बुधबार , जेठ ३०, २०८१

गाईजात्राः जहाँ फुल्थे जीवनका रङ्गहरू

जात्रा हेर्नु के थियो र लाखे नाच थरी-थरीका गाई र लाखे जिस्क्याउने नाटकीहरू । मेलामा बनेका जेरी र मिठाइका पसलहरू ।

image

साना बालबालिकाहरूका लागि त मनोरञ्जन जहाँतहीँ थियो । गुच्चाको एउटा डल्लो अथवा राम्रो डण्डी बियो किंवा काठको फुरुरु नाच्ने भुरुङ पाएदेखि स्वर्गमै गएर खेलेजस्तो भइहाल्थ्यो । साथीलाई भन्ने कुरा पो अनेक अनेक हुन्थे तिनताका । अरु साथीका अनुहार चाउरिएका हुन्थे र आफ्नो भने फुर्ति नै चहकिलो ।

आनन्दको उत्सव पनि कति साना-साना कुरामा हुन्थे भने पिपिरीको पात बजाउनु, डण्डी बियो खेल्नु, रुख चढ्नु खोपी वा गिर खेल्नु नै फुर्सदको मनोरञ्जन हुन्थ्यो । त्यतिबेला मन्दिर वा बजारहरूमा विरलै देखिने जात्रामात्रा त अदुभूत रमाइलोका आधारहरू हुन्थे जसलाई एक डेढ महिनादेखि नै उक्त दिनको ब्यग्र प्रतीक्षा गरिन्थ्यो ।

तिनताका त्यस्ता प्रतिष्ठित जात्राहरूमा कृष्णाष्टमी, शिवरात्री, बालाचतुर्दशी, तीज, दशैंको पिंङ, तिहारका देउसी, भैली, माघे सक्रान्ती, बसन्तपञ्चमी, फागु पूर्णिमा जस्ता उत्सवहरू निकै प्रतीक्षापूर्ण हुन्थे । त्यसका लागि दुई तीन दिनदेखि मानिसहरूका तयारी गजबसँग गरिएका हुन्थे । कपडा धुने, राम्रा-राम्रा खाने वस्तुहरूको खोजी र तयारी गरिएका हुन्थे । चाडपर्वको दिन निकै भजन, बालन, मालश्री, दोहोरीका भाखाहरू गुञ्जिएका हुन्थे ।

मेलाका बाहिर राखिएका जेरी, पुरी, रसवरीका तिखा-तिखा सुगन्धले अदुभूत आकर्षण गरिरहन्थ्यो तर के गर्नू ? पैसा देख्नु नै मुस्किल पर्दथ्यो ।

टाढा-टाढाबाट कहरपूर्ण उकाली ओराली, भञ्ज्याङ गौंडा, गल्छेडा कटेर उखुका भारीले थिचिएर आएका उखु ब्यापारीहरू मलिन अनुहार लगाएर आएका हुन्थे । उनीहरूले लगाएका कपडा जताततै भारी बिसाइएका उखुका बग्रेल्ती लाँक्राहरूले मन चोरिरहन्थ्यो । ब्यापारीहरू यसै दिँदैनथे आफूसँग पैसा थिएन । त्यसैले उखु खाने रहर अधुरै रहन्थ्यो । मुस्किलले २।४ पैसा खल्तीमा भएपनि कहिले लङुगुर बुर्जाले खाइदिन्थ्यो कहिले खोपी र गुच्चाले अनि पेट भोकै रहन्थो र हेरेर पेट भर्नुको विकल्प भएन । बेलुका लखतरान भएर घर फर्र्कँदा हजुर आमाको गाली खानुपर्दथ्यो ।

गाउँमै हुने नारायण पूजा, रुद्री, लाखबत्ती जस्ता उत्सवहरू पनि हामीलाई औधी रमणीय भएर छुन्थे । खैंजडी भजन, कीर्तनहरूमा नाच्नु, गाउँनुको मिठासभन्दा हामी बालबालिकालाई हेर्नुको जादु टुनाले अद्भूतसित गाँजेको हुन्थ्यो । हिदे रातको सिरेटोमा स्यु-स्यु गरेर होस् कि वर्षादमा रुझेर पनि त्यसमा सहभागी हुन भने छोडिँदैनथ्यो ।

खेतमा पानी लगाउँदा-लगाउँदै होस् किंवा घाँसको भारी बिसाएर चौतारामा थकाई मार्दा होस् ढुङ्गामा बाघचालको आकृति बनाएर खेलिन्थ्यो । उतिबेला बाघचाल खेल्नुको आनन्द र जित्नुको मजा बेग्लै हुन्थ्यो । न कसैले तक्मा लाइदिन्थे न अविर र माला पहिरिन पाइन्थो । न कप न मेडल तर त्यो जितले दिने उत्साह पाइनसक्नु बेजोड हुन्थ्यो ।

जात्राहरूको भीडमा गाईजात्रा र जङ्गे भूतको कमाल

गाईजात्रा हामी सानै उमेरदेखि हेर्थ्यौँ । सुनौला बजारको सानो बजार जहाँ नेवारहरूको वस्ती थियो र अहिले पनि छँदैछ । जनै पूर्णिमाकै आसपासबाट गाईजात्रा आरम्भ हुन्थ्यो र त्यो बेलामा सँगसँगै लाखेजात्रा पनि लगाइन्थ्यो । गाई बन्नेले डोका वा थुन्सेमा सिङ बनाएर बजार-बजार चहार्थे र त्यसलाई दीयो कलश प्रत्येक घरबाट निकालेर पूजा आजा गरी टिका लगाइदिन्थे, दक्षिणा दिन्थे । मलाई लाग्थ्यो सबैले पैसा दिँदा कति धेरै हुँदो हो ? अब डोको बनेर हिँड्ने को होला ?

पैसा लाखेवालाले पनि माग्थे । लाखे नाच्नेले लामो कपाल भएको मुकुण्डो लगाएको हुन्थ्यो जसका आँखा निकै ठूला हुन्थे, मुख फराकिलो र दाँत बाहिर निस्किएका हुन्थे, उसले लगाउने पोशाक पनि अलग्गै किसिमको हुन्थ्यो, सानो उमेरमा दिदी वा काकाहरूलाई लाखे हेर्न आऊ न भनेर कर गर्थेँ, घरबाट एक्लै निस्कन डर लाग्थ्यो, बल्ल बल्ल कोही साथी पाइहालेँ भने हजुरआमालाई जात्रा खर्चका लागि निकै पिर्थेँ र बल्ल बल्ल एकदई रुपैँया झर्थ्यो र उहाँको मितव्ययी वचन र आदेश हुन्थ्यो “सबै नमास, जोगाएर ल्याउनू” कहिले-कहिले त उहाँ धेरै पड्किनुहुन्थ्यो र आफैँ रुनुहुन्थ्यो किनकि मलाई दिने एक रुपैँया पनि नहुँदो हो ।

मेरा हजुबा मेरा बा दुई वर्ष नहुँदै बित्नुभएछ र बा प्रायः घर बाहिर जागिर वा अन्य काममा रहनुहुने भएकाले हजुरआमाले नै घर चलाउनुपर्ने भएकाले मैले खुसुक्क पिर्ने भनेकै हजुरआमालाई न थियो । आमा चारवर्ष नहुँदै गुमाएको थिएँ । मलाई दिने पैसा नभएपछि हजुरआमा आफैँ रुनुहुन्थो र सन्दुक टक्टक्याउनुहुन्थ्यो ।

आमा गुमाएपछि हजुरआमा नै मेरो हाँसो, खुशी र आँसु बिसाउने चौतारी हुनुहुन्थ्यो जहाँ मेरा आँसु बगेका थिए, हाँसो खिलखिलाएका थिए र दुःख सुखका भारी बिसिएका थिए । हजुरआमाको आँसु झरेपछि म आफूभने आँसु पुछेर भारी मन सहित निस्तो जात्राको फिक्का उत्सवमा निस्कन्थेँ र साथीहरूभन्दा प्रायः एक्लै-एक्लै भएर उदास निरश र हतास मान्छेहरूका कोलाहल हेर्ने गर्थे । यस्तो लाग्थ्यो मलाई मान्छेहरू हाँसो पनि किन यति धेरै बिझाउने भएको होला ? आफू भोको छु ।

कसैले जेरी वा सेल रोटी वा विस्कुट वा नरिवल किनेर दिए भने पनि पेट दुखेको छ खान्न भनिदिन्थेँ तर घुटुक्क थुक निलेर । त्यतिबेला मेरा मनमा हजारौँ तर्कहरू निस्कन्थे, सैयौँ नमिठा विचारका श्रङ्खलाहरू तरङ्गित हुन्थे, मस्तिस्कका नदीबाट निस्किँदै बिलाउँदै गर्थे । यस्तो लाग्थ्यो कि यो जात्रा पैसा नहुनेहरूलाई नआइदिनुपर्ने अथवा जात्रामा मान्छेहरूले दुईचार पैसा बाडिदिनु पर्ने । किन कसैले रक्सी, मासु, जेरीमा यत्रो खर्च गर्छन हँ ? म बेकार आइछु आदि आदि ।

प्राय: भदौमा पर्ने जात्रा कहिले कहिले त विद्यालयबाट किताब बोकेरै उतै हेरिन्थयो र रात बिरात घर फर्कनु पर्थ्यो । दर्के झरीले पिटेर लखतरान परिन्थ्यो, बाटोमा जाँड खाएको मान्छे देख्यो कि सातो जान्थ्यो ।

तिनताक दश बाह्र वर्षको हुँदो हुँ । जात्रा भदौको प्रारम्भमै परेको होला सायद । विद्यालय खुलेको थियो । दिनभर विद्यालयमा भएपछि चारबजे छुट्टी भयो पाँच वा छ कक्षामा पढ्थे सायद । चारबजेपछि साथीहरूले एकछिन गाईजात्रा हेरेर जाउँ भन्न थाले । ठीकै छ भनेर लागियो बजारतिर । जात्रा हेर्नु के थियो र लाखे नाच थरी-थरीका गाई र लाखे जिस्क्याउने नाटकीहरू । मेलामा बनेका जेरी र मिठाइका पसलहरू ।

खल्तीमा पैसा नभएपछि एक्लै बस्ने बानी त छँदै थियो । बिस्तारै-बिस्तारै अँध्यारो बढ्दै गयो  साथीहरूले हात हातमा जेरी लिएर टोकेका दृष्यलाई बढ्दै गएको अँध्यारोभन्दा कालो मुख लगाएर हेर्नूभन्दा नदेख्ने ठाउँतिर गएर तुरुक्क दुईथोपा आँसु चुहाउनु नै श्रेयस्कर हुन्थयो र म प्रायः उसै गर्थेँ । बजारको केन्द्रस्थलको चौतारामा भव्य नाच भैरहेको थियो त्यही आसपासका पसलहरूमा किनमेलको तँछाड मछाड चलिरहँदा म टुँडिखेलको एकान्तमा पीडाका फूलहरू बर्षाएर दिलबाट निखार्न प्रयासरत थिएँ सायद ।

एक्लै रुनुको अर्कै मजा हुन्छ । आम मान्छेहरूको अगाडि रुँदा हेलाँ र हाँसोको पात्र भइन्छ तर एक्लै रुदा छातीको आकाश वर्षने भेलले मुटुका व्यथाहरू निखार्छ झरी पछिको आकास जस्तै मनलाई कञ्चन बनाइदिन्छ । त्यस्तै भयो मलाई र ऐकान्तिक रोदन साधनाबाट छ्याङ्ग मनको आकाश खुलाएर भीडको केन्द्रतिर हान्निएँ । त्यहाँ पुग्दा त मान्छेहरू निकै पातलिइसकेका रहेछन् । रातले धर्तीलाई निकै छोपि सकेको थियो र बाटो पनि मुस्किलले देखिन्थ्यो । साथीहरू सबै घर फर्किसकेछन् ।

अब घर जान मलाई निकै डर लाग्ने भइसकेको थियो । मन अतेसले भारी भो । एकातिरबाटोमा पर्ने मौरी डाँडामा लाटो भूतले तर्साउछ भन्थे, अर्कोतिर जाँड लागेको मान्छे देखेपछि म उसै थुरथुर हुन्छु त्यस्ता जाँडहरू असरड्ड जताततै लडेका हुन्थे । कसरी घर पुग्ने ? तैपनि चप्पल हातमा लिएर आँखा नहेरी कुद्न थाल्थेँ ।

म जति जति कुद्थेँ उति-उति मन भित्र लाटोभूत रक्स्याहाहरू पनि दिमागमा सँगसँगै कुदिरहेका हुन्थे । मौरी डाँडा आइपुग्नै लाग्दा पर्ने खोल्सीमा केही अज्ञात बस्तुमा अल्झिएँ र आफू पनि ५० कि. मि. प्रतिघण्टाको बेगमा हान्निएको मान्छे दुर्घटनाग्रस्त भएर लडेँ । लडेपछि त्यो वस्तु बर्बराउन थाल्यो “मलाई नध्ने को होस् ? म यहाँको जङ्गे भूत हुँ तेरा आन्द्रा भुँडी खाइदिन्छु अब बुझिस् ?” अब मेरो हँसले ठाउँ छोडिहाल्यो ।

मेरो कानमा यी कुरा पर्न के थियो र दुर्घटनाभन्दा पिर त आन्द्रा भुँडीको हुने भयो मुटु कलेजा रहने भएनन् बिस्तार-बिस्तार उठ्न प्रयत्न गरेँ, हातगोडा नै चलेनन् । मुटु ढकढक गरिरहेकोथ्यो अघिसम्म अब चाल नै बन्द भएजस्तो भो । अन्धकार निस्पट्ट बढिसकेछ । म निस्प्राण जस्तै खोला छेउमा लेटिरहेँ ।

उता हजुरआमालाई नाती हराएको पिर पर्न थाल्यो । मकै बारी बेस्करी बढेको छ । केटाकेटी चोरेर लान्छ । पुलमा भोग दिन्छ भन्ने अनेका अफवाहले त्यतिबेला रातको सन्नाटा पनि ब्युझिएर चोर आयो, चोर आयो भनेर हल्ला खल्ला भैरहन्थ्यो । यस्तो बेलामा म हराएँ । मध्यरातमा हातमा अगुल्टो हल्लाउँदै हजुरआमाहरूको एक हुल ए बाबु  ऽऽ ! ? ए ! बाबु ऽऽऽऽ ! भन्दै आउनु भएको धीमा आवाज कानमा ठोक्कियो ।

मैले चल्ने साहस गरेजस्तो गरेँ तर शरीबाट के चाल निस्न्थ्यो र भूतको हलचल सायद ज्यादा भएछ क्यारे । त्यता आमाहरूको निगरानी बढ्ता भयो । यसो हेर्नुहुन्छ त नातीको कन्त बिजोग । अब रुवाबासी गर्ने पालो उहाँहरूको भयो । मेरा किताब छरिएका थिए । म इन्तु न चिन्तुसित लडिरहेको थिएँ ।

हजुर आमाले मलाई बुइमा बोक्नुभयो, कसैले किताबहरू सँगालेर टिपिदिनुभयो । मलाई घरमा ल्याएर सुताइयो । ज्वरो भुङ्ग्रो जस्तो थियो । रातभर सबैजनाले कुरेर बस्नुभएछ । बिहान पुछारघरे साँइला बालाई बोलाएर हेराउनु भएछ । लाटो भूत र जङ्गे भूत दुवैको दोष देखियो । पँहेला अक्षता, र के के मसिएर बल्ल बल्ल ठीक भयो भयो त्यसबेला देखि दिउँसै मौरी डाँडा खोल्सी पुग्दा छाती ढक्क फुल्थ्यो ।

सम्बन्धित समाचार