बुधबार , जेठ १३, २०८३

जाँदाजाँदै (टान)का अध्यक्ष खुमबहादुर सुवेदीलाई प्रश्न: -‘यहाँको कार्यकाल कस्तो रह्यो ?’ (भिडियाे)

सुवेदी २०७६ भदौमा सम्पन्न सङ्गठनको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका थिए । 

image

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशाेसिएसन अफ नेपाल (टान)को वार्षिक साधारण सभा तथा निर्वाचन यही साउन ३० गते हुँदै छ । यससँगै अघिल्लो निर्वाचनबाट टानको अध्यक्ष पदमा निर्वाचित खुमबहादुर सुवेदीको कार्यकाल पनि सकिँदै छ । हुन त सुवेदीको कार्यकाल १० महिना अघि अर्थात् २०७८ को भदौमै सकिएको थियो तर कोभिड लगायत विविध कारणले सङ्गठनको निर्वाचन गराउन नसक्दा उनी नेतृत्वमै रहेका हुन् । सुवेदी २०७६ भदौमा सम्पन्न सङ्गठनको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका थिए । 

धादिङको ज्वालामुखी गाउँपालिका-६, चैनपुरमा जन्मिएका सुवेदी  २०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्वतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका हुन् ।  सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक समेत रहेका छन् ।

टानको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भएर काम गरिसकेका सुवेदी पर्यटन व्यवसायी मात्रै नभई नियात्राकार समेत हुन् । ‘पदयात्राका पाइलाहरू’ र ‘बेल्जियमका क्षणहरू’ सुवेदीका दुई नियात्रा कृतिहरू बजारमा प्रकाशित भइरहेका छन् ।

मानविकी विषयमा स्नातक पुरा गरेका सुवेदीले नेपाली पर्यटन प्रवर्द्धनार्थ ४० भन्दा बढी देशहरूको भ्रमण गरिसकेका छन् । उनी  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूबाट सम्मानित भइसेका छन् । 

टानलाई झन्डै तीन वर्ष नेतृत्व दिएर अध्यक्ष पदबाट बिदा हुँदै गरेका सुवेदीसँग सहकर्मी चन्द्र तामाङले उनको कार्यकालको अनुभव, उपलब्धि, नेपालमा पर्वतीय पर्यटनका चुनौती र सम्भावना, भावी नेतृत्वले गर्नुपर्ने कार्यहरू लगायत समसामयिक पर्यटकीय गतिविधिहरूमा केन्द्रित रहेर संवाद गरेका छन् । प्रस्तुत छ, सुवेदीसँगको संवादको सम्पादित अंश: 

१. यहाँको दुई वर्षे कार्यकाल कस्तो रह्यो ?

– म टानको १९औँ अध्यक्षको रूपमा सन् २०१९ मा निर्वाचित हुँदै गर्दा जुन लक्ष्य र उद्देश्य अनि उत्साह बोकेर आएको थिएँ, सो अनुरूपको काम गर्न पाइएन । दुःखद भनौँ या अप्ठ्यारो भनौँ, म निर्वाचित भएको तीन महिनापछि कोभिड-१९ महामारी सुरु भयो । हामीले पर्यटन व्यवसायी र श्रमिकका समस्याहरू जुन उठाएका थियौँ, तिनलाई अपेक्षाकृत समाधान गर्न सकेनौँ । अन्तर्राष्ट्रिय बजारमा जुन किसिमको प्रचारप्रसार गर्नुपर्ने हो, त्यो गर्न सकेनौँ । तर, पनि दुई वर्ष भनौँ अथवा दुई वर्ष १० महिनाको कार्यकाल चल्दै गर्दा सङ्गठनभित्रका आन्तरिक कार्यहरू भने थुप्रै गरेका छौँ भन्ने मलाई लाग्छ । अन्तर्राष्ट्रिय प्रचारप्रसार र नेपालभित्रका गन्तव्यहरूको पहिचान र विकास गर्न नसके पनि टानभित्रका समस्याहरू, टान र नेपाल पर्यटन बोर्डबीच देखिएको टिम्सको विवाद समाधान, पर्यटन ऐन बनाउन सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय, सल्लाह सुझाव दिने, अन्य सङ्घ संस्थाहरूसँग टानको सम्बन्ध विकास लगायत कार्यहरू हामीले गर्‍यौँ ।

२. दुई वर्षको कार्यकालका मुख्य उपलब्धिहरू अथवा भनौँ सम्झन लायक कार्यहरू के-के हुन् ?

– मैले अघि नै उल्लेख गरेँ कि कोभिड-१९ महामारीका कारण हामीले जुन उपलब्धि हासिल गर्नुपर्ने हो त्यो गर्न सकेनौँ । तर, म निर्वाचित हुने बित्तिकै जुन ‘भिजिट नेपाल २०२०’ को अभियान अगाडी बढ्दै थियो, त्यसको तयारीमा उल्लेख्य काम गरेका थियौँ । यद्यपि हाम्रो मेहनत खेर गयो । गोक्यो लेकमा आइस स्केटिङ भनौँ, जुन एडभेन्चर गतिविधिमा उच्च सहभागिता रह्यो । त्यसले एउटा अन्तर्राष्ट्रिय छलाङ पनि लियो । जसले नेपालको एडभेन्चर टुरिजमको प्रमोसनमा महत्त्वपूर्ण योगदान पुग्यो र एउटा ब्रान्ड निर्माणमा सहयोग पुग्यो भन्ने लाग्छ । यी चाहिँ राम्रो उपलब्धि नै हो ।

३. टानले यसबीचमा नयाँ ट्रेकिङ रुटहरूको पहिचान र विकासमा के-के गर्‍यो ?

– गर्‍यौँ, हामीले रोल्वालिङ क्षेत्रमा नयाँ रुटहरू बनायौँ । पूर्वको मुन्धुम ट्रेलमा पनि काम गर्‍यौँ, अरू पनि एक्सप्लाेर गर्ने काम गर्‍यौँ ।   चम्पादेवी, नगरकोट लगायत ठाउँमा साइकल रुट बनायौँ । नारायणहिटी राज दरबारको सरसफाइ पनि हामीले गर्‍यौँ । अरू विभिन्न सम्पदाहरूमा पनि सरसफाइको काम गर्‍यौँ । हाम्रो उद्देश्य त धेरै नै गर्ने थियो । तर समयले साथ दिएन ।

४. नेपालको पर्वतीय पर्यटनको अवस्था के कस्तो छ अहिले ? 

– नेपालको पदयात्रा, पर्वतीय पर्यटन अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएकै हो, यसको आफ्नो नेम, फेम र ब्रान्ड छँदै छ । विश्वमा करिब करिब ४०-४५ प्रतिशत पर्यटकहरू साहसिक पर्यटनका लागि निस्कन्छन् । नेपालको अवस्था पनि विश्वको भन्दा कम छैन । यहाँको पदयात्रा, पर्वतारोहण, एड्भेन्चर टुरिजम राम्रो नै छ र हुँदै छ । धेरै पर्यटकहरू पदयात्रा पर्वतारोहणकै लागि आउँछन् । नेपाल अन्य फुर्सद मनाउने वा समय बिताउने भन्दा पनि एड्भेन्चर टुरिजमकै लागि चिनिएको छ । एड्भेन्चर टुरिस्टहरूको अराइभल राम्रो छ ।

५. नेपालमा पर्वतीय पर्यटनको भविष्य कस्तो देख्नुहुन्छ ?

– नेपालमा पर्वतीय पर्यटनमा अवसर र चुनौती दुवै उत्तिकै छन् । जस्तै ट्रेकिङ रुटहरूमा मोटरबाटो पुगेको छ । जसले गर्दा ट्रेकिङ रुटहरू मासिँदै गएका छन् । त्यहाँ जाने पर्यटकहरूको बसाई छोट्टिएको छ । आम्दानी घटेको छ । नयाँ रुटहरूको पहिचान गर्न सकिरहेको छैन । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्न सकिरहेको छैन । तैपनि नेपालको पर्वतीय पर्यटनको भविष्य चाहिँ राम्रो नै छ । जसका लागि हामीले केही कामहरू गर्नुपर्छ । मौजुदा रुटहरूको संरक्षण गर्ने, त्यसका निम्ति विभिन्न निकायहरूसँग समन्वय गर्ने, नयाँ रुटहरू पहिचान गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकमाझ प्रचार प्रसार गर्ने र पर्यटन व्यवसायलाई थप व्यवस्थित बनाउने आदि गर्न आवश्यक छ । यति गर्न सकियो भने जबसम्म नेपालका हिमालहरू, डाँडा-पाखा अनि नदीनालाहरू रहिरहन्छन्, तबसम्म नेपालमा एड्भेन्चर टुरिजम बाँचिरहने छ ।

६. नेपालको पर्यटन क्षेत्रका मुख्य-मुख्य चुनौतीहरू के-के छन् ?

 – नेपालको पर्यटन क्षेत्रमा थुप्रै चुनौतीहरू छन् हेर्नुस् । नेपाल सरकारले पर्यटन क्षेत्रलाई साँच्चै अगाडी बढाउने हो भने, अकमाेडेसन, एक्सेस र अट्र्याक्सन, यी तीन वटा ‘ए’ को समायोजन हुनु जरुरी छ । त्यसपछि, हस्पिटालिटी, कल्चर, हाइजीन फुड, थुप्रै टुरिजम इलिमेन्टहरूले काम गर्छ, जसले हाम्रो इकोनोमीको विकास गर्न हेल्प गर्छ । सरकारले साँचै इकोनोमी ग्रोथ गर्ने हो, जिडिपी बढाउने हो भने मैले अघि भने, अकमोडेसन्, एक्सेस र अट्र्याक्सनको समायोजन गर्न जरुरी छ । यी तीन वटा कुराहरूको म्यानेज नहुँदा हाम्रा प्राेडक्टहरू अथवा हाम्रा हिमालहरू, नदीनाला, झरना, र्याफ्टीङ, कल्चर, फ्लोरा-फाउना आदि जे-जे भन्छौँ, सबै पर्यटकीय सम्भावनाले भरिपूर्ण भएर पनि हामीले सही ढङ्गबाट उपार्जन लिन सकिरहेका छैनौँ । तिनलाई टुरिजमको प्रोडक्टको रूपमा नेपाल र नेपालीले आम्दानी लिन सकेका छैनन् । यसलाई गहिरो रिसर्च गरेर रिपोर्ट ल्याउन जरुरी छ । यसमा हामी चुकेका छौँ । यो हाम्रो लागि सबैभन्दा ठुलो चुनौती हो ।

७. कोभिड महामारीबाट थला परेको पर्यटन क्षेत्रलाई उठाउन सरकारले कस्तो भूमिका खेले ? कस्तो कदम चाल्नुपर्ला ? 

– कोभिड-१९ महामारीपछि हामीले नेपाल सरकार, प्रदेश सरकार र विभिन्न निकायसँग धेरै अनुनय विनय गर्‍यौँ । तर, खास गरी हामी पदयात्रा पर्वतीय पर्यटन व्यवसायीहरूले उपलब्ध भएका सेवा सुविधाहरू पनि उपभोग गर्न सकेनौँ । माछापुच्छ्रे बैङ्कसँग क्रेडिट कार्ड मार्फत लोनको सुविधा मिलाएका थियौँ, श्रमिकहरूलाई मध्यनजर गरेर फुड बैङ्क स्थापना गरेका थियौँ । जसमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सरकारको पनि साथ रह्यो । अब पर्यटन क्षेत्रलाई उकास्न सरकारले अलि बढी ध्यान दिन जरुरी छ । पर्यटन व्यवसायमैत्री ऐन, कानुन बनाउने, नेपालका पर्यटकीय आकर्षणहरूको पहिचान र प्रचारप्रसारमा लगानी बढाउने काम सरकारले गर्न जरुरी छ ।

८. टानको निर्वाचन नजिकिँदै छ, अब आउने नयाँ नेतृत्वलाई के कस्ता सल्लाह सुझावहरू दिन चाहनुहुन्छ ? 

– सबै नेतृत्व राम्रो गर्नकै लागि भनेर आउने हो । म भन्दा अगाडिका नेतृत्वले गरेका राम्रा कामहरूबाट मैले पनि पाठ सिकेर काम गरेँ । अब आउने नयाँ कार्यसमितिले पनि हामी पूर्व अध्यक्षहरूले गरेका कामहरूलाई मूल्याङ्कन गरेर राम्रा कामलाई निरन्तरता दिने, नराम्रा कामबाट पाठ सिक्दै सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याउन लागिपर्नुहुनेछ भन्ने आशा गरेको छु । खास गरी हाम्रो नेतृत्वमा सुरु भएका राम्रा योजनाहरू, जो अधुरा छन्, तिनलाई पनि पूरा गर्नुहुनेछ भन्ने  विश्वास छ । म पनि निवर्तमान अध्यक्षको रूपमा दुई वर्ष सँगै रहनेछु, मैले गर्नुपर्ने सर सहयोग, सहकार्य, नीति-निर्देशन सबै गर्नेछु । यहाँले भने जस्तै पक्कै पनि नयाँ आउने नेतृत्वलाई ठुलो चुनौती छ । चुनौतीलाई हामी सबै पर्यटन व्यवसायी, यस सम्बद्ध सङ्घ-सङ्गठन, सरकारी निकाय, सबैसँग सहकार्य गर्दै अगाडि बढ्न जरुरी छ ।

९. अन्त्यमा आम पर्यटन व्यवसायीहरूलाई के भन्न चाहनुहुन्छ ? 

– पक्कै पनि मलाई विश्वास र भरोसा गरेर उहाँहरूले सङ्गठनको विभिन्न तह हुँदै अध्यक्ष पदसम्म निर्वाचित गरेर पुर्‍याइदिनुभयो, त्यसका लागि म आम पर्यटन व्यवसायीहरूप्रति कृतज्ञ छु । यद्यपि कोभिड महामारीका कारण मैले उहाँहरूको अपेक्षा अनुसारको काम गर्न सकिन । यसमा म क्षमा चाहन्छु । अन्तमा मलाई सङ्गठनको नेतृत्व गर्दै गर्दा विभिन्न किसिमले साथ दिनुहुने कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्यज्यूहरू, कार्यालयका कर्मचारी, पर्यटन सम्बद्ध अन्य सङ्घ-सङ्गठनहरू, व्यवसायीज्यूहरू, नेपाल सरकार, विभाग, बोर्ड अनि तिनका नेतृत्व, सञ्चारमाध्यम, सञ्चारकर्मी साथीहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।

भिडियो

सम्बन्धित समाचार