मंगलबार , असार २, २०८३

लिच्छविकालदेखि चलिआएको ‘छ्याला पुन्ही’को कथा

यसै दिनदेखि भक्तपुरको हनुमानघाट, काठमाडौँको साँखु र ललितपुरको लुभुमा एक महिने श्री स्वस्थानी माताको व्रत बस्न सुरु गर्ने प्रचलन छ ।

image

काठमाडौँ । पौष शुक्ल पूर्णिमालाई नेपाल भाषामा ‘छ्याला पुन्ही’ भनिन्छ ।

नेवार समुदायमा रहेका विभिन्न पर्वहरू कृषि र सरसफाइसँग सम्बन्धित रहेका हुन्छन् । यो पूर्णिमालाई पनि सरसफाइ गर्ने पर्वको रूपमा लिइन्छ । यसदिन घरमा वर्षभरि प्रयोग गरी टुटेफुटेका माटोका सामान (घ:, स्वमा, टेप, अथ, कलाचा, गोप भाजं, भेग:)हरू घरनजिक रहेको ‘छ्वास’ मा मिल्काउने गरिन्छ । 

यसैदिन, भगवान चाँगुनारायण काठमाडौँको तलेजु भवानीकोमा लग्ने गरिन्छ । चाँगुनारायण, लक्ष्मी, र सरस्वतीको प्रतीक चाँदीको तीनवटा कलश तलेजुमा लग्ने, यो एउटा लिच्छविकालीन परम्परा हो । लिच्छविकालमा यसरी चाँगुनारायणलाई तलेजु लगिँदा उक्त यात्रा रोक्न वा पर सार्न भगवानलाई अपसगुन होस् र यात्रा रोकियोस् भन्ने उद्देश्यले बाटोमा माटाको भाँडाकुँडाहरू फुटाउने प्रचलन रहेको जनश्रुति पाइन्छ ।

चाँगुनारायणको तलेजु यात्रा रोक्न बाटोमा फुटाइएका माटाका भाँडाहरूलाई सफा गर्ने गतिविधि नै कालान्तरमा प्रचलन बनेको अनुमान गर्न सकिन्छ । सोही प्रचलनलाई पछ्याउँदै आज पनि छ्याला पुन्ही अर्थात् पौष शुक्ल पूर्णिमाको दिन फुटेका माटाका भाँडा खोजेर घरनजिकै मिल्काउने चलन चलिआएको हुनसक्ने अनुमान गरिन्छ ।

चाँगुनारायण काठमाडौँ ल्याएको हो भनी साक्षी राख्न वसन्तपुरमा कुमारीको समेत उपस्थिति गराइने प्रचलन पनि रहिआएको छ ।

यसै दिनदेखि भक्तपुरको हनुमानघाट, काठमाडौँको साँखु र ललितपुरको लुभुमा एक महिने श्री स्वस्थानी माताको व्रत बस्न सुरु गर्ने प्रचलन छ ।

सम्बन्धित समाचार