नेपालमा आउने पर्यटकका लागि मात्र होइन, मानवशास्त्र, इतिहास, संस्कृति, पुरातत्त्वका अध्येता र शोधकर्ताका लागि समेत त्यस्तो संग्रहालय एक महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने छ ।
संग्रहालयको स्थापना
नेपालमा संग्रहालयको इतिहास त्यति लामो छैन । देशको इतिहास, कला, संस्कृति तथा जनजीवनप्रति सम्मान र तिनको संरक्षण गर्ने हेतुले नै संग्रहालयको स्थापना हुनुपर्ने हो । तर, नेपालले विगत शताब्दीको मध्यदेखि यस शताब्दीको मध्यसम्म एक शताब्दीभन्दा बढीको समय अन्धकारमा नै बिताउन बाध्य हुनुपर्यो । शिक्षाको समुचित विकास नभई इतिहासको सामान्य ज्ञान पनि हुँदैन, अनुसन्धान र संरक्षणको त के कुरा ! राणा शासनकालमा इतिहासको अध्ययन होइन; विस्मृति र बेवास्तालाई प्रोत्साहन दिइन्थ्यो । यसो भए तापनि राणा शासकहरू आफ्नो तृप्ति र मनोरञ्जनका लागि प्राचीन वस्तुहरूको सङ्कलन गर्न भने रुचाउँथे । यसरी वस्तुहरू सङ्कलन गर्नै क्रममा नै नेपाल राष्ट्रिय संग्रहालय, छाउनीको स्थापना भएको देखिन्छ ।

इ. १६४३ तिर खुलेको यो तत्कालीन ‘जुद्ध जातीय कलाशाला’ भवन नै आजको अर्थमा संग्रहालय हो ।
छाउनीको वर्तमान संग्रहालय भवन प्रसिद्ध प्रधानमन्त्री भीमसेन थापाको निवासस्थान थियो । उनको एउटा निवासस्थान त लगन, काठमाडौंमा पनि थियो । अतएव, छाउनीको यो विशाल भवन कुन उद्देश्यले बनाएको थियो प्रस्ट छैन । छाउनीको क्षेत्रमा सैनिक शिविर भएकोले भीमसेन थापा सैनिक कवाज हेर्नै त्यहाँ आउँथे, भनिन्छ । राणाकालमा यस भवनमा हातहतियार जम्मा गर्ने गरियो । पछि थरीथरीका स्वदेशी विदेशी हतियार जम्मा गरेर प्रदर्शनीको रूपमा राख्न सुरु गरियो । राणाहरू आफ्ना विशेष पाहुनालाई सो हतियारको सङ्कलन देखाउने गर्थे । इ. १७२८ तिर स्थापित भएको यस संग्रहलाई ‘छाउनी सिलखाना’ भनिन्थ्यो । पछि १७३८ इ. (वि.सं १६६५) देखि यो सङ्कलन जनसामान्यको लागि पनि खुला गरियो । यो नै नेपालको एक प्रकारको पहिलो संग्रहालय थियो, यद्यपि यो मूलरुपले हतियार सङ्ग्रह (Arsenal) नै थियो । यो संग्रहालय हालको नयाँ पुराना तीन मुख्य भवनमध्ये पश्चिमपट्टिको तीनतले भवनमा छ ।
अहिले मूल प्रवेशद्वारबाट प्रवेश गरेपछि बायाँतर्फको दुई तला र एक गजुर भएको पहेँलोमा सेतो मिश्रित पक्की घर संग्रहालयको दोस्रो मुख्य घर हो । इ. १६४३ तिर खुलेको यो तत्कालीन ‘जुद्ध जातीय कलाशाला’ भवन नै आजको अर्थमा संग्रहालय हो । प्रजातन्त्रपछि पुरातत्त्व विभागको स्थापना भएपछि यो संग्रहालयको विकासको कार्य पुरातत्त्व विभागको जिम्मामा दिइयो । यसरी नेपालको ‘राष्ट्रिय संग्रहालय’ को विकास हुन सुरु भयो । पछि यसमा प्रस्तर, धातु, माटो, काठ, हाडका कलाकृति तथा चित्रकृतिहरूको अलग अलग खण्ड गरिए । काठमाडौंका पुराना दरबारलाई पनि संग्रहालयका रूपमा विकसित गर्नै कार्यक्रम बन्यो । गत दशकमा काठमाडौं बाहिर क्षेत्रीय संग्रहालय राख्ने कार्यक्रम बनेर लागु पनि गरियो । यसबारे तलका पृष्ठहरूमा चर्चा गरिने छ । नेपालको पहिलो प्राकृतिक विज्ञान संग्रहालय (Natural History Museum) पनि स्वयम्भूमै अवस्थित छ । यसको सङ्कलन धेरै उत्साहप्रद र दर्शनीय रहेको छ ।

संग्रहालयको विकास
छाउनी काठमाडौं स्थित नेपालको राष्ट्रिय संग्रहालय नै नेपालको एकमात्र प्रमुख संग्रहालय हो, जहाँ कला संग्रहालय स्मृति संग्रहालय तथा पुरानो युगका विविध हातहतियारको लागि विभिन्न खण्ड छुट्ट्याइएको छ । मूल प्रवेशद्वारबाट प्रवेश गरेपछि बायाँपट्टिको दुईतले भवन कला संग्रहालय हो । यस भवनमा प्राचीनकाल अथवा लिच्छवीकालभन्दा पहिलेको मानिएको समय देखिएको प्रस्तर मूर्तिहरूदेखि लिएर आधुनिक कालका धातुमूर्ति तथा चित्रहरू राखिएकाले यहाँ नेपालको कलाको पक्षलाई ऐतिहासिक परिप्रेक्ष्यमा हेर्ने सकिन्छ । भुइँतलाको पहिलो खण्डमा विविध समयका प्रस्तर कृतिहरू छन् । काठमाडौंका अतिरिक्त सिम्रौनगढमा विकसित हिन्दू सभ्यताको प्रतिनिधि कृतिका रूपमा केही प्रस्तर मूर्तिहरू ल्याई राखिएको छ । दोस्रो खण्डमा माटाका मूर्तिहरू (Terracotta Figures) छन् । अन्य खण्डहरूमा धातु कथा काठ एवं हाडका कृतिहरू पनि राखिएका छन् । माथिल्लो तलामा केही चित्र तथा बढी धातुकलाको नमुना राखिएको छ ।
राष्ट्रिय संग्रहालयको पश्चिमतर्फको मूल भवनको दुई तलामा विविध वस्तुहरू प्रदर्शित छन् । पहिलो तलामा नेपाल, भारत ,युरोप, एसिया तथा अमेरिकाका वेशभूषा र अनुहार झल्किने पुतलीहरू (Doll) राखिएको छ । बीचको खण्डमा प्राकृतिक विज्ञानको केही ज्ञान दिने नेपाली जीवजन्तुका अवशेष छन् । तिनका विशाल हात्ती एवं गैँडाको शिरका हड्डी (Skull), चराचुरुङ्गी र अन्य जनावरका शिर छाला आदि टाँगिएका छन् । यस भवनको दोस्रो तलामा देशको वीरताको इतिहास झल्काउने हातहतियार नै मूलरुपमा मुख्य आकर्षक वस्तु रहेका छन् । नेपालले झेल्नु परेका विगतका अनेक युद्धहरू एवं तिनमा प्रयोग गरिएका कवच तथा हातहतियारको एक विस्तृत झलक तिनीहरूबाट पाइन सकिन्छ ।

राणाकालमा स्थापित ‘सिलखाना’ नै वर्तमान संग्रहालयको प्रारम्भिक रूप भएको कुरा माथि परिसकेको छ । संग्रहालयको यो खण्ड र यसमा प्रदर्शित वस्तुहरू नै सिलखानाका रूपमा रहेका थिए । पछि यसलाई थप वस्तुहरू राखी आधुनिक ढङ्गले सजाइयो । अझ पछि आएर आधुनिक चित्रकारले तयार गरेको शाह तथा राणा शासकहरूका शरीरकृतिका चित्रहरू हतियारको प्रदर्शन कक्षका दायाँ बायाँ राखिएका छन्।
काठमाडौं उपत्यकाका प्राचीन दरबार पर्यटनको दृष्टिले आकर्षक केन्द्र रहेका छन् । यस तथ्यलाई दृष्टिगत गरी श्री ५ को सरकारले तिनका केही खण्डलाई संग्रहालयका रूपमा विकसित गरी थप आकर्षण प्रदान गर्दै आएको छ । थप योजनाअनुरूप भक्तपुरको पचपन्न झ्याले दरबारमा परम्परागत पौभा तथा ग्रन्थचित्रको सङ्ग्रह राखिएको छ । यस दरबारको पूर्वी खण्डमा मल्लकालीन भित्तेचित्रलाई पनि आधुनिक प्रविधिद्वारा संरक्षण गरिएको छ । पाटनस्थित मल्लकालीन दरबारमा कुनै समयमा धातु कृतिहरू राखिएको थियो । पछि जीर्णोद्धार कार्य गर्नु अत्यावश्यक भएपछि सो प्रदर्शनी रोकियो । लामो समयको जीर्णोद्धार कार्य अझै पूरा नभएकोले पुनः संग्रहालयका रूपमा सञ्चालन गर्ने नगर्ने निश्चित भएको बुझिँदैन ।
उपत्यकाका तीन मुख्य पुराना दरबारमध्ये काठमाडौंको हनुमानढोका दरबार फराकिलो र बढी आकर्षक पनि रहेको छ । नगरको बीच भागमा अवस्थित भएको कारणले पनि यसको आकर्षण अन्य दरबारहरूभन्दा बढी रहेको छ । यसको पश्चिमपट्टिको देगुतले मन्दिरसित गाँसिएको मुख्य भवनको दोस्रो तलामा मुद्रा संग्रहालय (Numismatic Museum) राखिएको छ । यसमा अति प्राचीनकाल (लिच्छविपूर्व) का आहत (Punch-marked), प्राचीन लिच्छविकालका मानाङ्क, गुणाङ्क तथा पछिल्लो लिच्छविकालका मानिएका ‘पशुपति’ नामाङ्कित तामाका मुद्राहरू मल्लकालीन चाँदी एवम् तामाका मुद्राहरू र शाहकालीन मुद्राहरू प्रदर्शित छन् ।

The Numismatic Museum of Nepal had been formally established within the premises Hanumandhoka Royal Palace in 1962.
हनुमानढोकाको अर्को आकर्षण हो- त्रिभुवन स्मृति संग्रहालय । राष्ट्रिय मुद्रा संग्रहालयकै उत्तर पूर्वपट्टिको खण्डमा त्रिभुवनको जन्म र बाल्यकालदेखि देहावसानसम्मको जीवनी तथा जीवनका विविध घटना व्यक्त गर्ने निजी वस्तुहरू एवम् चित्रहरूको एक सङ्ग्रह रहेको छ । यसबाट त्रिभुवनको व्यक्तिगत रुचि तथा निजी जीवनका विविध पक्षको झलक प्राप्त हुन्छ । हाल छाउनीस्थित संग्रहालयबाट श्री ५ महेन्द्रको जीवनीप्रति समर्पित संग्रहालयलाई हनुमानढोकामा सारिएको छ ; तापनि प्रदर्शनीको व्यवस्था भएको छैन ।
नेपालमा पुरातत्त्व विभागको स्थापना भएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थल र कपिलवस्तु- लुम्बिनी क्षेत्रमा उत्खननबाट प्राप्त वस्तुहरू(मुद्रा , मूर्ति तथा अन्य) ले संग्रहालयलाई समृद्ध पार्न धेरै मदत गरे । कपिलवस्तु क्षेत्रको उत्खनन निकै लामो समयसम्म चल्यो र धेरै वस्तुहरू पनि फेला परे । पछि पुरातत्त्व विभागले सङ्कलित उत्खनित वस्तुहरूलाई प्रदर्शित गर्ने उद्देश्यले एक स्थानीय संग्रहालयको व्यवस्था गर्यो । हाल प्राचीन कपिलवस्तुको नजिकै उक्त संग्रहालय स्थापित गरिएको छ । यसमा उत्खननबाट प्राप्त माटो तथा धातुका भाँडाकुँडा माटो तथा प्रस्तरका मूर्ति एवम् अन्य कृतिहरू तथा धातुका कृतिहरू- समेत राखिएको छ ।
क्षेत्रीय संग्रहालय (Regional Museum)
नेपालमा संग्रालयको विकासको इतिहासबारे चर्चा गर्दा क्षेत्रीय संग्रहालयको धारणाबारे पनि चर्चा गर्नु आवश्यक हुन आउँछ । नेपाललाई पाँच विकास क्षेत्रमा विभाजित गरेपछि राजनीतिक, प्रशासनिक, शैक्षिक, क्रियाकलाप, नीति एवं कार्यक्रमको निर्माणमा सुगमता आएको महसुस गरियो । शैक्षिक- सांस्कृतिक कार्यक्रमको विकासको क्रममा स्थानीय पुरातात्त्विक ऐतिहासिक वस्तुहरू नासिएर नजाउन् र तिनको उचित संरक्षण भई तिनबाट शैक्षिक सांस्कृतिक उपादेयता लिन सकियोस् भन्ने दृष्टिले देशका पाँचै वटा विकास क्षेत्रका सदरमुकाम (काठमाडौं, धनकुटा, पोखरा, सुर्खेत र दिपायल) हरूमा एक- एक संग्रहालय खोल्ने नीति सरकारले लियो । हाल पूर्वाञ्चलको धनकुटा र पश्चिममा पोखरा र सुर्खेतमा संग्रहालयको निर्माण भएको छ । धनकुटा र पोखराको संग्रहालय चालू भइसकेका छन् । अन्य क्षेत्रमा पनि भविष्यमा संग्रहालयको व्यवस्था हुन सक्ने आशा लिन सकिन्छ ।
क्षेत्रीय संग्रहालय मूल रूपले नृतत्त्व शास्त्रीय छन् । तिनमा मूर्ति आदि प्राचीन काव्यकृति भन्दा जनजीवनको प्रदर्शनमा जोड दिएको छ । नेपाल राष्ट्रिय स्तरको नृतत्त्वशास्त्रीय संग्रहालय (Ethnological Museum) को ठुलो खाँचो महसुस हुन थालेको छ । नेपाल विविध जनजातिले बसोबास गरेको, विविध संस्कृतिले बनेको राष्ट्र हो । यस्तो बहुवादी संस्कृतिको धनी राष्ट्रमा ती जनजाति र संस्कृति झल्कने संग्रहालय हुनु आजको युगमा सर्वाधिक महत्त्वको कुरा हो । नेपालमा आउने पर्यटकका लागि मात्र होइन, मानवशास्त्र, इतिहास, संस्कृति, पुरातत्त्वका अध्येता र शोधकर्ताका लागि समेत त्यस्तो संग्रहालय एक महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने छ । हाललाई क्षेत्रीय संग्रहालयहरूले बहुजनजातिय जीवन तथा संस्कृति झल्किने एक संग्रहको व्यवस्था गर्दै लैजानु उपयुक्त हुन्छ । पछि त्यस्तो राष्ट्रिय संग्रहालयकै स्थापना भएपछि त्यसले सम्पूर्ण देशकै जनजीवन तथा संस्कृतिको प्रतिनिधित्व गर्न सक्नेछ ।

Photo: The Numismatic Museum of Nepal
संग्रहालयको मुख्य काम मनोरञ्जन होइन; शिक्षा नै हो । यसले किताबी ज्ञानलाई पूर्णता गर्दै व्यक्तिलाई वस्तुगत विवेचना शक्ति प्रदान गर्छ विगत र वर्तमानका बीच तादात्मय स्थापित गरी मानव मस्तिष्कलाई इतिहास प्रति सचेत पनि गराउँछ र वर्तमानका लागि क्रियाशील, अध्यवसायी रहन रचनात्मकता प्रदान गर्छ । यसका लागि आवश्यक सर्त हो – संग्रहालयलाई सर्वाङ्गीण ,बहुपक्षीय र व्यापक स्वरूप प्रदान गर्नु।
नेपालमा ऐतिहासिक पुरातात्त्विक संग्रहालय श्री ५ को सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, पुरातत्त्व विभागअन्तर्गत गठित र सञ्चालित हुनाले यी सरकारी मन्त्रालय र विभागले संग्रहालयका लागि आवश्यक वस्तुको सङ्ककलन, संरक्षण, प्रदर्शन गर्न तथा व्यवस्थापनका लागि आवश्यक तालिम प्राप्त जनशक्ति तयार गर्नतर्फ तदमरुकता कायम राख्नुपर्छ । त्रि. वि. ले ने. इ. सं. पुरातत्त्व ( NeHCA) विषयको एम.ए. तहमा संग्रहालयसम्बन्धी विस्तृत पाठ्यांश राखेको कुरा यस सन्दर्भमा उल्लेखनीय हुन आउँछ । (नेपालको कला र पुरातत्व, पुस्तकबाट)