सोमबार , जेठ १४, २०८१

भारतको दृष्टिकोण

image

नेपालले देश विकाशको लागि केही राम्रो कुरा सोच्यो भने छिमेकी देश भारत आतिन्छ । नेपाललाई सधैं आफ्नो छातामा राख्न चाहन्छ । यस देशमा शासन गरेका राननितीक नेताहरूलाई प्रभावमा पारेकै छ । भन्ने गरिन्छ भारत र नेपालको सम्बन्ध हिमालय र गंगा जति पुराना छन् उतिकै पुरानो हो । यि दुई देशको सम्बन्ध कागजको डुङ्गाबाट कायम भएको होइन । यि दुई देशका नागरिकको हृदयको ढुकढुकीले यस सम्बन्धको कथा बताउने गरेको छ ।

यि दुई देशको सम्बन्ध जनजनका मनको प्रतिघोषको रूपमा छ । नेपाल त्यो भूमि हो, जसमा विश्वलाई नै अचम्भित गर्ने भगवान बुद्ध जन्मनु भयो । भारतले त्यस्तो कुनै लडाई जितेको छैन, जहाँ नेपालीको रगत नबगेको होस् । भारतको रक्षाको लागि र भारतको स्वाभिमानका लागि नेपालका बहादुर मरिमेट्न कहिल्यै पछि परेनन् । भारतीय सेनामा एउटा भनाई छ— कोही सेनाको जवान मर्न डराउँदैन भन्यो भने बुझ्नु या त उ झूठो बोल्दैछ या ऊ गोर्खा हो । नेपालकै भूमिमा कुनै समयमा ऋषिमुनिले वेद, पुराण, संहिता लेखेका थिए ।

नेपाली जनताले संविधानबाट अधिकार पाएको भारतले सहन सकेन । प्रत्यक्षमा केही नबोले पनि अघोषित नाकाबन्दी गरेर सकेसम्म दुःख दियो । हिंसामा विश्वास गर्ने संसारका समूहहरूलाई नेपालले संन्देश दिएको छ बम, बन्दूक र पेस्तोलले भलाई हुँदैन बरु संविधानको सीमाभित्र लोकतान्त्रिक पद्धतिद्वारा इच्छित परिणाम प्राप्त गर्न सकिन्छ । नेपालको संविधान बनाउँनमा त्यस्ता मानिसहरूको सहभागिता रह्यो, जसले कुनै बेला शस्त्रमा भरोसा गरेका थिए । युद्ध छोडेर बुद्धको बाटो अपनाएको हुँदा संभवहुन सकेको हो । संविधानसभाको माध्यमबाट नेपालले जुन प्रयोग गरेको छ, छिमेकी मुलुक भारतको असन्तुष्टि रहँदा रहँदै पनि विश्वलाई हिंसाबाट मुक्तिका लागि एउटा उदाहरण बनेको छ । भारतले सुरुदेखिनै दखल दिदै आएपनि हाम्रो दृढ संकल्पले गर्दा आज यो स्थितिमा उभीन सकेका छौं । नेपाल एक सार्वभौम राष्ट्र हो, हिमालयको यो राष्ट्रले हिमालय जस्तो उचाई प्राप्त गर्न लम्कदै छ ।

नेपालको संविधान समावेशी छ । हरेक नेपाली नागरिक गरिब वा धनि, पढेको या अनपढ, गाउँको या सहरको सबैले संबिधानमा आफ्नो पनको सुगन्ध पाएको छ । नेपालको संविधान सर्वजन हिताय र सर्वजन सुखाय छ । संविधान, जनजनको आकांक्षा पूर्तिको लागि बनेको हुँदा एक आपसमा नेपाली मन जोडेको छ । संविधान आपसि विवादलाई संवादतर्फ लैजाने माध्यम बनेको छ । जसले वर्तमानबाट मुक्तिको अनुभूति गर्छ र आउँदो समयको गहिराईलाई राम्ररी देख्न सक्छ, त्यस्तो संविधानलाई सबल मानिन्छ । यसकारण नेपाल सधैं अशान्त रहोस् यो चाहना छिमेकीको छ र हामी अशान्तलाई स्मृतिमा परिणत गर्न चाहन्छौं । कारण, सधै एउटै अवस्थामा रहन अब हामीलाई स्वीकार छैन । नेपालको हरियो वन भारतले सिद्धाइसक्यो । ढुङ्गाबालुवा ओसार्दै छ अहिले । नदी नेपालको भए पनि पानीको उपयोग भारतले गर्ने गरेको छ । यहाँ खानी सञ्चालन गर्न अबरोध पुर्याउँछ, नेपाली सधै सस्तोमा स्रम बेच्ने र नेपालको जडीबुटी लगायत प्राकृतिक सम्पदा सितैमा भनेजस्तो लीने— लिदै आएको बानी बदल्न चाहदैन भारत ।

संसारको कतैको पनि संविधान सर्वकालीक वनेको छैन र हुँदैन पनि, जुन सुकै संविधानले पनि वर्तमान हेरेर भविष्यको गोरेटो कोर्ने गर्दछ र यहाँको संविधानले पनि गरेको छ । तर भारतले नेपालको यो संघीय लोकतान्त्रिक गणतन्त्रको दस्तावेजलाई आदर र स्वागत नगर्नूको पछाडी उस्को आफ्नै नीयतले काम गरेको छ ।
नेपालमा जन्मेका बुद्धले विचारको प्रकाश दिएर मानव मनको अँध्यारो हटाएका थिए । जसबाट मानव जातिलाई नयाँ चेतना प्राप्त भएको थियो ।
नेपाल पानीमा यति धनी छ, बिजुली बेचेर पनि समृद्ध देशको पंक्तिमा आउन सक्छ । आज चीन, बंगलादेश लगायत नेपालसँग बिजुलीको लागि जोडिन चाहन्छ, तर भारतले आन्तरिक किचलो सिर्जना गराएर खोचे थापेर हलो अड्काउने काम गर्दैछ । नेपालको हिमालयको गर्भमा रहेका जडिबुटीलाई स्वदेशमै हर्बल मेडिसिनको रूपदिन सक्यौं भने नेपाल संसारमा जडिबुटीजन्य हर्बल औषधिको सबैभन्दा ठूलो निर्यातकर्ता देश बन्न सक्छ ? यसो गर्दा भारतले सस्तोमा कच्चा पदार्थ (जडिबुटी) नपाउन सक्छ, त्यस कारण यो ऊ चाँहदैन । अहिले नेपालमा जे जति बचेको छ त्यो सबमा आफ्नो स्वामीत्व चाहन्छ भारत । केही गर्नु अघी नेपालले भारतसँग सोधोस् र उसको हित नहुने सोच्नु राम्रो हो, तर भारतको व्यवहार नवलपरासी, पर्सा, बारा, रौतहट, मोरङ, सुनसरी, सप्तरीका किसानले प्रत्यक्ष भोगेका व्योहेका छन्, पानी माथीको एकाधीकार बुझेकाछन् । धान, गहुँलाई जती खेर पानी चाहिन्छ, सो समयमा दिएको हुँदैन, बर्षामा बोडरमा बाधेको बाँधको ढोका थुनिदिएर सीमा छेत्रका गाउँ घर बर्षेनी डुबानमा पार्ने गरेको छ । अहिले नचेते, कहिले चेत्ने ।

नेपाललाई हिन्दू र बौद्ध धार्मिक पर्यटनका रूपमा विकास गर्न सकियो भने धेरैभन्दा धेरै पर्यटक नेपाल आउनेछन् । पर्यटन एउटा यस्तो क्षेत्र हो, जसमा कमभन्दा कम पुँजीबाट फाइदा लिन सकिन्छ । पर्यटक आएका बेला चना बेच्ने, हरियो मकै बेच्ने पनि कमाउँछन्, बदाम बेच्ने पनि कमाउँछन्, अटो रिक्सावाला पनि कमाउँछन् र ट्याक्सीवाला पनि कमाउँछन् ।
नेपालमा भएको जलस्रोतको सही सदुपयोग गर्न सकियो भने यहाँको मात्र होइन छिमेकी देशको पनि अँध्यारो हटाउन सक्नेछ । यो कुरो भारतले चाहदैन । नेपाल आत्म निर्भर नबनोस्, हरेक क्षेत्रमा भारतकै भर परोस् यही चाहन्छ । यस सोचलाई नेपालले आफ्नो बुद्धि विवेक प्रयोगगरि अन्त्य गर्न सकेमामात्र भविष्य उज्ज्वल बन्न सक्छ ।
आफ्नो घर बनाउँन छिमेकीको भर परेर बन्दैन । इष्ट इंडिया कम्पनी (अंग्रेजकोदास भारत) प्रतिको दृष्टिकोण उहिल्यै राष्ट्र निर्माता पृथ्वीनारायण शाहले प्रष्ट बताएकै थिए । उनको सोच पालन गरेनौं । आज परनिर्भर बन्न पुग्यौं ।

बास्तवमा भन्ने हो भने भारतसँगको खुला बोर्डर नै यो देशको उन्नतीको बाधक हो । हिमालयमा यति धेरै प्राकृतिक सम्पदा छ, भारतले त्यसमा आँखा गाडेको छ र त्यो सम्पदा आफ्नो देशको हितमा प्रयोग गर्न चाहन्छ । भारतले जे जति नेपाललाई दिएको छ, त्यसलाई सहयोग नभनेर उपकार गरेको ठान्दछ, हो यही ठुलदाईको सोच नै

बिस्तारबाद हो, व्यवहारले त्यो देखाएको छ । हर्बल मेडिसिनजस्तै अर्गानिक खेतीको पूरै विश्वमा ठूलो बजार छ ।
नेपालले अर्गानिक उत्पादन विश्व बजारमा पुर्याउन सक्यो भने जुन सामान आज भारतले रुपैयामा किन्दै छ त्यही सामान डलरमा बेच्न सक्छौं । नेपालको भूमिमा अर्गानिक खेती सम्भव छ । अर्गानिक खेतीलाई मात्र पनि राज्यले प्रोत्साहन गर्न सकेमा जनताको जीवनस्तरमा परिवर्तन आउनसक्छ । अहिले विश्व बजारमा अर्गानिक उत्पादनको माग व्यापक छ । हो यो कुरो भारत चाहदैन, एक त उत्पादन नहोस् यो चाहन्छ, अर्को उत्पादन भएमा विश्ववजारमा पुर्याउने पारवहनमा अवरोध पुर्याउँछ— अदुवा, अलैची, चीया र सुपारी उत्पादन गर्दै आएका किसानले यस्तो समस्या समय समयमा व्यहोर्दै आएका छन् ।

भारतले नेपालको जलविद्युत, भौतिक संरचनालगायत सबै क्षेत्रमा सहयोगको नाममा अवरोध पुर्याउँदै आएको छ । भारतको कृदृष्टि नेपालप्रति छ । भारत ¥याल काँढदै लोभी स्यालले जस्तै आशाको नजरले नेपाललाई हेरिरहेको छ । शस्त्रको बाटोमा हिँडेका मानिसलाई शान्तीको बाटोमा हिडाउन सकेको कार्यलाई नेपालको सफलता भन्नै पर्छ । नेपाल अब विकासको मार्गमा हिडेर सफल बन्न सक्यो भने हामीबाट पाठ सिकेर युद्धग्रस्त देशहरू यस मार्ग अवश्य अपनाउने छन् । यस्तो हुनु भनेको लोकतन्त्र प्रति संसारको विश्वास जाग्नु हो । किनभने, नेपाल लोकतन्त्रको माध्यमले विकासको गोरेटो खोज्दैछ, गोरेटो खोज्ने प्रयासमा लागेको छ । भारतको कतिपय व्यवहारबाट यो गोरेटो मासीयोस् भन्ने आशय बुझिएको छ ।
नेपाल बुद्धको भूमि हो, लोकतन्त्रको पक्षमा नेतृत्व वर्गले विचार पुर्याएर, लक्ष्य र संकल्पशक्ति लगाउने हो भने अबको एक दशकमा नेपालमा अजंगको विकाश हुन सक्छ । मलाई लाग्छ नेपालले विकासको इतिहास अवश्य रच्नेछ । भारत जहिले पनि मैत्री सम्बन्ध फलाकी रहेछ र अमैत्री व्यवहार गरिरहेछ । नेपालले आफ्ना छिमेकी देशसँग समानताको आधारमा मैत्री पूर्ण व्यवहार गर्नसक्यो भने शीखर चढ्न खासै धेरै समय लाग्दैन । नेपाल सार्वभौम राष्ट्र हो यो कुरा प्रत्येक नेपालीले आत्मसात गर्नै पर्छ । छिमेकीको व्यवहारबाट सचेत भएर समानताको आधारमा सम्बन्ध स्थापीतगरी देशको हितमा काम गरेमा यो पवित्र नेपाल स्वच्छ भै चम्कनेछ ।

  • शीतल गिरी

Tags:

सम्बन्धित समाचार