बुधबार , साउन ९, २०८१

के जनैपूर्णिमा माथि प्रश्न तेर्स्याउनेहरू समाजविरोधी नै हुन् त ?

रीतिरिवाजका नाउँमा जुन परम्परा गलत छ त्यसको विरोध गर्ने गरौं ।

image

रक्षाबन्धन अर्थात् जनैपूर्णिमाको रौनक पहिले जस्तो अहिले छैन । विस्तारै यो पर्व श्राद्धमा बिरालो बाँध्ने उखान जस्तै बन्दै छ । श्रद्धा घट्दै छ र अनेक प्रश्नले प्रताडित बन्दै छ । उहिले उहिले निकै धूमधामसँग जनैपूर्णिमा मनाइन्थ्यो । अघिल्ला दिनमा एकछाक दर खाएर बसेका ब्राह्मणहरू जनैपूर्णिमाका दिनमा नजीकका तीर्थ, तलाउ, पोखरी, ताल, तथा नदीमा गएर पुरोहितले भने झैं शास्त्रीय विधिले गाईको गोबर, पवित्र माटो (सप्तमृत्तिका), खरानी आदिले विधिपूर्वक नुहाउनु पर्थ्यो । पण्डितले विभिन्न मन्त्र पढ्दै दतिवन गर्न लगाउँथे । यसलाई श्रावणी स्नान भनिन्थ्यो ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रणा गरिएको जनै धारण गर्ने चलन थियो । पूरा विधि पुर्याएर जनै धारण गर्दा मध्यान्ह कट्थ्यो । त्यसपछि पञ्चगव्य खाएर भित्रि शरीर लाई शुद्ध गरिन्थ्यो । त्यतिबेला सम्म तागाधारीहरूलाई भोकले आत्थु आत्थु पार्थ्यो । तैपनि गहिरो श्रद्धा थियो । उपनयन संस्कार गरेका सबैले सदैव जनै भिर्ने चलन थियो ।

जनैको एउटै सरो चुँडियो भने पनि नबोलीकन नयाँ जनै फेर्नु पर्थ्यो । जनै नलगाउने तागाधारी महिलाहरूले मन्त्रणा गरिएको डोरो देब्रे हातमा लगाउँथे र पुरुषहरूले जनै लगाइसकेपछि पनि दाहिने हातमा डोरो बाँध्ने चलन थियो । जनै र हातको डोरो बाँध्न ज्वाईं तथा भाञ्जालाई बोलाइन्थ्यो ।

तर वर्तमानमा यस्तो छैन । न त सबै तागाधारीहरूले सधैंभरि जनै लगाउँछन् न त विधिपूर्वक श्रावणी स्नान नै गर्छन् । जनै मन्तर्ने काम पनि निकै छोटो समयमा पूरा गरिन्छ । कतिपयले मुख धोएरै काम चलाउँछन् । प्रायले बाथरुम नुहाउने हुँदा नुहाउँदा भनिने मन्त्रहरूको मतलबै गर्दैनन् । तागो बाँध्न ज्वाईं अथवा भाञ्जालाई बोलाउने चलन पनि हराउँदै गएको छ । डोरो नबाँधुन्जेल खान नहुने भनिएकाले विगोत्रिया ब्राह्मणका हातबाट डोरो बाँधेर खाना खाने गरिन्छ । तेसमाथि आधुनिकताको नाममा पनि जनैपूर्णिमालाई पर धकेलिँदै छ । जनै सदैव लगाउने चलन पनि अधिकांशका बीच हराउँदै गएको छ ।

जनैपूर्णिमामा अरू विषय कमजोर बन्दै गए पनि पछि भित्रिएको एघार वटा गेडागुडी मिसाई अघिल्लै दिनदेखि भिजाएर टुसा उम्रे पछि पकाई क्वाँटी खाने चलन भने व्यापक बन्दै गएको छ ।

डोरो बाँध्ने कुन हातमा ?

शास्त्रज्ञ पण्डितहरूका अभावमा पहिले पहिले पुरुषले दाहिने हातमा र महिलाले देब्रे हातमा रक्षाबन्धन अथवा डोरा अथवा धागो अथवा तागो बाँध्ने चलन कतिपय ठाउँमा व्याप्त थियो । तर शास्त्रज्ञ पण्डितहरू चाहे महिला हुन् या पुरुष हुन् दुवैले दाहिने हातमै डोरा बाँध्नुपर्ने बताउँछन् । देब्रे हातले दिसा धुने काम गर्ने हुँदा कुनै पनि धार्मिक कार्यमा देब्रे हातमा डोरा बाँध्नु हुँदैन । यही नियम जनैपूर्णिमामा बाँधिने रक्षाबन्धनका हकमा पनि लागू हुन्छ ।

ऋषितर्पणी र ऋषिपञ्चमी

जनैपूर्णिमा ऋषितर्पणीका दिनमा पर्दछ । कतिपय मानिसहरू ऋषितर्पणी र ऋषिपञ्चमीमा झुक्किने गर्छन् । ऋषितर्पणी श्रावण शुक्ल पूर्णिमामा पर्छ भने ऋषिपञ्चमी भाद्र शुक्ल पञ्चमीका दिनमा पर्दछ । ऋषितर्पणी विशेष गरी पुरुषहरू द्वारा मनाइने पर्व हो भने ऋषिपञ्चमी महिलाहरू द्वारा मनाइने पर्व हो । ऋषितर्पणीका अघिल्ला दिनमा पुरुषहरूले र ऋषिपञ्चमीका दुई दिन अगाडि महिलाहरूले ‘दर’ खाने चलन छ ।

ऋषितर्पणीमा पुरुषहरूबाट वर्षभरि भएका पापहरूको प्रायश्चित्त गरिन्छ भने ऋषिपञ्चमीमा महिलाहरूबाट वर्षभरि भएका पापहरूको प्रायश्चित्त गरिन्छ । सबै पुरुषहरूले अरुन्धती सहित कश्यप अत्रि भारद्वाज विश्वामित्र गौतम जमदग्नि वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गरी ऋषितर्पणी मनाउनुपर्ने हो । तर अपवाद बाहेक सबै पुरुषहरूले यो काम पण्डितलाई सुम्पिएका छन् । तर ऋषिपञ्चमीमा भने अधिकांश महिलाहरूले ऋषिको पूजा गर्दछन् ।

शूद्रलाई जनै लगाउन कतै बन्देज छैन

जनैपूर्णिमामा तागाधारी पुरुषहरूले जनै धारण गर्ने चलन  छ। तागाधारी शब्दले ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णलाई मात्रै बुझाउने चलन छ । शूद्र तागाधारी भित्र पर्दैनन् । तर हिन्दू शास्त्रहरूमा कतै पनि शूद्रलाई जनै लगाउन बन्देज नगरिएको कुरा शास्त्रविद्हरू बताउँछन् । शूद्रलाई जनै लगाउन बन्देज गर्ने चलन धेरै पछि आएर भित्रिएको हो । हिन्दू समाजमा विभेद खडा गर्ने उद्देश्यले शूद्रको प्रसङ्ग भित्रिएको जानिफकारहरू बताउँछन् ।

जनै सधैं लगाउनु पर्दैन

व्रतबन्ध गरिसकेका तागाधारीहरूले सधैं जनै धारण गर्नुपर्ने कुरा कतिपय पण्डितहरू बताउँछन् । तर वर्तमानमा धेरैजसो युवाहरू व्रतबन्ध गर्दा तथा त्यस पछिका दुईतीन दिन मात्रै जनै लगाएर पछि जनै नलगाउने गर्दछन् । जनैलाई संस्कृतमा यज्ञोपवीत भनिन्छ । यज्ञ र उपवीत मिलेर यज्ञोपवीत शब्द बन्छ । यसको अर्थ यज्ञ गर्दा लगाउने धागो हो । यसलाई ब्रह्मसूत्र पनि भनिने हुँदा कतिपयले यसलाई केवल ब्राह्मणसँग मात्रै जोड्छन् । यसलाई सुरक्षाको धागो पनि भनिने हुँदा कतिपयले यसलाई क्षत्रियसँग पनि जोड्छन् । यदि जनै सधैं लगाउनुपर्ने भए कुनै पनि कार्य गर्दा शास्त्रहरूमा जनै लगाउने प्रसङ्ग आउँदैनथ्यो।

जनैपूर्णिमा माथि प्रश्न तेर्स्याउनेहरू समाजविरोधी हुन्

हाम्रो समाजमा चलिआएका रीतिरिवाज र धर्मसंस्कृतिमाथि लाञ्छना लगाउने र हुँदानहुँदा कुरा गरेर समाज भाँड्नेहरूको कमी छैन । कहिले दशैंमा टीका लगाउन हुँदैन भनेर विरोध गरेका भेटिन्छन् र कहिले जनैपूर्णिमा निश्चित वर्गका लागि हो भनेर विरोध गरेका भेटिन्छन् । उनीहरूको उद्देश्य नै मिलेर बसेको समाजलाई छिन्नभिन्न पार्नु हो । रीतिरिवाजका नाउँमा जुन परम्परा गलत छ त्यसको विरोध गर्ने गरौं र जुन परम्परा लोकसम्मत छ त्यसको सकिन्छ पालना गरौं, सकिन्न समर्थन गरौं तर विरोध नगरौं ।

सम्बन्धित समाचार