जहाँतहाँ मानिस पुगेको छैनन्
पृथ्वीका ती चौटाहरू
सित्तै गएका छन् !
र, हिमाल पनि त्यसैले हो
पग्ली पग्लीकन
मानिसको धरिति डुल्न आउँछन् !! (वासु शशी, कवितांश)
प्रविधिसँगको ज्यादा लसपसका कारण पृथ्वीका धेरै चौटाहरू सित्तै खेर गएका छन् । प्रविधिको एउटा बैगुन, यसले हामीलाई प्रकृतिदेखि दूर गरिदियो । संसार जति जति अगाडि बढ्दै जाँदो छ, घुम्ने संस्कार उति उति पर सर्दो छ । जङ्गल जङ्गल घुम्दै फिर्दै सिकार खेल्ने, काँडे भ्याकुर, रिट्ठा कन्दमूलको खोजी गर्दै हिँड्नमा मजा मान्ने मान्छेको जातले आफ्नो सो प्राचीन बानी भुल्दै गइरहेको छ ।
हाम्रा सभ्यता, इतिहास, लोक परम्पराहरूलाई नियाल्ने हो भने मानवले लामो यात्रा गरेको छ । अनेकन् ठाउँहरू खोजेको छ । अनेकन् रीतिथिति बसाएको छ । जन्म, मृत्यु, बिहे, व्यापार, लेनदेन, युद्ध लगायतका अनेकन् घटनाहरूले सामाजिक, आर्थिक रूपमा जेजस्तो प्रभाव पारेता पनि घुमघामको संस्कार स्थापित गराएको थियो । महात्मा, ऋषि मुनिहरूदेखि लेखक, अनुसन्धानकर्ताहरू विभिन्न बहानामा अनेकन् ठाउँ पुगिरहेका थिए/छन् । धर्मको बहानामा तीर्थ यात्राका लागि निस्कनेहरूको सङ्ख्या पनि बाक्लै छ । आज पनि घुमन्ते र सिकारी जीवनयापन गरिरहेको अल्पसङ्ख्यकहरू विश्वका अनेकन् ठाउँहरूमा भेटिरहन्छन् । यस हिसाबले हामी मानव स्वभावैले घुमन्ते जाति हौँ ।
त्यसो भए घुम्ने जाने होइन त ? आउनुहोस्, यसपालि बैतडीको मेलौली भगवतीको मन्दिर घुम्न जाऊ ।

नेपालको सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको मेलौली नगरपालिका अन्तर्गत पर्ने महाकाली नदी र सुर्नया नदीको बिचको अति नै सुन्दर मैदानमा मेलौली भगवतीको मन्दिर अवस्थित छ ।
अमर सहिद दशरथ चन्द, एसियाकी प्रथम महिलामन्त्री द्वारिका देवी ठकुरानी र पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला पनि बैतडी नै हो । बैतडी आफैँमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक दृष्टिकोणबाट उल्लेखनीय ठाउँ हो ।
मेलौली प्रसिद्ध स्थानीय भगवतीको नाम हो । यो मन्दिर बैतडी जिल्लाको मात्रै नभएर सुदूरपश्चिमकै प्रसिद्ध मन्दिर हो ।मेलौनी मन्दिर बैतडी पाटन न.पा.बाट दक्षिण पश्चिममा करिब ३३ कि.मि.को दुरीमा छ । पुरानो क्षेत्र विभाजनको आधारमा मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोश टाढा अर्थात् एक दिनको पैदल दुरीमा पर्दछ ।
यस मन्दिर परिसरको जग्गाको क्षेत्रफल १३४ रोपनी छ । विशाल दुवाचौरमा आकर्षक शिखरशीलै भित्र पर्ने प्यागोडा शैलीमा यो मन्दिर निर्माण गरिएको छ । यो मन्दिर समुद्री सतहबाट लगभग १,७०० मिटरको उचाइमा अवस्थित छ । बैतडी जिल्लामा यतिको उचाइमा सम्म परेको दुवाचौर (दुबोचौर) ले भरिपूर्ण एक मात्र स्थल यही मेलौली मन्दिर परिसर मात्रै हो । यहाँको हावापानी बाह्रै महिना समशीतोष्ण रहन्छ । पाटन न.पा.बाट सर्माली हुँदै पञ्चेश्वर जाने सडक यसै मेलौली मन्दिर परिसर भएर गइरहेको छ । त्यसैले यहाँ पुग्न कुनै कठिनाइ छैन ।
इतिहासमा बेला बेला यस मन्दिरको पुनर्निर्माण भएको पाइन्छ । यस मन्दिरको नवीनतम पुनर्निर्माण कार्य वि.सं २०३८ सालबाट सुरु भई २०४३ सालमा सम्पन्न भएको थियो । २०७३ सालको सुरुवातसँगै यस मन्दिरको पुनः जीर्णोद्धार गरिएको छ । मन्दिरको छाना मर्मत सम्भार गर्ने सिलसिलामा ताम्रपत्रले छाना छाउने उद्देश्यका साथ मन्दिर कोषका अतिरिक्त स्थानीय जनताको चन्दा–भेटीबाट थप सहयोग उठाइएको थियो ।
प्रसिद्ध शक्ति पीठका रूपमा मानिएको मेलौली भगवतीको मुख्य पूजा र जात्रा प्रत्येक वर्ष कार्त्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन हुने गर्दछ । उक्त अवसरमा यहाँ करिब दुई सयदेखि पाँच सयसम्म ठुला राँगा र सोही सङ्ख्यामा बोकाहरूको बली दिइन्छ ।
लगभग चार दिन सम्म रहने जाँत (जात्रा) मा करौडौको व्यापार हुन्छ । नेजा, ध्वजा, भाना, भोक्कर, झाँज लगायत दाईन–दमाहाको बाजा–गाजा सहित श्वेत फेटा र बागो लगाई सुन चाँदीको गहनामा सुशोभित हातमा चामर लिएर मेलैली र उदयदेवका धामीहरूले दशौँ व्यक्तिहरूले बोक्ने चक्डोलमा सवार भई पूर्णिमाका बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म काम्ने गर्दछन् । यस्तो लाग्छ धामीहरू प्रतिस्पर्धा गरिरहेका छन् । यही दृश्यले दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँछ । र, दर्शक यही हेर्न आउँछन् ।
यो अवसरलाई धामी काम्ने, डेउडा खेल्ने, आफन्त तथा इष्टमित्रहरूसँग भेटघाट हुने अवसरका रूपमा पनि लिने गरिन्छ । मन्दिर परिसरको मध्यमा रहेको २५ मिटरभन्दा बढी उचाइ भएको फलामे पिङ, जसलाई स्थानीय भाषामा ‘हिंगलो’ भन्दछन् । सम्भवतः यो सुदुरपश्चिमकै सबभन्दा अग्लो पिङ हुनु पर्दछ । यसका अलावा यस मन्दिरमा चैतै नवरात्र र असोजका नवरात्रमा पनि नित्य पाठ–पूजा र बली चढाइने गरिन्छ । श्रावण र भाद्र महिनामा पर्ने सुदूरपश्चिमको प्रसिद्ध चाड गौरा पर्वमा समेत यहाँ ठुलो मेला लाग्ने गर्दछ । सुदुरपश्चिममा गौरा पर्व यस मन्दिर परिसरमा सबैभन्दा लामो समयसम्म रहने गर्दछ ।
गौरा पर्वमा स्थानीय देवी–देवता, वीर पुरुषहरू, भगवती, कौरव, पाण्डव तथा रामका कथाहरू ढोल र मजुरा बजाई ठाडो खेलको रूपमा युवा–युवतीहरू तथा वृद्धहरू ठुलो श्रद्धाका साथ खेल्ने गर्दछन् । यी जात्राहरूमा महिलाहरूले लगाउने पुरानो समयको पहिरन अङ्ग्रेजकालका चाँदीका भिक्टोरियन कम्पनी माला, झुमझुमी बाला, नथु, मुदडा, कन्नी पैडा, आङ्गडो, घाँगरो, पिछौडा, गामन इत्यादि आफ्नो पारम्परिक पोसाकहरूका साथ सु–सज्जित वृद्ध महिलाहरूको समूह अत्यन्तै रोचक र मनमोहक लाग्ने गर्दछ । तर, नयाँ पीढीका युवा र युवतीहरूले पाश्चात्य शैलीको अनुकरण गर्दा यो पहिरन अब पूर्णरूपले लोपोन्मुख अवस्थामा रहेको छ ।
मुख्य आकर्षणहरू
इतिहासको एक पाटो
लगभग ११ औं शताब्दतिर भारत विजय प्राप्त गरिसकेका मुस्लिम शासकहरूले देशका कैयौँ भागमा त्यहाँ निवास गरिरहेका मानिसहरूलाई इस्लाम धर्म कबुल गर्न वा देश छोड्ने उर्दी जारी गरे । यसले ठुलै आतङ्कको रूप लियो । वर्तमान उत्तराञ्चल राज्यको कुमाउँमा पर्ने ‘कत्यूर’ भन्ने ठाउँमा निवास गर्दै आइरहेका कैयौँ कत्युरा हिन्दुहरू मुसलमान धर्ममा जान नसकेर आफ्ना पुर्खाले मान्दै आइरहेको सनातन धर्म बचाउन महाकाली नदी पार गरी बैतडी जिल्लाको ‘ग्वाल्लेक केदार’को धुरामा आए । खानाको अभावले उनीहरू जङ्गली पाराले हिंसावृत्ति वा शिकार गरी जीवनयापन गर्न थाले ।
हिंसावृत्तिका कारणले गर्दा केही महिनापछि त्यहाँ अशान्ति हुन थालेपछि त्यो ठाउँ छोडी ‘सिरोडा’ भन्ने ठाउँमा उनीहरू बसाई सरे । त्यहाँ पनि ‘दैवीय प्रभाव’ले गर्दा अशान्ति हुन थालेपछि पुनः त्यो ठाउँसमेत छोडी हालको मेलौली स्थानमा आइ बस्न थाले । त्यहाँ पनि अचल हुँदै जाँदा केही कत्युराहरू त्यहाँबाट अन्यत्र गए भने केहीले आफ्नो थर र आचरण परिवर्तन गरी त्यसै ठाउँमा स्थायी बसोबासको सुरुवात गरे ।
किम्बदन्ती
कालान्तरमा यसरी स्थायी बसोबास गर्दै आइरहेका एक जना कत्युरा पोखर्याल थर भएका मानिसको दुधारु गाई नित्य ‘खलगाःड’ गाउँबाट ग्वाल्लेक केदारको धुरामा रहेको मेलौलीको शिलामा दूध चढाउने गर्दथ्यो । गाई जाने बेलामा अति दुर्गम सिमपडको उकालो चट्टान भएको बाटोबाट जाने र फर्किदा सिरोडाको सरल बाटो भएर आउने गर्दथ्यो । दुधारु गाइले घरमा दूध दिन छाडेपछि गोठालामाथि वनमै दूध दुहेर खाएको झुटो आरोप लाग्न थाल्यो ।
आफू यसरी बिनाकारण दिनहुँ अपमानित भइरहेकोले गोठाको चित्त खुब दुखे छ । तर यो कुरा स्वयं गोठालोलाई समेत थाहा थिएन । दिनहुँजसो सोही क्रम दोहोरिन थालेपछि एकदिन गोठालोले त्यस गाइको पिछा गर्यो । गोठालोले ग्वाल्लेकधुराको झाडीमा गएर गाईले एउटा शिलामाथि दूध चुहाइरहेको देख्यो । उसले तुरुन्त घरमा आएर गाई मालिकसँग उक्त कुरा बताएपछि मालिक उसको पछिपछि लागेर गाई भएको स्थानमा पुगेछ । उसले आफ्नै आँखाले देख्यो, गाईले सिलामाथि दूध चढाइरहेको ।
भोलिपल्ट गाउँका अरू मानिसहरू पनि सो स्थानमा गए । त्यो दूध बगाइएको ठाउँमुनि एउटा शिला भेटियो । गाई मालिकले गाउँलेहरूको समेत सल्लाह लिई त्यस शिलालाई ‘दूध खाने अज्ञात देवि शक्ति भएको ठान्दै त्यसलाई महाकाली नदीमा विसर्जन गर्न भनी डोकोमा हालेर सुकेको ‘मेल’को काठको लट्ठी टेक्दै महाकाली नदीतर्फ प्रस्थान गरे ।
गाई मालिक पोखर्याललाई बैतडीको ‘देही’ भन्ने ठाउँमा पुगिसके पछि दिशा–पिसाब र तिर्खा लाग्यो । उसले शौच गर्न, हातमुख धुन र पानी खान भनी डोको त्यहीँ बिसायो । त्यहाँ दुई वटा पानीका न्या;ला (पानी धारा) र आफूले टेक्दै आइरहेको ‘सुकेको मेलको लट्ठी’ पनि त्यहीनेर जमिनमा गाड्यो ।
पोखर्याल आफू शौच गर्न हिँड्यो । शौच गरिसकेपछि त्यहाँ रहेको सौडानी न्वाःलो, देउ न्वाःलो लगायतका स्थानमा पानीको खोजी गर्यो तर, पानीको एक थोपा थिएन । अघि उसले देखेको पानी पनि बिलाएको देख्यो । साथै उसले त्यहीँ आफैले गाडेको सुकेको मेलको लट्ठी समेत पलाएर हराभरा भएको देखेपछि ऊ छक्क पर्यो । उसले विस्मित भएर डोकोनेर गई “हे शिला ! शौच शुद्धि गर्न पानी नपाइने भयो, अब म तिमिलाई कसरी उठाउँ ?” भन्यो । डोको भित्र रहेको शिलाबाट “तिमीलाई म पानी दिनेछु, तर मलाइ अब कहीँ नलग्नु । यहीँ छोडिदिनु म यहीँ बस्ने छु ” भन्ने आवाज आयो ।
पोखर्यालले “हुन्छ प्रभु !” भन्ने उत्तर दिएपछि त्यसैबेला एउटा काग उड्दै आएर नजिकै रहेको ठुलो ढङ्गमा बसी कराउँदा त्यसै ढुङ्गाको चिराबाट तुरुन्त पानी फुट्यो र पोखर्यालले पनि शुद्धि गर्न पाएको थियो भन्ने किंवदन्ती रहिआएको छ ।
त्यो शिला अहिले पनि मेलौली मैदान परिसरमा रहेको देख्न सकिन्छ । त्यस्तो आश्चर्यजनक घटना पोखर्यालले अरूहरूलाई पनि सुनाए/देखाएपछि उक्त शिला र मेलको लट्ठीको त्यसै दिन देखी पूजाआजा गर्न थालियो । सुकेको मेलको लट्ठीलाई आफ्नो शक्तिले तुरुन्तै हराभरा गर्न समर्थ भएकीले उक्त दैवीय शक्तिलाई ‘मेलौली’ नामकरण गरियो । त्यो मेलको हराभरा भएको बोट अहिले पनि देख्न सकिन्छ । कालान्तरमा त्यही घटनाले गर्दा त्यस स्थानको नाम पनि ‘मेलौली’ रहन गएको हो ।
त्यसपछि ‘कत्युर’ वंशका एक जना व्यक्तिबाट सर्वप्रथम काठको खम्बा गाडेर काँस र कुशको छानो बनाई यस मन्दिरको प्रथम स्थापना गरिएको थियो ।
छाना बनाइएको केही दिन पछि उक्त काँस–कुशले छाएको मन्दिरमा आगलागी हुँदा ‘धर्मज्यू’ भन्ने एक जना स्थानीय मुखियाले उपहास गर्दै आफ्नो चोर औला ठड्याएर मन्दिरमा आगलागी भएको देखाउँदै मेलैनीको खिसिटिउरी गरेछन् । त्यसपछि उनीसँग मेलौली भगवती रिसाइन् । उनको चोर औलामा एक्कासि घाउ देखापर्यो । केही दिनपछि घाउ पाक्न थाल्यो र अन्त्यमा कुहिएर चोर औला खसेको थियो भन्ने किंवदन्ती पनि छ ।
अहिले पनि धर्मज्यूको वंशमा देवीको श्रापले गर्दा एक जना मुख्य व्यक्तिको हातको चोर औला हुँदैन । यो चमत्कार अझै पनि प्रत्यक्ष देख्न सकिन्छ ।