बिहिबार , अषोज २९, २०८३

पोखराको विरौटामा अरबिक स्वाद पस्कँदै, मोहन शाह

विदेशको अनुभव, स्वदेशको लगानी: पोखरामा अरबिक फास्टफुडको नयाँ गन्तव्य ‘याला फोर्नो’

image

दैनिक हजारौँ नेपाली युवा रोजगारीका लागि विदेशिने क्रम जारी रहेका बेला काभ्रेका मोहन शाह भने विदेशमा सिकेको सीप, ज्ञान र अनुभवलाई स्वदेशमै प्रयोग गर्दै उद्यमशीलताको बाटोमा अघि बढिरहेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा १२ वर्ष काम गर्दा हासिल गरेको अनुभवलाई उनले पोखराको बिरौटामा आफ्नै रेस्टुरेन्ट व्यवसायमा रूपान्तरण गरेका छन् ।

करिब १५ महिनाअघि पोखरा–१७, विरौटाबाट सञ्चालनमा आएको ‘याला फोर्नो एण्ड शोरमा रेस्टुरेन्ट एण्ड क्याफे’ अहिले अरबिक स्वाद खोज्ने ग्राहकका लागि नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ मानाकिस, हुमुस, कबाब, शोरमालगायत विभिन्न अरबिक परिकार उपलब्ध छन् ।

रोशी गाउँपालिका, काभ्रेपलाञ्चोकका स्थायी बासिन्दा शाहले सुरुमा करिब २८ लाख रुपैयाँ लगानी गरेर व्यवसाय थालेका थिए । व्यवसाय सञ्चालनको क्रममा थप करिब १० लाख रुपैयाँ लगानी गर्दै कुल लगानी करिब ४० लाख रुपैयाँ पुगेको उनले बताएका छन् ।

सेफ मोहन शाह

यूएईमा १२ वर्ष काम गर्दा उनले त्यहाँको खाद्य संस्कृति, परिकार बनाउने शैली, ग्राहकको रुचि र रेस्टुरेन्ट व्यवस्थापनलाई नजिकबाट बुझ्ने अवसर पाए । कुकका रूपमा काम गर्दै प्राप्त गरेको यही अनुभवलाई उनले नेपाल फर्किएपछि आफ्नै व्यवसायमा प्रयोग गर्ने निर्णय गरे ।

‘याला फोर्नो’ नामले पनि रेस्टुरेन्टको अवधारणा झल्काउँछ । शाहका अनुसार ‘याला’को अर्थ छिटो र ‘फोर्नो’को अर्थ ओभन हो । त्यसैले छिटो तयार हुने अरबिक फास्टफुड तथा ओभनमा पकाइने परिकारलाई रेस्टुरेन्टमा विशेष प्राथमिकता दिइएको छ ।

नेपाली ग्राहकका लागि अरबिक परिकार अझै नयाँ स्वाद भएकाले त्यसलाई सहज रूपमा स्वीकार्य बनाउन स्वादसँगै मूल्यलाई पनि उनले महत्वपूर्ण पक्ष बनाएका छन् ।

पोखरामा विभिन्न आर्थिक तथा सामाजिक पृष्ठभूमिका मानिसको बसोबास रहेकाले सबै वर्गका ग्राहकलाई लक्षित गरेर मूल्य निर्धारण गरिएको उनको भनाइ छ । विदेशमा लोकप्रिय अरबिक खानालाई पोखरामै सुपथ मूल्यमा उपलब्ध गराएर नेपाली ग्राहकलाई नयाँ स्वादसँग परिचित गराउने उनको प्रयास छ ।

शाहको यात्रा केवल वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर व्यवसाय सुरु गरेको कथा मात्र होइन । यो कुकबाट रेस्टुरेन्ट सञ्चालक बनेको यात्रा समेत हो । आज आफ्नै रेस्टुरेन्ट सञ्चालन गरिरहँदा पनि उनी किचनबाट टाढा छैनन् । कर्मचारीलाई काम सिकाउँदै आफू पनि दैनिक रूपमा किचनमा खटिने गरेको उनी बताउँछन् ।

उनका लागि रेस्टुरेन्ट एउटा व्यवसाय मात्र होइन, विदेशमा सिकेको सीप र अनुभव नयाँ पुस्तासँग बाँड्ने माध्यम पनि हो ।

रेस्टुरेन्ट सञ्चालनका क्रममा दक्ष जनशक्ति खोज्नु, कर्मचारी व्यवस्थापन गर्नु र दैनिक सञ्चालनलाई व्यवस्थित राख्नु चुनौतीपूर्ण रहेको शाह बताउँछन् । तर निरन्तर मेहनत र सिकाइमार्फत चुनौतीलाई अवसरमा बदल्न सकिने उनको विश्वास छ ।

रेस्टुरेन्टले केही युवालाई रोजगारीको अवसर समेत दिएको छ । आफूले विदेशमा सिकेको कुरा कर्मचारीलाई सिकाउँदै उनीहरूलाई व्यवहारिक रूपमा काम गर्न सक्षम बनाउने प्रयास भइरहेको शाह बताउँछन् । यस अर्थमा ‘याला फोर्नो’ उनको व्यक्तिगत व्यवसाय मात्र नभई सीप हस्तान्तरण र रोजगारी सिर्जनाको सानो केन्द्र पनि बन्दै गएको छ ।

पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र आतिथ्यका लागि परिचित छ । शाह भने पोखरालाई खानाको विविधताका लागि पनि उत्तिकै आकर्षक गन्तव्य बनाउनुपर्ने धारणा राख्छन् ।

उनका अनुसार पर्यटकले कुनै गन्तव्य भ्रमण गर्दा प्राकृतिक दृश्य र सांस्कृतिक अनुभवसँगै खानाको स्वाद पनि सम्झन्छन् । त्यसैले पोखरामा नेपाली तथा अन्तर्राष्ट्रिय परिकारको विविधता बढाउन सकिए पर्यटन अनुभव अझ समृद्ध बन्न सक्छ ।

यही सोचअनुसार उनले पोखरामा अरबिक परिकारको व्यवसाय सुरु गरेका हुन् । उनको प्रयासले स्थानीय ग्राहकलाई नयाँ स्वादको अनुभव दिने मात्र होइन, पोखरा आउने विदेशी पर्यटकलाई समेत परिचित अन्तर्राष्ट्रिय खानाको विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ ।

काभ्रे जन्मथलो भएका शाह अहिले पोखरालाई कर्मथलो बनाउने योजनामा छन् । व्यवसायसँगै पोखरा–२९, लेखनाथमा बसोबास गर्ने उनी अब यही शहरसँग आफ्नो भविष्य जोड्न चाहन्छन् ।

करिब १५ महिनाको व्यवसायिक यात्राले शाहलाई थप उत्साहित बनाएको छ । विरौटाबाट सुरु भएको ‘याला फोर्नो एण्ड शोरमा’लाई पोखराका अन्य क्षेत्रमा विस्तार गर्ने र त्यसपछि नेपालका विभिन्न शहरसम्म पुर्‍याउने उनको लक्ष्य छ ।

व्यवसाय विस्तारका क्रममा लगानी, दक्ष जनशक्ति र व्यवस्थापन चुनौतीका रूपमा रहने भए पनि यूएईमा १२ वर्ष हासिल गरेको अनुभव, स्वदेशमै केही गर्ने दृढता र निरन्तर मेहनतलाई आफ्नो बलका रूपमा लिएका छन् ।

विदेशमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गरेर व्यवसाय निर्माण गर्ने शाहको यात्रा वैदेशिक रोजगारीपछि फर्किएका युवाका लागि उद्यमशीलताको एउटा उदाहरण बनेको छ ।

विरौटाको एउटा रेस्टुरेन्टबाट सुरु भएको ‘याला फोर्नो एण्ड शोरमा’को कथा अरबिक खानाको स्वादसँग मात्र जोडिएको छैन । यो विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्ने सोच, रोजगारी सिर्जना गर्ने प्रयास र आफ्नो कर्मथलोमै भविष्य खोज्ने एउटा युवा उद्यमीको यात्राको कथा हो ।

अङ्ग्रेजीमा हेर्नुहोस् : From UAE Kitchens to Pokhara Streets: Mohan Shah Brings Authentic Arabic Flavors to Birauta

सम्बन्धित समाचार