शुक्रबार , अषोज १४, २०७९

कलिलै उमेरमा विवाह, बहु विवाह र सम्बन्धविच्छेद

image

काठमाडौं । कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ । आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ । कलिलै उमेरमा गरिने बिहेका कारण धेरै परिवार टुक्रिएका छन् । सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम पनि बढेको छ ।

कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने दर बढेको सरकारी तथ्यांकले देखाएको छ । उमेर नपुग्दै गरिने बिहेका कारण आमा र शिशुको मृत्युदर बढेको छ । अधिकांश बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन् । बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायबाट कर्णालीमा बर्सेनि करोडौं रकम खर्च भइरहेको छ । तैपनि, बालविवाह भने रोकिएको छैन ।

एक वर्षअघि मागी विवाह गरेकी सप्तरीको राजविराज नगरपालिका–५ की १८ वर्षीया एक किशोरी गत फागुनमा गर्भ जाँच गराउन गइन् । गर्भ बसेको दुई महिनापछि बेहोस हुने, निद्रा नलाग्ने, कमजोरीलगायत लक्षण देखिएपछि उनी स्वास्थ्य संस्थामा पुगेकी थिइन् ।

स्वास्थ्यकर्मीले गर्भको बच्चा र उनी दुवै स्वास्थ्यमा समस्या हुन सक्ने भन्दै गर्भपतन गराउन सल्लाह दिए । त्यसपछि उनले राजविराजमै गर्भपतन गराइन् । उमेर नपुग्दै गर्भवती भएका कारण उनको स्वास्थ्यमा जटिलता आएको थियो ।

मधेस प्रदेशमा ‘बिहेवारी २० वर्ष पारि, छोरी शिक्षा बिमा, बेटी पढाऊ, बेटी बचाऊ’ लगायतका कार्यक्रम सञ्चालन रहे पनि सप्तरीमा २० वर्ष उमेर नपुग्दै विवाह गर्ने क्रम रोकिएको छैन । सानैमा बिहे गर्ने चलन नरोकिँदा कलिलैमा गर्भवती हुनेको संख्या घट्न सकेको छैन । उमेर नपुग्दै गर्भवती हुँदा जन्मिने सन्तान कम तौलका हुने चिकित्सकको भनाइ छ ।

बालविवाह न्यूनीकरणका लागि थालिएका अभियान प्रभावकारी नहुँदा त्यहाँका किशोरी बढी पीडित छन् । उमेर नपुग्दै गर्भवती हुने र बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन् । पढ्ने उमेरमा बिहे गरेका धेरै जोडीले विद्यालय छाडेका छन् । आर्थिक अभाव देखाउँदै कतिपय अभिभावकले नै उमेर नपुग्दै सन्तानको बिहे गरी दिन्छन् ।

छोरीको छिट्टै बिहे गर्नुपर्ने, अर्काको घर जाने भएकीले बिहेवारी गरी छुटकारा पाउनुपर्ने, छोरीको बिहे गर्दै जाने नभए एकैपटक आर्थिक भार पर्न सक्ने लगायत पारम्परिक सोचका कारण कम उमेरमा बिहे गर्ने चलन छ । मुलुकी अपराधसंहितामा २० वर्ष उमेर नपुगी बिहे गर्नु–गराउनुलाई अपराध मानिए पनि यो क्रम भने रोकिएको छैन ।

विद्यालय तहमा पढ्दा पढ्दै बिहे गर्नेको संख्या देशैभर बढ्दो छ । मोबाइल र फेसबुकको बढ्दो प्रयोगले पनि विद्यालय उमेरमै विवाह हुने क्रम बढेको छ । उमेर नपुग्दै बिहे गर्दा पढ्न नपाए र बेरोजगार बन्दा घरेलु हिंसा समेत हुने गरेको छ ।

२० वर्ष उमेर नपुग्दै भएको विवाह दर्ता हुँदैन । आमा–बुबाको विवाह दर्ता नहुँदा २० वर्षमुनिकी गर्भवतीले जन्माउने बच्चाको समेत जन्मदर्ता बन्दैन । यसले जन्मिएका बच्चाको तथ्यांकसमेत हुँदैन । आमाको उमेर २० वर्ष पुगेपछि मात्र विवाह दर्ता हुँदा जन्मिएको बच्चाको फर्जी जन्ममिति हालेर जन्मदर्ता गराउने गरिएको छ ।

यस्तै, सल्यानको छत्रेश्वरी गाउँपालिका–६ की सुशीला सुनारले १७ वर्षमा बिहे गरिन् । ०७२ मा सोही ठाउँका रविन सुनारसँग विवाह गरेकी उनी हाल एक्लै छिन् । उमेर नपुग्दै विवाह गरेका उनीहरू सँगै बस्न सकेनन् । पतिले अर्कैसँग विवाह गरी भारत पसेपछि सुशीला एक छोरीसहित माइतीमा बस्दै आएकी छन् ।

यस्तै, १८ वर्षमा विवाह गरेकी दार्मा गाउँपालिका–६ की केशरी विकका पतिले पनि अर्को विवाह गरी उनलाई छाडे । दुई छोराछोरी हुँदाहुँदै पति ज्ञानबहादुर नेपालीले बहुविवाह गरेको भन्दै उनले प्रहरीमा मुद्दा दायर गरेकी छन् । ज्ञानबहादुरले सोही ठाउँकी मीना विकसँग दोस्रो बिहे गरेका हुन् ।

यस्तै,  कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे ।

विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लागे । किशोर उमेर नै रहेका कुबेरलाई अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने जिम्मेवारी थपियो । उमेर नपुग्दै विवाह गर्दा उनीहरुको पढाइ छुट्यो । कलिलै उमेरमा घरायसी काम, पारिवारिक जिम्मेवारी, बच्चाको स्याहार, आर्थिक भार थपियो ।

२० वर्ष पुगेपछि मात्रै विवाह गर्नुपर्ने कानुनी व्यवस्था सच्च्याउन मधेस प्रदेशकै सांसदहरूले आवाज उठाइरहेका छन् । प्रदेश सभाको बैठकमा धेरै पटक सांसदले विवाह गर्न तोकिएको वर्ष धेरै भएकाले त्यसलाई १७–१८ वर्षमा झार्नुपर्ने माग गरेका छन् । सरकारी निकाय बाट नै बालविवाह, बहुविवाह सँग सम्बन्धित उचित कार्यक्रम नहुँदा पनि कतिपय ठाउँमा चेतना पुग्न सकिरहेको छैन । यसले कति समाज र कतिकाे स्वास्थ्य अवस्था माथि खेलवाड भइरहेकाे छ । अबकाे दिनहरूमा सम्बन्धित निकायले यस्ता विषयमा ध्यान दिनु जरूरी देखिन्छ ।

सम्बन्धित समाचार