शुक्रबार , अषोज १४, २०७९

पालिका र पर्यटन : खाद्य पर्यटनको विशेष सम्भावना बोकेको कटहरिया

पर्यटकीय सम्भावना बोकेको मुलुक नेपालका स्थानीय तहहरूले पर्यटकीय क्षेत्रको उत्थान, विकास र विस्तार गर्नका निम्ति केकस्ता गतिविधिहरू गरिरहेका छन् ? स्थानीय तहका सम्भावना र समस्याहरू केके छन् ? पर्यटकीय गुरुयोजनाहरू केकसरी अघि बढिरहेका   छन् ?

image

धेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको कटहरिया नगपालिका लोकप्रिय ठाउँमध्ये पर्ने गर्छ । धार्मिक तथा सांस्कृतिक रूपमा सम्पन्न कटहरिया नगरपालिका खानाका लागि पनि त्यति नै लोकप्रिय छ । कटहरिया नगरपालिकाकै नामबाट नामकरण भएको प्रख्यात परिकार ‘कटिया’ अहिले काठमाडौं, पोखरा लगायतका मुख्य सहरसम्मको खाना प्रेमीमाझ पुगिसकेको छ । ‘कटिया’लाई  भारतमा भने ‘कोहिया’ भन्ने गरिन्छ ।

पहिला कटहरिया आठ वटा वडा भएको एउटा गा.वि.स. (गाऊँ विकास समिति) थियो। हथियाही, बिर्ति प्रस्तोका, भसेढवा, बगही, पोखरिया जस्ता विभिन्न गाउँहरू गाभिएर २०७४ देखि कटहरिया नगरपालिका बनेको हो ।  हाल यस नगरपालिकामा ९ वटा वडा रहेका छन् । ४०.६९ (वर्ग कि.मी.)मा फैलिएको यो नगरपालिकाको कुल जनसङ्ख्या ३८,४१३ रहेको छ ।

मधेसी, थारु, मुसहर, डोम लगायतका जातिहरूको बसोबास रहेको नगरपालिका सांस्कृतिक रूपमा समेत सम्पन्न रहेको छ । धार्मिक पर्यटनको कुरा गर्ने हो भने नगरपालिका नजिकै रहेको बौधी माईको मन्दिर अत्यन्तै लोकप्रिय रहेको छ । नगरपालिकामा विशेषगरि बज्जिका, उर्दु, भोजपुरी, मैथिली र नेपाली भाषा बोलिन्छ । नगरपालिकामा रहेको पर्यटकीय सम्भावनालाई विचार गरेर हामीले कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाशसँग केही बातचित गरेका छौँ ।

कटहरिया नगरपालिकामा पर्यटनको के-कस्तो सम्भावना रहेको छ ?

पर्यटनको राम्रो सम्भावना छ । लाल बकैया खोलालाई पर्यटकीय आकर्षणको बिन्दु बनाएर, त्यसले उचित प्रचार-प्रसार पाए राम्रो पर्यटकीय क्षेत्र बन्ने थियो । पानी परेको समयमा नजीकै रहेको जङ्गल घुम्न जाँदा स्वर्गीय आनन्द आउने गर्छ । पुराना मन्दिरहरू घुम्न विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने गरे तापनि यसलाई अझै बृहत् रूपमा प्रचार गर्न सके अझ पर्यटक भित्रिनेमा विश्वस्त छु ।

साथै पाककलाका लागि लोकप्रिय कटहरिया नगरपालिकाले खाना प्रेमी पर्यटकलाई आकर्षित गरिरहेको नै छ । त्यसैगरि हुलाकी बाटोको समयदेखिको प्रसिद्ध चमनपुर, पिपरा लगायतका पुराना बजारहरूको भ्रमण गर्न सकिन्छ ।

नेपाल सरकारले हिमाल र पहाडभन्दा तराईलाई पर्यटकीय सम्भावना भएपनि प्रवर्द्धन गर्न कञ्जुस्याँइ गरेको जस्तो मलाई लाग्छ ।

पर्यटकलाई आकर्षित गर्न के-कस्ता योजना बनाइरहनु भएको छ ?

पर्यटकलाई आकर्षित गर्न नगरपालिकाको सहयोगमा बृहत् दुर्गा पूजा लगायतका सांस्कृतिक मेला आयोजना गरिन्छ । जसले केही पर्यटक भित्रिएका पनि छन् । त्यसैगरि उब्जनी नहुने नगरपालिका नजिकै रहेको ५२ बिघाको जग्गामा ठूलो पोखरी/ताल निर्माण गर्ने योजना समेत गरेका छौँ । त्यसको लागि प्रयास भइरहेको छ तर नजीक आएको निर्वाचनले यसमा असर पुर्‍याइरहेको छ ।

नगरपालिकामा के कस्ता संस्कृतिहरू रहेका छन् ?

यहाँ छठ पूजा बृहत् रूपमा हुने गरेको छ । शिवरात्रि लगायतका हिन्दु धर्मावलम्बीका चाडहरूलाई आकर्षक रूपमा मनाउने गरिएको छ । त्यसैगरि यस्ता विशेष समयमा विशेष किसिमका सांस्कृतिक नाच तथा नाटक प्रस्तुत समेत गर्ने गरिएको छ ।

नगरपालिका माटोका भाँडा, बेत/बाँसका भाँडाका लागि समेत लोकप्रिय रहेको छ । विभिन्न समुदायले बुन्ने तथा बनाउने यस्ता भाँडा विभिन्न जिल्ला सम्म पुग्ने गरेका छन् । ब्राह्मण, यादव, राजपूत, डोम, मुसहर, थारु लगायत विभिन्न जातजाति रहेको नगरपालिका उनीहरूको बेग्ला-बेग्लै पारम्परिक संस्कृतिले भरिपूर्ण छ ।

बाटोको कस्तो अवस्था छ ?

बाटो ठिकै छ भनौँ होला । पाँच वर्षमा हुने कामहरू पूर्ण भइसकेका छैनन्, यद्यपि हामी यसमा निरन्तर काम गरिरहेका छौँ । कुनैपनि यातायात आवतजावतका लागि भने कुनै समस्या छैन ।

होटेल अनि होमस्टेको कस्तो व्यवस्था छ ?

होमस्टे हाम्रो नगरपालिकामा छैन, त्यसको लागि नजीकै रहेको चपुर जान सकिन्छ । तर मधेशको मौलिक स्वाद बोकेका रेस्टुरेन्टहरूको भने राम्रो सुविधा रहेको छ  । त्यसैगरि नगरपालिकामा लज/होटेल रहेका छैनन् । त्यसको लागि नजीकै चपुर या गरुडा जानुपर्ने हुन्छ ।

यहाँको रेस्टुरेन्टमा पाइने खाना अत्यन्तै लोकप्रिय रहेको छ ।

नगरपालिकामा घुम्न मिल्ने ठाउँहरूको बारेमा बताउनुहोस् न !

ऐतिहासिक बौधी माईको मन्दिर नगरपालिका नजिकै रहेको छ । ५० वर्षभन्दा अघि स्थापना भएको बुढिया माई मात्र होइन नगरपालिकाबाट सजिलै प्रख्यात गढीमाई मन्दिर समेत पुग्न सकिन्छ ।

त्यसैगरि तराईका फाँटहरू, गाउँ तथा त्यहाँको रहनसहन र संस्कृति, पुराना बजारहरू पनि घुम्न अत्यन्तै रमाइलो हुनसक्छ ।

कटहरिया काटियाका लागि निकै लोकप्रिय छ, यसको गुणस्तर जाँच हुन्छ ? पर्यटकले स्वस्थ खाना खान पाउँछन् ?

गुणस्तर जाँच हुने गरेको छ । मासु काट्ने वधशालाबाट कस्तो मासु वितरण भइरहेको छ भन्ने कुरा नगरपालिकाले विचार गरेको हुन्छ । साथै त्यसमा प्रयोग हुने मरमसलाको गुणस्तरबारे पनि नगपालिका सचेत रहेको हुन्छ ।

त्यसैले पर्यटकले स्वस्थ खाना खान पाउँछन् ।

खाद्य पर्यटनको विशेष सम्भावना बोकेको रौतहट जिल्लाको कटहरिया नगपालिका नेपालको जुनसुकै ठाउँबाट सार्वजनिक यातायात प्रयोग गरी पुग्न सकिन्छ ।  आफ्नो क्षेत्रमा रहेको टिकट काउन्टरबाट कटहरिया जानका सजिलै बसहरू पाउन सकिन्छ ।

(पर्यटकीय सम्भावना बोकेको मुलुक नेपालका स्थानीय तहहरूले पर्यटकीय क्षेत्रको उत्थान, विकास र विस्तार गर्नका निम्ति केकस्ता गतिविधिहरू गरिरहेका छन् ? स्थानीय तहका सम्भावना र समस्याहरू केके छन् ? पर्यटकीय गुरुयोजनाहरू केकसरी अघि बढिरहेका   छन् ? लगायतका विषयवस्तुहरूमा केन्द्रित भई यो अंक तयार पारिएको हो । -सम्पादक )

सम्बन्धित समाचार