बुधबार , भाद्र १०, २०८३

बाबा जलेश्वरनाथ : जहाँ राजा गिर्वाणयुद्ध विक्रम शाह सिकार खेल्न पुगेका थिए

वि.सं १८६७ मा राजा गिर्वाणयुद्ध विक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गलमा सिकार खेल्न आएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाका लागि दुईसय ७५ बिघा जग्गा र चार वटा महापोखरीहरू दान दिएको ताम्रपत्रमा उल्लेख छ ।

image

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ । साउनको पावन महिनामा प्रत्येक सोमबारका दिन सोमबारी पर्वको अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गारिने गरिन्छ । मन्दिरको पाँचसय मिटर टाढासम्म शिवभक्तिका गीत सङ्गीतले जलेश्वर गुञ्जायमान हुने गरेको छ ।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष तीर्थालुको आगमन हुन नपाएकामा यस यसवर्ष करिब १० लाख भक्तजनले पूजाअर्चाना गर्ने अनुमान गरिएको छ । बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना पूरा हुने गरेको जनविश्वास रहिआएको छ । जलेश्वरनाथमा पूजाअर्चनाका लागि देशभित्रबाट मात्र नभई भारतको पटना, मुजफ्फरपुर, सीतामढी, मधुबनी लगायतका सहरबाट पनि हजारौँको सङ्ख्यामा तीर्थालु आउने गर्दछन् ।

मन्दिरमा महाशिवरात्रि, साउन महिनाको प्रत्येक सोमबार र प्रत्येक महिनाको पहिलो सोमबार विशेष मेला लाग्ने गर्दछ र विशेष पूजाआजा र प्रत्यक्ष दर्शन हुने गर्दछ । नगरपालिका–२ मा अवस्थित जलेश्वरनाथ मन्दिरको मूल गुफामा लेखिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ अर्थात् ‘जलेश्वरनाथ महालिङ्ग स्वयं महादेवले स्थापना गरेको’ शिव महापुराणमा उल्लेख रहेको छ ।

अनादिकालमा जलेश्वर घना जङ्गल रहँदा बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेको बेला स्यवं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती रहेको छ । बाबा जगदीशनाथले जङ्गलमा बाघ, भालु, हात्तीजस्ता जनावरहरू रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र (महादेव) ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरेको सो पुराणमा उल्लेख रहेको छ । जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी मुनि जमिनभित्र रहेको छ ।

यहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको तीन सय ६५ दिन जलमै विराजमान रहन्छन् । यस मन्दिरमा भगवान् शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जलबाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ । रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवको बारेमा प्रचारप्रसार गरे ।

बाबा महादेवको चौतर्फी चर्चा गरेर प्रख्यात बनाउन भूमिका खेलेका जगदीशनाथले जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक अगाडि मृत्युवरण लिएकाले त्यहाँ निर्माण गरिएको उनको सानो मन्दिर अझै पनि छ । वि.सं १८६७ मा राजा गिर्वाणयुद्ध विक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गल (हाल रामगोपालपुर नगरपालिका–७) मा सिकार खेल्न आएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाका लागि दुईसय ७५ बिघा जग्गा र चार वटा महापोखरीहरू दान दिएको ताम्रपत्रमा उल्लेख छ । यसलाई पछि मौजेको नाउँमा जनिन थाल्यो र मौजेको रूपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजे लगायतका मौजेहरू पाएका थिए भने वरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरीजस्ता महापोखरीहरू पनि पाएका थिए ।

शिवपुराणमै जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको वरुण सरोवरमा स्नान र बाबा जलेश्वरनाथ महादेवको दर्शन गर्नाले मुक्ति पाउने विश्वास गरिन्छ । लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेको दर्जनौँ मौजे र महापोखरीहरूबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, साधुसन्तको भण्डारा र आगन्तुकहरूको स्वागत सत्कार समेत हुने गरेको थियो । मन्दिरकै दक्षिणपट्टि रहेको गुठी संस्थानसँग रहेको ताम्रपत्रमा राजा गिर्वाणयुद्ध विक्रम शाहले दान दिएको मन्दिरको दुई सय ७५ बिघा जग्गा र चार महापोखरीको उल्लेख अझै पनि सुरक्षित रहेको छ ।

पछि, श्री ३ पद्म शमशेरको पालामा उनले यस मन्दिरको अधिनमा रहेका जग्गाहरू आफ्ना गुरु पुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायतका चार/पाँच दाजुभाइलाई दान दिएको चर्चा छ । पद्म शमशेरले दान दिएपछि गुरु पुरोहित र उनका सन्तानले मन्दिरका मौजेहरू बेचेर खाएपछि विस्तारै मन्दिरको आर्थिक अवस्था कमजोर बन्दै गएको हो । वि.सं १९८३ को स्रेस्तामा पनि सयौँ बिघा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखिन्छ । त्यसैगरी, वि.सं २००२ सम्म मन्दिरको महन्थको नाउँमा मौजेहरू रहेको उल्लेख भए पनि मन्दिरका सयौँ बिघा जग्गाको मौजे २००८ सालबाट हराएको छ ।

मन्दिरका चार महापोखरीहरू अहिले जलेश्वर नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएको छ । आज यस मन्दिरसँग केही पनि अचल सम्पत्ति छैन । मन्दिरमा अहिले भक्तजनले चढाएको भेटी, चन्दा र अन्य सहयोगबाटै नित्य पूजाआजा तथा प्रसाद (भोग) पनि चल्ने गरेको छ । यसका अलावा बाबाको मन्दिरमा २४ सै घण्टा खटिरहने पूजारी, टहलु, मेस्तर, गिरी र आगन्तुक बाबाजीहरूको पनि दैनिकी भक्तजनकै दान दातव्यबाट चल्ने गरेको छ । आर्थिक अभाव भएपनि कुनै दिन बाबाको पूजाआजा प्रभावित नभएको, भोग प्रसादको कमी नभएको, बाबाको सेवामा लागेका कोही पनि भोकै बस्न नपरेको र आगन्तुक समेतलाई पनि कहिले कुनै समस्या नभएको पूजारी बताउँछन् ।

बाबा जलेश्वरनाथ मन्दिर केहीवर्षदेखि टेकोको भरमा अडिएको छ । बाबा मन्दिरमा पछिबाट निर्माण गरिएको बाहिरी विशाल मन्दिर बाबाको शिवलिङ्गको ठीक माथि भित्रपट्टीबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको छ । मन्दिरको अवस्था अवलोकनका लागि पुरातत्व विभागबाट पनि पटकपटक विज्ञहरूले आएर गएको भए पनि जीर्णोद्वार तथा मर्मतसम्भारको लागि कतैबाट कुनै सहयोग आएको छैन ।

महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायतका वस्तुहरुको प्रयोग गरिएको थियो । वि.सं १९९५ मा बडाहाकिम राम शमशेरले २५ हजार रुपैयाँ खर्चेर जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि आकर्षक र ठूलठूला गजुरसहितको अद्वितीय मन्दिर निर्माण गरेको इतिहासमा पढ्न पाइन्छ ।

सम्बन्धित समाचार