहेछ भन्ने लागिरह्यो । त्यही एक किसिमको जिज्ञासाले मलाई तीनकुनेको एप्पल स्कुल पुर्यायो र मैले पुनः एकपटक उनलाई भेट्ने मौका पाएँ ।
को हुन् त उनी?
उनको नाम यमनाथ मैनाली । उसो त उनी आफ्नो नाम एम (Aim) लेख्दा रहेछन् । कलेज पढ्दा साथीहरूले ‘एम’ भन्दा भन्दै उनले आफ्नो नाम एम(Aim) राखेको बताउने उनी पेसाले शिक्षक हुन् । उनी अहिले तीनकुनेस्थित एप्पल स्कुलका मालिक हुन् । यहाँ कसरी आइपुग्नु भयो भन्ने प्रश्नमा उनी मुस्कुराउँदै भन्छन्, `मैले लाइफलाई धेरै सिरियस लिँदैन थिएँ, जे हुन्छ हुँदै जान्छ भन्ने सोच्थेँ, जसरी कुनै पनि नदी बग्ने गर्छ वा बतास नै भनौँ । जीवन यसरी बिना योजना नै प्राकृतिक चलिरहेको थियो । प्लस टु साइन्स पढिरहेको थिएँ, त्यो समय एसएलसीमा राम्रो नम्बर ल्याउनेले साइन्स पढ्ने ट्रेन्ड नै थियो भन्दा नि भयो । प्लस टु पछि बि.एस.सी. पनि राम्रो नम्बर ल्याएर सकियो । त्यो समय एम.एस.सी. पढ्नको लागि टि.यु मा नब्बे जनाको कोटा थियो । म नब्बे जनामा परेँ । एम.एस.सीमा केमेस्ट्री पढ्ने निधो भएको थियो । केमेस्ट्री भन्ने बित्तिकै ल्याब वर्क, रिसर्च हुन्छ । पढाइ राम्रो भइरहेको थियो । पहिलो वर्षमा 73.6% आयो । दोस्रो वर्षमा केमेस्ट्रीमा तीन वटा विषयमध्ये एउटा रोज्नु पर्थ्यो, अर्ग्यानिक, इनअर्गानिक र फिजिकल । मैले अर्ग्यानिक पढ्ने निधो गरेँ । त्यो समय अर्ग्यानिक पढ्नेहरू अलि बढी प्रायोरिटीमा पर्ने गर्दथे । पहिलो वर्षमा राम्रो नम्बर ल्याउने दश जनाले दोस्रो वर्षमा प्रोफेसरको अन्डरमा रिसर्च गर्न पनि पाउँथे । भाग्यवश, त्यसमा एउटा म पनि परेँ ।
कलेजमा प्राय सिनियरहरूसँग म कुराकानी गर्दा सोधिरहन्थे `मास्टर्स सकिनै लाग्यो है दाइ/दिदी? रमाइलो लाग्छ होला है?´अब के गर्ने सोचमा हुनुहुन्छ? तर, उनीहरू निराश हुँदै भन्थे, ‘अन्तिम परीक्षा सकिएको दिन रातभरि निन्द्रा लागेन, किनकि अहिलेसम्म त एउटा एउटा कारण थियो जीवनलाई अगाडि लाने । अब कारण नै छैन अब के गर्ने? घरमा प्रेसर हुन्छ । यति उमेर भयो जागिर छैन भन्ने हुन्छ ।´
हुन पनि डिग्री पढ्ने सपना ठू……लो हुन्थ्यो र त्यो भन्दा पनि ठू……लो प्रश्न हुन्थ्यो डिग्री पछि के गर्ने? यो कुराले मलाई एकदमै नराम्रो लागेको थियो । मलाई पनि लाग्यो हामी पनि यो पढाइ सकेर हदै गर्ने भनेको पढाउन जाने त होला नि! यी ९० जना नै पढाउन जाने होलान् । हामीलाई जागिर कसले दिने होला? पहिलेदेखि पढाइरहेका पनि होलान् । हुन त त्यो समय केमेस्ट्री पढ्नेहरू बाहिर जाने ट्रेन्ड पनि थियो । साथीहरूसहित हामी परीक्षाको तयारीमा जुटेका थियौँ । पिएचडी गर्न बाहिर जाने प्लान पनि बनिरहेको थियो । त्यही समय कात्तिक महिनातिर एउटा स्कुल बिक्री भन्ने मैले थाहा पाएँ । अनि सिनियरहरूको कुराले पनि मनमा ‘यत्रो पढियो, यसको उपयोग त गर्नैपर्छ’ भन्ने लागिरहेको थियो।’
कसरी खुल्यो स्कुल?
पुराना दिनहरूलाई सम्झिरहेका उनी मलाई अझै पछाडि लिएर जान्छन्, ‘खासमा हामी पाँच भाइ । सबैजना खुब पढ्ने । पढ्नुपर्छ भन्ने मानसिकता सानैदेखि हामीमा रहेछ । म पाँचमध्ये कान्छो हुँ । सबै दाइहरूले माया गर्नुहुन्थ्यो । के छ, के छैन, के चाहिएको छ दाइहरूले सबै हेर्नुहुन्थ्यो । दाइहरूको छत्रछायाँमा हुर्किएको मैले पनि निकै सानैदेखि आफूभन्दा साना भाइबहिनी (मामा-फुपूका छोरा-छोरी)लाई दाइहरूले आफूलाई गरेजस्तै गर्न खोज्थेँ । पढाइमा नजानेका कुराहरू सिकाइदिने, पढ्नुपर्छ ठूलो मान्छे बन्नुपर्छ भनेर सम्झाउने अनि स्वभाव अनुसारकै हाँसो ठट्टामा रमाइलो पनि गराइरहन्थे । यसो गर्दा पाँच भाइमध्येको कान्छो ‘म’ पनि धेरैको ‘दाइ’ हुन पाउँथेँ । नभन्दै रमाइलो गर्दै पढाइमा नजानेको सिकाइदिँदै जाँदा पढाइमा कमजोर भनिएका भाइबहिनीहरूको पढाइ सुध्रिँदै जान थालेको रिपोर्ट आउन थाल्यो ।
त्यसपछि, मामाघरतिरबाट मात्रै नभएर टोलभरिबाटै एमले हाम्रा बाबु नानीहरूलाई पनि पढाइदिनु पर्यो भनेर प्रस्ताव आउन थाल्यो । यो काम गर्दा आफूलाई रमाइलो पनि लाग्ने र अझै पैसा पनि कमाइने भनेपछि त्यतिबेलाको फुच्चे ‘म’ तयार नहुने कुरै भएन । मैले होम ट्युसनमा हात हालेँ र स्कुल खोल्ने बेलासम्म त्यसलाई निरन्तरता दिइरहेँ । त्यसरी म ‘दाइ’ हुन खोज्दाखोज्दै ‘शिक्षक’ भइसकेको रहेछु ।’
यो कुरालाई पुनः स्कुल सञ्चालनको कुरासँग जोड्दै उनी भन्छन्, ‘होम ट्युसन पढाएरै पब्लिकसँग एक किसिमको सम्बन्ध बनिसकेको थियो । त्यसैले, आफै स्कुल खोलियो भने केही विद्यार्थी ल्याउन सकिन्छ भन्ने आशा थियो । त्यही हिसाबले एप्पल स्कुल सुरु भयो ।´
नाम किन एप्पल?
उनी थोरै रोकिए, छेउमा भएको पानीको बोतल समाए र बिर्को खोल्दै भने, ‘बेला बेला ज्यानलाई वाटर ब्रेक पनि दिनुपर्छ । हेल्थका लागि राम्रो हो । तपाईँ पनि पिउनुस् है ।’ त्यसो भन्दै उनले पानी पिए ।
यसरी हेल्थको केयर गर्ने एप्पलका मालिक भन्छन्, `एप्पल´ वर्डसँग एकदमै हेल्थी कोटेसनहरू जोडिएका छन् । त्यसैले स्कुलको नाम एप्पल राखियो ।वान एप्पल अ डे, किप्स डक्टर अवे त पपुलर नै भइहाल्यो ।’ थोरै हाँसेर उनी थप्छन्, ‘तर, त्यति मात्रै होइन । मलाई के लाग्छ भने, स्वास्थ्य सँगसँगै शिक्षा पनि हेल्दी हुन जरुरी छ ।’
हेल्थसँग एप्पल नसोचेको तरिकाले पनि जोडियो!
रोचक शैलीमा कुरा गर्ने उनी भन्दै गए, ‘हामीले २०६७ साल, माघमा स्कुल किन्यौँ । यही स्कुलका पुरानो ३५/४० विद्यार्थी थिए तर त्यतिले त स्कुल चल्दैन भन्ने सोचेर हामीले ठुलै भर्नाको क्याम्पहरू चलायौँ । चैतको बेला थियो, सबैले भर्ना खुल्यो भर्ना खुल्यो भनेर विज्ञापन गर्ने हुनाले हामीले पनि गर्न लाग्यौँ । ब्यानरहरू टाँस्दै हिँड्न लाग्यौँ । शनिवारको दिन ब्यानर झुन्ड्याउने क्रममा पेप्सिकोला चोकमा लोकेसन राम्रो लागेर ब्यानर त्यहाँ झुन्ड्याउने कुरा भयो । ब्यानर राम्रो ठाउँमा झुन्डियो, नयाँ कामको थालनीमा लागिपरेर हिँडेका हामी सबैजना खुसी भयौँ । खुसी त भइयो तर पुनः विचार गरेर यसो हेर्दा देखेँ कि त्यहाँ त मेन ट्रान्सफर्मर रहेछ । मान्छेको नजर पर्ने ठाउँ खोज्दै ब्यानर झुन्ड्याइरहँदा ट्रान्सफर्मरतिर त नजर नै पुगेनछ । देखेपछि, यो गलत ठाउँ हो भन्ने सोचेर म आफै चढेर पोलबाट त्यो ब्यानर निकाल्दै गर्दा एक्कासि नआउनुपर्ने मानिएको बत्ती आइदियो र मलाई करेन्ट लाग्यो ।’
यस्तो पीडादायक कुरा सम्झिँदा पनि रोचक तरिकाले उनी भन्न भ्याउँछन्, ‘न आउनुपर्ने भनिएको बत्ती आइदिँदा करेन्ट लाग्यो तर अब ढल्नुपर्ने मानिएको म भने म ढलेनछु ।’ हाँस्दै उनले यसो भनेपछि रसाइसकेको आँखा पनि थामिन पुग्छ र मलाई त्यस घटनाबारे थप कुरा सोध्न साहस जुट्छ । मेरो प्रश्नमा जवाफिँदै उनी भन्छन्, ‘त्यो समय १८ घण्टा लोडसेडिङ हुने गर्थ्यो । २०६७ सालको चैन १९ गते शनिवारको दिन थियो । त्यस दिन बत्ती आउने पालो साँझको ६ बजेको भएको जानकारी राखेर नै म त्यो ब्यानरलाई गलत ठाउँमा नराखौँ भनेर निकाल्नका लागि चढेको थिएँ । तर, त्यही दिन इन्डिया र पाकिस्तानको फाइनल म्याच रहेछ । प्राधिकरणले त्यही प्रेसरले बत्ती छिटो छोडेको रहेछ । ठ्याक्कै, ३:१२ भएको थियो म ओर्लिन खोज्दा अचानक बत्ती आउनु, त्यही पोलमा करेन्ट लिकेज हुनु एउटा संयोगका कारण यो दुर्घटना हुन पुग्यो । एघार हजार भोल्टेज करेन्टको एक झट्काले मेरो जीवन अर्कै हुन पुग्यो ।´
यो भनिरहँदा उनी कमजोर थिएनन् । उनको आवाज एकदमै बलियो थियो । उनी उसैगरी भन्दै जान्छन्, `कानमा एउटा आवाज आएको थियो, त्यसपछि म भुईँमा पछारिएछु । मेरा वरिपरि मान्छेहरू झुम्मिएछन् । टाउको फुटेको रहेछ, घुँडाहरूमा चोट लागेछ, हात जलिरहेको रहेछ, दुई तीन वटा औँला नै रहेनछन् । त्यो अवस्थामा मलाई देख्नेहरूलाई म बाँच्छु भन्ने नै रहेनछ । एघार हजार भोल्टेजको झट्काले मस्तिष्क एकैछिन रन्काए पनि एकैछिनमा मलाई मेरो स्थिति राम्रोसँग थाहा भयो र म आफै उठेर ट्याक्सी खोज्न लगाएँ । ट्याक्सीमा बसेँ र एकजना साथीलाई एकजना मसँग हिँड्न भनेँ । तर, दुई जना मसँगै हिँड्नु भयो । मलाई त्यही समय लाग्यो त्यो दुर्घटना आफ्नै गल्तीले भएको हो भन्ने त्यसैकारण, मैले त्यही समयमा त्यो ब्यानर हटाइदिन साथीहरूलाई आग्रह गरेँ ।
ट्याक्सीलाई मैले सिधै सबैभन्दा नजिकै पर्ने कान्तिपुर हस्पिटल लैजान भनेँ । भाग्यवश, ड्राइभरलाई हस्पिटल जाने छोटो बाटो थाहा रहेछ र जाममा नफसी हामी हस्पिटल पुग्यौँ । हस्पिटल पुग्दासम्म साथीहरू डराइसक्नु भएको थियो । हस्पिटल पुगेर मैले डाक्टरलाई भनेँ, ‘यहाँसम्म म आफ्नो हिम्मतले आइपुगेँ । अब मेरो जिन्दगी तपाईंको हातमा छ, मेरो दाइ पनि डाक्टर हुनुहुन्छ मलाई के के भएको छ उहाँलाई रिपोर्टिङ गरिदिनु वहाँ काठमाडौँ आउँदै हुनुहुन्छ ।’ यति भनेर मैले दाइलाई फोन गर्न लगाएँ र कुरा गरेँ ।
कुराकानीमा मैले दाइलाई भनेको थिएँ, ‘सायद मेरो हात फाल्नुपर्छ होला ।’ दाइ त्यो समय तेह्रथुममा हुनुहुन्थ्यो । भाग्यवश त्यही हस्पिटलमा दाइको साथी पनि हुनुहुँदो रहेछ । उहाँले पनि मलाई आएर हेर्नू भयो र स्थिति ठिक नदेखेर वीर अस्पताल लैजान भन्नुभयो । वीर अस्पतालले सुरुमा भर्ना लिन मानेन । नेपालका अस्पतालहरूमा दुर्घटनाको उपचारको लामो प्रोसेस छ । वीरमा आइसियु सिसियु पनि खाली रहेनछ । त्यही समय मैले त्यहाँ मेरो किड्नी जतिबेला पनि खराब हुनसक्ने भन्ने कुरा सुनेँ । त्यही भएर ७२ घण्टा एकदमै ख्याल गर्नुपर्ने भन्ने सुनेँ । बल्लतल्ल वीरमै सिसियुमा बेड मिल्यो । टाउकोको चोटको लागि सिटी स्क्यान गर्नुपर्ने भयो तर त्यहाँ सिटी स्क्यान हुँदैन थियो, त्यहाँबाट मोडल हस्पिटल लिएर आएर सिटी स्क्यान गरेको मलाई अलिअलि याद छ । एम्बुलेन्स हिँडेको हिँड्यै छ, मलाई कहिले यता कहिले उता सारिरहेको मैले अलिअलि सबै चाल पाइरहेकै थिएँ । सायद, त्यतिबेला पनि म सेमी कन्सियस थिएँ ।
‘यम’लाई ‘एम’ले कसरी जित्यो?
हात फ्याल्नैपर्छ भन्ने कुरा मैले घटनास्थलमा भइरहेकै समयमै बुझिसकेको थिएँ । त्यसैले मैले आफूलाई कमजोर बनाइनँ । मलाई त्यतिबेलै थाहा भयो म ‘यम’ बाट ‘एम’ किन भएको रहेछु । त्यो दुर्घटना मेरो जीवनको सर्वाधिक कष्टकर क्षण थियो । त्यतिबेला, जीवन र मृत्युसँग जुधिरहँदा मलाई लाग्यो ‘यम’ अर्थात् ‘यमराज’लाई पनि पनि जित्ने त ‘एम’ अर्थात् ‘AIM’ नै रहेछ । मैले जसै यो समस्यासँग जुध्छु, बाँच्छु र थालेको काम पूरा गर्छु भन्ने लक्ष्य लिएँ ।
वास्तवमै, अब म भोलि कसरी के गर्न सक्छु होला भन्ने चिन्तातिर नलागी म डाक्टरहरूसँग कुराकानी गरिरहेको थिएँ । त्यो समय अस्पतालमा मलाई धेरै राजनैतिक मान्छेहरू, साथीहरू,भेट्न आउनु भएको थियो । मेरो हिम्मत देखेर त्यही समय ‘धेरै अचम्म भयौँ’ भनेर पनि जानुभयो । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पनि मलाई भेट्न आउनु भएको थियो । उहाँले कुनै अरू देश लगेर उपचार गरेर हात नकाट्न मिल्दैन? भनेर डाक्टरहरूसँग सोध्नुभएको थियो । तर हात काट्नु नै अन्तिम विकल्प थियो ।
त्यही समय मेरो परीक्षा पनि नजिकिँदै थियो । मैले डाक्टरहरूको कुरा सुनेँ, उहाँहरूले भन्नुभयो `केमेस्ट्रीको विद्यार्थी, परीक्षा आएको छ हात काट्नुपर्ने स्थिति आएको छ तर, अरू विकल्प केही छैन । भोलि उसलाई मानसिक असर कस्तो पर्ला? डाक्टरहरूको धर्म सङ्कट अवस्था बुझेर मैले त्यो समय वहाँहरूलाई म मानसिक रूपमा तयार छु भनेपछि हात काट्ने काम अघि बढ्यो । पहिलो सर्जरी पछि मानसिक रूपमा तयार भए पनि बानी पर्न समय लाग्यो । तीन महिनाको अस्पताल बसाइँ र पटक-पटकको सर्जरी । यी सबै कुराहरू मैले चुपचाप फेस गरेँ ।
खासमा कुममा सानो चोक्टा बच्यो भने पनि पछि जोड्न सक्ने स्थिति हुन्छ भनेर टिचिङ हस्पिटल लगेर प्लास्टिक सर्जरी गरेर ढाडको मासु ल्याएर पनि राखियो । ‘सास हुन्जेल आस हुन्छ’ भन्ने बुढापाकाहरूको उखान यो, कहिल्यै बुढो नहुँदो रहेछ ।
हस्पिटलको बाँस त चलिरहेको थियो तर अब त्यहाँबाट निस्केर के गर्ने? परीक्षा नजिकिँदै थियो । अरू विषय भएको भए साथीहरूलाई लेख्न लगाउन हुन्थ्यो, वर्षौँको मिहेनत खेर जान दिनु थिएन । तर, केमेस्ट्री सिम्बोलिक हुन्छ, फर्मुलाका कुरा हुन्छन् । त्यहिमाथि आर्गनिक केमेस्ट्री त झन् बढी सिम्बोलिक हुने! कसैलाई लेखाउन सकिँदैन भन्ने बोध हुनासाथै मैले हस्पिटल बसाइँको क्रममै देब्रे हातले लेख्न सिक्न थालेँ । मेरो हिम्मत देखेर घर-परिवारलाई पनि सहज हुन थाल्यो । ‘रुँदै भेट्न आउनेहरूलाई म हँसाउँदै फर्काउने गर्थेँ ।’ उनले यो पनि हाँसेरै भने ।
त्यही समय एउटा समाचार आयो । मैले इन्स्पेक्टरमा परीक्षा दिएको थिएँ । नाम निस्किएछ, मौखिक परीक्षामा जानुपर्ने भयो । म इन्टरभ्यूमा जान्छु भन्ने सोचेँ, त्यसका लागि केही समय बाँकी थियो । देब्रे हातले लेख्न सिकिरहेको बेला अस्पतालका नर्सहरूको टर्म पेपरहरू बनाउनु पर्ने हुँदा उहाँहरू मलाई सोध्नु हुन्थ्यो म देब्रे हातले लेख्दिन्थे सिकाइदिन्थेँ । अस्पतालमा पनि मैले आफूले जानेका कुरा सिकाउन छोडिनँ । मैले सिकाएको कुरा उनीहरूलाई काम लागिरहेको छ भन्ने कुराले पनि म आफैलाई मोटिभेट गर्थेँ ।
अस्पताल हुँदा स्कुलको चिन्ता लागिरहन्थ्यो । मेरो नाम लिएर, मेरै योजनाको आधारमा स्कुल खोलिएको तर स्कुलमा म नै थिइनँ ।त्यसपछि केही दिनपछि इन्स्पेक्टरको इन्टरभ्यूमा म गएँ । उनीहरूले मलाई देख्ने बित्तिकै ‘सरी ! हाम्रो नियममा यस्तो छैन, तपाईँ अपाङ्ग हुनुहुँदो रहेछ ।’ भने । मैले भने, ‘मैले आफूलाई अपाङ्ग मानेको छैन तपाईँले कसरी मान्नु भयो?´ त्यही हातले लेखेर मेरो नाम निस्कियो । त्यही हात अहिले पो छैन त त्यही हातले पो लेख्न नसकुँला तर लेख्नै त नसक्ने होइन नि । उहाँहरू कानुनतिर जान थाल्नु भयो र अन्य कुनै क्षेत्रमा एडजस्ट गराउन सकिन्छ भनेर विकल्प खोज्नतिर लाग्नुभयो । तर म त्यहाँ जागिर नै खान नपाएर त म पुगेको थिइनँ । आफ्नो पढाइको क्षेत्र र रुचिको क्षेत्र भएकोले नाम निकालेर, बोलाइएकाले पुगेको थिएँ । तर, त्यहाँको वातावरण र सोच नै सपाङ्ग नदेखेर मैले आफूलाई लागेको कुरा भनेँ, ‘आफै स्कुल खोलेर जागिर दिइरहेको छु । जागिरको लागि म यहाँ आएको होइन । तर ‘रिसर्च’ मलाई मनपर्ने फिल्ड भएको कारणले आएको हुँ । तपाईँहरूले मेरो लागि अन्य विकल्प सोच्न जरुरी छैन ।’ यति भनेर उतिखेरै देब्रे हातले नै मन्जुरीनामा लेखेर म फर्किएँ ।