मंगलबार , भाद्र ९, २०८३

इतिहास : आधुनिक डिपार्टमेन्ट स्टोरको आइडिया असनबाट लिइएको थियो

श्री ३ सरकारको परिवारहरू महिनाको एक पटक सामानहरू खरिद गर्न यही असनमा आउने गर्दथे र व्यापारीहरूको कदर गर्दथे । व्यापारीहरूलाई आत्मनिर्भर र आत्मविश्वास जगाउन उत्साहित गर्दथे ।

image

आज मलाई विद्यार्थी जीवन देखिनै हेर्दै आइरहेको असन चोक मा अवस्थित अन्नपूर्णा माता को महिमा चर्चा गर्न मनलागेको छ । यसबारेमा विभिन्न समयमा विभिन्न रूपमा सोचिएको भएता पनि अन्नपूर्णा माता को माहात्म्य खाद्यान्नले परिपूर्ण/ परिपूर्ति गरिदिने देवी को रूपमा सधैँ लिइएको हुन्थ्यो । यहाँको वातावरणले गर्दा पनि सोही कुराको सोँच रहन्थ्यो ।

असं को भुलु अजिमा

यहाँको किम्बदन्ती सुन्दा पनि सोही खाद्यान्नमा आधारित पाइन्छ । किम्बदन्तीको कथा अनुसार लिच्छविकालभन्दा पहिले यस स्थानमा केही पीठ जस्ता पत्थरहरू खडा रहेको भान हुन्छ । कथा अनुसार एकदिन ठिमीबाट एक जना व्यापारी आफ्नू चामल बिक्री गर्न यहाँ आइपुगेछ ।त्यहाँ उसले पत्थरहरू खडा देखेर त्यसकै आड लगाएर खर्पनमा बोकेर ल्याएको चामलको भारी निकालेर बिसाएछ । साँझपख आफ्नू घर ठिमी फर्कने विचार गरेर चामलको भारी उठाएर खर्पनमा राखेर लैजान्छु भनेर चामलको भारी उठाउन खोज्दा उठाउन सकेनछ । धेरै समयसम्म धेरै तरिका अपनाएर आफ्नू बल/बुद्धि लगाउँदा पनि नसकेर हार खाएर त्यहीँ छोडेर घर फर्केर गएछ ।

घरको परिवारहरूले चामलको भारीको बारेमा सोध्दा ‘अनसं( त्यही नै छोडेर आएको)’ बताएछ । भोलिपल्ट गएर हेर्दा सो भारी जस्ताको तस्तै सोही स्थानमा रहेको पाएछ । सो चामल व्यापारीलाई ती पीठहरूमा केही शक्ति भएको महसुस भई केही चामल भगवान्को नाममा चढाएर सोही स्थानमा व्यापार गर्न बसेछ । सो दिन चामलको व्यापार राम्रो भएपछि प्रत्येक दिन सोही स्थानमा चामल चढाएर व्यापार गर्न बस्ने गरे र अरू साथीहरूलाई पनि सो कथा सुनाएछ । यो कुरा सुनेपछि अरू खाद्यान्न व्यापारीहरू पनि त्यही बसेर पीठहरू मा केही खाद्यान्न चढाएर व्यापार गर्न बस्न शुरु गरेछन् । यसरी यस स्थानमा व्यापार गर्नुभन्दा पहिले केही खाद्यान्न भगवान्लाई चढाएर बस्दा राम्रो व्यापार हुने भएछ । त्यसलाई भगवान्को कृपा मानेर सबै व्यापारीहरूले मान्ने गरेछन् । यसरी अनसं बाट ‘असं’ नाम रहन गयो र खाद्यान्न व्यापारीहरूको लागि अन्नपूर्णा देवी हुन गयो । यसरी असं भुलु अजिमा को महत्त्व असनको अन्नपूर्णा को रूपमा प्रसिद्ध भएको भान हुन्छ ।

त्यसपछि सो स्थानमा खाद्यान्न को व्यापारीहरू बढ्दै गएको भान हुन्छ । त्यहाँ अन्न चढाएर व्यापार गर्न बस्नेहरू सबैको व्यापार राम्रो हुँदै गयो । त्यहाँबाट अन्न किनेर लानेहरूको पनि भलो भएको देखेर त्यस स्थानमा अन्नपूर्णा माता नै भएको विश्वास गरेर लिच्छवि कालमा नै पीठहरू भएको स्थानमा अन्नपूर्णा माताको स्थापना भएको भान हुन्छ । यसरी सो स्थान अन्नपूर्णा माताबाट आशीर्वाद प्राप्त व्यापार केन्द्र भएको देखिन्छ ।

असनका खाद्यान्न अन्नपूर्ण माताको प्रसाद

सोही स्थानमा मल्ल कालमा मन्दिर र कलश मूर्ति बनाएको उल्लेख गरिएको पाइन्छ । सोही मल्ल कालमा यस स्थानमा डिपार्टमेन्ट स्टोरको अवधारणामा पसलहरू राख्न शुरु गरिएको र बजार व्यवस्था भएको उल्लेख छ । त्यसबेलामा उपत्यकाको विभिन्न स्थानहरू विभिन्न वस्तुहरू उत्पादन गर्न छनौट भएको र त्यसको यस स्थानमा व्यापार गर्न व्यवस्था भएको देखिन्छ । यो कुरा हामीले बुढापाकाहरूको भनाइबाट पनि अन्दाज लगाउन सकिन्छ । उदाहरणको रूपमा- हामीले नै विद्यार्थी कालमा देखेँ अनुसार उखू खानीखोलाबाट, चाकू तोखाबाट, भुटेको तेल खोकनाबाट, विभिन्न प्रकारको चिउरा विभिन्न स्थानबाट, यहाँ सम्मकी जर्नेल राणाहरूले खाने जर्नेली धान चामल, कप्तानले खाने कप्तानी चावल, विभिन्न रोटीहरू पकाउने रोटी विशेष चावलको पीठो, विभिन्न दालका गेडागुडीहरू विभिन्न स्थानहरूबाट आउने, आदि खाद्यान्नहरू स्वदेशमा नै उत्पादन भएको, कुनै मिसावट नभएको, सबभन्दा पहिले अन्नपूर्णा मातालाई चढाएर प्रसादको रूपमा असन बजारमा खरिद गर्ने चलनलाई अझै पनि सानो नमूनाको रूपमा देखाउन सकिने वातावरण रहेको पाइन्छ । यो हाम्रो आत्मनिर्भरताको राम्रो उदाहरण हो । यसले हाम्रो पहिले भगवान्लाई चढाएर प्रसादको रूपमा ग्रहण गर्ने एउटा परम्परा झल्काउँछ ।

प्राचीन बजार असनलाई आधुनिकताले सक्दैछ

हाल आएर असनलाई आधुनिक विकासले अवश्य पनि छोएको छ । यसलाई नकार्नुपर्ने कुनै कारण नै छैन । तर पनि यहाँको स्थानीयवासीहरूले असनलाई आफ्नै प्राचीन व्यापार केन्द्रकै रूपमा जोगाई राख्न र बनाई राख्न धेरै नै कोसिस भएको देखिन्छ । यतातिर पनि स्थानीय निकायहरूको ध्यान जानु पर्ने र केही व्यापारिक सुविधाहरू दिएर यो हाम्रो परम्परालाई जोगाउन जरुरी देखिन्छ ।

असनको बजार नेपाल मण्डलमा विकसित भएको सहरको एक नमूना पनि हो र यहाँ घर घरमा काठको बुट्टादार झ्याल ढोकाहरू सजाई राखेको पाइन्छ । बजारको कुना काप्चामा सानो ठूलो मन्दिरहरू भएको र त्यसामा आजसम्म पनि त्यहाँको व्यापारीहरूले पूजाआजाहरू गरिआएको भेटिन्छ । सम्पदा र सम्पत्तिको हिसाबले पनि असनलाई खुल्ला उपत्यकाको सङ्ग्रहालय बनाएको देखिन्छ । यो कुरालाई यहाँको स्थानीय निकायहरूले ख्याल राखेर यसमा नेवा समुदायको परापूर्वकालदेखि चलिआएको व्यापारिक परम्परा र रीतिरिवाजको साथसाथै यसमा विस्तार विस्तार भइआएको सुधार र विध्वंस दुबैबाट संस्कृति र संस्कारलाई जोगाएर भविष्यमा समेत नयाँ पुस्ताहरूले हेर्न र बुझ्न पाउनु पर्छ भन्ने लक्ष राखेर सुधार गर्नु जरुरी देखिन्छ ।

आजको युगमा समेत असनका व्यापारीहरूले नेपालको प्राचीन बजारलाई नियाल्ने र प्रष्ट देखिने स्थलको रूपमा राख्न कोसिस भइरहेकै छ ।यसमा अलिकति स्थानीय नेताहरू र निकायहरूको ध्यान जान आवश्यक देखिन्छ ।

देशको राजधानीको मुटुमा रहेको, अति व्यस्त र ठूलो आर्थिक कारोबार भइरहेको प्राचीन बजार असन चोक र वरिपरिको बजार अवलोकन गर्न स्वदेशी र विदेशी सबै पर्यटकहरू समेतले मौका पाइरहेको छ । यस क्षेत्रमा असंभुलु अजिमा बाहेक यसको वरिपरि चुलुभुलु अजिमा, न्हेकंतला माई, ज्वलंमाई, वटु भद्रकाली, सेतो मच्छिन्द्रनाथ आदि महत्त्वपूर्ण र अन्य कैयौँ साना ठूला मन्दिरहरू छन् । यसमा साधारण ध्यान पुग्न सकेमा यो पुरानो बजारको अस्तित्व पनि रहने र पर्यटकहरूलाई समेत आकर्षित गर्न सकिने आशा गर्न सकिन्छ ।

असनबजार बिहान हुनुअगावै उठ्छ

असन बजार बिहान हुनु अगाडि नै करिब करिब रातको २ बजे देखिनै जागृत भएर प्रातः काल ४ बजे सम्ममा त तरकारी बजार , दूध र चिया पिउनेहरूको चहलपहल हुन शुरु भएको पाइन्छ । यसरी असनमा प्रातःकाल बिहान भगवान्हरूको पूजाको साथसाथै ग्राहकहरूको चहलपहल पनि  भइसकेको हुन्छ । यसरी व्यापारीहरूले आफ्नू धार्मिक परम्परालाई र संस्कृति र संस्कारलाई जोगाउन खोजेको प्रष्ट हुन्छ ।

असनमा पहिले हामीहरू हजार पसलहरू भएको कुरा गर्ने गर्दथ्यौ भने आज आएर दुई तीन हजार भन्दा बढी साना ठूला पसलहरू भएको पाइन्छ । त्यसामा धेरै व्यापारीहरू आजसम्म पनि बिहान पूजाहरूमा लागेकै देखिन्छ । यो छ यहाँको अन्नपूर्णा माता को माहात्म्य ।

यहाँको व्यापारको आँकडाको सर्भे त भएको छ/ छैन, थाहा छैन । तर दिनमा नै करोडौँको व्यापार भएको र लाख भन्दा बढी व्यक्तिहरू प्रवेश गरेको अन्दाज गर्न सकिन्छ ।

असनको सात वटा बाटोमध्ये छ वटा मात्रै देखिन्छ

असन अन्नपूर्णा माता को दर्शन गर्न जाने सात वटा बाटोहरू छन् भन्ने चलन थियो । तर हाल छ वटा मात्र बाटोहरू प्रष्ट देखिन्छन् । ती बाटोहरू हुन्,

  1. भोटाहिटी भएर रत्नपार्कतिर जाने बाटो ।
  2. अन्नपूर्णा मन्दिरको बायाँतिरबाट महाबौद्ध भएर जाने बाटो ।
  3. केलटोल, ईन्द्रचोक भएर दरबार स्क्याएर जाने बाटो ।
  4. न्हेकंतला बांगेमुढा किलागल भएर नरदेवीतिर जाने बाटो ।
  5. त्यौड भएर कुसुमविलाक्षी भएर थंहिटि जाने बाटो ।
  6. त्यौड भएर ज्याथा जाने बाटो ।
  7. कमलाक्षी भएर जमल जाने बाटो ।

यसरी बाटोको हिसाबले पनि अन्नपूर्णा माता को माहात्म्य झल्कन्छ ।

आधुनिक डिपार्टमेन्ट स्टोरको आइडिया असनबाट लिइएको थियो

आधुनिक डिपार्टमेन्ट स्टोर्सको अवधारणा असन चोकमा मल्ल कालमा विकसित भएर सबै कुराहरू एकै ठाउँमा पाउने व्यवस्था भएको भन्ने सुनिन्छ । तर त्यसबेला प्रत्येक व्यक्तिले आफ्नू पसलमा एक-एक वस्तुको व्यापार गर्ने र त्यसको शुद्धता कायम राखेर विषयवस्तुको नामबाट चिनाउने गरेको पाइन्थ्यो । बुढापाकाहरूसँग सुने अनुसार राणाकालसम्म पनि श्री ३ सरकारको परिवारहरू महिनाको एक पटक सामानहरू खरिद गर्न यही असनमा आउने गर्दथे र व्यापारीहरूको कदर गर्दथे । व्यापारीहरूलाई आत्मनिर्भर र आत्मविश्वास जगाउन उत्साहित गर्दथे ।
त्यस्तै, शाह कालमा श्री ५ को सरकारका राज परिवारहरू पनि यही असनमा सामानहरू खरिद गर्न आउने गर्दथे र यहीँबाट सामानहरू मगाउने गर्दथे भनेको सुनेको छु । यसले देशको आफ्नू उत्पादित वस्तुहरूको खपतमा वृद्धि र परनिर्भरतामा कमी आउने गर्दथ्यौ । तर आज आएर यी सबै कुराहरू बिर्सेको देखिन्छ । यसले अन्नपूर्णा माताको माहात्म्य पनि घटेको महसुस हुन्छ ।

जय अन्नपूर्णा माता !

सम्बन्धित समाचार