त्रेता युगमा मिथिला नरेश जनकले निमिको श्राप पाए । निमिको श्रापबाट राजा जनको पूरै शरीर गलिसकेको थियो । गलेको त्यस शरीरलाई मन्थन गरियो, जसबाट 'मिथि' नामको बालकको जन्म भएको थियो ।
जनकपुरधाम, एक ऐतिहासिक स्थल, इतिहासका विभिन्न कालखण्ड र किम्बदन्तीहरूसँग जोडिएको सम्पदा युक्त सहर, पोखरी र मिथिला चित्रको धाम- जनकपुरधाम । जनकपुरधाम मधेस प्रदेशको धनुषा जिल्लामा पर्दछ । जनकपुरधाम मधेश प्रदेशको प्रशासनिक तथा व्यापारिक धार्मिक क्षेत्र पनि हो ।
मिथिला क्षेत्रको ऐतिहासिकता तथा मिथिला क्षेत्रका विभिन्न आयामहरूको अध्ययन गर्न, धार्मिक सयर गर्न तथा घुमफिर गर्नका लागि एक उचित र राम्रो गन्तव्य हो- जनकपुरधाम । अझ भनौँ, यो एक खुल्ला संग्रहालय हो । जहाँ हर मोडहरूमा नयाँ कुरा सिक्न र देख्न पाइन्छ ।
ऐतिहासिकता बुझ्न, मिथिला सभ्यता, मिथिला चित्र, मिथिलाको ऐतिहासिकतासँग जोडिएका विभिन्न आयमहरूको पोयो खोतल्न प्रमुख बाटो हो- जनकपुरधाम । जनपुरधाम घुम्ने सबैको रहर हुन्छ । विशेष गरि जानकी मन्दिरको कारण प्रसिद्ध जनकपुरधाममा जानकी मन्दिरको बाटो हुँदै घुम्न सकिने र अध्ययन गर्न सकिने थुप्रै ठाउँहरू छन् । आज ती ठाउँहरूको बारेमा केही चर्चा गरौँ ।
जनकपुरधामको ऐतिहासिक पृष्ठभुमि
मधेस प्रदेशको राजधानी जनकपुरधाम धनुषा जिल्लामा पर्छ । धनुषाको सिमाना पुर्वमा सिरहा, पश्चिममा महोत्तरी, उत्तरमा सिन्धुली, उदयपुर र दक्षिणतर्फ भारतको विहार राज्यका विभिन्न जिल्लासँग जोडिएको छ।
किम्बदन्ती अनुसार, सत्ययुगको अन्त्यतिर भगवान् विष्णुका अनुयायीहरूको प्रयासबाट मिथिलाको खोज भएको मान्यता रहेको छ, जानकारका अनुसार शास्त्रहरूमा समेत उल्लेख छ । तत्कालीन समयको मिथिला राज्य हाल जनकपुरधामको नाममा प्रतिस्थापित हुन पुगेको देखिन्छ । मिथिला राज्य राजर्षी जनकले शासन सत्ता समालेको क्षेत्र हो, नेपालका भित्री मधेशका जिल्ला उदयपुर, सिन्धुलीदेखि गंगा तट (हाल भारतमा रहेको प्रसिद्ध नदि गंगा) सम्म यो राज्यको सिमाना फैलिएको मानिन्छ ।
जनकपुरधाम धार्मिक र सांस्कृतिक जगमा उभिएको प्राचीन नगरी हो । प्राचीनकालमा मिथिला, विदेह र तिरहुत पनि भनिने जनकपुर जनकवंशी राजाहरूको राजधानी पनि थियो । यसबारे रामायण, वेद, पुराणलगायत उपनिषद्मा मिथिलाको उन्नत सभ्यताबारे व्याख्या गरिएको छ ।
भारतको वैशालीमा लिच्छवी गणराज्यको विकास भएको बेला नेपालमा मिथिला सभ्यताले उचाई पाएको थियो । जनक र सीताबाहेक याज्ञवल्क्य, गार्गी र मैत्रीय आदि विद्वानको थलो जनकपुरधाम नै हो ।
नेपालको एकीकरण पछि नेपालको तराई भू-भागमा रहेको यो मिथिला क्षेत्रको महत्व पौराणिककालदेखि जुन रूपमा रही आएको थियो, अझ त्यो भन्दा बढी रूपमा धार्मिक र पछि थप पर्यटकीय रूपमा समेत प्रसिद्ध भयो । र, हाल संघिय अवधारणा आइपुग्दा जनपुरधाम ऐतिहासिक पर्यटन नगरिको रूपमा अगाडि बढिसकेको छ । मिथिला संस्कृति, सो बारेका आयमेली चिन्तन गर्ने र सयर गर्नेहरूका लागि घुम्नै पर्ने जनकपुरधामका विशेष महत्वका क्षेत्रहरू यहाँ चर्चा गरौँ ।
जानकी मन्दिर

माता जानकीको विशाल मन्दिरको निर्माण सन १९११ मा गरिए पनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औँ शताब्दिमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएका थिए । शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए । मिथिलाधाम दर्शन गर्ने उनको मनमा उत्कण्ठा जाग्यो तर, मिथिलाधाम कुन ठाउँमा छ भन्ने विषयमा उनलाई केही थाहा थिए । किम्बदन्तीअनुसार, माता जानकीले शुरकिशोर दासको सपनामा आएर जनकपुरधामको बाटो देखाएकी थिइन् ।
१४१७ सालमा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बुझिन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाममा १४ सय बिघा दान दिएको लिखत सुरक्षित रहेको बताइन्छ ।
जनकारका अनुसार नि:सन्तान रहेकी टिकमगढकी रानी वृषभानु कुमारीले माता जानकी समक्ष पुत्र प्राप्तीको इच्छा व्यक्त गरिन् र उनलाई पुत्र प्राप्ति भएपछि रानीले माता जानकीको सम्मानमा विशाल मन्दिरको निर्माण गरेको बताइन्छ । त्यो समयमा नौ लाख असर्फी खर्चेर मन्दिरको निर्माण गरिएको थियो, जसकारण जानकी मन्दिरलाई ‘नौ लाख मन्दिर’ समेत भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास गरिएको मन्दिरको निर्माण कार्य सन् १९११ मा सम्पन्न भएको मानिन्छ ।
मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ । दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन । गर्भगृह पछाडि विद्धुतीय सांस्कृतिक संग्रहालय छ । जहाँ हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएसम्मको सांस्कृतिक पक्ष देखाउने झाँक्रीका साथै संग्राहलयको जमिन भित्रको भागमा मन्दिर र सो सम्बन्धका विभिन्न गरगहना, तस्वीरहरू प्रर्दशन गरिएको छ ।
जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमूना मानिन्छ । मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि अद्भुत छ । दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेको यो मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको छ ।
मुगल वा शिखर शैलिमा निर्मित यो मन्दिर वास्तु कलाकारिताको विलक्षण धरोहर हो । मन्दिर परिसरमा ६० वटा कोठाहरू छन् ।
मन्दिरको बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजूर, फराकिलो सफा परिसर र कलात्मक प्रवेशद्वार रहेको छ । मिथिला क्षेत्रको ऐतिहासिकता बोकेको यो क्षेत्रलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्न आवाज उठिरहेकै छ ।
राम मन्दिर
जनकपुरधामको महत्वपूर्ण ऐतिहासिक तिर्थस्थलहरू मध्ये राम मन्दिर पनि एक हो । जानकी मन्दिरको निर्माणभन्दा पहिले नै निर्मित यो मन्दिरको निर्माण प्यागोडा शैलीमा गरिएको छ । राम मन्दिरलाई झट्ट हेर्दा पशुपतीनाथ मन्दिरको स्वरूप देखिन्छ ।
राम मन्दिरमा पन्चायन मूर्ति, लक्ष्मीनारायण, विष्णु दशावतारको मूर्ति, सात वटा घोडायुक्त रथमा विराजमान सूर्य भगवान् र अन्य देवीदेवताको नित्य पूजा अर्चना गर्ने गरिन्छ । मन्दिरमा रहेको मूर्तिहरू चतुर्भुज गिरीले फेला पारेका थिए । तिनै सन्तले पछि मन्दिरमै रहेको वरको रुख (जो हाल पनि अवस्थित छ, जसमा वर र समीको पुरानो रुख रहेको छ) मुनि मूर्तिहरू राखेर पूजा शुरु गरेका थिए भन्ने मान्यता रहेको छ ।
यो मन्दिर प्राचिन एवं ऐतिहासिक हो । महन्थ चतुर्भुज गिरीलाई राजा इन्दु विधाताले वि.सं. १८६७ मा दिएको कुश विर्ता, राजा विर्वाणयुद्ध विरविक्रम शाहले अम्बर गिरीलाई दिएको थमौतीबाट नै मन्दिरको प्राचिनतालाई दर्शाउँछ ।

रणबहादुर शाहका सेनापति अमरसिंह थापाले वि.सं १८३९ मा यो मन्दिरको निर्माण गर्न लगाएका थिए । पछि चन्द्रशम्शेर प्रधानमन्त्री भएको समयमा (१९८४) पित्तलको छानोमा सुनको पानी चढाउन लगाई मन्दिरलाई अझै आकर्षक बनाउन लगाएका थिए । मन्दिरको लम्बाई २५ फिट रहेको छ भने २३ फिट चौडाई छ ।
हनुमान मन्दिर
राम मन्दिरकै मुखमा रहेको हनुमान मन्दिर राम मन्दिर जतिकै पुरानो हो । झिंगटीको छानो हाली काठबाट यस मन्दिरको निर्माण गरिएको छ । यअ मन्दिरको निर्माण पनि अमरसिंह थापाले नै गर्न लगाएका थिए । मन्दिर परिसर भित्र १८ वटा शिवलिंगहरू समेत रहेका छन् । यी शिवलिंगहरूलाई नवग्रहादी पनि भन्ने गरिन्छ । हुन त, यसलाई धर्म रक्षाका लागि प्राण दिएको सन्यासीहरूको समाधिस्थल रहेको समेत भन्ने गरिन्छ ।

मन्दिर भित्र भगवान्का केही पाषाण मूर्तिहरू र संगमर्मरका मूर्तिहरू समेत राखिएको छ । त्यहाँ रहेका मूर्तिहरू मध्ये यशोधाले भगवान् कृष्णलाई दूध खुवाई रहेको कालो ढुंगाको मूर्तिलाई ‘पालकालिन मूर्ति’ मानिन्छ । यी मूर्तिहरू पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छन् ।
मन्दिरको प्रवेशद्वार पूर्व तथा दक्षिणमा मूख्य रूपमा रहे पनि पश्चिमतर्फ सानो र उत्तरतर्फ राजदेवी मन्दिर प्रवेश गर्ने द्वार रहेको छ । पूर्व तर्फको मुख्य प्रवेशद्वार भएर सोझै धनुषसागरसम्म पुग्न सकिन्छ ।
राम मन्दिर र हनुमान मन्दिरको आँगनमा विभिन्न ॠषिको समाधिमाथि राखिएका अद्भुत शिव लिङ्ग देख्न सकिन्छ । एकमुखे, दुइमुखे, पाँचमुखे शिव लिङ्ग रहेका छन्, जो शिव लिङ्ग झट्ट हेर्दा फरक र अद्भुत देखिन्छन् । वर र समीको जरामा झुण्डाइएको ठूलो घण्ट कलात्मक र अद्भुत लाग्छ ।
राजदेवी मन्दिर
यो मन्दिर राम मन्दिरसँगै जोडिएको छ । राम मन्दिरबाट राजदेवि मन्दिर प्रवेश गर्न सकिन्छ । जनकपुरको राजदेवी मन्दिर जनकपुरधामको सबैभन्दा प्राचीन मन्दिरहरूमा पर्छ । मिथिलाका जनकवंशी राजाहरूको कुलदेवीको रूपमा राजदेवीलाई लिइने गरिन्छ ।
मन्दिरको गर्भगृहमा धातु वा ढुंगाको कुनै मूर्ति छैन । त्यहाँ माटोको ढिस्कोलाई (जसलाई चाँदिको छाता ओडाइएको छ) कुलदेवीको रूपमा प्राचीन कालदेखि नै जनकवंशी राजाहरूले पूजा अर्चना गर्दै आएका छन । राजदेवी माताको प्रतिकको रूपमा रहेको माटोको ढिस्कोलाई अहिले पित्तलको पाताले ढाकिएको छ । मन्दिर परिसरमा महावीर युवा कमिटीले टायल्स ओछ्याएर त्यसको आकर्षण अझै बढाएको छ ।
विजया दशमीको नौ दिनसम्म यस मन्दिरमा देवीको पूजापाठ गर्नका लागि टाढा-टाढाबाट लाखौंको संख्यामा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ। दशैँको बेला मन्दिरलाई नवबेहुलीझैँ सिँगारिएको हुन्छ ।
राजदेवी मन्दिरमा विजया दशमीको अष्टमी तिथीका दिन एकै दिनमा सबैभन्दा बढी बलि दिइने गरिन्छ । राजदेवीमा बलि प्रदानका लागि आउनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको देखिन्छ । यसबाट के पुष्टी हुन्छ भने जनकपुरधाममा वैष्णव धर्मका साथै, शाक्त धर्म पनि त्यतिकै प्रबल छ ।
राजदेवी मन्दिरमा रहेको विराट निमको रुखले मन लोभ्याउछ । यस मन्दिरको सांस्कृतिक पक्षसँग जोडिएको उत निम वृक्ष अद्भूत प्रतीत हुन्छ।
जनक मन्दिर
राजा जनककै नामले प्रख्यात नगरी जनकपुरधाममा रहेको जनक मन्दिर प्राचीनताको नमूना हो । यो मन्दिर धनुष सागरको उत्तर पश्चिम डिलमा अवस्थित छ । मन्दिर भएको ठाउँलाई ‘जनक चोक’को नामले चिनिएको छ ।
मन्दिरमा प्रमुख रूपले राजा जनक, सुनयना, सीता लगायत अन्य देवी देवताहरूको पूजा अराधना गर्ने गरिन्छ । राजर्षि जनकको मन्दिरको थापना मणिक सेनको समयमा भएको मानिन्छ । यो मन्दिरको निर्माण अमरसिंह थापाले वि.सं. १८३९ सालमा गर्न लगाएका थिए ।
१९९० सालको भूकम्पमा मन्दिर क्षतिग्रस्त भएपछि १९९४ सालमा रामशम्शेरले जिर्णोद्वार गरि पुन:निर्माण गर्न लगाएका थिए । मन्दिरको सौन्दर्यीकरण फेरी गरिएको छ भने मन्दिर परिसरमा टायल्स ओछ्याएर आकर्षक बनाइएको छ ।
मन्दिरको गर्भ गृहमा रहेका मूर्तिहरू क्रमशः सतानन्द (कालो ढुंगा), राजर्षि (ढुंगा), सुनयना (संगमर्मर), गोपाल (ढुंगा) राखिएका छन् । मन्दिरमा रहेको राजर्षि शिरध्वज जनकको मूर्ति शिर तथा हाथ खुट्टा नभएको खण्डित मूर्ति रहेको छ ।
खण्डित मुर्तिको किम्बदन्ती गजबको छ, ‘सीतासँगको बिहेपश्चात् भगवान् राम, राजा जनकले दिएको दाइजोबाट सन्तुष्ट नभएपछि राजा जनकले दाइजो स्वरूप आफ्नै शिर काटेर दिएकोले सोही त्यागको सम्मान स्वरूप यस मुर्तिको निर्माण भएको मानिन्छ ।
गंगा सागर र गंगा आरती:

गंगा सागर राजर्षी जनकले नियमित स्नान गर्ने सागर हो । तत्कालीन समयमा राजकुमारि सीता, राजर्षी जनक र केही उनका व्यक्ति बाहेक अरुले यस सागरमा स्नान गर्न पाउदैन थिए भन्ने बुझाइ रहेको छ । करीब १० रोपनी क्षेत्रमा फैलियको गंगा सागरको पानी धनुष सागरमा पुग्दछ । यस सागरमा स्नान गरेको खण्डमा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको छ ।
गंगा आरती

जनकपुरधाम आउने पर्यटकहरूका लागि जानकी मन्दिर, राम मन्दिर दर्शनपछि आकर्षणको केन्द्र गंगा आरती हो । संगीतमय सो आरती हेर्नका लागि प्रत्येक साँझ जनकपुरधामको ऐतिहासिक गंगासागरमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ । त्यहाँ प्रत्येक साँझ ७ बजेदेखि ८ बजेसम्म गंगा आरती हुने गर्छ । गत ५ वर्षदेखि गंगा आरती हुँदै आएको छ ।
आरतीका लागि गंगा सागरको डिलमा ३ वटा मण्डप बनाइएको छ । तीनवटा पण्डित एकैसाथ गीत संगीतकै धूनमा आरती गर्ने गर्छन् । गंगासागरमा हुने गंगा आरतीले पूजाका साथै जल संरक्षण र पर्यावरण संरक्षणको सन्देश दिन सफल समेत भएको छ ।
केही वर्ष अगाडिसम्म फोहोर पोखरीको रूपमा रहेको गंगासागरलाई सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य रामअशिष यादवको नेतृत्वमा सरसफाई गरी पूजनीय स्थलको रूपमा परिणत गरिएको हो ।
आरती शुरु भएपछि राति पर्यटकहरू जनकपुर बस्नेको संख्याहरू समेत बढेको छ । जनकपुरमा उत्सव नभएको बेला पहिले पर्यटकहरू वास बस्न रुचाउँदैनथे तर, गंगा आरतीका कारण पर्यटकहरू यहाँ एक दिनका लागि पनि वास बस्ने गर्छन् । गंगा आरतिमा भारतिय पर्यटकको बाहुल्य उपस्थिति रहने गरेको पाइन्छ ।
गंगासागरको महत्व
७२ वटा कुण्ड रहेको जनकपुरमा सबै कुण्ड र पोखरीको आ-आफ्नै ऐतिहासिक महत्व रहेको छ । अधिकांशको त्रेतायुगकै इतिहास रहेको पाइन्छ । रामजानकीसँग ती ऐतिहासिकता जोडिएकाले पनि पोखरीको महत्व अझै बढ्न जान्छ ।
त्रेतायुगकालिन यसको पनि इतिहास रहेको छ । इतिहासकारहरू यो गंगासागर तत्कालीन समयमा कुन प्रयोजनका लागि निर्माण गरियो भन्ने कुरामा त एकमत नदेखिए छैन्न । तर, यो सागर त्रेतायुगकालिन रहेको र यसमा कुनै द्विविधा नरहेको बताउँछन ।
केही जानकाकारहरू रामजानकीको विवाहको बेला जानकीकै आग्रहमा भगवान् रामले आफ्नो वाणले गंगालाई जनकपुरमा आमन्त्रित गरेको र यहाँ स्थापित गरेको मान्यता राख्दछन् भने, केहीले, त्रेता युगमा मिथिला नरेश जनकले निमिको श्राप पाए । निमिको श्रापबाट राजा जनको पूरै शरीर गलिसकेको थियो, गलेको त्यस शरीरलाई मन्थन गरियो जसबाट ‘मिथि’ नामको बालकको जन्म भएको थियो । सो, बालकलाई पानीबाट मुक्त गर्नका लागि संसारकै प्रमुख नदि तथा सरोवरहरूबाट पानी ल्याइयो, सोही पानीबाट गंगासागर पोखरीको निर्माण भएको विश्वास गर्छन् ।
किम्बदन्ती अनुसार, रामजानकीको विवाहको समयमा मटकोर गंगासागर पोखरीमै भएको मान्यता पनि छ । गंगासागरको पानी धनुष सागरमा पुग्नुको अर्थ गंगाले पाप बगाउनेर धनुषले सो पाप कटान गर्ने विश्वास हो।
शिव मन्दिर

शिव मन्दिर गंगा सागरको डिलमा अवस्थित छ। यहाँ श्रद्धालु भक्तजनहरू ठूलै संख्यामा पूजाका लागि पुग्ने गर्छन् । शिवरात्री लगायतका पर्वहरूमा मन्दिरमा मेला लाग्ने हुँदा ठूलै संख्यामा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ ।
गंगासागरको उत्तर पश्चिम तथा शिव चोकमा रहेको यो मन्दिरको निर्माण २०३८ सालमा गरिएको छ । मन्दिरको निर्माण रामस्वरूप रामसागर धर्म संस्थाबाट गरिएको हो । मन्दिरमा काठमाडौँबाट ल्याइएका पाषण मूर्तिहरू प्रतिस्थापित गरिएका छन । यस मन्दिरको निर्माण शिखर शैलीमा गरिएको छ । चौतर्फी प्रवेशद्वार भएको यस मन्दिरमा जगमोहन समेत छन्, जसलाई विराट देव मान्ने गरिन्छ ।
संकटमोचन मन्दिर
ऐतिहासिक भूमी रंगभूमि मैदानसँगै रहेको संकटमोचन (हनुमानलाई संकटमोचन पनि भनिने) मन्दिर प्रसिद्ध छ । बाह्र बिघाको उत्तर पश्चिम कुनामा अवस्थित रहेको यो मन्दिरको स्थापना २००० सालमा गरिएको थियो ।
यो मन्दिरको स्थापना महर्षी परमहंस श्री अवध बिहारी दासजीले गराउन लगाएका थिए ।
मौनी बाबाले दानमा प्रदान गरेको अठारह कठा जग्गामा मन्दिरको स्थापना गरी हनुमानजीको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । यस मन्दिरमा रहेको हनुमानजीको संगमर्मरको मूर्ति भारत जयपुरबाट ल्याइएको हो । संकटमोचन मन्दिरको शिखर शैलीमा निर्माण तत्कालीन महन्थ अवध कुमार दासले गराएका थिए ।
मन्दिरको गर्भगृहमा हनुमानजीको संगमर्मरको भव्य मूर्ति सिंहासनमा विराजमान गराइएको छ । गर्भगृहमै संगमर्मरको मूर्ति मुनी सानो हनुमानजीको मूर्ति समेत रहेको छ । हनुमानजीकै मूर्ति नजिक चाँदीको कन्तुरमा सीतारामको शालिग्राम राखिएको छ। मन्दिरमा राम रचित पंक्ति र दोहा लेखी श्रृङ्गार गरिएको छ।
रामजानकी विवाह मण्डप

जानकी मंदिरको उत्तर तर्फ तथा अरगज्जासरको दक्षिण तर्फ रहेको रामजानकी विवाह मण्डप जनकपुरधामको धार्मिक एवम् पर्यटकिय स्थल हो ।
यो विवाह मण्डप वि.स. १९९० सालको भुकम्प्ले क्षतिग्रस्त भएकाको थियो र यश मण्डवलाई प्यागाेडा शैलिमा पुन: निर्माण गरिएको हो। । वर्तमान मण्डपको सिलान्यास २०२६ सालमा वडा गुरु ज्यू खगेन्द्र राज पाण्डेबाट भएको थियो भन्ने यसको उद्घाटन तत्कालिन राजा विरेन्द्रबाट २०४२ साल मा भएको हो ।
श्री रामजानकी विवाह मण्डपको गर्भगृहको चारैतिर पारदर्शी सिसा लगाइएकाले गर्भगृह वरिपरि रहेका सम्पुर्ण देवताहरूको दर्शन बाहिरबाट गर्न सकिन्छ । सीतारामका भव्य मुर्तिहरू गर्भगृहको मध्य भाग वेदीको पश्चिममा पुर्व मुख पारेर राखिएका छन् ।
गर्भ मण्डप भित्र कलात्मक अठारह ओटा संगमरमरका स्तम्भहरू छन् । यी स्तम्भहरूमा विभिन्न देवीदेवताहरूका चार चार ओटा दरले संगमरमरका मुर्तिहरू जोडिएका छन् । यसले गर्दा मण्डपको भव्यता बढ्नुको साथै रामजानकीको विवाह बेलामा उपस्थित सम्पूर्ण देविदेवताहरूलाई राखेर सजिवता दिएको छ । मण्डप दुई छानाको छ ।
मण्डपको माथि शिरमा रहेको सुनौलो गजुरले यसको रौनकतालाई अझ बढाएको छ । गर्भ मण्डपको सतहलाई पारदर्शी शिशाको अतिरक्त चारैतिर फलामको ३ फिट जति अग्ला ‘वाल’ लगाइएका छन् ।
यो मण्डप जानकी मन्दिर अन्तरगत रहेकाले यसको संचालन यसैबाट भएको छ । मण्डपको सम्भार एवं व्यवस्थापनका लागि दर्शालुहरूबाट न्यूनतम शूल्क लिने गरिन्छ । यहाँ फोटो खिच्ने व्यवस्था गरिएको छ।
लक्ष्मण मन्दिर:
जनकपुरधामका पुराना मन्दिरहरूमा लक्ष्मण मन्दिर पनि एउटा हो । यो मन्दिर जानकी मंदिर अगाडिको विशाल प्राङगणको उत्तर पूर्वमा पर्छ । यस मन्दिरमा मुख्य रूपमा भगवान् सीताराम, लक्ष्मण र लवकुशका धातुका मूर्तिहरू राखी पुजा गरिन्छ ।
यो मन्दिरको स्थापना महात्मा श्री जयकृष्ण दासले १७औं शताब्दीको अन्ततिर गरेका हुन् । मन्दिरको प्राचीनताबारे ताम्रपत्रमा उल्लेख भएको वाक्यबाट यकिन हुन्छ ।
ताम्रपत्रमा वि.स. १८१० फाल्गुणवादी ९ मा मकवानपुरका राजा हेमकर्ण सेनले जय कृष्ण दासुलाई दान दिएको कुश विर्ता वि.स. १८६७ सुदी ५ भाद्रका दिन गींर्वाण विक्रम शाहले महात्मा रामकृष्ण दास लक्ष्मण मन्दिरका महन्थलाई रजौल मौजाको कुश विर्ता दिएको अधिकार ब्यहोरा उल्लेख छ ।
यस मन्दिरको पौराणिकताका बारेमा सम्बन्धमा यसै मन्दिरका श्री सुधाकान्त झा बताउनु हुन्छ, “भागवत् गिताका अनुसार त्रेतामा मिथिलाका राजा बाहुल्याश्व जनक थिए । उनको समयमा मिथिलामा भीषण अनिकाल परेको थियो । जनताहरू आकुल व्याकुल र दुःखी थिए ।
जनताहरूमा सन्तान वृद्धिको क्रम रुकेको थियो । देशको यस्तो स्थिती देखेर राजा, ऋषिमुनीहरू पनि दु:खी थिए । राजा वाहुल्याश्व यस संकटकालिन स्थितीबाट छुटकारा पाउन चिन्तित थिए ।
यस अवस्थाबाट मुक्ति पाउन तत्कालीन ऋषिमुनिहरूले हिमालयमा गई १२ वर्ष तपस्या गर्न भने । ऋषिमुनिहरूको आदेश पाएपछि हिमालयमा गई तपस्या गर्न थाले । १२ वर्ष तपस्या गरेपछि उनलाई लक्ष्मणको मुर्ति प्राप्त भयो र आकाशवाणी भयो, “तिमी यो मुर्ति लिएर जानु र पुजा गर्नु ! तिम्रो देशमा अनिकाल हट्ने छ जनताहरू सबै खुशी रहने छन् ।”
राजाले लक्ष्मणको मुर्ति लिएर आफ्नो देशमा आए र पुजा आजा सुरु गरे । यसपछि देशमा अनिकाल हट्यो जनताहरूमा सन्तान वृद्धिको क्रम सुरु भयो । राजा प्रजा सबै आनन्दले जीवन बिताउने भएपछि कालखण्डको दौरान राष्ट्रमा कुनै समस्याहरू नआएको कारण लक्ष्मणजीको मुर्ति माटोमा पुरिन गयो र लुप्त भयो ।
कलियुग आएपछि महात्मा मस्त रामजीलाई प्रयागमा हनुमानजीले दर्शन दिनुभयो र भन्नुभयो, “तिमी मिथिला जनकपुरधाम जाऊ, त्यहाँ लक्ष्मणजीको मुर्ति छ । खोजेर पुजा गर्नु, तिम्रो कल्याण हुनेछ ।”
हनुमानजीबाट यस्तो आदेश पाएपछि मस्तरामजी सोनपुर हुँदै जनकपुर आए र गंगासागरको पश्चिममा आएर बसे । सोच्न थाले, कता पुगेर होला हनुमानजीले भनेको मुर्ति खोज्ने ? हनुमानजी सपनामा आइदिए । मणिमण्डपको पूर्व विमलाभन्दा पश्चिम जानकीजीको जिरायतभन्दा उत्तर कडहराग पोखरीदेखि दक्षिण नेर खोज भनेर मस्तरामजीलाई आदेश भयो ।
लुप्त भएको लक्ष्मण जीको मुर्ति हनुमानजीको कृपाले पत्ता लगाई मस्तरामजीले पुजापाठ गर्न शु्रु गरे । लक्ष्मणजीको मुर्ति मात्र पूजा गर्न नहुने भएकोले साधुसन्तहरूको सल्लाहले मस्तरामजीले त्यस ठाउँमा सीतारामको समेत मूर्ति राखी पुजा गर्न सुरु गरे ।
यो मन्दिर शिखर शैलीमा निर्माण गरिएको छ । भगवान्हरू संगमरमरको सिंहासनमा श्रृंगारेर राखिएका छन् । मन्दिरको अगाडि दक्षिण पूर्वमा अपराजीत हनुमानजीको मन्दिर छ ।
यहाँ विवाहपञ्चमी, रामनवमी, जानकी नवमी, झुला अन्नकुट कोजाग्रत पुर्णिमा जस्ता पर्वहरू मनाइन्छ । यी पर्वहरूमा भक्तजन तथा दर्शनालुहरूको भीड रहन्छ ।
धनुष सागर:
जनकपुरका पोखरीकहरूमध्ये अधिकांश पोखरीहरूको इतिहास त्रेतायुगकालिन इतिहास रहेको छ । प्रसिद्ध पोखरी तलाउहरूमध्ये धनुष सागरको विशिष्ट महत्व रहेको छ । राम मन्दिरको पूर्व भागमा अवस्थित यो तलाउ धार्मिक महत्वका साथै ऐतिहासिकता समेत बोकेको छ । यस तलाउमा श्रद्धालुहरूको स्नान आदिका लागि बाह्रै महिना घुइँचो लागेको हुन्छ ।
राजा जनककि छोरी सीताले शिवजीको धनुषलाई बायाँ हातले उठाएपछि कुनै वीर पुरुषसँगै सीताको बिहे गरि दिने प्रण लिएका थिए, राजा जनकले’ । जनकले यो धनुषमा जुन वीर पुरुषले प्रत्यंचा चढाउन सक्छ, उही वीर पुरुषसँग आफ्नी छोरीको बिहे गरिदिने’ प्रण लिए र सोही अनुसार स्वयम्बरको आयोजना गरे ।
माता सीताको स्वयम्बर संसारका सबै र वीपुरुषहरूले प्रत्यंचा चढाउने प्रयास गरे तर कोही सफल भएका थिएनन् । अन्तमा भगवान् रामले प्रतयंचा चढाउन खोज्दा शिवजीको धनुषको ३ टुक्रा भएको थियो ।
तीन टुक्रा मध्ये एक टुक्रा पातालमा गएको थियो । सोही स्थानमा पोखरीको आकार लिएको मान्यता रहेको छ । आज सोही स्थानलाई धनुष सागरको नामले चिनिन्छ ।
अंगराज सर ( पोखरी):
जानकी मन्दिरको उत्तरपट्टी रहेको पाखेरी अंगराज सरको महत्व पनि विशिष्ट रहेको छ । यो पोखरी समेत त्रेतायुगकालिन नै रहेको छ ।
अचेल यो पोखरीलाई ‘अरगज्जा सरको’ नामले समेत चिनिन्छ । अंगराज सर पोखरीमा प्रत्येक दिन माता सीता स्नान गर्ने गरेको मान्यता रहेको छ । माता सीता उबटन लगाएर यसै पोखरीमा स्नान गर्ने गर्थिन् । यो पोखरीमा स्नान गर्नाले चर्मरोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।
केही वर्ष अगाडीसम्म यो पोखरी फोहोरमय बनेको थियो । सो पोखरीलाई जनकपुरकै युवाहरूको सक्रियतामा सरसफाई गरी गरी रमणीय स्थलको रूपमा विकास गरिएको छ । अहिले यहाँ पोखरीको डीलमा बटुवाहरूका लागि बस्ने पार्क समेत निर्माण गरिएको छ भने वृक्षारोपण समेत भएको छ । यो पोखरी बटुवाहरूका लागि थकाई मार्ने राम्रो स्थलको रूपमा समेत विकसित भएको छ ।
महाराज सर (पोखरी ):
त्रेता युगको साक्षीहरूमध्ये महाराज सर पोखरी पनि एक रहेको छ । जानकी मन्दिरभन्दा पश्चिम र रंगभूमि मैदान १२ विघाभन्दा दक्षिण अवस्थित रहेको यो पोखरी धार्मिक महत्व बोकेको पोखरी रहेको छ ।
यो पोखरीमा स्नान गर्नाले ब्रह्माहत्यादि पापबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । यो पोखरीको नाउँ भगवान् रामका पीता राजा दशरथको नाउँबाट महाराज सर राखिएको छ ।
पिता यमदग्नीको आज्ञाबाट परशुरामले आफ्नै माताको हत्या गरेका थिए । सो पापबाट मुक्ति पाउनका लागि यसै पोखरीमा स्नान गरेको मान्यता रहेको छ । यो पोरखीको पश्चिम पट्टीको डीलमा राजा दशरथको ऐतिहासिक मन्दिर समेत छ ।
गंगा दशहाराका दिन महाराज सरमा स्नान गर्ने परम्परा रहेको छ । सोही दिन श्रद्धालुहरू स्नान गरेर आम चुरा खाने परम्परा रहेको छ ।
कपालमोचनी सर( पोखरी):
कपालमोचनी सर पोखरीको विशिष्ट धार्मिक महत्व रहेको छ । यो पोखरीमा स्नान गर्नाले सबै प्रकारको पापबाट मुक्ति पाउन सकिन्छ । यो पोखरी दशरथ मन्दिरभन्दा उत्तर र महाराज सागरभन्दा पश्चिम उत्तरको कुनामा अवस्थित छ ।
यो पोखरीको विषयमा धार्मिक ग्रन्थहरूमा समेत उल्लेख पाइन्छ । एक पटक भगवान् ब्रह्मा माता सरस्वतीलाई देखेर कामांध भएका थिए । माता सरस्वती ब्रह्मालाई देखेर भाग्न थालिन् । सरस्वती भागेको देखेर भगवान् ब्रह्मा पनि उनकै पछि-पछि भाग्न थाले ।
माता सरस्वती भगवान्को शिवको शरणमा पुगिन् । ब्रम्हाजीको यो हरकत देखेर भगवान् शिवले उनको शिर नै खण्डित गरेका थिए । ब्रह्महत्या लागेपछि भगवान्को शिवको हत्केलामा ब्रह्माजीको शिर टाँसिएको थियो । सो शिरलाई जती हटाउने प्रयास गरे पनि हटेको थिएन ।
यो पोखरीको पश्चिम डीलमा अहिले योगाभ्यास समेत प्रत्येक बिहान हुने गर्छ । हुन त यो पोखरीको संरक्षणको पर्खाइमा छ ।
पुरानो बजार
जानकी मन्दिर आसपासको बजार अझ विशेष गरि जानकी मन्दिर, राम, राजदेवी मन्दिर हुँदै रामचोक तिर अघि बढ्दा आउने सहर पुरानो बजार हो । यहाँ मिथिला संस्कृतिका पुराना अवशेष पाउनुका साथै, कलात्मक मिथिला चित्रहरू देख्न पाइन्छ । संस्कृति झल्काउने मिथिला चित्रको प्रयोग विभिन्न आयम र प्रयोजनका लागि गरेको देख्न सकिन्छ । पेडा, बर्फी र मिठाइहरूको पुरानो स्वाद भेट्न सकिन्छ । अझ भनौँ, यहाँ पुरानो मिथिला र जनकपुरका अनेक किम्बदन्ती र किस्साहरू सुन्न पाइन्छ ।
माथी उल्लेखित सम्पदाहरू जानकी मन्दिरकै पेरिफेरिमा रहेका छन् । यी मन्दिरहरू एवम् पैराणिक स्थलबारे बुझ्न र घुम्न एक दिनको समय खर्चिनु पर्छ । मन्दिर जाने बाटोको पर्खालहरूमा कोरिएका मिथिला चित्रले मन बहलाउँछ ।
मिथिला वा जनकपुरधाम आफैँमा ऐतिहासिक र सुन्दर हुँदाहुँदै मानवनिर्मित फोहोरले कुरूप भने बनाएको छ । सम्पदा पुग्ने बाटो वरपर थुपारिएको फोहोरले मन अमिलो हुन्छ । पुराना इतिहास बोकेको पोखरीहरूमा प्लाष्टिक तथा अन्य फोहोरले भरिएको देख्दा खिन्नता भने जाग्दछ । जानकी मन्दिर आसपासको क्षेत्रको एकदिनको बसाइँ सकिएपछि अरु घुम्ने ठाउँको चर्चा गरौँला ।
