–जैसेरी
‘रक्सी खान्छ ! अनि रक्सीको सुरमा पर्छ ! अनि रेप हुँदैन ?’
ओस्कार २०२१ को उत्कृष्ट चलचित्रहरूमा मनोनीत चलचित्रहरू हेरेपछिको सप्ताहान्त रित्तो–रित्तो थियो । युट्युबमा द स्वार्च नाजी (कालो नाजी) नामक एक चलचित्र हेरिसकेपछि विभिन्न अन्तर्वार्ताहरू युट्युबले सुझाउन थाल्यो । त्यस्तैमा राजेन्द्र खड्गीको अन्तर्वार्ता आयो । त्यो अन्तर्वार्तामा उनले श्रीकृष्णले मर्नुअघि श्वेता खड्कालाई २ करोड लिएर अरूसँग बिहे गर्न भनेका थिए भनेर बोलेका थिए । त्यही क्रममा उनले माथिको भनाइ पनि राखेका हुन् ।
महिलामाथि हुने यौन हिंसामा महिलाहरूलाई नै दोषी ठहर्याउने यो दृष्टिदोष हाम्रो समाजको मात्रै होइन । यो त सर्वत्र छ । समयसँग र महिलाहरू सशक्त हुँदै गएसँगै यसको विरुद्धमा आवाज उठ्दै गएको छ । महिला मैत्री कानुनहरू बन्दै गएको छ । दोषीहरू विरुद्ध आवाज उठ्दै गएको छ । तर त्यति हुँदाहुँदै पनि बलात्कार जस्तो यौनजन्य अपराधमा समेत महिलालाई दोषी देख्ने मानसिकतामा कमी आएको छैन ।
यो राजेन्द्र खड्गी एक जनालाई गलत देखाउने प्रयास मात्रै होइन । यो त हाम्रो समाजको प्रतिनिधि विचार प्रकाश पार्ने जमर्को हो । राजेन्द्र खड्कीको विचारमा सहमति जनाउँदै युट्युबमा टिप्पणी गर्ने र खड्गीलाई हौस्याउनेहरूको सोच उदाङ्गो पार्ने प्रयास हो । अनि यो त्यो प्रयास पनि हो जसमा यो सोचको विकल्पको खोजी होस् भन्ने आकाङ्क्षा पनि लुकेको छ ।
ओस्कार २०२१ को उत्कृष्ट चलचित्रको सूची सार्वजनिक भएपछि एकपछि अर्को चलचित्र हेरि भ्याउने क्रममा ‘प्रोमिसिङ योङ वुमन‘ पनि हेरेको थिएँ । यो चलचित्र हेरेपछि मनमा निकै कुराहरू खेले । यसले आफैलाई विभिन्न खाले ग्लानि समेत महसुस गरायो । सधैँ भाले मात्रै बासेको सुनिने समाजमा तिनै घटनाप्रतिको पोथी ‘बासाई‘ले पनि सोच्न बाध्य बनाउने रहेछ । अनि फरक पक्षबाट आएका कुराले मनमा थुप्रै ग्लानिहरू पनि थपिदिने रहेछ ।
यो चलचित्रको विषय पनि महिला माथि हुने यौन हिंसा र त्यसका लागि महिलालाई नै जिम्मेवार ठहर्याउने सार्वजनिक सोच हो । अघि नै पनि लेखमा उल्लेख गरेँ, महिलालाई महिलामाथिको हिंसाको जिम्मेवार ठान्ने सोच कुनै एक व्यक्ति र कुनै एक समाजको मात्रै होइन । यो यत्र–तत्र–सर्वत्र छ । त्यसैले यो चलचित्र फरक समाजको कथा भए पनि व्यथा हरेक समाजको हो ।
चलचित्रको प्रथम दृश्यमा नशामा धुत भएकी केरी मुलिगन बारको एक कुनामा लगभग लडीबुडी खेलिरहेकी हुन्छे । ठ्याक्कै राजेन्द्र खड्गीले अन्तर्वार्ताका क्रममा भनेको जस्तै गरी । बारमा अन्य पनि छन् । एक झुन्ड युवाहरू केरी मुलिगनलाई नियाल्छन् र ती मध्ये एकले उनलाई सहयोग गर्ने अनुमति माग्छ । केही आनाकानी पछि केरिलाई ती युवाले उसको कोठासम्म छोडिदिने कुरामा केरिले स्वीकृति जनाउँछे ।
एक एक्ली जवान युवती त्यो पनि नशामा धुत भएर ट्याक्सीमा सँगै सवार गरिरहेको अवस्थामा ती युवकले उसलाई आफ्नो कोठा लैजाने मन गर्छन् । ट्याक्सी चालकलाई फरक ठेगानामा लैजान भन्छन् । कोठामा पुगेपछि नशाका कारण प्रतिकार गर्न नसक्ने अवस्थामा रहेकी केरिलाई सुमसुम्याउन सुरु गर्छन् ।
खासमा यी दृश्यहरू सुरु देखि नै गलत लाग्नुपर्ने थियो । त्यहाँ कुनै प्रेम वा रोमान्स् भइरहेको थिएन । एक नशामा धुत केटीको बेहोसीको फाइदा उठाइँदै थियो । त्यो दृश्यले रिस उठ्नु पर्ने थियो । त्यो दृश्य कामोत्तेजक हुनु हुन्थेन । अथवा त्यस्तो लाग्नु हुन्थेन ।
‘रक्सी खान्छ ! अनि रक्सीको सुरमा पर्छ ! अनि रेप हुँदैन ?’
राजेन्द्र खड्कीको कुरा यहाँनेर फेरि दोहोर्याउन मन लाग्यो । यसकारण कि यो दृश्य हेरिरहँदा राजेन्द्र खड्गीले बयान गरेकै परिस्थिति पर्दामा देखिन्छ । अनि लगभग त्यस्तै अवस्था आउन लाग्छ । तर हामीलाई त्यो ठिक हो भन्ने लाग्छ त ?
चलचित्र अगाडि बढ्छ । पहिलो दृश्यमा के भएको हो भन्ने भेउ पाउन दर्शकले अलि समयसम्म चलचित्र हेर्नुपर्छ । बिस्तारै त्यो घटना किन घट्यो भन्ने रहस्य पनि खुल्दै जान्छ । पात्रले कथामा तान्दै लग्छिन् । कथाको चरममा पुग्दा अवश्य कुनै बलिवुड शैलीमा कथाको अन्त्य होला भन्दै गर्दा थप नयाँ घटनाहरू घट्दै जान्छन् । त्यो सबै थाहा पाउन त पुरै चलचित्र हेर्नै पर्ने हुन्छ ।
यो चलचित्र महिला माथिको हिंसाको कारक महिला स्वयंको आचरण हो भन्ने पीडितलाई नै थप पिडा थप्ने मानसिकताको विरोधको कथा हो । महिलाको मुद्दामा आधारित महिला प्रमुख पात्र रहेको अनि महिलाले नै निर्देशन गरेको यो चलचित्र यसपालि ओस्कारमा उत्कृष्ट चलचित्रको मनोनयनमा पर्न सफल भएको छ । निर्देशक उत्कृष्ट निर्देशकको सूचीमा मनोनीत भएकी छिन् । अनि अभिनेत्री पनि उत्कृष्ट अभिनेत्रीको सूचीमा अटेकी छिन् । त्यसैले पनि यो चलचित्र चर्चाको लायक छ ।
निकै अघि ट्वीटरमा एक महिलासँग कुरा भएको थियो । विषय थियो महिलामाथि हुने यौन हिंसा । उनले आफूमाथि आफ्नो प्रेमीले गरेको व्यवहार यौन हिंसा भएको भनेर चेत पाउन नै समय लागेको भनेर बताएकी थिइन् । अनि उनले प्रेमी समक्ष गएर त्यो कुरा राखेको अनुभव पनि सुनाएकी थिइन् । मलाई उनको साहस निकै नै सराहनीय लागेको थियो ।
मैले बुझेसम्म उनले त्यो अपराधको स्वीकारोक्ति खोजेकी थिइन् । एक इमानदार माफी चाहेकी थिइन् । र त्यो पाइन पनि । यो कुराले मलाई पनि खुब प्रभावित गरेको थियो । मास्टरी गर्दा यातना दिएका विद्यार्थीहरूसँग सम्पर्क गरेर त्यो बखतको दुर्व्यवहारका लागि माफी माग्न यही घटनाले प्रेरित गरेको थियो । त्यही क्रममा निकै समय अघि पढाएका एक विद्यार्थीसँग भेट पनि भएको थियो । आदर आँखासहितका केही अप्ठेरा तर आत्मीय पल पनि साँटिएको थियो । यो भेटको लागि जति कृतज्ञता व्यक्त गरे पनि सक्दैन । यसरी माफी माग्नु पर्ने त कति छन् कति।
समयसँगै सम्भोग र बलात्कारको रेखाहरू झनझनै प्रस्ट हुँदै गइरहेका छन् । सहमति बिनाको यौन बलात्कार भनेर कानुनले मान्छ । चाहे त्यो श्रीमान-श्रीमतीका बीच नै किन नहोस् । सहमतिको लागि विशेष गरी महिला उमेरका हिसाबले वा मानसिक अवस्थाका हिसाबले सहमति दिने अवस्थामा हुनुपर्छ भन्ने समेत मान्यता स्थापित भइसक्यो । तर यो सब हुनुभन्दा अघि भएका घटनाका पीडितको हकमा के हुने ?
चलचित्र एकदमै रोचक छ । कुनै कुनै ठाउँमा सम्भावित घटना अनुमान लगाउन सकिने पनि छन् । तर अन्त्य कम से कम मेरा लागि अनुमान भन्दा बाहिरको थियो । यौन हिंसा विरुद्ध चेतना फैलाउनका लागि यो चलचित्र एक दमै प्रभावकारी साबित हुने देखिन्छ । तर पिडक र पीडितलाई न्यायको हकमा व्यवहारिक हल यसमा प्रस्तुत गरिएको छैन । नामको हकमा सम्भावना बोकेकी महिलाको ठ्याक्कै अर्थ लाउन अलि कठिन देखिन्छ । यसले यौन पिडक पुरुषहरूका लागि सम्भावना बोकेको महिला भनेर नशामा बेहोस महिलालाई पनि जनाएको हुनसक्छ । या त सम्भावना बोकेका महिलाहरूको जीवन कसरी यौन हिंसा पश्चात् न्याय नमिल्दा तहसनहस हुन्छ भनेर भनिएको पनि हुन सक्छ । दुवै अर्थ सान्दर्भिक लाग्छ । अभिनेत्री केरी मुलिगनको अभिनय एकदमै सबल छ । पात्रको मनोदशा दर्शकमा सार्न सक्ने उनको क्षमताले उत्कृष्ट अभिनेत्रीका लागि उनको मनोनयनलाई पनि न्यायोचित ठहर्याएको छ ।