बुधबार , जेठ ३०, २०८१

थोत्रो कन्तुरमा सङ्गालेको ‘जङ्गबहादुर बाजे’को सम्झना

image

कालुपाण्डे राजमार्गबाट एक घण्टाको उकालो चढेपछि भेटिन्छ, जङ्गबहादुर राणाको प्रेमिक सहयोगमा बनेको सुन्दर कलात्मक दरबार, जहाँ जीवित छ जङ्बहादुर र उसका स्मृतिका अलोकहरु ।

मान्छेका सपना र सपनाले सङ्गाल्ने अभिप्साहरु पनि अनौठा-अनौठा नै हुन्छन्  र जिउँदा हुन्छन् पुर्खाप्रतिका बिम्झनाहरु पनि । यस्तै बिम्झना सँगालेर बाँचिरहेका छन्, नलाङ आवृ (आप्री)का दागजुंग शाह । जसका कुन्तुरमा अहिले पनि जंगबहादुर र उनकी श्रीमती दीव्यराज्यक्ष्मीदेवीका तस्वीरहरु सुरक्षित छन् ।

दागजुंग जसले यही दरबार र यही बाटोका आसपास जीवनका ८७ वसन्त भन्दा धेरै गुजारेका छन् र बाल्यकालमा हनुमानढोका त्यसका आसपासमा आफ्ना पुर्खाले गरेका रजगजका कथा सुनेर सुनाएर पनि  त्यसैको स्वादमा बाँचिरहेका छन् । अहिले पनि उनी आफूलाई भेट्न आउनेहरुलाई आफ्ना पुर्खाका गौरव , आफ्ना स्वप्नील बाल्यकालको कथा यसरी सुनाउँछन् कि मानौ उनी अहिले पनि १६ वर्षे तन्नेरी नै हुन् ।

दागजुंग शाहका पुर्खाहरु जुम्लेली खसहरु हुन् । उनीहरु त्यहाँ खेतीपाती नै गरेर बसेका थिए । उनका पुर्खाहरु मध्ये केही जंगबहादुर राणाका दरबारमा सिपाही थिए र उनले जङ्गबहादुरको मन लगाएर सेवा पनि गरेका थिए । जङ्गबहादुरकी साहिली रानीकी ठाँहिली मैया (छोरी)को विवाह गर्ने बेला भएपछि तिनै विश्वासिला सेवकसँग भने ‘मेरी ठाहिँली मैयाको विवाह गर्ने बेला भयो । कुनै उपयुक्त ठकुरी वर देखेको छस् भने भन् ।’ उनले भने, “महाराज रिसानी हुन्न भन्ने मर्जी भयो भने भन्छु । निकै लायक र खाइलाग्दो पनि छ । उसले हजुरकी मैसाबलाई खुशी पनि राख्छ ।”

सिपाहीको कुरा सुनेपछि जङ्गबहादुरले भन्छ, “भन् म विवाह गरिदिन तयार छु ।”

सिपाहीले जङ्गबहादुरको कुरा सुनेपछि भन्यो, “महाराज घोडसबार र शिकारमा सहयोग गर्न सक्छ । मेरै छोरा पनि ठकुरी नै हो । के बक्सन तयार हुनुहुन्छ त ?”

जङ्गबहादुरले वचनमा हारिसकेको थियो र उसले युवकलाई जुम्लाबाट झिकाएर छोरीको विवाह गरिदियो । विवाह मात्रै गरेन कि भक्तपुर  कटुञ्जे  र गुण्डुमा ५० रोपनी, नुवाकोटमा ५० रोपनी ,बेनिघाटमा ३०० मुरी र नलाङ आवृमा पनि उति नै जग्गा बिर्तामा दिएका थिए ।

आप्री दरबार

बिर्ताहरु प्रशस्त भएकैले उनीहरुको रजगज रोविलो थियो । कुत उठाएर खान्थे । भक्तपुरको गुण्डु कटुञ्जे ,बेनिघाट हर्कपुर,नुवाकोट र नलाङमा राम्रै बिर्ताहरु थिए । यहाँ नलाङमा गुरुङ्हरु हाम्रो कुत उठाउने मुखिया (द्वारे) थिए ।

‘यताका कुमाइ (उनकै भाषामा)हरु उत्पात जण्ड थिए  र तिनले सर्वसाधारणलाई हेप्ने चेप्ने र अन्यायमा परेका उजुरी हाम्रा जिजुलाई वीरबल द्वारेले गरे । उनले हाम्रा जिजुलाई बिन्ति बिसाएका थिए कि महाराज हजुरको बसोबास नलाङ् आवृमा हुनुपर्यो । हाम्रा प्रजाहरु अन्यायमा परे । हजुरले दरबार उतै बनाउनु पर्यो, नभए म कुत उठाउन सक्दिनँ ।” द्वारेले यसो भनेपछि मात्रै वि सं १९४७ मा यो दरबार बनेको हो । यहाँ सलाङ् पाखाको बाबियोले छाउने चलन थियो र बाबियो पनि करको रुपमा ल्याइदिने प्रचलन थियो ।

दागजुंगले हामी (राजु झल्लु प्रसाद साथमा थिए)लाई एक सासमा बताए र आफ्ना कन्तुरमा भएको जङ्वहादुर राणा र उनकी श्रीमती दीव्येश्वरीको फोटो पनि देखाए ।

‘अहिले विर्ताको के अवस्था छ ?’ हामीले सोधीखोजी पनि गरेका थियौँ ।
उनको अनुहारमा अलिकति आवेग पनि थियो । भित्र भित्र रोष र आवेक बाहिरबाट प्रष्ट देखिन्थ्यो पनि । “तपाइँहरू पनि काँग्रेस, कम्युािष्ट, माओवादी के के जाति होला नि ?” उनको जिज्ञाशा थियो ।
“हामी त्यस्तो केही होइनौं । खाली लेख्नेमान्छे मात्रै ।’

हामीले उत्तर मात्रै के दिएका थियौं उनी अलि जङ्गिए । “किन नहुनु ? यस्तै मान्छेहरुले हामीलाई पनि बिगारे  र देश पनि भाँडिछाडे । कोही अनुशासनमा छैनन् । कसैले कसैलाई मान्दैनन् ।” उनी जनताहरुले आफ्नो मर्यादा गर्न छाडेको गुनासो हामीतिर पोख्दै थिए ।

“उहिले हाम्रा पिता पुर्खाको शान शौकत कति थियो ? म आफैंले भक्तपुर कटुञ्जे र गुण्डुको बिर्ता उठाएर काठमाडौंमा बसी पढेको थिएँ । त्यहाँ पढ्दा पनि मेरो शान अर्कै थियो ।

अहिले कौसी तोषाखाना अड्डा रहेको घर हाम्रो थियो रे । विर्ता उन्मुलन गर्ने काँङ्ग्रेसले उहिल्यै भक्तपुर र नुवाकोटका विर्ता खाइदियो । हाम्रा अरु विर्ताहरु पनि खोसियो । अब त के बाँकि छ र ? यही जंगबहादुरको अहिले पनि जिउँदोजाग्दो फोटो न बाँकि छ”, उनी  सरासर बोले  ।

उनले कन्तुर खोलेर सुरक्षित राखेका जङ्गबहादुर र उनकी श्रीमतीको भव्य तस्वीर पनि देखाए ।

उनकी जिजु दुर्गाकुकारी जङ्गबहादुरकी ठाइँली छोरी थिइन । जसको विवाह उनका जिजुबाबु दीप बहादुर शाहसँग गरिदिएका थिए । जङ्गबहादुरकै निर्देशनमा उनीहरु हुर्किएको यो घर बनेको थियो र यसले पनि एक शताब्दी पार गरिसकेको छ । साथै, दागजुगं जस्तै सहारा र स्याहारहीन भैगएको छ ।

हो, अहिले उनले भनेजस्तै केही बाँकि रहेनछ । उनीहरुको शाह खलकमा पनि टाठा बाठाहरु निस्किएछन् । उनले पाउनुपर्ने पुख्र्यौली र जग्गाका कागजपत्र पनि अलि जान्ने बुझ्ने दाजुभाइले लगे । दरबारको भत्ता हजरुमुमा होऊञ्जेल बुझ्नु भएको थियो रे ! अब त उनको स्मरणमा पिता-पुर्खाका धिमा स्मृतिहरु उप्काएर सुनाउनुबाहेक अरु त केही बाँकि नै छैन ।

अहिले उनको लागि यो विशाल दरबार स्याहार गर्ने पनि भारी छ । बरु उनी बसिरहेको रोड मुन्याडको सानो छाप्रो नै प्रिय छ । काफी छ । बरु यो दरबार सरकारले स्याहार गरेर पुख्र्यौली गौरवको सम्मान गरिदिए हन्थ्यो भन्ने लाग्छ दागजुंगलाई । किनभने यस ऐतिहासिक दरबार ‘बाख्रा बाँध्ने गोठ’ बनेको उनी देख्न चाहँदैनन् ।

हो, गाउँघरमा हाम्रा पुराना र मौलिक घर र वस्तीका आदिम संरचनाहरु लोप हुँदै गएको अवस्था छ र भावि सन्ततिहरुले त्यसको भेउसम्म नपाउने भैसकेका छन् । गर्मीमा टिनका ताता छानामुनि वाफिएर उसिन्निएर बस्ने बिडम्बना र जाडोमा तप्प तप्त चुहिएका लछप्रै ठिहीयुक्त शितमा कठ्याङ्ग्रिदै गुडुँल्किएर बस्नुपर्ने बाध्यता छ ।

यी र यस्ता कलात्मक भवनहरु जुन पुरानो समयका पुर्खाहरुका कलाका बिम्बहरु हुन् । २०७२ सालको महाभूकम्पले पनि यसलाई केही गर्न सकेन भनेपछि यसको इन्जिनियरिङ् पनि पक्कै सिकाइ योग्य छँदैछ । त्यसका लागि पनि यस्ता भवनहरु सुरक्षित हुनुपर्छ । अहिले तीन तहका सरकार देशमा सञ्चालित भैरहेको अवस्थामा वडा र पालिका स्तरबाट नलाङ आवृका  दरबारहरु वडा र पालिका सरकारले राष्ट्रियकरण गरेर सुरक्षामा विशेष योजना बनाउनु आजको आवश्यकता हो ।
काठमाडौंबाट सिकर्मी/डकर्मी झिकाई बनाइएको हुनाले कलात्मक चेत पस्किने यस आप्री दरबार पुरातात्त्विक महत्त्वको छँदैछ, यसलाई देखाएर पालिका स्थानीय पर्यटन प्रवर्द्धन समेत गर्न सक्दछ । यसप्रकार दरबार ज्वालामुखी गाउँपालिका दुई वटा रहेको एउटा माओवादी कालमा जलेको र अर्को जीर्ण भइसकेको छ भने ज्यामरुङ् दरबार पनि आप्री दरबार सरह नै खोजी र चर्चादेखि निकै पर छ ।
आप्री दरबार काठमाडौं उपत्यका बाहिरको राणा शासनकालको अवशेष मात्रै नभई तात्कालिन समाजिक, आर्थिक एवम् राजनीतिक अवस्थाको चिन्ने-बुझ्ने थलो पनि हो । आप्री दरबारको संरक्षण र संवर्द्धनका लागि सबैले हातेमालो गरौँ ।

Tags:

सम्बन्धित समाचार