acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170
नमस्कार! म डेरामा बस्ने बुहारी। हुन त म विवाह अगाडि पनि भाडामा नबसेको त होइन, तर अहिले अवस्था त्यस्तो रहेन। विवाहित महिला त आफ्नो श्रीमानको/सासु-ससुराको घरमा बस्नुपर्ने होइन र?
अब के भनौं, झापामा जन्मेहुर्केकी म पढाइ पूरा गर्ने अनि भविष्य बनाउने भनेर काठमाडौं छिरेकी थिएँ। पढाइ सँगसँगै स्कुलतिर पढाउँथेँ। स्नातकोत्तर उत्तीर्ण गरेको केही वर्षपछि आफैंले रोजेको केटासँग घरपरिवारको सल्लाह लिएरै मन्दिरमा विवाह गरियो।
त्यो बेला थप पढाइका लागि अस्ट्रेलिया जाने तयारी थियो, सफल भएन। अहिले १७ महिनाको बाबु छ। काम छोडेको पनि लगभग दुई वर्ष भयो। अब शिक्षण लाइसेन्स निकालेर आयोग तिर भिड्ने सोच छ, खासै तयारी चाहिँ छैन।
हुन त कोठामा बसेकी छे, आफ्नो मर्जीले जे गरे नि भो सम्झिनु हुन्छ होला। तर, दिनको दुई घण्टा समय निकालेर किताब पल्टाउनु मेरा लागि अहिले चुनौती नै बनेको छ। दिनमा ५-६ पटक आधा घण्टा लाएर बाबुलाई खुवाउ, खाना बनाउ, सरसफाई गर, लुगा धोउ, इत्यादि।
अचेल हिँड्ने भएर होला, उसलाई बाहिर हिँड्न, कुद्न, चड्न, लड्न सारै मनपर्छ, सँगसगै आफू नि लाग्नै पर्यो। राति नि ऊ नसुती सुत्ने कुरै भएन। सुते नि उसलाई सु गराउन, बुबु खुवाउन पटक-पटक बिउझाउनै पर्यो। यो सब भनेर मलाई मेरो छोरा धेर भयो भन्न खोजेकी होइन नि फेरि। बस म बाहिर कमाउन जादिनँ भन्दैमा मसँग फुर्सदै फुर्सद छ भन्नु सही होइन। तर भन्नेको मुख थुन्न नसकिने रहेछ।
अवस्था यस्तो पनि छ कि आज एउटा बच्चाको आमा भैसक्दा पनि म त्यो घरको र समाजको सदस्य पूरै भैनसकेको बारम्बार महसुस गराइन्छ। हामीले घरपरिवारलाई आर्थिक कष्ट नपरोस् भनेर थोरै खर्चमा मन्दिरमा बिहे गर्यौं, सुपारी खेलाएनौँ, ठूलो भोज खुवाएनौँ। त्यही स्वरूप मलाई आज यहाँ नपस्नू, यो नछुनू, यसो नगर्नूको आदेश दिइन्छ।
सो कल्ड बुहारीले गर्नुपर्ने कामहरु- खाना पकाउने, पस्किने, जुठो सोर्ने, थाल उठाउने-धुने, ओछ्यान मिलाउने, सरसफाइ गर्ने, निहुरेर ढोगेको हुनैपर्ने नत्र ठुस्केर छड्के हानिहाल्ने, इत्यादि सबै काम यही शरीरले गर्दा चल्ने, तर देउता कोठामा अनि विभिन्न शुभकार्यमा म चल्दिनँ।
भित्र मन कुटुक्क खाए पनि, मुखभरि जवाफ भए पनि म बोल्न सक्दिनँ। चिच्याएर भन्न सक्दिनँ, ‘अति भो तिमीहरुको संस्कारको नाममा ढोंंग।’
महिनावारी हुँदा भान्सा पस्न नहुने, थाल, बट्टाबट्टी छुनै नहुने, बुहारी भएर यस्तो लगाउनुपर्छ, यस्तो बोल्नुपर्छ, यसरी हिँड्ने, यसरी बस्ने, खै के के हो। लाग्छ यहाँ बुहारीलाई त सानो बालिकालाई जस्तो कुराहरु सिकाइन्छ, अनि जे भने पनि हसको अपेक्षा गरिन्छ।
म एउटा बुहारी भएकै कारण कति खोटहरु निकालिन्छ। मलाई मेरो नाबालक छोराको माया हुन्न र? उसकै लागि कति कुराहरु सहेर, त्यागेर बसेकी छु, तर जस भने कहिलै नपाइने रहेछ।
‘बाबुको टाउको कस्तो चेप्टो चेप्टो भएछ त, नाक अलिक तान्दिनुपर्थ्यो!
रुघा, खोकी, खटिरा, इन्फेक्सन, जे भए पनि ‘आमाले तेल लगाइदेन होला राम्ररी, सुत्केरीमा नुहायो होला, जे पायो त्यही खायो होला,’ भनिन्छ।
म त आफ्नो छोराको टाउको, नाक सबै ठिक देख्छु, तेल लगाएर आफू पनि कालो होइन्जेल घाममा बसेकै हो। डक्टरले कान, आँखा, नाइटो, अनि सु-गर्ने ठाउँमा तेल नलाउनु भन्थे, घरकाले लगाइदिनु भन्थे। मैले प्रायः डक्टरकै कुरा मानेँ। अब अहिले केही कारणले बिरामी भयो, खटिरा आयो, इन्फेक्सन भयो कि मेरै गल्तीले गर्दा भानिन्छ। आफूले ज्यान दाउमा लगाएर जन्माएको बच्चा सधैं स्वस्थ र खुसी होस् भन्ने सबै आमालाई हुन्छ होइन र?
कहिलेकाहीँ यसो चाडपर्वतिर घर जाँदा, सासुससुराले भन्दा बढी वरिपरि छरिएर बसेका आफन्त/छिमेकीले सोध्ने गर्छन्, ‘अनि घर कहिलेदेखि बस्ने नि? यत्रो यही घर हुँदाहुँदै भाडामा बस्या छ, बाबुलाई सासुससुराले हेरिहाल्छन् नि, तिमी घरको काम गर्न भ्याइहाल्छौ नि, बाबु हुर्केपछि बाहिर काममा जानू, हामीले कस्तो-कस्तो गरेर यत्रो ५-६ जना हुर्कायौँ…।’ अनि अरु के-के हो के-के। उफ!
म भन्छु, ‘बसूँला नि बस्ने दिन आएपछि’ र फिस्स हाँसिदिन्छु। मनमा उकुसमुकुस परेर शब्दहरुको गतिलो पोको पड्किन तयार भएको हुन्छ तर मुखको थुक घुटुक्क पार्छु र त्यसलाई ओस्याइदिन्छु।
मेरो श्रीमान् आफ्नै काममा व्यस्त। उहाँको पनि आफ्नै दुखेसो होला। कामको तनाव होला, घरको तनाव होला, बुढी-छोराको तनाव होला, बुढी घरमै बसिदिए हुन्थ्यो, खर्च जोगिन्थ्यो, इज्जत बढ्थ्यो, बाबुआमाको हेरचाह हुन्थ्यो भन्ने होला।
त्यसैले मलाई घरमै बस न, बुहारी भएर अलिक सहनुपर्छ, पछि सब ठिक हुन्छ भनिराख्नु हुन्छ। म यस्तै-यस्तै कुराहरु उठाउछु, तर्क गर्छु अनि भन्नुहुन्छ, ‘तिमी त अबको २० वर्षपछि जन्मिनु पर्ने मान्छे।’
यस्तै छ अवस्था। सोच नमिलेपछि, कुरा नमिलेपछि, भनाभन हुन्छ, झगडा हुन्छ, मानसिक तनाव हुन्छ, अनि जिन्दगी झन् कठिन बन्छ। यसको प्रत्यक्ष असर सानो बाबुमा नि पर्छ। यस्तो वातावरणमा मैले आफ्नो करियर अगाडि बढाउने मेरो योजना सफल हुन्छ जस्तो मलाई लाग्दैन।
यी कारणहरुले गर्दा म एक असल बुहारी बन्न सक्दिनँ, अनि मलाई घरभन्दा डेरा नै प्यारो भयो। आशा छ समय/अवस्था फेरिनेछ। समय सँगसँगै मेरो नि केही सोचहरु बद्लेला, उहाँहरुको पनि बद्लेला। मेरो श्रीमानले भने जस्तै सायद २० वर्षपछि।
विपना प्रधान