बुधबार , साउन ९, २०८१

चथा पर्व : पाखो बारी हुने किसानहरूको खुशीको पर्व

गणेश चौथीको दिन ईन्द्र आफ्नो आमाको आज्ञाअनुसार पारिजातको फूलहरू लिन नेपाल मण्डलमा आएको दिन भनेर किंवदन्तीमा उल्लेख भएको छ । सो दिन फूलहरू टिपेको हुनाले ईन्द्रलाई चोरको दोष लागेको छ ।

image

  • बद्रीनाथ कायस्थ

चथा पर्वलाई पाखो बारीहरू हुने किसानहरूले खुशीको मौकाको रुपमा पर्व मनाएको मानिन्छ । आफ्नो घरमा मकै गहुँ, बकुला, बोडी, भटमास, चना र केराउ भित्रिएको पाइन्छ । त्यसकारण पर्व मनाउँदा घरका बालबच्चाहरू रमाइलो मान्दथे । यसरी किसानहरूले मनाउने धेरै चाडपर्वहरू मध्येको यो एक विशेष महत्त्व बोकेको पर्वको रूपमा खास गरेर पाखोबारी भएको किसानहरूको लागि देखिन्थ्यो ।

आज आएर साधारण हेर्दा चथा भनेको गणेश चौथीबाट चथा भएको भनिन्छ । कारण गणेश चौथी (चतुर्थी) को दिन गणेशको जन्मदिनको रुपमा लिईन्छ । तर नेवारहरू यस दिन चख: मनाउँछन् । यो पर्व ठूलो नख: नभईकन सानो चख: को रूपमा मनाइन्छ । त्यसकारण कृषि उत्पादनको हिसाबले सानो सानो पर्वहरू (चख:) यसले थाम्न सक्ने हुनाले यस सिजनमा मनाउने चख: थाम्याफु (पर्वहरू थामेर राख्ने विकल्प) बाट चथा भएको बुझिन्छ ।

यसो भन्नाले तीन कुराहरू देखाएको बुझ्न सकिन्छ ।

१. साधारण त नेपाल मण्डलमा किसानहरू धान खेतीको उत्पादनमा आधारित भएर चाडपर्वहरू मनाउने हिसाब किताब गरेको पाईन्थ्यो । त्यसमा मकै, गहुँ अथवा अन्य गेडागुडी उत्पादनबाट सानो पर्वहरू मात्र ढान्न सक्ने भएकोले चख: थाम्ने ( चथा ) भनेको हुन सक्दछ ।

२. नेपाल मण्डलमा खेतबारीबाट हुने धान बालीहरूको बढी उत्पादन र पाखो बारीहरूमा हुने गहुँ, मकैको कम उत्पादनलाई किसानहरू धेरै फरक देख्दथे । साच्चै नै भन्ने हो भने पाखो बारी हुने किसानहरूले खेतबारी हुने किसानहरूको ईज्जत पाउँदैनथे । त्यसकारण पनि पाखो बारीहरूबाट उत्पादित अन्नहरूबाट चख: पर्व मात्र धान्ने सोँच राख्दथे ।

३. साधारण त ठूलो ठूलो र महत्त्वपूर्ण चाडपर्वहरूमा धान चामलबाट तयार पारिएको योमरि, चतांमरि, सेलमरि, चाकुमरि, चिनिमरि, नैबेद्य, खिर, पकवान, आदि सबै जस्तो धान चामलको उत्पादनबाट सजिलै व्यवस्था हुन्थ्यो ।

४. त्यसको विकल्पमा मकै, गहुँ तथा अन्य बालीहरूले लिन सकेको पाइन्न । यसरी यो चथा पर्व त्यही विकल्पको रूपमा मनाउन खोजिएको एक उदाहरण मात्र देखिन्छ । यसमा धान, चामल बाहेक अन्य कृषि उपजहरू प्रयोगमा ल्याइएको हुन्छ । जस्तो भुटेको मकै, भुटेको बकुला, भुटेको भट्टमास, भुटेको चना, भुटेको गहुँ, फर्सिको बिउ, आरुको बिउ, भुटेको केराउ आदिलाई छुस्या मुस्याको नामबाट प्रदर्शन गर्ने र प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ । त्यस्तै, बारीमा हुने काँक्रो, हलुवाबेद, अम्बा, नासपाति, उखुको बोट र अदुवाको बोटको प्रयोग भएको पाइन्छ ।यसरी यो पर्व पाखो बारीहरू मात्र हुने किसानहरूले समेत आफ्नो पाखो बारीहरूबाट उत्पादन भएको अन्न बालीहरूको उत्पादनबाट मनाउन सकिने पर्वको रूपमा प्रस्तुत गरिएको पाईन्छ । जुन आज आएर शहरीकरणले गर्दा पाखो बारी नै रहला जस्तो छैन ।

यो पर्वलाई ठूलो महत्त्व दिएर विभिन्न सामाजिक कुराहरूको हिसाबकिताब गरेर मनाउने व्यवस्था गरेको पाईन्छ । यसमा मुहारलाई राम्रो नराम्रो दर्शाएको पाईन्छ । मुहारको तुलना गरेर चन्द्रमा र गणेश देवताको तुलना भएको छ । चन्द्रमाले आफ्नो मुहार सुन्दर भएको फुर्ति गरेर नराम्रो मुहार भएको, हात्तीको मुहार भएको गणेशको उपहास भएको किंवदन्तीमा उल्लेख गरेको छ ।

त्यसमा गणेश रिसाएर चन्द्रमालाई श्राप दिएर चन्द्रमालाई कसैले हेर्न नहुने हेरेमा चोरको दोष लाग्ने उल्लेख भएको छ । यसमा सामाजिक न्याय र व्यवहारको हिसाबले राम्रो नराम्रो मुहारको महत्त्व देखाउन खोजिएको छ । राम्रो मुहार हुनेहरूलाई सावधान गराएको छ । नराम्रो मुहार भएकोहरूको उपहास नगर्न शिक्षा दिएको छ । यहाँसम्म कि यस गणेश चौथीको दिन ईन्द्र आफ्नो आमाको आज्ञाअनुसार पारिजातको फूलहरू लिन नेपाल मण्डलमा आएको दिन भनेर किंवदन्तीमा उल्लेख भएको छ । सो दिन फूलहरू टिपेको हुनाले ईन्द्रलाई चोरको दोष लागेको छ । नेपाल मण्डलका वासीहरूले समातेर चोर भनेर बाधेर राखेको किंवदन्तीमा उल्लेख छ ।

सोही कुरालाइ ध्यानमा राखेर राम्रो भएतापनि चन्द्रमालाई हेर्न नपाइने र हेरेमा चोरको दोष लाग्ने किंवदन्तीमा उल्लेख भएको छ । यो सबै कुराहरू हामी मानिसहरूलाई शिक्षा दिन पर्वहरूको रुपमा प्रस्तुत गरिएको छ । यो पर्व पाखो बारीहरू हुने किसानहरूको ईज्जत बचाउन र हेलाको दृष्टि ले नहेर्न सबैको ध्यान जाओस् भनेर मनाउन व्यवस्था भएको पाईन्छ ।

त्यस्तै, पाखो बारीहरू हुने किसानहरूका लागि गैह्रि खेत भएको किसानहरूको खेतमा आँखा नलगाउन चेतावनी दिएको छ । हेरेमा चोरको दोष लाग्ने डर देखाइएको छ । यी अभिप्रायहरू बाहेक यी पर्वहरूको आफ्नै महत्त्वहरू छन् । यो पर्वको सबभन्दा महत्त्वपूर्ण कुरा पाखो बारीहरू हुने किसानहरूको कृषि उत्पादनहरू जस्तो मकै, गहुँ, बोडी, बकुला, भटमास आदि अन्नबालीहरू र कोसेबालीहरू भित्र्याएको उपलक्ष्यमा खुशियाली मनाउनु हो ।

यसबाट पनि सानो रुपमा चख: पर्वहरू मनाउन सकिन्छ भन्ने संदेश दिनको लागि हो । तर, आजकाल शहरीकरणले गर्दा पाखो बारी हुने किसानहरू नै हराएको हो कि जस्तो भईसकेको देखिन्छ । तर पनि यसलाई स्थानीय स्तरमा सानो रूपमा बचाएर राख्न चाहेमा त्यस्ता स्थलहरू नभएको भने होईन ।

यसलाई सानो दशै भनेर पनि महत्त्व देखाउन वडादशैँसँग तुलना गरिएको छ । यो पर्व राम्रोसँग मनाउन सकेमा वडादशैँ पनि राम्रो मनाउन सकिने, यसमा पानी परेमा वडादशैँमा पनि पानी पर्न सक्ने, यो पर्व जुन बारमा पर्छ वडादशैँको महाअष्टमी (कुछिभ्वय्) पनि सोही बारमा पर्छ भन्ने तुलनाहरू गरेर यसको महत्त्व बढाउन खोजिएको पाईन्छ ।

अहिले आएर यस पर्वलाई गणेश चतुर्थी, गणेशको जन्मदिनको रूपमा धूमधामका साथ मनाउने प्रचलन बढेको छ । जुन समय सान्दर्भिक नै देखिन्छ । भक्तपुरको सूर्य विनायकको भव्य खट जात्रा नै गरेर मनाउन सुरु भएको छ । काठमाडौंको अशोक विनायकमा होम गरेर भव्य पूजा र भोग चढाएको पाईन्छ । त्यस्तै, चाबहिलको चन्द्र विनायकमा पनि भव्य पूजाहरू र भोगहरू चढाएको पाईन्छ । पशुपतिनाथ क्षेत्रको गणेश मूर्तिमा गणेश चौथी पूजाहरू भएको छ । यसरी समयअनुसार यसको महत्त्वमा सुधार आएको छ भन्न सकिन्छ ।

सम्बन्धित समाचार