Photo by: Himal Darpan
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौँ संस्करणको उद्घाटनका दिन पुरु लम्सालद्वारा निर्देशित डकुमेन्ट्री ‘गोरु पर्व’ प्रदर्शन गरियो । करिब ४६ मिनेटको उक्त डकुमेन्ट्रीले उपस्थित दर्शकहरूबाट राम्रो प्रतिक्रिया पायो । निर्देशक लम्साल नुवाकोटकै भएकाले र नुवाकोटको तारुकामा गोरु जुधाउने चलन हुनाले उनीभित्र जात्राबारे उत्सुकता रहेको थियो ।
उक्त गोरु जुधाउने जात्राको विषयमा एकदम फरक-फरक खालका भनाइहरू सुनिन्थे । कसैले भन्थे, ‘तारुका जयपृथ्वी बहादुर सिंहको मामाघर हो । ऊ मामाघर जाँदाखेरि गोरु जुधाउन थालेको ।’ त्यसैसरि अर्काथरिले, ‘होइन’ जयपृथ्वी बहादुर सिंहकै घर हो । ऊ त्यहाँ जाँदाखेरि गोरु जुधाउन थालेको हो’ भन्थे । यहि विभाजित तथ्यको मझधारमा बसेर निर्देशक लम्सालले सत्यतथ्य खोज्ने जमर्को गरे। विदेशमा यही गोरु जुधाइलाई (विशेष गरी स्पेनमा) पर्यटनको भयङ्कर ठुलो उपज बनाइको कुराले उनीभित्र थप ऊर्जा थपिदियो । ‘यसलाई हामीले पनि त अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ होला नि’ भन्ने भाव उनीभित्र जाग्यो ।
जात्रा माघेसंक्रान्तिकै दिन आयोजना हुने भएकाले र माघेसंक्रान्तिसँग विभिन्न संस्कृति जोडिने भएकाले यसलाई सांस्कृतिक पर्यटनको रूपमा पनि प्रवर्धन गर्न सकिन्छ भन्ने कुरा पनि उनले सोचे । यस्तै कुराले लम्साललाई तथ्य के हो भन्ने चिज खोज्न बाटो देखायो । यसपश्चात् उनी यस गोरु जुधाई परम्परालाई कसरी अन्तर्राष्ट्रिय स्तरमा लैजाने भनेर सोचमग्न बने ।
गोरु जुधाउने जात्रा हरेक वर्ष माघेसंक्रान्तिका दिन हुँदै आइरहेको छ । यसले समाजमा के दिन्छ अथवा समाजसँग यसलाई कसरी जोड्न सकिन्छ भन्ने बारे लम्सालले पटकपटक सोचे । करिब छ/सात महिना यहि विषयमा घोत्लिएपछी अन्तत्वगत्वा एउटा निर्क्यौलमा पुगे । सोही निर्क्यौलको निष्कर्ष थियो – यो डकुमेन्ट्री । यद्यपि प्रोड्युसर केपी पाठकले ‘गोरु जुधाइ सम्बन्धी एउटा डकुमेन्ट्री बनाऔँ’ भनेपछि नै निर्देशक लम्सालले आफ्नो विचार त्यसमा मिसाएका हुन् ।
पर्यटनको ‘होल प्याकेज’
दुर्भाग्यवश त्यसैबिच कोरोनाका कारण लकडाउन भयो, सरकारले सभा सेमिनार गर्न प्रतिबन्ध लगायो । उनलाई समय मिल्यो । उत्खनन् गर्न बाँकी स्रोत-सन्दर्भहरू जोड्न/बटुल्न थाले । लम्सालका अनुसार, गजराज सिंहको पालादेखि गोरु जुधाउने चलन सुरु भएको रहेछ । गजराज सिंहले शाहजादी विवाह गरेका थिए । तारुका उनको बिर्ता थियो । तारुकाको बिर्ता (शाहजादीलाई दिएको बिर्तामा) गजराज सिंह जाँदा त्यहाँका किसानहरूले उनको मनोरञ्जनका लागि गोरु जुधाएको भन्ने तथ्य डकुमेन्ट्रीमा देख्न सकिन्छ ।
कोरोना नभएको भए र लकडाउनको अवस्था सिर्जना नभएको भए त्यहाँ ५०/६० हजार मान्छे जम्मा हुन्थे । ती मान्छेहरूले त्यहाँ खान्थे, बस्थे, रमाइलो गर्थे । “जात्रा हेर्न आउँदा गाउँठाउँमै खाने बस्ने हुँदा यसलाई व्यावसायिक पाटोबाट पनि कसरी हेर्न सकिन्छ । यसहिसाबले गोरु जुधाउने जात्रा आर्थिक उपार्जनको पाटोसँग जोड्न सकिन्छ”, लम्साल भन्छन् ।
तारुका स्थानीयले आफ्ना उत्पादनहरू त्यो पर्वको दिन बेच्ने थिए, ती सबै चिजहरू जोडेर एउटा राम्रो संयोजन गर्न सकिन्छ भन्ने सोचेर उनले यो डकुमेन्ट्री बनाउन सुरु गरेको थिए । तर, लकडाउनले गर्दा भनेजस्तो काम हुन् सकेन । केही सामाजिक मुद्दाहरू छुट्न पुगे । त्यहाँ स्टल हुन्थे, विभिन्न सरसामान बेच्थे, कृषकहरूले आफ्नो अन्नबाली बेच्थे, र सँगसँगै तारुकाका फरकफरक जातजातिका सांस्कृतिक झाँकीहरू देखाइन्थ्यो । लाखे नाचिन्थ्यो । बालन गाइन्थ्यो । मगरहरूले आफ्नो संस्कृति देखाउँथे । नेवारहरूले आफ्नो संस्कृति देखाउँथे । पर्यटनको ‘होल प्याकेज’ ! यी सबै चिजहरू हरेक वर्ष हुन्थ्यो तर, यो वर्ष चाहिँ कोरोना कारण हुन सकेन ।
‘संस्कृतिको एउटा फुल प्याकेज हामीसँग छ है भनेर अन्तर्राष्ट्रिय स्तरमा देखाउनका लागि डकुमेन्ट्री बनाएको हूँ, केकस्तो बन्यो तपाइँहरूले भन्नुहोला”, उनी बताउँछन् ।
डकुमेन्ट्री बनाउन लम्साल आफ्ना सहकर्मीहरूसहित स्थानीय सरकारहरूसम्म पुगे । स्थानिय सरकारलाई घचघच्याई रहे तर, स्थानीय सरकार लम्सालको टीमलाई कुनै पनि सहयोग प्राप्त हुन् सकेन । स्थानीय सरकारले कुनै सहयोग नगरे पनि उनीहरूले स्थानीयवासीहरूबाट सहयोग पाउने आशा थियो तर उनीहरूको कुरालाई स्थानीयले पनि खासै चासो देखाएनन् । “नुवाकोटको मेरो पनि हो तर, मेरो भन्दा बढी तपाईँहरूको हो । तपाईँहरूको पनि यसमा संलग्नता भयो भने चाहिँ तपाईँहरूलाई पनि अपनत्व हुन्छ, हामीलाई पनि काम गर्न अझ काम गर्न जाँगर लाग्छ भनेऔँ तर स्थानीयवासीबाट खासै प्रतिक्रिया पाइएन, लम्साल अगाडि भन्छन्, “गर्न खोज्दा एक्लो पारिँदा साह्रो दुख लाग्दो रहेछ ।”
अब अनुसन्धान गरिसकियो, काम गर्ने भनेर योजना बनिसक्यो, ‘ठिकै छ हामी आफैँ गरौँ न त’ भन्ने भएर उनको समूह खटियो । प्रोड्युसर केपी पाठकले र सिने मेकर्स प्रा लिले यो डकुमेन्ट्रीमा लगानी गरे । जसपछी लगानीको एउटा खड्को पार लाग्यो ।
गोरु जुधाउन समिति गठन
पुसको पहिलो हप्तामा गोरु जुधाउन समिति गठन हुन्छ । समितिले गोरु दर्ताको दिन तोक्छ, तोकिएको दिन भित्र दर्ता भएको गोरु मात्र जुध्न पाउँछन् । त्यसैले उनीहरूको टिम पनि एकपटक गोरु दर्ता हुने समयमा त्यहाँ पुग्यो । त्यसपछि किसानहरूले गोरु कसरी पाल्छन् ? उनीहरूले के-के ख्वाउँछन् ? किसानहरूको अपेक्षा के छ ? उनीहरूले गोरुमाथि कति लगानी गरेका छन् भन्ने कुराहरू खिच्नको लागि फेरी अर्को दिन गए । यस कामका लागि करिब ५/६ दिन नै दौडधुप गरेको लम्साल बताउँछन् ।
यसपश्चात्, पुस ३० गते र माघ १ गते दुई दिन खर्चेर १२/१३ जनाको टिमले डकुमेन्ट्री तयार गर्यो । “ठ्याक्कै कोरोना महामारी भएकाले दुःख पनि भयो, मान्छेहरू बोल्न पनि डराउँथे । तर हामीले आफ्नो काम रोकेनौँ, स्थानीयवासी पनि पछि सहयोग गरे”, लम्साल भन्छन् । सुरुवाती चरणमा सहयोग गर्न नमान्नेहरूले विस्तारै चासो देखाउँदा काममा जोश थपिएको लम्सालको अनुभव छ ।
एतिहासिक तथ्यहरू पुष्टि गर्नका दु:ख
“इतिहासको कुरा गर्दा यो १,३०० वर्षदेखि चलिरहेको परम्परा हो । बिचमा मासियो होला, केही वर्ष जुधेन होला, त्यो अर्कै पाटो हो तर नेपालमा गोरु जुधाईको इतिहास १,३०० वर्ष १,४०० वर्ष देखिको रहेछ । त्यसैको निरन्तरता नै हो, अहिलेको यो खेल । यी सबै चिजहरू खोज्न आवश्यक छ ठानेर नै डकुमेन्ट्री बनाएको हुँ”, लम्साल भन्छन् ।
‘टीम अफ लम्साल’ले बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंहको खलक अर्जुनजङ्ग बहादुर सिंहलाई भेट्टाए । बहादुर सिंहले समय दिएर ‘तारुकाको बिर्ता’ आफूहरूको भएको बताए । इतिहासविद् एवम् बझाङ्गी राजाका राज गुरु केशवराज जोशीबाट टीम अफ लम्साललाई सहयोग प्राप्त भयो । प्राज्ञ एवं संस्कृतविद डाक्टर जगमान गुरुङले माघेसंक्रान्ति कसको हो, कसको होइन, किन मनाइन्छ, भन्ने खालको कुराहरूमा धेरै सहयोग गरे । यसैगरी, इतिहासविद् दिनेश राज पन्तले केही इतिहासका तथ्यगत कुराहरू भनिदिए, जस्तै: विक्रम संवत् यति बेलादेखि यति बेलासम्म देखि नै गोरु जुधाउने प्रचलन थियो भन्ने तथ्य पन्तको सहयोगबाट हल भयो ।
अन्यत्रबाट भरपुर सहयोग पाइरहँदा स्थानीयको सोचेजस्तो साथ र सहयोग नपाएकोमा लम्सालको चित्त दुखाइ अझै बाँकी छ । तर, उनी अनुहारमा मुस्कान ल्याउँदै भन्छन्, “समस्याका बाबजुद डकुमेन्ट्री बनाउने प्रयास गरियो र, निफको उद्घाटनका दिन प्रदर्शनमा आयो । खुसी छौँ ।”
सिनेमाका विदयार्थीहरूबाट राम्रो प्रतिक्रिया पाएको यस डकुमेन्ट्रीले स्पेन बुल फाइटलाई जस्तै ‘तारुकाको गोरु जुधाई’लाई अन्तराष्ट्रियकरण गर्न ढिलो भइसकेको बताएको छ । स्पेनले दुई तीन सय वर्षअगाडिको बुल फाइटलाई अन्तराष्ट्रियकरण गरेर पर्यटन हब बनाइरहेका छन्, त्यसबाट हामीले सिक्न ढिलो भइसको छ ।
‘अनि हरिभक्त फर्केनन्’ खिचेका लम्साल
नाटकका लेखक तथा निर्देशक पनि रहेका लम्सालले वृत्तचित्रहरू बनाएको अनुभव सुनाए । यसअघि उनले कवि हरिभक्त कटुवालको जीवनीमा आधारित ‘अनि हरिभक्त फर्केनन्’ भन्ने डकुमेन्ट्री बनाएका थिए । साथै केही वृत्त चित्रहरूको पनि काम गरे । विधा फरक भए पनि र लक्षित वर्ग एउटै भएकाले नाटक या डकुमेन्ट्री त्यही दर्शकहरूका नै निर्माण गरिने उनले बताए । तर, सिनेमा अलिकति टेक्निकल कुरा भएकाले र आफ्नो रुचिको कुरा पनि भएको हिसाबले उनलाई त्यति धेरै गाह्रो भने भएन । नाटक भने आफ्नो पेसा रहेको उननी बताउँछन् । उनले सैद्धान्तिक कुराहरू अलिकति पढेको र सम्बोधित विषयको तथ्य तथा इतिहास कसैले उत्खनन् गर्न आवश्यक रहेको ठानेर यो काम गरेको पनि खुलाए । यसलाई किन निरन्तरता दिनुपर्नेछ भन्ने कोणबाट कसैले काम गरिदिए हुन्थ्यो भन्ने उनको इच्छा छ । हामीले हाम्रा पर्वलाई संस्कृतिलाई समाजसँग जोड्न सकिन्छ भन्ने किसिमले पनि उनले यो डकुमेन्ट्री बनाएको जनाए ।
डकुमेन्ट्री बनाउने सिलसिलामा उनलाई कोभिड भएको थियो, त्यस्तो अवस्थाबाट गुज्रिएर पनि उनको समूहले डकुमेन्ट्री पुरा गर्यो, त्यसरी काम गरेकाले राम्रो प्रतिफल निस्कियो, राम्रो डकुमेन्ट्री बनेकाले उनी खुसी छन् ।