बन्दीपुरको तस्बिर देख्दा मात्रै पनि जाऊँ-जाउँ लाग्छ । त्यहाँ पुगेपछि फर्किन मन मान्दैन । बसिरहूँ बनाउँछ । तर, यति सुन्दर बन्दीपुरको विगत भने निकै कष्टकर तर, प्रेरणादायी छ । बन्दीपुरले भोगेको इतिहास पल्टाउँदा मन कुँडिन्छ, तर, हाैसला पनि बढाउँछ ।
बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकमाझ चर्चित छ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकामा अवस्थित सुन्दर रमणीय पहाडको काखमा विराजमान बस्ती बन्दीपुरमा दैनिक सयौँ पर्यटकहरू पुग्छन् । ‘पहाडकी रानी’ को उपमा समेत पाएकाे बन्दीपुर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। अग्लो पहाडमाथि बसेको बस्ती बन्दीपुरलाई प्राकृतिक ‘भ्यु टावर’ पनि भन्ने गरेको पाइन्छ । करिब चारसय वर्ष अघि बनेका परम्परागत भक्तपुरे शैलीका घरहरू, नेवारी तथा मगर कला, संस्कृति, जीवनशैली बन्दीपुरलाई सुन्दर बनाउने गहना हुन् ।
बन्दीपुरको तस्बिर देख्दा मात्रै पनि जाऊँ-जाउँ लाग्छ । त्यहाँ पुगेपछि फर्किन मन मान्दैन । बसिरहूँ बनाउँछ । तर, यति सुन्दर बन्दीपुरको विगत भने निकै कष्टकर तर, प्रेरणादायी छ । बन्दीपुरले भोगेको इतिहास पल्टाउँदा मन कुँडिन्छ, तर, हाैसला पनि बढाउँछ । र, अचम्म पनि लाग्छ कि, कुनै बेला मानिसहरूले बस्न छोडेर खण्डहर बनेपछि ‘भूत गाउँ’को उपमा पाएकी बन्दीपुर कसरी बनिन् ‘पहाडकी रानी’ ?
बन्दीपुरको इतिहास के हो ? एउटा व्यस्त अनि सुन्दर बजार कसरी गर्ल्यामगुर्लुम ढल्यो ? खण्डहर बनेको बन्दीपुर कसरी जुरमुरायाे ? उसको सुन्दरता जोगाउन र बढाउन गाउँपालिकाले के-के गर्दैछन् र आगामी योजना के के छन् ? बन्दीपुरमा अहिले पाहुनाहरूको आवागमन कस्तो छ ? पाहुनाहरूका लागि के कस्ता सेवा सुविधाहरू छन् ? यी यस्तै प्रश्नहरूमा केन्द्रित रहेर हिमाल दर्पण का लागि चन्द्र तामाङ ले बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा सँग गरेकाे कुराकानीको सम्पादित अंश:
बन्दीपुरलाई कसरी चिनाउनुहुन्छ ?
– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजारबाट करिब सात किलोमिटरको दुरीमा अवस्थित एक रमणीय पहाडी गाउँ हो, बन्दीपुर । डुम्रेबाट उकालो लागेपछि केही समयमै यहाँ आइपुग्न सकिन्छ । यहाँ आउनसाथ अर्कै हावापानी पाइन्छ र अनौठो ठाउँमा पुगेको आभास हुन्छ । यो करिब चार सय वर्ष पहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवारहरूले बसालेको बस्ती हो । यहाँ अझै पनि त्यसबेलाका घरहरू छन् । भक्तपुरे शैलीका चिटिक्क परेका घरहरू बन्दीपुरको आकर्षण बनेका छन् । ती घरहरू बन्दीपुरका ऐतिहासिक सम्पदा हुन् । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय बोकेका छन् । बन्दिपुर पहिला लमजुङ, गोरखा र तनहुँको मुख्य व्यापारिक केन्द्र थियो । ती जिल्लाहरूको तराई प्रवेश गर्ने नाका नै बन्दिपुर थियो । त्यस कारण बन्दीपुर त्यत्त बेला नै एउटा विकसित बजार बनेको थियो । मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोर्खा र मनाङको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रूपमा विकास भएको थियो । पछि वि.सं. २०२५ सालमा तनहुँको सदरमुकाम दमौलीमा सरेपछि बन्दीपुर सुनसान बनेको थियो । सदरमुकाम सर्यो, राजमार्गहरू पनि बनेपछि बन्दीपुर सुनसान बन्दै गयो । यहाँका व्यापारीहरू दमौली, पोखरा, नारायणगढतिर गए । कतिपय काठमाडौं भक्तपुर पुगे । ०५० सालसम्म आउँदा सुन्दर बजार बन्दीपुर खण्डहरमा परिणत भएको थियो । थोरै नेवार समुदायको मात्रै बसोबास थियो । घरहरू भत्किरहेका थिए । लथालिङ्ग थिए । त्यसैले बन्दीपुर ‘डेट सिटी’ र्थात् ‘मृत सहर’ भनेर चिनिएको थियो । कतिपयले बन्दीपुरलाई ‘भूत गाउँ’ भनेर समेत सम्बोधन गर्न थालेका थिए ।
‘भूत गाउँ’ बन्दीपुर कसरी बन्यो ‘पर्यटकीय हब’ ?
– अनि त्यसरी ढलिसकेको, लथालिङ्ग बनेको बन्दिपुरलाई कसरी उठाउने भनेर यहाँबाट काठमाडौं भक्तपुर फर्केका नेवारहरूलाई चिन्ता भएछ । आफ्ना पिता पुर्खाले बसालेको, जन्मेहुर्केको गाउँ बस्तीको माया सबैलाई लाग्ने नै भयो । उहाँहरूले भूत गाउँको उपमा पाइसकेको बन्दीपुरलाई पर्यटन मार्फत विकास गर्ने सोच बनाउनुभएको रहेछ । ०६३ सालको दसैँ र तिहारको बीचतिर होला, करिब चार सय जत्ति मोटरसाइकल र्यालीसहित उहाँहरू काठमाडौंबाट बन्दीपुर आउनुभयो । र्यालीमा करिब आठसय जना जत्ति थिए । उहाँहरूले त्यसपछि व्यापक प्रचारप्रसार गर्न थाल्नुभयो । विभिन्न सञ्चारमाध्यमहरूमार्फत प्रचारप्रसार भयो । पर्यटकहरू आउन थाले । गाउँमा पाहुनाहरू आउन थालेपछि यहाँका घर, बाटोघाटो, मठमन्दिर, चौतारी, पाटी पौवाको मर्मत सम्भार, सरसफाइ सुरु भयो । मुख्य बजारमा सवारीसाधन प्रवेश निषेध गर्यौँ । बाटोमा ढुङ्गा विच्छ्याइयो । बजार सफा, शान्त र सुन्दर बन्यो । पर्यटकहरू लोभिन थाले । यहाँ आउने पर्यटकहरूले नै अरू पर्यटक पठाउन थाले । हामीले पनि बन्दीपुरलाई थप पर्यटकमैत्री बनाउँदै लग्यौँ । विभिन्न कार्यक्रमहरू गर्दै गयौँ । यसरी ०७२ को भूकम्प अघिसम्म आइपुग्दा बन्दीपुरमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो यति बढ्यो कि यहाँ पाइला टेक्ने ठाउँ नै नपाउने अवस्था आयो । बन्दीपुरको पर्यटनलाई भूकम्प र कोरोना महामारीले पनि त्यत्ति धेरै असर गरेन भन्दा फरक नपर्ला । कोरोनाकालमा पनि यहाँ पर्यटकहरू आइरहनु भएको थियो । हामीले स्वास्थ्य मापदण्ड पालना गर्दै सेवा दियौँ ।
मानिसहरूले बस्न छोडेको, खण्डहर बनेको बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन काठमाडौं भक्तपुरबाट आएको र्यालीले मात्रै त सम्भव भएन होला । यहाँ निरन्तर बसोबास गरिरहेका स्थानीयवासीको पनि त भूमिका होला नि ?
– हो, तपाईँले भने जस्तै गाउँबाट सहर पस्नुभएकाहरूको मात्रै पहलले यो सम्भव भएको चाहिँ होइन । सहर पसेका बन्दीपुरे र बन्दीपुरमै बस्नेहरूको सहकार्यले नै बन्दीपुरको पर्यटन विकास सम्भव भएको हो । ०४९ साल तिरसम्म आइपुग्दा बन्दीपुरबाट काठमाडौं बसाइँसरेकाहरूको सङ्ख्या मात्रै झन्डै चार सय जति भएको रहेछ । उहाँहरूले बन्दीपुरको विकासमा सहयोग गर्न भन्दै बन्दीपुर सामाजिक विकास संस्था नामक संस्था ०४९ तिरै स्थापना गरेका रहेछन् । उक्त संस्थाले बन्दीपुरको विकास गर्न ‘इको टुरिजम प्रोजेक्ट’ भन्ने कार्यक्रम ल्यायो । त्यो संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आयो भने यता बन्दीपुरमै बसेर काम गर्ने चाहिँ ईश्वरीगोपाल प्रधान भन्ने हुनुुहुन्थ्यो, उहाँ पूर्व प्रधानपञ्च पनि हुनुहुन्थ्यो । उक्त संस्थाको पनि विशेष व्यक्ति भनेको एक जना शिक्षाविद् हुनुहुन्छ, उहाँ चीजकुमार श्रेष्ठ हुनुहुन्छ । उहाँलाई बन्दीपुरको ‘भिष्म पितामह’ पनि भनेर चिनिन्छ । अहिले उहाँले ८० वर्षको उमेर पार गर्नुभएको छ । त्यसैगरी डा. मदनकुमार पिया, नमस्तेलाल भूमि, जीवनकुमार श्रेष्ठ लगायतका व्यक्तिहरूको महत्त्वपूर्ण भूमिका छ बन्दीपुरको पुनर्जागरणमा । उहाँहरूको योगदानले नै बन्दीपुर आज यहाँ छ । त्यस्तै गरेर यहाँ बसोबास गर्ने समुदायहरूबीचको आपसी समन्वय, सहकार्य, सद्भावले पनि बन्दीपुरको विकासमा सहयोग पुर्याएको छ ।
बन्दीपुर भन्ने बित्तिकै परम्परागत गाउँले संरचनामा बनेको एउटा सुन्दर बजार अथवा गाउँको चित्र मानसपटलमा बन्छ । तर, पछिल्लो समय यहाँ आधुनिक सहरी संरचना, घरहरू बन्न थालेका रहेछन् । यसले बन्दीपुरको मौलिक पहिचान गुम्ने खतरा देखिन्छ । तपाईँ गाउँपालिका अध्यक्ष पनि हुनुहुन्छ, बन्दीपुरको मौलिकताको संरक्षणका लागि केही चिन्तन गर्नुभएको छ ?
– अत्यन्तै सान्दर्भिक प्रश्नको लागि धन्यवाद । म गाउँपालिकाको नेतृत्वमा आउनुअघि सानो बजार एरियालाई मात्रै संरक्षित क्षेत्र बनाएर मौलिक संरचनाको संरक्षण गर्ने गरेको रहेछ । म आइसकेपछि सिङ्गो बन्दीपुर गाउँलाई नै संरक्षण गर्नुपर्छ । गाउँभरिकै मौलिक संरचनाको संरक्षण गर्नुपर्छ भनेर लागेको छु । नयाँ बन्ने संरचनालाई परम्परागत स्वरूप र संरचनामा बनाउनुपर्ने निर्णय भएको छ । आधुनिक स्रोत साधन प्रयोग गरिए पनि स्वरूप भने परम्परागत शैलीकै हुनुपर्ने नियम बनेको छ । जस्तो घर बनाउँदा सिमेन्ट, फलामको प्रयोग भए पनि संरचना पुरानै र छानो पनि पुरानै शैलीमा छाउनुपर्ने नियम बनेको छ । ताकि गाउँलेपन र स्वरूप जोगियोस् । त्यसैगरी सकेसम्म नयाँ बनाउनुभन्दा पुरानै संरचनालाई जोगाउने, तिनको मर्मत सम्भार गर्ने गरेका छाैँ ।
बन्दीपुरका मुख्य पर्यटकीय आकर्षणहरू के-के हुन् ?
– बन्दीपुरमा थुप्रै पर्यटकीय आकर्षणहरू छन् । बन्दीपुर प्राकृतिक सुन्दरताले भरिपूर्ण छँदै छ, यसका साथै धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक रूपले पनि बन्दीपुर महत्त्वपूर्ण गन्तव्य हो । बन्दीपुरलाई पहाडकी रानी भनेर उपनाम यसै दिइएको होइन । यहाँबाट दन्ते लहर जस्तै हिमशृङ्खला, हरिया पहाड, लमतन्न परेका फाँट अनि नागबेली झैँ बग्ने नदीहरू अवलोकन गर्न सकिन्छ । नेवारी संस्कृतिले पोतिएको बन्दीपुरमा मगर संस्कृति पनि अवलोकन गर्न पाइन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर । तीनधारा, रानीवन, टुँडिखेल, थानीमाई, खड्गदेवी मन्दिर, रामकोट, महालक्ष्मी मन्दिर, सुनाखरी, विन्ध्यवासिनी मन्दिर । यी आन्तरिक पर्यटकका आकर्षक केन्द्र हुन् । अर्ग्यानिक खाना त पाइन्छ नै त्यसमा गुन्द्रुक, ढिँडो, लोकल कुखुराको मासु, सेलरोटी लगायतका परिकार झन् स्वादिला लाग्छन् । त्यस्तै, पर्यटकको सुविधाका लागि प्याराग्लाइडिङको समेत व्यवस्था छ । अहिले बन्दीपुरमै नेपालकै पहिलो लक्जरी केबलकार पनि बन्ने क्रममा रहेको छ ।
बन्दीपुरमा गाँसबासको व्यवस्था कस्तो छ ?
– बन्दीपुरमा अहिले सबै स्तरका गाँसबासको व्यवस्था छ । सामान्यदेखि दैनिक सय डलरसम्म पर्ने होटेलहरू पनि छन् । अर्काे राम्रो सुविधा चाहिँ होमस्टेको सुविधा छ । यहाँ सामुदायिक र व्यक्तिगत गरी दर्जनौँ होमस्टे सञ्चालनमा छन् । अहिले पाहुनाहरूको आकर्षण होटेलमा भन्दा होमस्टेमा देखिन्छ । होमस्टेमा बस्दा घरमै बसेको जस्तो महसुस हुने, अर्ग्यानिक खानपान अनि सस्तो हुने भएकाले धेरैले होमस्टे रोज्ने गरेको पाइन्छ । अहिले यहाँका होमस्टेमा प्याकेजहरू पनि छन् । जम्मा आठसय देखि एक हजार रुपैयाँमा गासवासको व्यवस्था हुन्छ । सेवा सुविधा, सरसफाइ स्तरीय होटेलको भन्दा कम हुँदैन । त्यसमाथि घरबेटीसँगको आत्मीयता छँदै छ । जे होस्, बन्दीपुरमा पाहुनाको छनौट अनुसारकै गाँसबास उपलब्ध छन् ।
कसरी आइपुग्ने बन्दीपुर ?
– काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै एक सय ३३ किलोमिटर पार गरेपछि डुम्रे बजार पुगिन्छ । पर्यटकहरू डुम्रे ओर्लेपछि ट्याक्सी लिएर जङ्गलका हरियालीसमेतको मनोरम दृश्य हेर्दै बन्दीपुरको उकालो चढ्दाको मजा भिन्नै महसुस गर्छन् । घुमाउरो र पहाडको मनोरम दृश्य छिचोल्दै आठ किमी दुरी पार गरेपछि बन्दीपुर आइपुग्छ । काठमाडौंबाट चार घण्टाको सवारी यात्रा गरेपछि पुग्न सकिन्छ भने पोखराबाट दुई घण्टामै आउन सकिन्छ ।
भिडियो