शुक्रबार , अषोज १४, २०७९

कुमारी र कुमारी यात्रा

image

  • तीर्थलाल न:घ: भनी (राजभण्डारी)

नेपाल अधिराज्यको राजधानी काठमाडौं उपत्यका कान्तिपुर शहरमा कुमारीको रथयात्रा गर्ने प्रचलन अद्यापि छँदैछ । यस शोभायात्रा प्रत्येक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन आरम्भ भई आश्विन कृष्ण चतुर्थीका दिन समाप्त हुन्छ । भाद्रशुक्ल चतुर्दशीका दिन वसन्तपुरमा रथारोहण गरी तल्लो टोल भूतिसल, चिकंमुगल, अट्कोनारायण, मजिपाट, न्हुघल, ज्यावहाल, लगन, गोफले, ब्रह्माटोल, ह्यूमट, तुकंवहाल, जैसीदेवल, कोहिति, भीमसेनथान, विच्छेवहाल, क्वपुंतुं, र सिंहासत्तल टोलमा रथ तानी शोभायात्रा गरिन्छ । भोलिपल्ट भाद्रशुक्ल पूर्णिमाका दिन वसन्तपुरबाट प्याफल, यटखा, नरदेवी, टंगेल, न्ह्याःखा, बाँगेमुढा, न्हैङ्कतला, असन, किसिध्वाका, बालकुमारी, केल, इन्द्रचोक, मखन, हनुमानढोकामा रथ तानी वसन्तपुर पुर्याई शोभायात्रा गरिन्छ । यसको चारदिन पछि आश्विनकृष्ण चतुर्थीका दिन वसन्तपुरबाट प्याफल, यटखा, इटुंवहाल, किलागल, भेडासिं, इन्द्रचोक, मखन, हनुमानढोका रथ तानी पुनः वसन्तपुरमा पुर्याई शोभायात्रा गरिन्छ । जब बीचको टोलमा रथयात्रा सकिन्छ, तब त्यस वर्षको कुमारीयात्रा पनि समाप्त हुन्छ ।

यी यात्रामा कुमारीको मात्र रथयात्रा गरिने होइन । अपितु कुमारीको रथका साथै गणेश र भैरवको पनि रथयात्रा गरिन्छ । सबभन्दा पहिले गणेशको रथ तानिन्छ भने पछि भैरवको रथ तानिन्छ । त्यसपछि अन्त्यमा कुमारीको रथ तानिन्छ । यो प्रचलन अहिलेसम्म छँदैछ ।

यस यात्रालाई इन्द्रजात्रा पनि भनिन्छ । इन्द्रजात्रा भाद्रशुक्ल द्वादशीदेखि प्रारम्भ भई आश्विनकृष्ण चतुर्थीका दिन समाप्त हुन्छ । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकाको प्राङ्गणमा कागेश्वर मन्दिर अगाडि लिङ्गो उभ्याइन्छ र आश्विनकृष्ण चतुर्थीका दिन ढालिन्छ । साथै टोलटोलमा सडकका दायाँबायाँ कलात्मक थामहरू गाडिन्छ । यसमाथि विभिन्न मूर्तिहरू राखी प्रदर्शन गरिन्छ । पसल, दलान, पाटी आदि स्थानमा भैरव मूर्ति र अनेक देवदेवताको मूर्तिहरू पनि प्रदर्शन गरिन्छ । अहिले यी सबै चलन लोप भइसकेको छ । अब बाँकी रहेका केही कतै कतै देखिन्छ । त्यसमध्ये इन्द्रचोक र काष्ठमण्डप मरूटोलमा चारकुनामा चारवटा थाम गाडी माथि चौपाता दबली जस्तो बनाइन्छ । त्यसको बीचमा खट बनाई त्यसमा हुवै हात पसारेका इन्द्र्को मूर्ति राखिन्छ । यसमध्ये मरूटोलको मूर्तिलाई विशेष गरी मानिन्छ ।

विषय छ कुमारीयात्रा । कुमारीयात्रासँग इन्द्रजात्राको सम्बन्ध छैन, न इन्द्रजात्रासँग कुमारीको नै सम्बन्ध छ । इन्द्रजात्रा इन्द्रसँग सम्बन्धित छ भने कुमारीको रथयात्रा कुमारीसँग सम्बन्धित छ । तर दुवै जात्रा एकै समयमा हुन्छ र इन्द्रजात्राको बीचमा कुमारी यात्रा पर्छ । इन्द्रजात्रा र कुमारीयात्राको महत्त्व तथा प्रविधि विशेषता बेग्लाबेग्लै छन् । तैपनि एकै समयमा हुने भएकाले किन र कसरी भनी उत्सुकताको विषय बन्न गएको छ । यसको अध्ययन र खोजी गर्न बाँकी नै छ । तथापि इन्द्रजात्रासम्बन्धी पछि छुट्टै चर्चा गरिनेछ ।

कुमारीयात्रा जयप्रकाश मल्लले चलाएका हुन् भन्ने कसैको भनाइ छ र इतिहासका पानामा पनि लेखिएको पाइन्छ । पुरातत्त्व विभाग अन्तर्गत नेपाल राष्ट्रिय पुस्तकालयबाट प्रकाशित “भाषा वंशावली” भाग २ को १८ पेजमा “फेरि इनलाई जात्रा बनाइ देवी कन सन्तुष्ट गराउला भनी वास्तु चक्र प्रमाणले घरबनाइ दिए । यन्त्राकार सुन्दर रथ बनाइ गण वटुक सहित गराई कौमारी देवीको जात्रा इन्द्रजात्रामा त्रिवार रथारोहण  जात्रा इन्द्रजात्राका विचार गर्न्या रीतगरी जात्रा बनाया” भनी लेखेको छ ।

यस्तै श्री लीलाभक्त मुनंकर्मीले लेखेको “मल्लकालीन नेपाल” पुस्तकको १३५ पानामा “यिनी कुमारीका परमभक्त थिए । यिनले कुमारीको मन्दिर बनाउन लगाइ यिनले इन्द्रजात्राको दिनमा कुमारी रथमा हाली देश घुमाउने गरी कुमारी यात्रा चलाइ कुमारी बस्ने रथमा पांग्रा हाली बनाउन लगाए” भनी जयप्रकाशको प्रकरणमा लेखेको छ । तर यी दुइवटै पुस्तकमा तिथिमिति दिइएको छैन । त्यसैले यतिको आधारमा ऐतिहासिक पुष्टि भएको मान्न सकिँदैन । जात्राको प्रकिया हेर्दा त्यति नजिकको हो जस्तो लाग्दैन । यदि जयप्रकाश मल्लकै पालामा चलेको भए तिथिमिति सहितको अभिलेख अवश्य हुनु पर्थ्यो ।

राजा जगतजय मल्लको ने. सं ८५६ ( वि. सं. १७९३ ) माघतिर अर्थात् फाल्गुणकृष्ण चौथी बुधवारका दिन मृत्यु भयो । बाबुको मृत्युपछि छोरा जयप्रकाश मल्ल राजगद्दीमा बसे र यिनले लगभग ३२ वर्ष अर्थात् ने. सं. ८८८ (वि.सं. १८२५) भाद्रशुक्ल चतुर्दशीका दिनसम्म राज्य गरेका थिए । यस अवधिमा अनेकौँ घटनाहरू घटे । साथै उनी राज्यच्यूत समेत हुनपुगेका थिए र पछि विना रक्तचाप आफ्नो राज्य ने.सं. ८७० (वि.सं. १८०७ ) तिर पुनः हात लगाएका थिए । यी घटनाहरूको अभिलेख प्राप्त भएका छन् । तर कुमारीयात्राको अभिलेख प्राप्त नहुनु विचारणीय छ । यस स्थितिलाई मनन गर्दा कुमारीको यात्रा जयप्रकाश मल्लको पालाभन्दा पहिलेदेखि नै थियो भन्ने आभास हुन्छ । तर कहिलेदेखि भनी थाहा पाउन तथ्य इतिहासको पाना फेला परेको छैन । त्यसैले यसै बेलादेखि यात्रा चलेको हो भन्न गार्हो परेको छ । यससम्बन्धी अनुशासन गर्न अति आवश्यक छ । तैपनि नेपालमा भइरहेका प्रचलन तथा क्रियाकलापबाट केही अनुमान गर्न सकिन्छ ।

कुमारीको यात्रा सालको एकपटकमात्र हुने होइन, पर्वपर्वमा पनि हुने गर्दथ्यो । जस्तै काठमाडौंमा सेतो मच्छिन्द्रनाथको स्नान गराउँदा कुमारी खटमा राखी बाजागाजाका साथ मच्छिन्द्रवहालमा ल्याइन्छ । सोही मच्छिन्द्रनाथको रथ लगनटोलमा तानिंदा खटमा राखी लगन टोलमा लगिन्छ । देवदेवता खटमा राखी बाजा बजाई परिक्रमा गरिन्छ, त्यसलाई यात्रा भनिन्छ । त्यस कारण सेतो मच्छिन्द्रनाथको रथयात्रा जहिलेदेखी चलेको छ त्यसै बेलादेखि नै कुमारीको यात्रा चलेको हव भन्न सकिन्छ । तर सेतो मच्छिन्द्रनाथको स्थापना तथा रथयात्रा यस बेलादेखि चलेको हो भन्ने ऐतिहासिक तथ्य नभेटिएकोले कुमारीयात्राको तिथिमिति दिन कठीन भएको छ ।

यस्तै पाटनको रातो मच्छिन्द्रनाथको स्नान गराउँदा कुमारीको उपस्थिति आवश्यक छ । त्यस दिन कुमारीलाई खटमा राखी लगनखेलमा लगिन्छ । नरिवल खसाल्दा पनि लगन थतिटोलमा लगिन्छ । साथै रातो मच्छिन्द्रनाथको रथ ज्यावलाखेल तानिंदा कुमारीलाई कुमारी पाटीमा लान्छन् । भोटो देखाउने जात्रामा पनि कुमारीलाई ज्यावलाखेलमा पुर्याइन्छ । यसबाट रातो मच्छिन्द्रनाथसंग कुमारीयात्राको सम्बन्ध देखिन्छ । त्यसैले कुमारीयात्रा त्यस बेलादेखि चलिआएको हो भन्न सकिन्छ ।

पाटनका रातो मच्छिन्द्रनाथको रथयात्रा कहिलेदेखि चलेकोहो भनी विचार गरी हेर्दा राजा नरेन्द्रदेव प्रथमको पालादेखि चलिआएको देखिन्छ । गोपाल वंशावलीमा यसरी लेखेको छ-

राजा नरेन्द्रदेव वर्ष ३५ तस्य आचार्य वन्धुदत्त
द्बयन श्रीवुग्म लोकेश्वर भट्टारक जात्रा कृता भवती ।।

गोपाल वंशावलीको उक्त  टिपोटबाट राजा नरेन्द्रदेवको पालादेखि रातो मच्छिन्द्रनाथको रथयात्रा चलेको हो भन्ने पुष्टि हुन आयो । तर राजा नरेन्द्रदेव प्रथम कुनताकाको हो भनी इतिहासको पाना पल्टाएर केलाएर हेरौं । यस पंक्तिका लेखकको अप्रकाशित “नेपालले जुजुपिनिगु ई” भन्ने पुस्तक अनुसार राजा नरेन्द्रदेव कलिगत संवत् ३७३५ देखि ३७७२, वि.सं. ६९१-७२८, ई. सं. ६३४-६७१, लि. सं. ५७८ -६१५, शक सं. ५५६-५९३ र अंशुवर्मा संवत् ६६ देखि १०३ ताकाका थिए । नरेन्द्रदेवले ३७ वर्षसम्म राज्य गरेको देखिन्छ । यसै अवधिभित्र रातो मच्छिन्द्रनाथको रथयात्रा चलाएको हुनसक्छ । कुमारीको यात्रा पनि यसै बखतदेखि चलिआएको हफ भन्नुमा कुनै अत्युक्ति नहोला ।

यहाँ कुमारी भन्नाले कुन देवताको नाम हुन् ? कहिलेदेखि उत्पत्ति भएको हो ? र कहिलेदेखि पुजन भइआएका हुन् ? यी सबै जान्न अलिकति प्रयास गरौँ । प्रसिद्ध विद्वान् नवमीसिंह मण्डेलले लेखेको चण्डिभक्ति विनोदिनी सप्तशती चण्डीको कवचमा यसरी लेखेको छ_

प्रेतसंस्था तु चामुण्डा वाराही महिषासना ।।
ऐन्द्री गजासमारूढा वैष्णवी गरुडासना ।।
माहेश्वरी वृष्णरूढा कौमारी शिखिवाहना ।।
ब्राह्यी हंससमारूढा सर्वभरण भूषिता ।।
लक्ष्मी पद्मासना देवी पद्महस्ता हरिप्रिया ।।

यस्तै बृहत् पुरश्चर्यार्णवमा वीरचुडामणिबाट उद्धृत गरी यसरी लेखेको छ –

ब्राम्ही माहेश्वरी पश्चात् कौमारी वैष्णवी तथा ।।
बाराही च तथोन्द्रीणा चामुओडा तदनन्तरम् ।।

यस श्लोकहरूबाट यी देवी अष्टमातृकाका एक मातृका हुन् जस्तै भन्ने ज्ञात हुन आयो । साथै यिनको नाम कुमारी हुन् भनी स्पष्ट भयो । तथापि कहिलेदेखि उत्पत्ति भयो भन्ने हकमा यहाँ यन्त्रसम्बन्धी केही चर्चा गरौं । एउटा दुईवटा देवदेवताको यत्रोधार यसरी गरेको छ –

तारायन्त्र ।।
सयोनिञ्चन्दनेनाष्टदल पद्म लिखेतत् ।।
मृद्धासनै समासाद्य मायाम्पूर्व दलेलिखेत् ।।
मैरवीयन्त्र ।।
पद्ममष्ट दलोपेत नवमोत्पास्यकर्णिक्रम् ।।
चतुरद्वार समायुक्त भूगृहम्वि लिखेतत् ।।
बंगलायन्त्र ।।
अस्नंषऽस्त्रं वृन्तमष्टबलं पद्म भूपुरान्वितम् ।।
र कालीयन्त्र ।।
ततास्त्रेकोणमालिरव्य लिरबेदष्टदलंतत् ।
वृतं विलिख्म विधिवल्लिखेद् भूपरमेककम् ।।

अक्सर हरेक उन्त्रमा अष्टदल अर्थात् आठ वटा कमलकोपात हुन्छ । त्यही अष्टदलमा आवर्णको रूपमा अष्टमातृका विराजमान भएका हुन्छन् । नवमीसिंहको चण्डी भक्ति विनोदिमी सप्तशती चण्डी ( जसमा सातसय श्लोक पूरा छ)  मा हाडिमतबाट उद्धृत गरी यसरी लेखेको छ –

आद्यपत्रे सम्मयर्च्य ब्रह्माणी हंसवाहना ।।
माहेश्वरी वृषारूढा पूज्या नाहुत मुग्दले ।।
मयुरवाहना पूज्या कौमारी दक्षिणदले ।।
नैक्तृत्य वैष्णवी पूज्या गरूडोपरिस्थिता ।।
पछिमे यज्ञवाराही दंष्ट्रोद्धत्त बसुन्धारा ।।
श्मीरणदले तोष्या नारसिंही पनास्वना ।।
गणराज समारूढा पूजेन्द्रीन दिग्दले ।।

यस्तै कालीयन्त्र पुस्तकमा लेखेको छ –

ततो वैमातर पूज्या पद्मोप्क्र्…. दलेषु चः ।।
तत्रादौ पूजयेत ब्रह्मीततो नारायणी तथाः ।।
माहेश्वरी च चामुण्डा कौमारी चापराजिता ।।
च तथा पूज्या नारसिंही तथैव च ।।
र वृहत् पुरश्चर्यार्णव कग्लीविद्या प्रकरणमा दक्षिणकालीका यन्त्रको आवर्ण पूजामा यसरी लेखेको छ –
पद्माष्ट दलमध्ये तु व्राह्मी नारायणी तथा ।।
माहेश्वरी च चामुण्डा कौमारी अपराजिता ।।
वाराही नारसिंह च पुन पत्राग्रमण्डले ।।

यट्ठ श्लोकहरूबाट अष्टमातृका जुनबेला उत्पत्ति भयो त्यसै बेलादेखि कुमारीको पनि उत्पत्ति भएको देखिन्छ र साथै उक्त यन्त्रोधारमा लेखिएका तारा, भैरवी बङ्गला र काली दश महाविद्याका गण हुन् । त्यसैले दश महाविद्या प्रादुभवि भएको बेलादेखि नै कुमारीको पनि प्रादुभवि भएको हो भन्न सकिन्छ । र कुमारी पूजाको सम्बन्धमा मार्कण्डेय पुराणको आधारमा चण्डीमा यसरी लेखेको छ –

जगत पूज्ये जगदद्ये सर्वशक्ति स्वरूपिणी ।।
पूजा ग्रहण कौमारी जगमन्त्रे नमोऽस्तुते ।।
विद्धान् नवमीसिंह मण्डेलका शम्भुनित्यान्त्रबाट उद्धृत गरी यसरी लेखेको छ –
कुमारी पूजनं कृत्वा तं तं प्राप्तोत्यसंशयाः ।।
ब्रह्मविष्णु महेशाना कुमारी परमा कला ।।
तत्पूजनैन देवेशि त्रैलोक्य स्यात्सुपूजितम् ।।
सम्यक् तत्फलं तस्य चतुर्वेलफल भवेत् ।।
सर्वतीर्थ फलं तस्य यः कुमारी समर्ययत् ।।

यस्तै कला यन्त्रमा यसरी लेखेको छ –
कुमारी पूजनं कुर्यात सर्व धर्म फलाप्तये ।।

र वृहत् पुरश्चर्यार्णव भावनीयण प्रकरणमा दिव्य वीर परशुभावा खण्डमा भावचूडामणिबाट उद्धृत गरी दिव्यभाव खण्डमा यसरी लेखेको छ –

तावत् कुमारी विजेया मन्त्रतन्त्र फलप्रदा ।।
कुमारी पूजना चैव कुमारी भोजनादपि ।।

यसरी ग्रन्थहरूमा उल्लेख भएको तथ्यहरूलाई लिई विचार गर्दा कुमारी पूजा मार्कण्डेय ऋषिका पालादेखि चलिआएको देखिन्छ । हुनत मार्कण्डेयपुराण वेदव्यास ऋषिले रचना गरेको हुन् । वेदव्यास महाभारत पर्वका समकालीन थिए । महाभारत काण्ड भएको ५०८९ वर्ष व्यतित भइसकेको छ । व्यासको पालादेखि लिएतापनि ५०८९ वर्ष पुरानो देखिन्छ । अझ मार्कण्डेय ऋषिको पालादेखि लिए निकै नै पुरानो भयो । यसैले मार्कण्डेय ऋषिको पालादेखि कुमारी पूजा गर्ने गरी आएको हो भन्न सकिन्छ ।

कुमारी एक तान्त्रिक देवी हुन् । यिनको तन्त्रको क्षेत्रमा विशेष स्थान  छ । तान्त्रिक पूजा गर्दा कुमारीको पूजा गर्नु अनिवार्य छ । कर्माचन, महाकर्माचन, यार्गाचन, महायार्गाचन र दीप यार्गाचन आदि तान्त्रिक पूजाहरूमा कुमारी पूजा गरिआएको छ । ठूलठूला विशेष पुरश्चरण गर्दा कुमारी पूजा गरिन्छ । कुमारी पूजा पुरश्चरणको एक अङ्ग मानी आएको छ । कुमारी पूजा विना पुरश्चरण पूर्ण हुँदैन भन्ने कथन छ । त्यसैले तन्त्रको क्षेत्रमा कुमारी पूजाको विशेष स्थान भएको हो भन्न सकिन्छ । यसैले तान्त्रिक पूजन भइआएको हो भन्नुमा हुनै अत्युक्ति नहोला ।

अब नेपालमा कन्याकुमारी कहिलेदेखि स्थापना भयो भन्ने जिज्ञासा हुनु स्वभाविकै छ । कुनै आधारमा स्थापित भएका हुन् भनी जान्नु पर्ने देखिन्छ । एकजना “ भिछेल अलेन” भन्ने नाम गरेका विदेशी विद्वान् ले नेपालका कुमारीहरूको अनुसन्धान गरेका थिए । यस सम्बन्धमा “द कुल्ट अफ कुमारी” भन्ने पुस्तक लेखेका थिए । त्यो पुस्तक “इन्स्टिच्युट अफ नेपाल एण्ड एशियन स्टडीज, त्रिभूवन विश्वविद्यालय, काठमाडौं, नेपाल” बाट ई. सं.  १९७५ मा प्रकाशित गरेको थियो । त्यस पुस्तकमा निम्न लेखिएका कुमारीहरूको मात्र अध्ययन गरेको रहेछ । ती कुमारीहरू यस प्रकार छन् –

कान्तिपुरः- १. लायकू कुमारी ( शाक्य जातिका ), २. वटु भूवहालका भू कुमारी ( बज्राचार्य जातिका ), ३. क्वावाहालका कुमारी ( बज्राचार्य जातिका ), र ४. किलागलका कुमारी [ महर्जन ( ज्यापु )  जातिका ], ।

ललितपुरः-१. लायकू कुमारी ( बज्राचार्य जातिका ), र २. सुलिम कुमारी [ राजोपाध्याय ( द्यः ब्रम्हू )] ।

भक्तपुरः-१. एकान्त कुमारी ( बज्राचार्य तथा शाक्य जातिका ), २. वलखु कुमारी, र ३. टिवुकछें कुमारी ( बज्राचार्य तथा शाक्य जातिका )

( सुवर्णपुर ):-१. चावही कुमारी ( शाक्यजातिका ) । देवपाटन

बुंगमतीः- १. वुंगमती कुमारी ( बज्राचार्य तथा शाक्य जातिका ) ।

यसमा मुख्य मुख्य प्रचलित कुमारीहरूको मात्र अध्ययन गरेको देखिन्छ । अरू कतिपय कुमारीहरू यसमा समावेश गरेको देखिंदैन । भक्तपुरमा मात्र जम्मा २१ कुमारी छन् । त्यसमध्ये ३ कुमारीको मात्र उल्लेख गरेको देखिन्छ । यस्तै कान्तिपुरमा र ललितपुरमा कति होलान् । यस सम्बन्धमा अध्ययन गर्न बाँकी नै छ ।

यस अतिरिक्त उक्त पुस्तकमा यी कुमारीहरूको ऐतिहासिक तिथिमिति दिएको छैन । कुनै अभिलेखहरू पनि प्रस्तुत गरेको देखिंदैन । त्यसैले कुनै कुमारी पनि ऐतिहासिक पुष्टि भएन । तथापि यहाँ केही चर्चा गर्नुपर्ने देखिन आउँछ । उक्त पुस्तकमा यसरी लेखेको छ-

The earliest known colophoninscriptions in which references are made to kumar both occur during the reign of Ananta Mall in the late thirteenth century . -The Cult of Kumari-3

यस भनाइबाट १३ औं शताब्दीमा अनन्त मल्लका पालामा कुमारी स्थापना भएको देखिन्छ । राजा अनन्त मल्ल ने.सं. ३९९ देखि ४३०, वि.सं.१३३६ देखि १३६७,ई.सं. १२७९ देखि १३१० ताकाका हुन् । यसैका पालामा स्थापना भएका हुन् भने लगभग सातसय वर्षसम्म पुरानो हुन आउँछ । यसै पुस्तकमा पुनः यसरी लेखेको छ –

The first entitled Kumari Puja and dated April 30, 1280 A.D. and the second as Kumari Puja vidhana……. And dated November 24, 1285 A. D. -The Cult of Kumari-4

कुमारी पूजाको तथ्यबाट राजा अनन्त मल्लका पालामा कुमारी प्रतिस्थापित भइसकेको स्पष्ट देखियो । कुमारी पूजाको विधान पनि स्थापित भइसकेको थाहा भयो तर ती कुमारी पूजा विधान कुन हो ? कहिले, कसले लेखेका हुन्, ज्ञात हुन सकेन । किनकि यससम्बन्धी र कुमारीयात्रा सन्दर्भमा पनि कुनै उल्लेख गरेको देखिंदैन ।

यस अतिरिक्त वुंगमतीको कुमारी सम्बन्धमा केही चर्चा गरेको देखपन्छ । रातो मच्छिन्द्रनाथसंग कुमारीको सम्बन्ध माथि पनि परिसकेको छ । वुंगमतीमा पनि कुमारीको सम्बन्ध भएको देखिन्छ । यस सम्बन्धमा   यसरी लेखेको छ –

Kumari again clad in all her regalia, sits on her throne outside Hayagriva’s temple to watch events and to receive the offering of her admirers . -The Cult of Kumari-46

यस भनाइ अनुसार, रातो मच्छिन्द्रनाथ वुंगमतीबाट पाटनमा लाँदा र पाटनमा वुंगमती ल्याउँदा वुंगमतीका ह्यगृव भैरवको मन्दिरमा कुमारी राख्नु पर्ने रहेछ । पाटनमा वुंगमती लाँदा र वुंगमतीबाट पाटन ल्याउँदा पनि कुमारीको आवश्यक छ । सो चलन अद्यापि छँदैछ । यसबाट रातो मच्छिन्द्रनाथसंग कुमारीको सम्बन्ध गाँसिएको छ । यस प्रचलन अनुसार रातो मच्छिन्द्रनाथको प्रारम्भमा नै कुमारीको पनि प्रारम्भ भइसकेको छ भन्ने देखिन्छ । यसै सन्दर्भमा ई.सं. १९८६ नम्बर ९ तारिखको अङ्ग ४ वर्ष ३७  को “ साप्ताहिक हिन्दुस्तान”पत्रिकामा यसरी लेखेको छ –

“नेपाल में कुमारी पूजाका प्रारम्भ सोलवीं शताब्दी में हुआ जब शिवदेव नै इसकी प्रतिमा स्थापित की ।”

यस कथाबाट नेपालमा कुमारीको पूजा १६ औं शताब्दीदेखि अर्थात् ४०० वर्ष अगाडिदेखि चलिआएको देखिन्छ । तर कुमारी पूजा विधान अनुसार कुमारी पूजा ७०० वर्ष अघि राजा अनन्त मल्लका पालामा नै चलीसकेको भन्ने “भिछेल अलेन” ले १३ औं शताब्दीको तिथिमिति दिई लेखिसकेको हुँदा कुनै पुरानो कुरा भएन ।

“राजा शिवदेवले कुमारीको पतिमा स्थापना गर्यो” भन्ने विषयमा ऐतिहासिक दृष्टिकोणले विचार गरिन्छ । इतिहासमा राजा शिवदेव ४ वटा देखापरेका छन् । प्रथम शिवदेव मानदेव प्रथमका चारौं पुस्ता अघिका थिए । मानदेवका बडा बाज्ये भन्दा अगाडिका थिए । विश्वदेव ( वृषदेव )  पछिका शङ्करदेव थिए । शङ्करदेव पछि धर्मदेव थिए । धर्मदेवका छोरा मानदेव प्रथम हुन् । राजा वृषदेवदेखिको वंशक्रम मानदेव प्रथमको चाँगु शिलालेखमा उल्लेख भएको पाइन्छ । त्यस अभिलेखमा शिवदेव प्रथमको नाम उल्लेख भएको थिएन, तर शिवदेवको अभिलेख पाइएको छ । त्यो अभिलेखमा तिथिमिति अङ्कित गरेको खण्ड खण्डित भइसकेको छ । तापनि उक्त अभिलेख मानदेव प्रथमभन्दा अघिको भएकोले लिच्छवि अभिलेख संग्रहमा विद्वान् धनवज्त्र वज्राचार्यले अघिल्लो पंक्तिमा राखेको छ ।

यस सन्दर्भमा पुरातत्त्व विभाग अन्तर्गत राष्ट्रिय पुस्तकालयबाट प्रकाशित भाषा वंशावली भाग १ को पृष्ठ ५६ को वृषदेवको प्रकरणमा “श्रीराजा शिवदेव वर्मा भोग वर्ष ५७ अस्य पुंत्र श्रीराजा वृषदेव वर्मा” भनी लेखेको छ । “लिच्छवि संवत् निष्कर्ष “ भन्ने शङ्करमान राजवंशीको पुस्तकमा उल्लेख भएको “नेपाली  राज वंशावली मा शिवदेव पछि वृषदेव तथा राजभोगमालामा शिवदेव पछि वृषदेव भन्ने उल्लेख गरेको पाइयो । यसबाट राजा शिवदेव प्रथम वृषदेवका पिता हुन् भन्ने संकेत मिल्छ । राजा मानदेवका चौरौँ पुस्ता ज्यूज्यू बाज्ये हुन् भन्ने प्रमाणित हुन आएको छ । अरू शिवदेव द्वितीय वि . स.  ६०२ देखि ६३९ ई.सं . देखि ६३९, ई.सं. ५४५-५८२, लि.सं. ४८९-५२६ र श.स. ४६७-५०४ ताकाका थिए । तृतीय शिवदेव वि.सं.७२८-७६१, ई.सं. ६७१-७०४, लि.सं. ६१५-६४८ र श.सं. ५९३-६२६ ताकाका थिए भन्ने चतुर्थ शिवदेव वि.सं. ११५९-११६९,ई . सं. ११०२-१११२, लि.सं. १०४६-१०५६ र श.सं. १०२४-१०३४ ताकाका थिए । यी शिवदेवहरूमध्ये कुन शिवदेवका पालामा कुमारीको प्रतिमा स्थापना भएका हुन् स्पष्ट भएन ।

यस सम्बन्धमा नियालेर हेर्दा राजा शिवदेव द्वितीयका पालामा प्रतिस्थापित भएको आभास मिल्छ । भाषा वंशावली दोस्रो भागमा रातो मच्छिन्द्रनाथको केही चर्चा गरेको छ । केही चर्चा  माथि पनि भएसकेको छ । भाषा वंशावलीमा यसरी उल्लेख गरेको पाइन्छ –

अतीत कलिवषंषु स्वादस्वर्गरसाग्निषु
नेपाले विजयी श्रीमानायविलीकितेश्वर ।।

यस्तै योगी शङ्करनाथद्वारा प्रकाशित (मात्स्येन्द्र पद्य शतकम्) को श्रवरणीक्राबाट उद्धत गरी यसरी लेखेको छ –

षडव्योमषवन्हिमिते कली वै ।।
नेपालमागत्खलु लोक नाथ ।।

उपयुक्त पंङ्तिले कलिगत संवत् ३६७६ ताका रातो मच्छिन्द्रनाथ नेपालमा थिए भन्ने दर्शायो । तल्लो पंङ्ति अनुसार कलिगत संवत् ३६०६ मा रातो मच्छिन्दनाथ नेपालमा ल्याइयो भन्ने बुझायो । कलिगत संवत् ३६०६ ताका राजा वसन्तदेवको समय देखिन आउँछ ।  राजा वसन्त वसन्तदेवको राज्यकाल कलिगत संवत् ३५८५ देखि ३६११ वि. सं. ५४१-५६७, ई.सं. ४८४-५१०, लि.सं. ४२८-४५४ र शक सं. ४०६-४३२ सम्म देखिन्छ । भाषा वंशावलीकारले नरेन्द्रवसंग जोडिन ल्याएको अशुद्ध देखिन्छ ।

कलिगत संवत् ३६७६ मा राजा शिवदेव द्वितीय देखिन्छ । राजा शिवदेवको राज्यकाल कलिगत संवत् ३६४६ देखि ३६८३ वि. सं. ६०२-६३९, ई.सं. ५४५-५८२, लि.सं. ४८९-५२६ र शक सं. ४६७-५०४ सम्म थियो । यसताका महासामन्त अंशुवर्मा प्रादुर्भाव भइसकेको थिए । यिनले वुंगमतीमा आफ्नो अभिलेख पनि राखेका थिए । यसताका वुंगमती गाउँको नाम उल्लेख हुनु गाउँकै नामबाट प्रख्यात भएका रातो मच्छिन्द्रनाथ हुनु र वुंगमतीमा कुमारी हुनुका साथै मच्छिन्द्रनाथसंग कुमारीको सम्बन्ध भएकोले यिनी शिवदेवले नै कुमारीको प्रतिमा स्थापना गरेका हुन् भन्न सकिन्छ ।

राजा शिवदेवले कुमारीको प्रतिमा स्थापना गरेका नै हुन् भन्ने आज १४०० वर्ष पुराना देखिन्छ,तर कुमारीको तलेजुसंग निकै घिष्ट सम्बन्ध छ । तलेजु भवानी राजा वृषदेवले  स्थापना गरेका हुन् । यसबारे तलेजुका इतिहास “तलेजु भवानीया इतिहास” भन्ने पुसतकमा विस्तृत चर्चा गरिसकेको छ । राजा विश्वदेव प्रथम मानदेवका तीन पुस्ता आदिका हुन् । राजा मानदेव प्रथमदेखि आजसम्म जम्मा १५४६ वर्ष । राज्यकाल व्यतीत भइसकेको देखिन्छ । गोपाल वंशावली र भाषा वंशावलीको आधारमा वृषदेवको राज्यकाल ६१ वर्ष , शङ्करदेवको राज्यकाल ५० वर्ष र धर्मदेवको राज्यकाल ५३ वर्ष समेत जम्मा १६४ वर्ष जोड्दा १७१० वर्ष हुन आउँछ । यस तथ्यबाट तलेजुको स्थापना लगभग १७.. वर्ष पुरानो हुन् भन्ने देखियो । साथै तलेजुसंग कुमारीको सम्बन्ध पनि यति नै पुरानो छ भन्ने संकेत मिल्छ ।

किनकि शरदकालीनमा आश्विन शुक्ल प्रतिपदादेखि महादशमीसम्म दुर्गोत्सव मानी नवदुर्गाको पूजा गरिन्छ । यस पुण्य तिथिमा तलेजु भवानीको तन्त्रोक विधान अनुसार धूमधाम पूजा हुन्छ । साथै कुमारीको पनि तान्त्रिक विधिले पूजा गरिन्छ । नवरा

त्रीभर कुमारी पूजा गर्ने प्रचलन अद्यापि छँदैछ । यसरी तलेजु भवानीको पूजा गर्ने प्रचलन संसारमा कहीं पाइँदैन । यस्तै जीवित कुमारी पूजा गर्ने पनि विश्वमा कतै छैन । यस तथ्यबाट कुमारीको प्रतिमा राजा वृषदेवले नै स्थापना गरेका हुन् भन्ने आभास हुन्छ । राजा वृषदेवले कुमारीको प्रतिमा कन्याकेटीलाई कुन आधारमा स्थापना गरे भन्ने विषयमा विचार गर्दा वृहत् पुरश्चर्यार्णव शप्तसती विधान प्रकरणमा यसरी उल्लेख गरेको पाइन्छ –

मन्त्राक्षरमयी लक्ष्मी मातृणां रूपधारिणम् ।।
नवदुर्गात्मिकां साक्षात कन्यामावाहयाम्यहेम् ।।
कुमारिकादिकन्यानां पूजामन्त्रन् वुबेऽधना ।।
जगत्पूज्ये जगद्वन्धे सर्वशक्ति स्वेरूपिणि ।।
पूजां ग्रहण कौमारी जगन्मात्रे नमोऽस्तु ते ।।

……………………………………………………….

एतैर्मन्त्रैर्लक्षणढयां तां तां कन्यां समर्चयेत् ।।

यस उद्धृत श्लोकले कन्याकेटीलाई कुमारी आह्वान गरी पूजा गर्न अति उत्तम छ भन्ने देखायो । कन्या कुमारी मन्त्रयुक्त लक्ष्मी,मातृ तथा नवदुर्गा रूप हुन् भन्ने पनि बुझायो । कुमारीको रूपमा कन्यालाई पूजा गर्नु नै जगतले मानेकी, जगतले वन्दना गरेकी, सर्वशक्ति रूपी जगतकी मातालाई पूजा गर्नु समान हुन् भनी ज्ञात भयो । यसैले यस्तै अनेक तन्त्र तथा ग्रन्थहरूको आधारमा नेपालमा कन्यालाई कुमारीको प्रतिमा मानी स्थापना गरेका हुन् भन्न सकिन्छ । साथै कुमारी तन्त्रबाट उद्धृत गरी वृहत् पुरश्चर्यार्णवमा यसरी लेखेको छ –

नटी कपालिनी वेश्या रजकी नापिताङ्गमा ।।
ब्राह्मणी शूद्रकन्या च तथा गोपाल कन्यका ।।
मालाकारस्य कन्या च नव कन्याः प्रकर्तिता ।।

यस तथ्यबाट नवकन्यालाई कुमारीको प्रतीक मानी आएको स्पष्ट देखिन्छ । उहिले उहिले राजाहरू सिंहासनूद्ध भएपछि सिन्दूरयात्रा गरिन्थ्यो । त्यस यात्रामा नौवटा कुमारीहरू सम्मिलित गर्ने प्रथा थियो । गोमाकी छोरा नवराज ब्राह्मण लावण्ड देशका राजा भएपछि सिन्दुर यात्रा गर्दा नवकन्या राखी कुमारी यात्रा गरेको स्वस्थानी व्रत कथामा उल्लेख भएको पाइन्छ । साथै शरदकालीन दुर्गोत्व मा नौरथ दिनको एक एक गरी नौवटा कन्या कुमारी पूजा गर्ने परम्परा उहिलेदेखि नै थियो । त्यस्तै नवकन्याकुमारी पूजा गर्ने प्रचलन अद्यापि छँदैछ । ठूलठूला तन्त्रोक्त विधानले पूजाआजा गर्दा नवकुमारी पूजा अहिले पनि गरी नआएको होइन । यसै आधारमा राजा वृषदेवले कन्यालाई कुमारीको प्रती मानी स्थापना गरेका हुन् भन्नुमा कुनै अत्युक्ति नहोला ।

यसरी कन्याकेटीलाई कुमारीको प्रतीक मानी स्थापना कहिलेदेखि भयो भन्ने चर्चा गरिसकेको छ । विभिन्न जातिका कन्यालाई कुमारी मानीपूजा गर्ने प्रचलनको प्रसंग पनि केही परिसकेको छ तापनि केही चर्चा गरिन्छ । कुमारी तन्त्रमा उल्लेख भए अनुसार ( नटी ) नर्तकीको ( भारकी ) कन्या, कुशलेकी कन्या,देश्याकी कन्या, धोवीको कन्या, नाउकी कन्या, ब्राह्मणकी कन्या, शूद्रकी कन्या, ज्यापूकी कन्या र मालीकी कन्या समेत नौवटा जातिका कन्यालाई कुमारी मानी पूजा गर्न सकिने भयो, थर नेपालमा ब्राह्मण जातिका कन्या, बज्राचार्य जातिका कन्या, शाक्य जातिका कन्या र ज्यापू जातिका कन्यालाई मात्र कुमारी स्थापना गरी पूजा गरिआएका छा । साथै आ-आफ्नाजाति समाजमा आ-आफ्ना कन्याकेटीलाई कुमारीको रूपमा अर्चना गरी आइरहेका थिए । यस अतिरिक्त पेरूतन्त्रबाट उद्धृत गरी वृहत् पुरश्चर्यर्णव सप्तशतीविधान प्रकरणमा यस्तो लेखेको छ-

विप्रां सर्वष्ठसंसिद् ध्यै यशसे क्षत्रियोद् भवाम् ।।
वैश्याजां धनलाभाय पुत्राप्त्यै शूद्रजां यजेत् ।।

यस प्रावधानबाट ब्राह्मण जातिका कन्यालाई कुमारी स्थापना गरी पूजा गरेमा ठूलो सिद्धि प्राप्त हुन् भनेका छन् । नेपालमा ठूलठूला लागि तन्त्रोक पूजा गर्दा ब्राह्मणीकी कन्यालाई कुमारी थापी पूजा गर्ने चलन छ । कुमारीलाई पनि तान्त्रिक विधिले पूजा गरिन्छ । तान्त्रिक पूजा खुल्ला रूपमा गरिंदैन । त्यसैले कुमारी पनि प्रत्यक्ष रूपमा प्रकाशमा आएको छैन । अरू कुमारीहरू जस्तै जनसाधारणमा पूजीत छैन । ललितपुरको सुलिम आगमका कुमारी राजोपाध्याय ( द्यः ब्राह्म ) ब्राह्मणकी कन्या थिइन् । ती कन्यालाई कुमारीको प्रतिमा रूपमा स्थापना गरी पूजा गरी आइरहेका छन् । सुलिमका आगम राजोपाध्याय समाजका आगम हुन् । ती आगम प्रसिद्ध थिए । त्यस आगमका धेरै राजोपाध्यायहरूले सिद्धि प्राप्त गरिएका थिए ।  यसमध्ये एक “गयोजुजु” भन्ने राजोपाध्याय ब्राह्मण हुन् । तिनले पाटनमा चण्डेश्वरी जगाएका थिए । यस सम्बन्धमा पछि चर्चा गरिनेछ । यस्तै राजोपाध्याय ब्राह्मणकी कन्याकुमारी भक्तपुरमा वलंपुली भन्ने स्थापना पनि छन् । यसको अनुसन्धान गर्न बाँकी नै छ ।

वैश्यजातिका कन्यालाई कुमारी स्थापना गरी पूजा गरेमा धनलाभ हुन्छ भनेका छ । यसैको आधारमा सर्वसाधारणले १,३,५,७,९,५४,१०८, र ३६० वटा कन्यालाई कुमारी थापी पूजा गर्न गरी आएको हुनसक्छ । विशेष गरी व्यापारीवर्गले भव्य रूपमा कुमारी पूजा  गर्ने गरिआएको छ । यस्तो टोल टोलमा गरिन्छ । असन बालकुमारीमा सालको एक पटक ३६० कन्यालाई कुमारी पूजा अहिलेसम्म गरिआएको छ । यस्तै बांगेमुढा टोलमा दुईपटक नवकुमारी ज्यापु जातिकी कन्यालाई पूजा गरिन्छ । यस अतिरिक्त पर्वमा र आफूखुसी रूपमा विभिन्न स्थानमा कुमारी पूजा गरिआएको छ ।

यसै अनुरूप शूद्र जातिकी कन्यालाई कुमारी मानी पूजा गर्दा पुत्र प्राप्ति हुन्छ भनेको छ । यिनैको आधारमा शूद्र जातिकी कन्यालाई कुमारी स्थापना गरी पूजा गर्ने गरिआएका छन् । विशेष गरी सन्तान नभएका तथा पुत्र नभएकाहरूले पूजा गरिन्छ, तर कुन शूद्र जातिकी कन्यालाई पूजा गरी आएको छ, ज्ञात हुनसकेको छैन । साथै यसेतो पूजा गरेको प्रकाशमा पनि आएको छैन । त्यसैले यहाँ उल्लेख गर्न सकिएन ।

यस अतिरिक्त क्षत्री जातिकी कन्यालाई कुमारी स्थापना गरी पूजा गरेमा यश बढ्ने छ भनिएको छ । यहाँ यशको अर्थ साधारण तथा यश, कीर्ति विख्याती, कीर्तिमान, र प्रशंसा हो । यस उसले राजाले आफ्नो र राज्यको यश बढोस्, कीर्तिमय होस्, कीर्तिमान हुन सकून् प्रसिद्धि मिलोस्, वीरता प्राप्त होस्, र प्रशंसा होस् भन्ने हेतुले तथा अभिप्रायले क्षत्री कन्यालाई कुमारी प्रतिस्थापना गरी श्रद्धा भावले अर्चना गरी आइरहेका छन् । राजा तथा राज्यले समेत सम्मान पाएका कुमारी भएकाले राजकुमारी ( लायकु कुमारी ) भनेका हुन् । यी राजकुमारी ( लायकु कुमारी ) अधिकांश शाक्य जातिका थिए । यसबाट शाक्य जाति क्षेत्री थिए भन्ने थाहा हुन आयो ।

हुन पनि शाक्य जाति राजा इछ्वाकुका संतती थिए । राजा इछ्वाकु सूर्यवंशी थिए । हरिवंशमा सूर्यवंशी क्षत्री राजा इछ्वाकुका विस्तृत वर्णन गरेको पाइन्छ । यस्तै ललितविस्तरमा पनि उल्लेख गरेको देखिन्छ । नेपालका प्रसिद्ध इतिहासकार भुवनलाल प्रधानज्यूले लेख्नु भएको “बुद्ध धर्म र शाक्यहरू” भन्ने पुस्तकमा शाक्यहरू इछ्वाकुका सन्तान हुन भनी बताएको छ । यस्तै कविकेशरी चित्तधर हृदयज्यूले आफ्नो सुगत सौरभको वंशवृक्षसर्गमा यसरी भनेको छ –

ज्वीगु सैनिक ल्याहमर्पि अनिवार्य याना तःगुलिं ।
शूर क्षत्रिय चण्ड शाक्यत धैगु जगते नां दना ।।

भावार्थः- नवजवान युवकहरू सैनिकमा भर्ना हुनुपर्ने अनिवार्य गरी राखेकोले प्रवर शूरवीर शाक्यहरू क्षत्री हुन् भनी जगतमा नाम कहलिएका छन् ।

यस उक्तिबाट शाक्यहरू शुरवीर क्षत्री थिए भन्ने स्पष्ट देखाएको छ । यस उसले क्षत्री कूलका सर्वश्रेष्ठ जाति शाक्यवंशलाई मानेका थिए । क्षत्री कुलका उच्च जाति शाक्यवंश भएकोले नै शाक्य जातिकी कन्यालाई कुमारीको प्रतिमा गरी स्थापना गर्ने परम्परा चलाएको हुन सक्दछ । राजप्रसादबाट आफ्ना आराध्य देवीको रूपमा सम्मान गरिआएको हुनुपर्दछ । यस उसले नै कान्तिपुर, भक्तपुर,ललितपुर, सुवर्णपुर  ( चावहिल )  र वुंगमती तथा अन्य कतिपय स्थानमा शाक्य जतिकै कन्यालाई राजकुमारीको रूपमा स्थापना गरिआएको हो नै भन्न सकिन्छ ।

यसरी कन्यालाई कुमारी स्थापना गरी पूजा गरिन्छ, अद्यपि गरिरहेकै छ । बच्चा जन्मेर अन्नप्राशन सकेपछि विवाह नहुन्जेलसम्म जुनसुकै उमेरका कन्याकेटीलाई कुमारी पूजा गर्ने परम्परा छ । हुनत विधिवत विवाह नभएसम्म कन्या केटीलाई कुमारी भन्ने चलन छ । तर मासिक धर्म प्रारम्भ भइसकेपछि कन्या कुमारी मानिंदैन । तिनीलाई वयष्क कुमारी मानिन्छ । यिनलाई कुमारी पूजा गर्दैन । साथै कुनै समाजमा विधिवत विवाह नभएतापनि वेल विवाहलाई नै विवाह सरह मानिआएको छ । वेल विवाह मासिक धर्म शुरू हुनुभन्दा अगाडि नै गरिन्छ । अक्सर गरी ६ वर्ष, ८ वर्ष, १० वर्ष र १२ वर्षभित्र गरिन्छ । वेल विवाह गरिसकेपछि ती कन्यालाई कुमारी पूजा गरिंदैन । यो पहिलेदेखि चलिआएको परम्परा हो । यस सम्बन्धमा वृहत् पुरश्चर्यार्णव सप्तशती विधान प्रकरणमा यसरी लेखेको छ –

द्विवर्षा सा कुर्मायुक्ता त्रिमूर्तिशयनत्रिका ।।
भतुरद्धातु कल्याणी पञ्चवर्षा तु रोहिणी ।।
षडद्वा कालिका प्रोक्ता चण्डिका सप्तहायना ।।
शुभद्रा दशवर्षोक्ता ता मन्त्रैः परिपूजयेता ।।
एकाद्वायाः प्रीत्यभावो रूद्राद्वातु विवोर्जिता ।।

तथा

यजमानः पूजयेच्च कन्यानां दशकं शुभम् ।।
द्विवर्षाद्या दशाद्वान्ताः कुमारी परिपूजयेत ।।

यस विधान अनुसार दुई वर्षदेखि दश वर्षसम्मको कन्यालाई कुमारी पूजा गर्न हुने बताइएको छ । दश वर्षका कन्यालाई कुमारी पूजा गर्नु अति उत्तम भनिएको छ । एघार वर्षकी कन्या प्रीत्यभावकी हुन्छ । वाह्रवर्षकी कन्यालाई पूजा नगर्नु भनी निषेध गरेको छ । साथै दुई वर्ष मुनिका कन्यालाई पनि पुजा नगर्नु भन्ने संकेत देखाइएको छ । यतिमात्र होइन, कन्याकेटी भन्दैमा जुनसुकै कन्यालाई कुमारी पूजा नगर्नु भनी निषेध गरेको छ, तर के कस्ता कन्यालाई कुमारी पूजा नगर्नु भनी निषेध गरेको छ, जानकारी प्राप्त गर्नु आवश्यक छ । चण्डीभक्ति विनोदिनी सप्तशती चण्डी कुमारी पूजा प्रकरणमा यस्तो लेखेको छ –

नाघिकाङ्गीं न हीनाङ्गीं कुष्टनीञ्च व्रणाङ्किताम् ।।
अन्धां काणां केकराञ्च कुरूपां रीमयुक्जुम् ।।
दासिजां भोग युक्तां च दुष्टां कन्या न पूजयेत ।।

यस उक्तिबट बढी अङ्ग भएकी, अङ्गभङ्ग भएकी, कुष्ठरोग भएकी, घाउखट भएकी, अन्धा भएकी, देरे भएकी, पाण्डुरोग भएकी, वेरूप भएकी र ज्यूभरी भुत्ला भएकी कन्या तथा नोकर्नीकी कन्या, विटुली सकेको कन्या र दुष्ट कन्यालाई कुमारी पूजा नगर्नु भनी स्पष्ट भनेको छ । यसबाट यस्ता कन्या कुमारीलाई कुमारी पूजा गर्न नहुने ज्ञात हुन आयो ।

यस्ता विधानहरुको आधारमा नै राजकुमारीको छनौट हुन्छ । राम्रा राम्रा कन्याकेटीहरू ल्याई परीक्षा गरिन्छ । ती कन्याहरू यस्ता विकृति र खूनहरूबाट मुक्त हुनुपर्दछ । सबै गुणले पूर्ण हुनुपर्छ । यसरी सबै तिरबाट योग्य भएकी कन्यालाई कुमारी पूजा गर्न छानिन्छ । अनि तन्त्रोक विधान अनुसार पूजा गरिन्छ र विधिवत कुमारी स्थापना गरिन्छ । यो परम्परा आजसम्म चलिरहेकै छ । यसैको सन्दर्भमा लीलाभक्त मुनंकर्मीज्यूले “मल्लकालीन नेपाल” भन्ने पुस्तकमा वंशावलीको दुहाई दिएर यसरी लेखेको छ –

“ पहिले पहिले भक्तजन मानिसहरूले पनि देवीदेवताहरूसंग कुरा गर्न पाउँथे । एकदिन भक्तपुरका राजा त्रैलोक्य मल्लका छोरा जगज्जोति मल्लदेखि खुसी भएर तुलजा भवानी स्त्रीको रूप लिई हमेशा उनीसंग पासा खेल्न आउने गर्दै थिइन् । एक दिन राजाले उनीमाथि चियो चर्चा गर्दा लोप भइन् । पछि सपनामा अबदेखि तिमीले मसंग कुरा गर्न पाउने छैन, यदि कुरा गर्नु परे तिमीले मेरो बदला शुभ मुर्हतमा कर्मचण्डालको छोरी ल्याई पूजा गर्नु, म उसैमा प्रवेश हुनेछु भनी देवीबाट आज्ञा भएकोले एकजना कर्मचण्डालको छोरी ल्याई देवीको आह्वान गरी पूजा गरे । त्यस दिनदेखि नेपालमा कुमारी पूजा गर्ने चलन चलेको हो” ।

अर्को “राजाले भोलिपल्ट बिहान हुने बित्तिकै शाक्य भिक्षुकी बालिका ल्याई भक्तिपूर्वक पूजा गरी कुराकानी गरेर कुमारी जात्रा चलाएको हो भन्ने वंशावलीको लिखितबाट ज्ञात हुनआएकोले यो कुमारी यात्रा लगभग ५००|६०० वर्ष अगाडिदेखि मात्र भएको हो भन्ने देखिन्छ” ।

यस भनाइलाई मनन गरी हेर्दा अनौठो लाग्छ । तन्त्र सिद्धि भएका साधकहरूले उहिले मात्र होइन अहिले पनि देवीदेवताहरूसंग कुरा गर्न सक्दछन् । यो कुनै अजीव र आश्चर्य तथा नौलो कुरा होइन । नेपालमा कुमारी पूजा गर्न चलन राजा जगज्जोति मल्लले चलाएका हुन् भन्ने सम्बन्धमा राजा जगज्जोति मल्ल इतिहासकार मुनंकर्मीको भनाइ अनुसार ने.सं. ७२६-७५३ ( वि.सं. १६६३-१६९० ) ताकाका हुन् । यी राजाले कुमारी पूजा गर्ने चलन चलाएको हो भन्ने तथ्य प्रमाण तथा अभिलेखहरू पनि दिनुपर्ने हो । सो प्रमाणहरू दिएको छैन । विना प्रमाणले यी राजाले कुमारी पूजा गर्ने चलन चलाए भनी लेख्नु वंशावलीकारको गलत धारणा हुन् । साथै तन्त्रशास्त्रमा “ दुप्टकन्यालाई कुमारी पूजा नगर्नु” भनी लेखेको छँदाछँदै हेर्दै नहेरी एक जातिलाई होच्याई नराम्रोसंग घृणा भाव र आँच आउने मात्र नभई जगत पूज्य कुमारीलाई जनमानसको आस्था, श्रद्धा घट्ने र घृणा समेत उत्पन्न हुने गरी ‘ कर्मचण्डालको कन्यालाई देवी आह्वान गरी पूजा गरे’ भनी लेख्नु वंशावलीकारको मूर्खता हो । यसैलाई कुनै प्रतिक्रिया जनाई जनमानसमा प्रभाव पारी मूर्ख बनाउने चेष्टा गर्नु मुनंकर्मीको ठूलो धृष्टता हो भन्नुमा कुनै अन्यमा नहोला जस्तो लाग्छ ।

यस अततिरिक्त “कुमारीयात्रा लगभग ५००|६०० वर्ष अगाडिदेखि मात्र भएको हो भन्ने देखिन आउँछ” भन्ने हकमा ५०० वर्ष पुरानो भए राजा यक्ष मल्लका पालामा भयो । मुनंकर्मीका भनाइ अनुसार यक्षमल्लका राज्यकाल ने. सं. ५५९-६०२ ( वि. सं. १४९६-१५३९ ) तक थियो । यस्तै ६०० वर्ष पुरानो भए राजा अर्जुन मल्लका पालामा भयो । अर्जुन मल्लका राज्यकाल ने.सं. ४७९-५०२ ( वि.सं.१४१६-१४३९)तक थियो । यो सालको गणना “मल्लकालीन नेपाल” प्रकाशित भएको साल २०२५ बाट गरिएको हो । यी दुवै राजाहरूको पालामा कुमारी पूजा र कुमारी यात्रा चलाएको अभिलेख कतै पाएको छैन, न मुनंकर्मीज्यूले आफ्नै पुस्तकमा राजाहरूको समकालीन प्रकरणमा उल्लेख गर्न सक्नुभएको छ । यस्तो मनकथाको आधारमा ऐतिहासिक मान्यता दिन सकिंदैन । यसरी आपसमा मेल नखाने तथा विरोधाभास देखिने लेख्नु इतिहासकारको विद्वता होइन जस्तो लाग्छ ।

यहाँ कुमारी यात्रा हुनु अस्वभाविक होइन । नेपालमा अनेकौं देवताहरूका यात्रा छन्  कुनैको खटयात्रामा हुन्छ भने कुनैको रथयात्रा हुन्छ । नेपाल अधिराज्यमा अधिकांश खटयात्रानै हुन्छन् । कतै कतै मात्र रथयात्रा पाइन्छ । उत्यकाभित्र भक्तपुरमा भैरवको र कालीको रथयात्रा हुन्छ । ललितपुरमा रातो मच्छिन्द्रनाथको र मीननाथको रथयात्रा हुन्छ भने सुवर्णपुर देवपाटनमा गंगामाईको रथयात्रा हुन्छ । यस्तै कान्तिपुरमा सेता मच्छिन्द्रनाथको रथयात्रा हुन्छ । यसको अलावा गणेश, भैरव र कुमारीको रथयात्रा हुन्छ । कुन कुन यात्रा को कसले चलाएका हुन् र कहिलेदेखि चलेको हो खोजीनीति गर्न बाँकी नै छ । रातो मच्छिन्द्रनाथको रथयात्रासम्बन्धी केही चर्चा माथि गरिसकेको छ । कुमारीयात्राको पनि केही चर्चा भइसकेको छ, तर अरू रथयात्राहरूभन्दा कुमारीको रथयात्रा बेग्लै किसिमका छन् किनभने हरू रथयात्राहरूमा गणेश, भैरवको रथ थिएन । कुमारीयात्रामा मात्र गणेश र भैरवको यात्रा हुन्छ र यसको रहस्य के हो, जान्नु आवश्यक छ ।

यस सन्दर्भमा अलिकति खोतलेर हेर्दा नेपालका धेरैजसो देवदेवीहरूको मन्दिरको ढोकाहरूमा दायाँ बायाँ गणेश कुमार राख्ने प्रचलन छ । देव मन्दिरको ढोकामा मात्र होइन, अपितु अन्य ठूलठूला ढोकाहरूमा दायाँ बायाँ गणेश,कुमार राखेको पाइन्छ । यो किन विचार गर्दा वृहत् पुरश्चर्यार्णव कुञ्जिको आवरण पूजामा यसरी लेखेको पाइयो –

भूद्वारे क्षत्रपालं च गणेशं पटुकं तथा ।।
योगिनीश्च समभ्यच्यं लोकेशन् वहिर्स्चयेत् ।।

अकेसर हरेक यन्त्रमा चार दिशामा चार द्वार हुन्छ । यी चार द्वारमा द्वारपालको रूपमा यिनी चारवटा बस्थे । यसबाट गणेश र कुमार द्वारपाल हुन् भन्ने ज्ञात भयो । तर यी दुवै गौरी पार्वतीकी पुत्र हुन् । एउटा पूजा विधि पुस्तकमा यसरी लेखेको छ –

गौर्यापुतं कुमारं गगन गनियुक्तं क्षत्रप यीगिनी च ।।
चामुण्डा चण्डरूपा गुरितमय हरं विघ्नहारं गणेशम् ।।

यसबाट गणेश,कुमार दुइवटै पार्वती गौरीका नन्दन हुन् भनी स्पष्ट बुझाएको छ । यस उसले कुमारका नाम वटुक पनि हो । कुमार भन्नु र वटुक भन्नु उस्तै हुन् । एउटैको दुइवटा नाम हो । फेरि कुमारको नाम अर्को वटुक भैरव पनि हो । कुमार भन्नु र वटुक भैरव भन्नु पनि उही हो । वृहत् पुरश्चर्यार्णवमा वलिदान मात्रास्तु ज्ञानार्णवबाट उद्धृत गरी यसरी लेखेको छ-

एतेही देवी पूत्रात्ते वटुक्रान्ते च नाथ च ।।

कालीतन्त्र नित्यार्चनमा यसरी लेखेको छ-
एह्येहि देवी पुत्र वटुक नाथ ।।

साथै अमरकोश प्रथमकाण्ड स्वर्गवर्गबाट उद्धृत गरी हिन्दू देवदेवता भन्ने पुस्तकमा यसरी लेखेको छ-

कार्तिकेयो महासेनः सरजन्मा षडाननः ।।
पार्वती नन्दन स्कन्द्र सेनानी रग्नेभूर्गुहिः।।
वाहुलेययस्तार कजिद्वाशारवः शिखिवाहन ।।
षऽमातुर शक्ति धरः कुमार क्रौन्चदारण ।।

वटुक भृरव स्तोत्रना यसरी लेखेको छ –

अस्य श्रीवटुक भैरव नामाष्टक्शतकस्य आपदुद्धारण
स्त्रोत…… श्रीवटुक भैरवोदेवता ……..।।

यस तथ्यहरूबाट कुमार भन्नु र वटुक भन्नु एउटै हफ भनी स्पष्ट देखाएको छ र साथै वटुक भैरव भन्ने पनि उनै हुन् भन्ने ज्ञात गरायो । तर वटुक भैरव भन्ने गणेशसंग नआई छ्ट्टै आफ्नो अस्तित्व राखी आयो भने त्यसलाई कुमार भनिंदैन, भन्न पनि मिल्दैन । किनकि शक्तिसंगम तन्त्रबाट उद्धृत गरी वृहत् पुरश्चर्यार्णवमा यसरी लेखेको छ-

कालिकाया महाकालः सुन्दर्या ललितेश्वर ।।
तारायाश्च तथाऽक्षेम्व…… विकरालकः ।।
भूवनाया महादेवो धूम्रायाः काल भैरव ।।
नारायणो महालक्ष्म्या भैरव्या वटुक स्मृत ।।
मातङग्यास्तु मतङ्ग न्यादयवा स्यात सदाशिवः ।।
मृत्युञ्जयस्तु वगला विद्यायाः परिकीर्तितः ।।

यसले दशमहाविद्याको दशैवटा पुरुष शक्ति भैरव छन् भन्ने देखायो । त्यसमा भैरवीको पुरुष शक्ति भैरव वटुक भैरव हुन् भन्ने बुझायो । यस उसले यो वटुक भैरवले बेग्लै हुन् । कुमारीयात्रामा गणेशको साथ आएकाले वटुक भैरव भैरवीको शक्ति रूप भैरव होइनन भन्ने जान्न सकिन्छ । कुमारी तान्त्रिक देवी हुन भनी माथि उल्लेख भइसकेको छ । तान्त्रिक देवताहरू हुन्छन् । तन्त्रमा जुनसुकै देवी मूल हुन्छ, उनको साथमा यी चारवटा हुन्छ । चारवटा ढोकामा बसेर पहरा दिइरहेका हुन्छन् । सिद्धान्तसारउद्धृत त विधिबाट उद्धृत गरी वृहत् पुरश्चर्यार्णवमा यसरी लेखेको छ-

गणेश वटुक क्षेत्रपालेभ्यो वलिवाहरेत् ।।
योगिनी म्यर्ञ्च पूर्वादिप्रादक्षिण्येन दैशिक ।।

यस्तै यामल तन्त्रातरे यसरी लेखेको छ-
गणेशं वटुकं क्षत्रपालं च योगिनी तथा ।।
पूर्वादिक्रमयोगेन गन्धपुष्पैः समर्चयेत् ।।

समायाचारबाट उद्धृत गरी यसरी लेखेको छ-

दक्षियो वटुके दद्यादुतरे योगिनी गणे ।।
पूर्वे भूतवलिं दद्यात क्षत्रपालाय पच्छिमे ।।

यसबाट गणेश वटुक योगिनी र क्षत्रपाल समेत चारजनाले चारदिशामा बसी पहरा दिइरहेका छन् भन्ने पुष्टि हुन आयो । यो चारैजनाले कहिले छाडिदैन । तर गणेश र वटुक देवीको नन्दन भएकोले हमेसा साथमा रही दायाँबायाँ अङ्ग रक्षकका रूपमा बसिरहेका हुन्छन् । यसैले जजुनसुकै पूजाअर्चनामा पहिला गणेश र कुमारलाई नै पूजा गरिन्छ । त्यसपछि मात्र मूल देवताको पूजा हुन्छ । यसै अनुरूप कुमारीयात्रामा गणेश कुमारको पनि साथमा भएको हो । गणेश कुमार अङ्गरक्षक थिए । गणेश गणाधिपति थिए भने वटुक महासेनानी थिए । यसकारणले कुमारीयात्राको साथसाथै गणेश भैरवको रथयात्रा भएको हो भन्न सकिन्छ ।

कुमारीयात्रा पहिले पहिले खटमा राखी गर्ने चलन थियो । कान्तिपुर, भक्तपुर, ललितपुर, सुवर्णपुर र वुंगमती आदिस्थानमा खटमा राखी बाजागाजा बजाई यात्रा गर्ने चलन अद्यापि छँदैछ । कतै कतै कुमारी यात्रामा बाजा बजाउने प्रचलन हराइसकेको छ । साथै  खटमा राखी यात्रा गर्ने परम्परा पनि टुटिसकेको छ । भक्तपुरमा बाजा बजाई खटमा राखी कुमारीयात्रा गर्ने परम्परा अद्यापि छँदैछ । कालान्तरमा कान्तिपुरका कुमारीलाई रथारोहण गरी यात्रा गर्ने चलन चलाएको हुनसक्छ । यो रथयात्रा को, कसले चलाएका हुन् भन्ने सन्दर्भमा ऐतिहासिक तथ्य पत्ता नलागेसम्म यसै हो भन्न सकिंदैन । तबसम्म अनुसन्धानको विषय नै बनिरहने छ ।

अन्त्यमा कुमारी स्थापना र यात्राको छोटो अध्ययन गर्दा निकै पुरानो देखिन्छ । यस उसले  कुमारी स्थापना तन्त्रोक विधान अनुसार भएको हो भन्ने पुष्टि हुनआएको छ । तथापि यो तन्त्रको आधारमा प्रतिस्थापित भएको हो भन्न सकिएन । किनकि उसबेला गरिएका कार्यविधिहरूमा अहिले कतिपय परिवर्तन भइसकेको छ होला । साथै कतिपय खण्डित पनि भएसक्यो होला । यस अवस्थामा अध्ययन तथा अनुसन्धान गर्नु पनि त्यत्तिकै मुश्किल हुनेछ । आजभोलि कुमारी स्थापना गर्नु पर्छ र यात्रा चलाउनु पर्छ भन्ने धारणालेमात्र कार्यविधि अपनाई आइरहेको प्रतीत हुन्छ । तैपनि कुमारी स्थापना गर्ने, विदाइ गर्ने र यात्रा गर्ने सम्बन्धमा गरिने कर्मकाण्डमा कुन तन्त्रको आधारमा स्थापना र यात्रा गरिआएको हो भनी खोजी गर्न तन्त्रविदहरूलाई सघाउ मिल्नेछ । जे होस्, कुमारी स्थापना र यात्रा भइरहनु नै नेपाली संस्कृतिको जगेर्ना भइरहनु हो । अस्तु ! (प्राचीन नेपालबाट)

Tags:

सम्बन्धित समाचार