बिहिबार , फागुण १७, २०८०

पर्यटनमा अगुवा गण्डकी, गण्डकीमा पछुवा बाग्लुङ (अन्तर्वार्ता)

मालढुङ्गा हुँदै म्याग्दीदेखि मुस्ताङ जाने हजारौँ पर्यटक मध्यबाग्लुङमा भित्रने सङ्ख्या नगन्य रहेको छ । बाग्लुङ कालिका दर्शन गर्न आउनेहरूलाई समग्र बाग्लुङ दर्शन गराउन सकिएन ।

image

उकासिँदो नेपाली पर्यटन कोरोना कहरपश्चात् भासियो ।  कोरोना कहरपश्चात् आवश्यक पूर्वाधार निर्माण नहुँदा पर्यटन क्षेत्रका सामान्यदेखि दीर्घकालीन योजनाहरू ‘लकडाउन’मा कैद भए । हालसालै मात्रै नेपालको पर्यटन क्षेत्र तङ्ग्रिन खोजेको महसुस भएको छ ।

पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने सरकारी योजना अन्तर्गत हालसालै पर्यटन दशक (२०२३-२०३२) घोषणा भएको छ । ३५ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य लिइएको सो योजनाले  १० लाख नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरिसकेको छ ।

नेपालमा सबैभन्दा बढी पर्यटकीय चहलपहल हुने गण्डकी क्षेत्रमा हो । प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका हकमा स्वदेशी-विदेशी दुवै गण्डकी प्रदेशप्रति लोभिने गर्दछन्, त्यो भनेको नेपाल आउने पर्यटकको ४५ प्रतिशत पर्यटक गण्डकी प्रदेश आउने गर्दछन् ।  नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनाले २०२५ मा गण्डकी प्रदेशलाई प्राथमिकता दिने बताएको छ ।

गण्डकी प्रदेशमा मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, गलेश्वर, विन्ध्यवासिनी, ढोरवराह, केलादीघाट, त्रिवेणी, देवघाट, सेतीवेणी लगायतका धार्मिक पर्यटकीय गन्तव्य पर्दछन् भने ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण, तथा मनास्लु संरक्षण क्षेत्र, धौलागिरि, अन्नपूर्ण तथा मनास्लु हिमश्रृखंला र सो अन्तर्गत रहेका महत्त्वपूर्ण हिमालले यो प्रदेशको पर्यटकीय आयाम थपेको छ । संसारकै अग्लो ताल तिलिचो, रामसारमा सुचीकृत पोखराका ९ तालहरू, संसारकै सबैभन्दा गहिरो गल्छी, शालिग्राम पाइने कालीगण्डकी नदी तथा अन्धगल्छी, रुप्से झरना, विभिन्न गुफाहरू, ग्रामीण बस्ती, होमस्टेहरू, विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै मौलिक संस्कृतिहरू यहाँका प्रमुख पर्यटकीय गन्तव्यस्थल बनेका छन् ।

पोखरा-कुस्मा-बाग्लुङ कालिका भएर मुक्तिनाथसम्म पुग्ने धार्मिक पर्यटक (भक्तजन)हरूको लर्को बढेको छ । यस क्रममा पोखरापश्चात् बाग्लुङ कालिकामा विशेष चहलपहल देखिने गर्दछ । पछिल्ला दिनहरूमा नयाँ धार्मिकस्थल पन्चकोट, तिरुपति बालाजी, शालिकराम संग्रालय सहितका स्थानहरूको चर्चा-परिचर्चा भएसँगै गण्डकी प्रदेश भित्रिने पर्यटकको सङ्ख्या अझ बढोत्तरी हुने आङ्कलन गरिएको छ । यसक्रममा गण्डकी क्षेत्रको पल्लो कुनामा रहेका  बाग्लुङ, म्याग्दी लगायत जिल्लाहरूको पर्यटकीयस्थलको खोजीखबरी एवम् चर्चा-परिचर्चा गरिनुपर्ने माग उठेका छन् ।

पर्यटन व्यवसायसँग अविच्छिन्न रूपमा जोडिने विषय हो- होटेल व्यवसाय । सदैव पर्यटन प्रवर्द्धनमा होटेल व्यवसायको उल्लेखनीय भूमिका रहँदै आएको छ । नेपाली पर्यटनको प्रमुख तत्त्व ‘आतिथ्य’ होटेल व्यवसायसँग जोडिएको विषय हो ।  होटेलहरूले ‘अतिथि देवो भव:’द्वारा संस्कारित भएकै कारण नेपालको पर्यटन व्यवसाय धानिएको हो भन्दा अतिशयोक्ति नहोला । गण्डकीले पनि आफूकहाँ आएका पर्यटकहरूलाई अतिथि देवो भव: द्वारा स्वागत गरिरहेकै छ ।  

अतः गण्डकी क्षेत्रमा होटेल एवं होमस्टेको अवस्था के-कस्तो छ ? अझ त्यसमा पनि, अथाह पर्यटकीय सम्भावना बोकेको समग्र बागलुङ जिल्लाकै पर्यटकीय अवस्था कस्तो छ ?  बाग्लुङ जिल्लाको पर्यटकीय सम्भावना र चुनौतीहरू केके हुन् ? नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिलाई ट्र्याप गर्न गण्डकी प्रदेशले केकस्ता कार्ययोजनाहरू अगाडि सार्नु पर्ला ? यियस्तै विषयहरूमा केन्द्रित रहेर होटेल तथा पर्यटन व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालसँग हिमाल दर्पणकर्मी  राजु झल्लु प्रसादले गरेका कुराकानी गरेका छन् ।

बागलुङको गलकोट, मल्म स्थायी घर भएका चोखालले आफ्नो होटेल व्यवसायको यात्रा काठमाडौंको ठमेलबाट सुरु गरेका हुन् । उनले ठमेलमा होटेल फ्लोरिडा चलाएका थिए । पछि, बागलुङ फर्किएर होटेल समिट सुरु गरेका उनी बाग्लुङ कालिका मन्दिर छेवैको होटेल समिटमै भेटिए ।

अर्जुन चोखाल (बायाँ)


गण्डकी प्रदेशको हकमा कोरोनापश्चात् होटेलहरूको अवस्था कस्तो छ ?

०७६ चैतदेखि ०७८ वैशाखसम्मको कोरोना महामारीको अवधिमा गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरूले अर्बौँ आम्दानी गुमाएका थिए । त्यतिबेला  करिब ९८ प्रतिशत होटेल व्यवसाय पूर्ण रूपमा बन्दै भएका थिए, अहिले क्रमिक सुधार देखिन्छ ।

कोरोनापश्चात् आन्तरिक पर्यटकहरूको चहलपहल बढेकाले यहाँका होटेल व्यवसायीहरू आशावादी देखिन्छन् । गण्डकी प्रदेशमा आन्तरिक पर्यटन बढ्दो देखिएको छ, बसाइ लम्बाउन विभिन्न प्याकेजहरू डिजाइन गर्नु आवश्यक देखिन्छ । होटेल व्यवसायीहरूले स्थानीय स्वाद र सांस्कृतिक गतिविधि सँगसँगै नयाँ गन्तव्यको पहिचान पनि गर्नुपर्नेछ । होटेल व्यवसायीलाई सरकारी स्तरबाट सरसहयोगको आवश्यकता पनि महसुस गरेका छौँ ।

हामी  बागलुङ कालिका मन्दिर छेवैमा छौँ, यहाँ मदिरा राखिएका होटेलहरू देखिए भन्ने कुराहरू छन् नि ?

ती भ्रामक खबरहरू हुन्, यहाँका होटेलहरूले मदिराजन्य पदार्थ बिक्री गर्ने गरेको छैन । यहाँको कालिका भगवती गुठी आफै तगडा छ, उसले त्यसो हुन् दिँदैन ।

बागलुङका पर्यटकीय आकर्षण के-के हुन् ?

बागलुङमा धार्मिक तथा सांस्कृतिक पर्यटन, शिकारी पर्यटन तथा जलयात्राको मनग्ये सम्भावना छ । बागलुङको पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बागलुङ कालिका भगवती गुठी नै हो । यसपछि पञ्चकोट, शालिग्राम सङ्ग्रहालय र लामो पुल (गोल्डेन ब्रिज) ।

जिल्लाभरिकै कुरा गर्नुपर्दा, ढोरपाटन हन्टिङ रिसोर्ट, सहस्रधारा, गाँजाको दह, बराह ताल, गलकोटको घुम्ती, गाईघाट झरना, गलकोट दरबार आदि प्रमुख पर्यटकीय गन्तव्यहरू हुन् । तीबाहेक पनि भकुण्डेको भैरवस्थान, मूर्तिकला केन्द्र, ब्युकोट, रामकोट जस्ता मन्दिरहरूले बागलुङमा पर्यटकीय आकर्षण बढाउन सक्छन् । अब यही अवसरलाई छोप्न गण्डकी प्रदेश सरकारले पर्यटकीय पूर्वाधार निर्माणदेखि एक पर्यटकीय स्थलदेखि अर्को पर्यटकीय स्थललाई जोड्न ढिला गर्नुहुँदैन ।

गलकोट, तस्बीर: आरके अदीप्त गिरि

कति होटेलहरू छन् तपाईँहरूको सञ्जालमा ? आएका र आउने सबै पर्यटक थेग्ने होटेल छन् बागलुङमा ?

हामी गण्डकी प्रदेशका ८ हजार होटेल तथा रेस्टुराँ व्यवसायीहरू छौँ । साना, मझौला तथा ठूला सबै गरेर । ५०० पर्यटकलाई एकैचोटी सुविधा दिन सक्ने होटेलहरू छन्, जिल्ला सदरमुकाम बागलुङमा । तर, २ देखि ३ सय मान्छेको मात्रै दैनिक फ्लो छ । त्यतिमध्ये बागलुङमा बस्नेगरी आउने पर्यटक भनेको मात्र ३ देखि ५ प्रतिशत मात्रै हुन् । पर्यटकलाई अड्याउन सकिएको छैन । मालढुंगा हुँदै म्याग्दीदेखि मुस्ताङ जाने हजारौँ पर्यटक मध्यबाग्लुङमा भित्रने सङ्ख्या नगन्य रहेको छ ।

बाग्लुङ कालिका दर्शन गर्न आउनेहरूलाई समग्र बाग्लुङ दर्शन गराउन सकिएन ।

बाग्लुङ कालिकाका घण्टहरूको आवाज गुन्जिरहेछ । दर्शनार्थीहरूको यत्रो भीड लागिरहेको छ । हाम्रै वरपर बसेर खाना खाइरहेकाहरू पनि यतिका मान्छे छन् । तर, यहाँको स्थानीय स्वाद देखिएन नि ? बागलुङको मौलिक स्वाद एवम् विशेषताहरू केके हुन्  ?

बागलुङको फ्लेवरका लागि चाहिँ बागलुङ आएर मान्छेले किन्ने भनेको भाङ हो । यसको चाहिँ चटनी खाइन्छ । यो बागलुङको मौलिक परिकार हो । यसको उत्पादन बागलुङको ताराखोलामा हुन्छ । निसीतिर पनि हुन्छ, यता बरेङसाइडमा पनि हुन्छ । विशेषगरी चाहिँ ताराखोलामै हुन्छ ।

पछिल्लो समय यहाँको आफ्नै उत्पादन सुन्तलाले पनि मार्केट लिँदै छ ।  बागलुङ नगरपालिका–८ सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ । सिगानासँगै बिहुँ, तित्याङ, दमेक लगायतका ठाउँ सुन्तला खेतीका लागि ‘पकेट’ मानिन्छन् ।

भकुन्डे, तस्बीर: आरके अदीप्त गिरि

बुटिकको क्षेत्रमा हेर्ने हो भने यहाँको बुट्टेनली र बाँसबाट बनाइएका मन्दिर पर्यटकका लागि बागलुङका मौलिक कुरा हुनेछन् ।

यसपछि देव शिला अर्थात् शालिग्रामका लागि बाग्लुङ प्रख्यात छ । शालिग्राम पाइने संसारकै एक मात्र नदी कालीगण्डकीले चर्चेको पवित्र भूभाग हो बाग्लुङ । जिल्लामा शालिग्रामको बिक्री कक्षचाहिँ छैन, शालिग्रामको बिक्री गर्नु पाप हो पनि मान्ने गरिन्छ । तर, बागलुङ आइसकेपछि एक लाख शालिग्राम शिला संग्रहण गरिएको स्वामी श्रीधराचार्य शालिग्राम संग्रालय चाहिँ छुटाउन नहुने ठाउँ हो ।

मन्दिरमा भारतीय पर्यटकहरूको राम्रो उपस्थिति देखियो । वहाँहरूलाई फेरि फेरि आऊँ भन्ने बनाउन बाटो, यातायात, होटेल, प्रचारप्रसार सबै पक्षहरूको सुविधा चाहियो, त्यो अलि देखिएन नि ?

समग्र नेपालकै परिवेशमा हेर्ने हो भने, हामीले पर्यटकहरूलाई यथेष्ट सेवा-सुविधा दिन सकिरहेका छैनौँ । बाटो निर्माणकै क्रममा छन् । होटेल, होमस्टेहरू निर्माणाधीन अवस्थामा छन् ।

पर्यटकलाई सुविधा दिने कुरामा आ-आफ्नो क्षेत्रबाट साथीहरू लागिरहनु भएको छ तर, पर्यटकसम्म सूचना पुर्‍याउने जुन पहिलो काम हो, त्यो नै अपर्याप्त छ । पर्यटक खान वा सुत्न मात्रै आउने होइन, पर्यटकलाई सूचना चाहिन्छ । हामीले प्रचारप्रसारमा खर्च गरेका छैनौँ ।

एकछिनलाई यही ‘गोल्डेन ब्रिज’कै कुरा गरौँ । यो एसियाकै लामो पुल हो । यत्तिको खोँचमा, कालीगण्डकीको नदीमाथि । यो पर्यटकका लागि रमाइलो सूचना हुनसक्छ । तर, यसलाई हामीले प्रचार गर्न सकेका छैनौँ । हाम्रो, समग्र नेपालमै कमजोर पक्ष यही हो । प्रचारप्रसारमा पछि छौँ । पर्यटकलाई सही सूचना दिन सकेका छैनौँ भने के हेर्न आउँछन् उनीहरू ? गोल्डेन ब्रिजको बारेमा तपाईँलाई सूचनै भएन भने तपाईं हेर्नुहुन्न नि !

अब  ढोरपाटन हन्टिङ रिसोर्टकै कुरा गरौँ, यो नेपालकै एक मात्र हन्टिङ रिसोर्ट हो । योबारे सूचना पाउँदा पर्यटकलाई रमाइलो लाग्ला । ढोरपाटन हन्टिङ रिसोर्ट त मानवले बनाएको भयो रे, कालीगण्डकी सभ्यता त मानव सभ्यताभन्दा पहिलादेखिको सभ्यता हो । ८ करोड वर्ष पहिलाको इतिहास छ, संसारकै एक मात्र शालिग्राम पाइने ठाउँ पनि हो । यसैको प्रचार गर्न सकेका छैनौँ । सेवा-सुविधा, पूर्वाधारको व्यवस्थापन गतिमै छ तर, प्रचार-प्रसारमा कमी छ ।

कालीगण्डकीमा स्नान गर्नेहरू, बालुवामा सुत्नेहरू, करोडौँ पर्यटकहरू त धार्मिक आस्थाले नै आउने गर्दछन् तर, हामीले प्रचार नै गर्न सकेका छैनौँ ।

पर्वत, बागलुङमा यस्ता घुम्ने घर भेटिन्छन्, फोटो: आरके अदीप्त गिरि

कालीगण्डकीको बालुवामा सुत्ने धार्मिक पर्यटकहरूको कुरा गर्नुभयो, यहाँनेर बालुवा नै नभेटिने समस्या देखियो । कालीगण्डकी दोहनबारे तपाईँलाई केही भन्नु छ कि?

यसबारे म के भन्न चाहन्छु भने, देशमा पहिला कानुन, त्यसपछि सरकार अनि बल्ल अरूलाई दोष दिने हो । व्यवसायीहरूलाई दोष दिएर राज्य-सरकार उम्कने कुरा होइन । कानुन राम्रो बनाउनुस् न ।

कालीगण्डकीबाट बालुवा निकाल्ने होइन भने बालुवा कहाँबाट निकाल्ने हो, त्यसको व्यवस्था गर्नुपर्‍यो र कालीगण्डकीलाई संरक्षण गर्नुपर्‍यो । बागलुङ, म्याग्दी, पर्वततिर बन्ने जतिपनि संरचना, मध्यपहाडी लोकमार्ग सबै कालीगण्डकीकै बालुवाबाट बनिराखेका छन् । यसबारे हामीले विरोध त धेरैपटक गरेको हो । तर, सरकारले केही गर्न सकेन ।

यति राम्रो ठाउँ, शालिग्राम फेरि पाइन्छ र ? शालिग्राम पुनः उत्पादन हुने चिज हो ? होइन नि । तर, देशमा सरकार निदाएको छ । शालिग्राम त मानव सभ्यता रहुञ्जेलसम्मको आगामी पुस्तालाई हस्तान्तरण गर्ने चिज होइन ? त्यसको संरक्षण सरकारले गर्ने होइन ?

त्यसैले, यसमा चाहिँ ठेकेदारलाई गाली गरेर, प्रहरीले ल्याउने आम्दानीको स्रोत भनेर, हामीले कन्ट्रोभर्सी सिर्जना गरिराखेका छौँ । कालीगण्डकी बाग्लुङ र म्याग्दीको मात्र होइन, समग्र देशको सम्पत्ति हो, एसियाकै पहिचान हो । कालीगण्डकी हिन्दु सभ्यताको पहिचान हो । यो आमा नदि हो ।  मानव सभ्यताको पहिचान हो । यसको संरक्षण सबैले गर्नुपर्छ । यसको लागि कानुन बन्नुपर्छ ।

बालुवा ठेकेदारले निकाल्यो भन्दैमा त्यो ठेकेदार नराम्रो भन्ने पक्षमा म छैन । कानुन हुनुपर्‍यो र कानुन कार्यान्वयन हुनुपर्‍यो ।

कालीगण्डकी दोहन रोकिएको छैन, तस्बीर: आरके अदीप्त गिरि

मध्यपहाडी लोकमार्गबारे पनि कुरा गरौँ । यसले पहिरो निम्त्याएको कुरा छ एकातिर, अर्कोतिर सहज यातायातको कुरा छ । मध्यपहाडी लोकमार्गलाई कसरी हेर्ने ? 

मध्यपहाडी लोकमार्ग त बागलुङको लाइफलाइन हो । यो एउटै जिल्ला यति लामो छ । आज हामी १२५ किलोमिटर यही जिल्ला चिरेर जान्छौँ । अब यी उकाला-ओरालाहरूले त्यसमा एक्स्ट्रा दूरी थपे होलान् । यति लामो जिल्ला छ । मान्छेहरूलाई सदरमुकाम आइपुग्न ४ दिन लाग्थ्यो । अब अहिले मध्यपहाडी लोकमार्गले एक दिनमा सदरमुकाम आउनसक्ने बनाएको छ । यो लोकमार्गले बागलुङका दुई वटा बाहेक अरू सबै पालिकालाई प्रत्यक्ष-परोक्ष छोएर अघि बढेको छ । त्यसैले यो लोकमार्ग बागलुङको लाइफलाइन नै हो ।

जुन पहिरो निम्ताउने कुरा गर्नु भयो, नेपालका अधिकांश पहाडी भेगमा यो समस्या छ, यसको विषयविज्ञहरूद्वारा विकल्पको खोजी एवम् निर्मित सडकहरूद्वारा जोखिम कम गर्नतर्फ लाग्नुपर्छ ।

बाटो बनिसकेपछि त्यसले स्थानीयलाई पनि लाभ हुनुपर्‍यो र पर्यटकलाई पनि सहज हुनुपर्‍यो । यी चिजहरू हुन्छन् त ? यसमा कसरी काम भइरहेको छ ?

नेपालको परिवेशमा भौतिक पूर्वाधारमा सबैभन्दा कठिन भनेको बाटो नै हो । तर, बाटोसँगै उत्पादनमा पनि सरकारले निजी क्षेत्रलाई उत्प्रेरणा दिनुपर्छ । बाटो बन्यो, अब बाटोबाट प्रतिफल के लिने ? उदाहरणका लागि- बाटो बन्यो, पर्यटकहरू आउनुभयो, कालिका दर्शन गर्नुभयो । अब यहाँ रेष्टुरेन्ट छ, जसले पर्यटकको भोक मेटाएको छ । यसरी यहाँ व्यवसाय चलेको छ । अर्थतन्त्रमा टेवा पुगेको छ । त्यसैले, यो बाटो मात्र कुदिरहेर त केही पनि हुनेवाला छैन । रोड ट्याक्स तिर्न मात्रै बाटो बनाउने होइन । बाटोलाई समाजसँग जोड्नु पर्‍यो । राज्यले निजी क्षेत्रलाई उत्पादनका लागि प्रेरित गर्नुपर्छ । त्यसपछि हरेक गाउँले बजार पाउनुपर्छ ।

जस्तो, ताराखोलालाई हेरौँ । ताराखोला बागलुङको यस्तो क्षेत्र हो जहाँ स्लेट ढुङ्गा, आलु, मकै, घट्ट, सुन्तला, भाँगो, हाते कागज, जडीबुटी  आदि पाइन्छ । पहिले पनि अरू पालिकाले आयात बेसी गर्थे तर ताराखोलाले निर्यात बेसी गर्थ्यो  यसरी नै बाटो भनेको उत्पादन, बजार र व्यवसायसँग ठोक्किन्छ, ठोक्किनुपर्छ ।

अब यो मध्यपहाडी लोकमार्गले गलकोटमा बजारीकरण भएको छ, काटीखोलामा पनि केही बजार बनेको छ । त्यसपछि उता बडीगार्डमा पनि बाटो पुगेको ठाउँमा बजार बनेको छ, राम्रा रेष्टुरेन्टहरू खुलेका छन् । गाउँलेहरूले सामान ल्याएर बेच्ने वातावरण बनेको छ । पर्यटकहरूले भोक मेटाउने, सुस्ताउने ठाउँ पाएका छन् ।

तिरुपति बालाजी (शालिकराम संग्रालय)

ओहो, भित्रिने जति सबै पर्यटकलाई अड्याउन सकिए त बागलुङको अर्थतन्त्र पनि उकासिने थियो कि ?

एकदमै । र, यो प्रचार-प्रसार नपुगेर हो । कालिका मन्दिर थाहा हुनेलाई गोल्डेन ब्रिज थाहा हुँदैन । गोल्डेन ब्रिज थाहा पाएर आउनेले मन्दिर थाहा पाएको हुँदैन । यसरी सूचनामा पछि परेका कारण पर्यटकलाई अड्याउन सकिएको छैन । के थाहा पाएर आइपुगे, त्यो हेर्छन् र फर्किन्छन् । सबै थाहा पाए नै त अडिएर सबै हेर्ने घुम्ने हुन् । होटेल व्यवसायीसहित समग्र पर्यटकीय गतिविधि गतिशील हुने हो ।

विकासको नाममा सिमेन्ट पोत्ने चलन जताततै बढेको छ, ऐतिहासिक बाग्लुङ कालिका मन्दिर क्षेत्रमा पनि नयाँ संरचनाहरू विकसित भएछन् ।  संरचनामा मौलिकता  ल्याउन किन सकिएको छैन ?

हो, राम्रो कुरा उठाउनुभयो । अहिले बनेका संरचनाहरूमा सिमेन्टका पिलरहरू, सिमेन्टका घण्टीहरू देखिन्छन् । यो समस्या किन भइरहेको छ भने सरकारको लगानी हुने क्षेत्रले सिमेन्ट र कङ्क्रिटको कुरो भएन भने भ्यालु गर्दैन । कङ्क्रिट भएन भने बजेट निकाल्न पनि गाह्रो छ । तर, ऐतिहासिक एवम् पुरातात्त्विक  ठाउँमा सिमेन्टको अत्याचार रोक्नुपर्छ । समितिले सकेसम्म काठ र ढुङ्गाबाटै संरचना अगाडि लान खोज्नुपर्छ  ।

होटेल व्यवसायीको नाताले देशभरिबाट यहाँ दर्शन गर्न आउने दर्शनार्थी, संस्कृति बुझ्न, इतिहास पढ्न आउने, यहाँको भूगोल बुझ्न आउनेका लागि यहाँको भनाइ के छ ?

जो दर्शनार्थी यहाँ आउनुहुन्छ, तपाईं बागलुङ आउँदा धार्मिक उद्देश्यका लागि बेसी आउनुस्, यो पवित्रभूमि हो । बागलुङ मात्रै नभई धवल भ्यालीमै कालीगण्डकी सभ्यतासँग जोडिएका शक्तिपीठहरूको दर्शन गर्न सक्नुहुन्छ । मोदीबेनीधाम, गुप्तेश्वर महादेव, बागलुङ कालिका, शालिग्राम सङ्ग्रहालय, वेदविद्या आश्रम सबैसबैको दर्शन गर्नुहोस् । त्यसपछि पञ्चकोट, गलेश्वर, कागबेनी, पाउलत्स्य ऋषिको पुला, मुक्तिनाथ, दामोदर कुण्डसम्म पुग्नुस् । यति धेरै धार्मिक स्थलहरू भएको ठाउँमा तपाईँ धार्मिक अध्ययन एवम् आध्यात्मिक साक्षात्कारको लागि आउने हो । यहाँ शक्तिपीठका पीठाधीसहरूसँग बसेर धार्मिक ज्ञान लिन सक्नुहुन्छ, कालीगण्डकीको सुसेली सुनेर आह्लादित हुन् सक्नुहुन्छ ।

यसपछि यहाँको सांस्कृतिक, साहसिक एवम् ग्रामीण परिवेश अवलोकन गर्न सक्नुहुन्छ । समग्र गण्डकी प्रदेश नै हिमाली एवम् पहाडी ग्राम्य सभ्यता र संस्कारको अध्ययन थलो हो ।

सम्बन्धित समाचार