शुक्रबार , जेठ ८, २०८३

त्यो दिन फेरी अर्को कोतपर्व हुन सक्थ्यो, सयौँ जनताको साथसाथै विपी मारिन्थे !

त्यो दिन फेरी अर्को कोतपर्व हुन सक्थ्यो । सयौँ जनताको साथसाथै विपी, गणेशमान र कृष्णप्रसाद लगायत कैयौ नेताहरु मारिन्थे ।

image

१०४ वर्ष लामो क्रूर राणा शासन २००७ सालको क्रान्तिपछि राजा र जनताको संयुक्त सहयोगमा समाप्त भयो । नेपालमा राजालाई पुनर्बहाली गर्दै राजाको प्रजातन्त्र आयो । लामो समयसम्म दमित भइरहेका जनताले केही आशालाग्दा कुराको कल्पना गर्न थाले ।

इतिहासमा, नेपालकालागि भारत धेरै महत्त्वपूर्ण निर्णय गर्ने ठाउँ बनेको थियो र छ । जसको प्रभावमा हालसम्म भारतीय दबाबमा काम गर्नुपर्ने एक बाध्य्तामक स्थिति सिर्जना गर्ने एक द्योतक बन्न पुग्यो ।

००७ तिर जब राणाहरू विरुद्धको आन्दोलन चरममा थियो, केही राणा समर्थित व्यक्तिहरुले राणाको पक्षमा हल्ला गर्ने र नारा लगाउन सुरु गरे । २००७ सालको पौष २० गते गौचरनमा भरत शम्शेरको नेतृत्वमा हातमा खुकुरी लिएका १०-१२ जनाको  जमातले प्रदर्शन गर्न थाल्यो ।

बबरशम्शेरका नाति भरतशम्शेरले ‘वीर गोरखा दल जय-जय’ भन्दै चिच्याउँदै नारा लगाउँदै थिए । यो एक यस्तो समूह थियो, जोउग्र र अराजक थियो न साथसाथै हातमा खुकुरी बोकेर राणालाई नेपाल राज्यसत्तामा पुनर्बहाली गराउन जुरमुराइरहेको थियो ।

श्री ३ मोहनशमशेरबाट राजा श्री ५ त्रिभुवनले शिकार र वनभोजको निहुँमा नागार्जुन जङ्गल जाने अनुमति २० कार्तिक (२००७) मा पाएका थिए । तर, बदलिँदो परिस्थितिका कारण कार्तिक २२ गते त्रिभुवनले  सपरिवार महाराजगञ्जस्थित भारतीय दूतावास शीतल निवासमा पुगेर राजनीतिक शरण लिए । त्यहाँबाट भारतकै पहलमा उनलाई विमानबाट दिल्ली पुर्‍याइयो ।

राजा त्रिभुवन साढे तीन महिना भारतमा शरणार्थीका रूपमा बसिसकेपछि २००७ सालको पौष २४ गते भारतीय प्रधानमन्त्री  जवारलाल नेहरुको पहल एवं राजा त्रिभुवनको नेतृत्वमा भारतबाट नै राणा शासनको अन्त्य भएको घोषणा गरिएको थियो । अन्ततः फागुन ७ मा देशमा राणाशासन समाप्त भएको घोषणा भयो ।

यद्यपि, केही उग्र राणा समर्थकहरूले आफ्नो विरासत यति सजिलै सकिएको कुरालाई स्विकार्न असहज भएको भन्दै ‘वीर गोरखा दल समूह’लाई झन् मजबुत बनाउन सुरु गर्न थालिसकेका थिए । राणा शासन प्रजातन्त्रको स्थापना पछी अवशेषको रूपमा बाँकी बसिरहेको थियो, जो गोरखा दलबाट सन्चालित थियो ।

हातमा खुकुरी बोक्ने भएकाले  गोरखा समूहलाई ‘खुकुरी दल’  भनेर  आममानिसले भन्न र चिन्न सुरु गरिसकेका थिए । यो खुकुरी दलको आतङ्क दिन दोगुना रात चौगुना बढ्दो थियो  । परिस्थितिले यस्तो रुप लिइसकेको थियो कि खुकुरी दलको आतङ्क कम गर्न एवं  खुकुरी दलको विरोध गर्न काठमाडौँ तथा पाटनको टोलटोलमा स्थानीयवासीले एक-एक रक्षा मण्डल गठन गरेका  थिए ।

यतिबेला गृहमन्त्रीको रूपमा बिपी कोइराला थिए । अन्ततः उनैको पहलमा खुकुरी दलमाथि २००७ साल फागुन १९ गते प्रतिबन्ध लाग्यो । प्रतिबन्ध लागेपछि खुकुरी दल अझ रोकिएन, अझ हिंस्रक बन्न थाल्यो । काटमार सम्मको अवस्था आएको देखेर वीपीले अन्ततः जेठ २९ गते बिहान भरतशम्शेर तथा रणधिर सुब्बा पक्राउ गर्नु भन्ने पुर्जी जारि गरे । यसपश्चात्, उनीहरू दुवै जना समातिए ।

काँग्रेस नेता भरत शम्शेर राणाको निधन « Mayadevi Online News Portal

भरत शम्शेर

खुकुरी दलका प्रमुखलाई समातेको विरोधमा एवं छोड्ने माग राख्दै ठुलो सङ्ख्यामा विरोध जुलुस निस्कियो । जुलुसले जेठ ३० को दिउँसोको समयमा २५/३० जना बबरमहलका तलबी आठपहरियाहरु गोरखा दलको झन्डा बोक्दै राणा समर्थनमा विभिन्न प्रकारका नारा लगाउँदै सदर जेलखानामा गए । उनीहरूले जेलखाना तोडी भरतशमशेरलाई जेलबाट बाहिर निकाली टुँडिखेलतर्फ हिँडे । बाँकी समूह गोरखा दलका झन्डा र नारा लगाउँदै हातमा नाङ्गा खुकुरी लिई त्रिपुरेश्वरस्थित गेस्ट हाउसमा गई हमला गर्न पुगे । त्यो समयमा वीपी कोइराला र गणेशमानसिंह सँगै थिए ।

हत्या नै गर्न भनी गएका गोरखा समूहले गृहमन्त्री वीपी कोइरालालाई र उद्योग वाणिज्यमन्त्री गणेशमान सिंहलाई चिन्न नसकी उनका सेक्रेटरी दीर्घराज कोइरालालाई घाइते पारे । यस घटनामा सुब्बा कालीचरणको तिघ्राको गेडी फुस्काई गोडा भाँचिदिए । विपीले आफ्नो सुरक्षार्थ हानेको गोलीले खुकुरी दलका एक कार्यकर्ता सुवेदार कुलध्वजको मृत्यु तत्काल नै मृत्यु भयो । यो प्रयासलाई विपीको हत्याको प्रयासको रूपमा सरकारले लियो ।  दिनभरजसो नै खुकुरी दलको हिंस्रक जुलुस बजारमा घुमिरह्यो ।

टुँडिखेलमा कवाज गरिरहेका सैनिकहरूलाई भरतशम्शेरले भड्काउन प्रयास गरे तर, सेनापति केशरशम्शेरले सैनिकलाई कवाज सकाएर अड्डा पठाई हाले र सैनिकलाई भड्किनबाट जोगाए । उनको यो कामलाई महत्त्वपूर्ण मानिन्छ, यदि त्यो समय केशरशम्शेर राणाहरूको समर्थमा रहेका सेनालाई उक्साएको भएर त्यही दिन नै देशमा ठुलो रक्तपात हुने सम्भावना थियो । भन्ने गरिन्छ, ‘त्यो दिन फेरी अर्को कोतपर्व हुन सक्थ्यो । सयौँ जनताको साथसाथै विपी, गणेशमान र कृष्णप्रसाद लगायत कैयौ नेताहरु मारिन्थे ।’

पछि २००८ सालमा  यो खुकुरी दललाई राजा र सरकार दुवैतर्फ बाट प्रतिबन्ध लगाइएको । वीर गोरखा दलका कमान्डर भरतशम्शेरले २०१५ सालको आम चुनावमा नेपाल राष्ट्रवादी गोरखा परिषद्को नामबाट आफ्नो त्यही समूहलाई राजनीतिक रूपमा चुनावमा लिए । चुनावी नतिजाको आधारमा नेपाल राष्ट्रवादी गोरखा परिषद् प्रमुख प्रतिपक्ष दलको रूपमा पहिलो संसदमा स्थापित भयो  । साथै, भरत शम्शेर सोही दलको प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहे । तर, यो सिलसिला समय लामो रहेन सकेन । राजा महेन्द्रले संसदलाई ‘कु’ गरेपछि सबै नेताहरूलाई नजरवन्दमा राखीदिए । अन्ततः भरतशम्शेर पनि जेलमा परे ।

पञ्चायतकालमा नेपाल राष्ट्रवादी गोरखा परिषद्लाई काँग्रेसमा मिलाएर पञ्चायतको विरुद्धमा लागेका भरतशम्शेर भारत निर्वासनमा रहँदा कलकत्तामा बसेर चलचित्र निर्माण गर्न थालेका थिए । उनले निर्देशनमा विश्व प्रख्यात निर्देशक सत्यजित रायसँग मिलेर सँगै काम गरेका छन् । सन १९७१ मा निर्मित सिमाबद्ध नामक बंगाली चलचित्र प्रख्यात निर्दशक सत्यजित रायको निर्देशनमा बनेको थियो । जुन चलचित्र शर्मिला टैगोर अभिनित थियो । यस चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार तथा भेनिस फिल्म फेस्टिवलमा पनि एवार्ड जित्न सफल भएको थियो । यस चलचित्रको साथसाथै अन्य केही चलचित्र पनि बनाएका थिए ।

भरत शम्शेर राणाको २०७५ साउन २६ गते कलकत्तामा देहावसान भएको थियो ।

Tags:

सम्बन्धित समाचार