शुक्रबार , मंग्सिर २३, २०७९

लक्ष्मीपूजा : नेवारका घरमा बसेकी लक्ष्मी, अरूको घरमा उभिएकी !

नेवारहरुले लक्ष्मी देवीको मूर्तिपूजा गर्दैनन् तर पुँ (चित्रकारं)ले लेखिराखेको लक्ष्मीको चित्रलाई पूजा गर्दछन् । परापूर्व कालदेखि चल्दै आएको यो चलन अझैसम्म रहेको छ ।

image

  • प्रेममान डंगोल

नेपालमा परापूर्वकालदेखि बस्दै आएका र मनाउँदै आएका परम्परागत धर्म, संस्कृति, संस्कार र चाडपर्वले नै विश्वमा नेपालले एक साँस्कृतिक देशको रुपमा चिनारी दिँदै आइरहेको छ भने नेपाल अनेक चाडपर्वको देश हो भनी चिनाउन पनि सफल भइसकेको छ । नेपालको मुख्य संस्कृति भन्नु नै नेवारी संस्कृति हो ।

वर्षभरि पर्ने विभिन्न चाडपर्व र जात्राहरु नेवाहरुले आफ्नो संस्कार र संस्कृति अनुरुप चलाउँदै अ ाइरहेको तिहार पर्वको पनि आफ्नै महत्व छ । त्यसमा पनि लक्ष्मी पूजा र म्ह पूजा (आत्म पूजा) अनि भाइटीकाको त झन् वढी महत्व छ । यसलाई जति वर्णन गरेपनि पुग्दैन ।

हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक कृष्ण औशीका दिन धनधान्यकी देवी लक्ष्मीलाई पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन बिहान सबेरै गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ भने बेलुका लक्ष्मीको पूजा गरिन्छ । कुनै पनि धार्मिक कार्य र संस्कार गर्दा गाईको गोबरले घरको भुइँ लिपेर गौमुत्र छर्केर चोखो पार्नुृपर्छ ।

त्यस्तै ठूलठूला धार्मिक कार्य गर्नुअघि गौदान गर्ने चलन पनि छ । कुनै पनि धार्मिक कार्यमा गाईको दूध, दही, घिउ, गोबर र गहुँत नभई हुन्न । जनै पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र लक्ष्मी पूजाका दिन गाईको पुच्छरमा बाँधिदिएमा मरेपछि स्वर्गमा जाने बाटोमा पर्ने वैतरणी नदी गाईले तारिदिन्छन् भन्न धार्मिक मान्यता छ ।

गाईलाई माताको रुपमा पनि मान्दै आएको पाइन्छ । खेतीमै निर्भर भइरहेको हाम्रोजस्तो देशमा त गाईको महत्व झन् बढी छ । गाईको गोबर खेतमा मल राख्ने गरिन्छ भने गोमुत्रले बालीनालीमा लाग्ने किरा मार्न किटनाशकको काम गर्दछ । त्यसैले गाईको दूध अत्यन्तै पोषिलो भएकोले खेती गर्नुपर्ने किसानहरुका लागि ताकत दिइरहेको हुन्छ भने बालकालिकालाई पनि गाईको दूध खुवाएर हुर्काउन धेरै मद्दत गरिरहेको हुन्छ ।

यसरी अत्यन्तै महत्वपूर्ण भएकैले गाईलाई लक्ष्मीमाता गौमाता भनिएको हो ।  गौहत्या महापाप हो भनी हाम्रो देशमा गौहत्यालाई मानिसकै हत्या गरेसरह सजाय हुने कानुनी व्यवस्था छ । गाईको सम्वन्ध यमराज र यमलोकसँग पनि छ भनिन्छ । यसरी विभिन्न महत्व भएको गाईलाई लक्ष्मी पूजाका दिन बिहान सवेरै फूल अक्षता टीका लगाई पूजा गर्दै पूmलको माला पहि-याउँदै सागपात र फलफूल पिठो आदि खुवाउने गरिन्छ ।

लक्ष्मी पूूजाका दिन बिहान गाईको पूजा गरिसकेपछि सिंगै घरको सरसफाई गरेर पवित्र पारी लक्ष्मी पूजाको तयारी गरिन्छ । लक्ष्मी पूजा गर्ने दिन कार्तिक कृष्ण औंंशीको बेलुका देवी लक्ष्मीलाई अँध्यारो नहोस् भनेर विभिन्न किसिमका बत्ती बालेर झिलीमिली पार्दै दीप बालेर घरको आँगनदेखि नै चेलीबेटीले गाईको गोबरले लिपी चोखो जल छर्कदै कुचोले लक्ष्मीको स्वागत गर्दै पूजाकोठामा भित्र्याउने गरिन्छ ।

कतिपयले त देवी लक्ष्मीको पाइलाका चित्र बनाएर आँगनदेखि पूजा कोठासम्म लगेको हुन्छ । नेवारहरुले पुज्ने देवी लक्ष्मी नेवार संस्कृतिअनुसार आफ्नै पनको हुन्छ । नेवारहरुले लक्ष्मी देवीको मूर्तिपूजा गर्दैनन् तर पुँ (चित्रकारं)ले लेखिराखेको लक्ष्मीको चित्रलाई पूजा गर्दछन् । परापूर्व कालदेखि चल्दै आएको यो चलन अझैसम्म रहेको छ ।

हुन त पसलमा विभिन्न किसिमिका लक्ष्मीका चित्र वा फोटाहरु पाइन्छन् । तर नेवारहरुले भने पुँ चित्रकारहरूले लेखिराखेको लक्ष्मीका चित्र ल्याई पूजा गर्ने गर्छन् । चार हात भएकी अर्धपदमासनमा बसी एउटा गोडाले कछुवाको ढाडमा टेकेकी दाहिने हातमा जवला न्ह्या.क (परम्परागत ऐना) र देव्रेहातमा सिन्ह मू (परम्परागत सिंदुरको बट्टा) लिएकी हुन्छिन् भने अरु दुई हातमा अभर र वर मुद्रा भएकी लक्ष्मी देवीलाई नै पूजा गर्ने गर्दछन् । लक्ष्मी देवीका दायाँबायाँ कुबृर र ख्याक हुन्छन् ।

नेवारहरुले पूजा गर्ने यस्ती लक्ष्मीदेवी रातो वर्णकी हुन्छिन् । रातो भन्नु नै अग्नि र व्यक्तित्वको प्रतीक हो । लक्ष्मी देवीको पाउमुनि वस्ने कछुवालाई सहनशीलताको प्रतीकको रुपमा लिइन्छ । त्यस्तै धनको पोको कुम्ल्याएर बोकिरहेको कुवृरलाई धन सम्पत्तिका मालिकको रुपमा लिइएको छ भने ख्याकलाई ढुकुटीको पाले रक्षकको रुपमा लिइएको छ ।

लक्ष्मी देवीको गणका रुपमा बसिरहेका कुवेर र ख्याक भएका लक्ष्मी देवीलाई नै लक्ष्मी पूजाका दिन नेवारहरुले आफ्नै मौलिक तरिकाले पूजा गर्ने चलन छ । नेवारहरुले लक्ष्मी पूजाका दिन पूजा गर्दा बासिरहेकी लक्ष्मीको चित्रमा पूजा गर्छन् भने अन्य जातिकाले उभिरहेकी लक्ष्मीको चित्रमा पूजा गर्ने गरेको देखिन्छ ।

बसिरहेकी लक्ष्मी गृहलक्ष्मी हुन् भने उभिरहेकी लक्ष्मी राज्यलक्ष्मी हुन् । व्यवसाय र सीपकूलक कार्यमा दक्ष एवं सम्पन्न गराउँछिन् भने उभिरहेकी लक्ष्मी राज्य लक्ष्मीले राजकाजसम्बन्धी, शासन र प्रशासनसम्बन्धी कार्यमा दक्षता प्रदान गरी सम्मान गराउँछिन् भन्ने मान्यता छ ।

नेवाहरुले यसरी पुज्दै आएकी लक्ष्मी देवी महालक्ष्मीकै साक्षात रुप हुन् । महालक्ष्मीको अर्को भयंकर रुप महिषमर्दिनीले महिषासुरलाई वध गर्दा रक्सी सेवन गरी मात्तिएकी देवी भएकीले नेवारहरुले लक्ष्मी देवीको पूजा गर्दा राँगाको मासुको छ्वयला, अण्डालगायत समय बजी र जाँड–रक्सी पनि चढाई सगुन दिने गर्छन् ।

हुन त महिषमर्दिनी भगवतीले महिषासुरलाई वध गर्नुअघि यसरी नै सगुन लिएर रक्सीको चुस्की लिदै गर्जी गर्जी कतिञ्जेल गर्जिनसक्छस्, केही बेरमै तेरो वध गर्नेछु भनी कुर्लिएकी थिइन् । काठमाडौंको न्यूरोड विशालबजारस्थित महालक्ष्मीको मन्दिरमा महिषमर्दिनीको मूर्ति रहेको छ । त्यस्तै ललितपुरको महालक्ष्मी स्थानमा पूजा गरिदै आएकी महालक्ष्मीको मूर्ति पनि महिषमर्दिनीकै रहेको छ । यी महालक्ष्मी देवीलाई बलि दिने चलन छ ।

हरेक वर्ष कार्तिक कृष्ण औशीका दिनमै लक्ष्मीलाई पूजा गर्ने र विभिन्न ठाउँमा झिलीमिली पार्दै बत्ती बाल्दै वातावरण नै रमणीय पारी मनाउने चलन कहिलेदेखि आएको हो भन्ने कुरामा एउटा पौराणिक किंवदन्तीको आधार पनि छ । यस दिन रात्रीमा मत्र्यलोकको गतिविधि बुझ्न लक्ष्मी देवी आउने गर्छिन् ।

जहाँ–जहाँ बत्तीको झिलीमिली भैरहेको हुन्छ त्यहाँ–त्यहाँ गई आशन ग्रहण गर्नेगर्छिन् । घर सम्पत्ति र ऐश्वर्यकी देवी लक्ष्मीलाई अँध्यारो र फोहोर ठाउँ मन पर्दैन । त्यसैले लक्ष्मी देवीलाई आह्वान गरी आफ्नो घरमा भित्र्याउन चारैतिर झलमल्ल हुनेगरी बत्ती बाली लक्ष्मी देवीको पूजा गर्ने चलन परापूर्व कालदेखि चल्दै आएको हो ।

किम्बदन्ती:

किंवदन्तीअनुसार, परापूर्वकालमा एउटा गरीव ज्यापु र उसकी श्रीमती मात्र घरमा बस्दा रहेछन् । यो दम्पत्ती अत्यन्तै गरीव भएकाले गरीवीबाट कसरी छुट्कारा पाउने होला भनेर रातोदिन चिन्तित भइरहँदा रहेछन् । उनीहरु अर्काको खेतको छेउमा एउटा सानो छाप्रो बनाएर बसेका रहेछन् ।

दिनहुँ काम गरेर खानुपर्ने अवस्थाका उनीहरु काम नपाउँदा भोकै पर्थे । एकपटक त्यही देशकी रानीले दरवारको कौशीमा नुहाउन आफ्नो गलामा भएको चन्द्रहार फुकालेर कौशीकै डिलमा राखिछन् । रानीले नुहाइरहेकै बेलामा एउटा काग आएर त्यो हीराको हार ट्याप्प टिपेर उडेछ । उड्दै त्यही ज्यापुको छाप्रोको माथि पुगेछ ।

संयोगले छाप्रोको छानामा एउटा मरेको सर्प देखेछ । हीराको हार त्यहीं छोडेर मरेको सर्प टिपेर गएछ । आफ्नो छाप्रोको छानामा हीराको हार देखेर ज्यापु ज्यादै खुशी भएछ । तर उसकी श्रीमतीले भने उक्त हार घरमा राख्न मानिन । बरु यो हार राजालाई चढाउन लानू भनिछ । गरीबको घरमा मूल्यवान सामान इमान्दारीपूर्वक कमाई ल्याएकै भएता पनि चोरेर ल्याएको ठान्छन् । त्यसैले यो हार राजालाई नै दिनु ठीक हो भन्ने श्रीमतीको तर्क श्रीमान्लाई पनि मनपर्यो ।

ज्यापुले हीराको हार राजालाई बुझाएछ । ज्यापुको इमान्दारी देखेर अत्यन्तै खुशी भई राजाले के माग्छौ माग भनेपछि त्यस ज्यापुले आफ्नी श्रीमतीले सिकाएर पठाएजस्तै राजालाई बिन्ती गर्दै भन्छ “महाराज मलाई धन सम्पत्ति केही चाहिदैन । महाराजाले बकस दिने हो भने आज रातभरका लागि मेरो घरमा बाहेक दरवारसहित देशभर कतै पनि बत्ती नबालियोस् भन्ने उर्दी जारी बक्सियोस् ।”

ज्यापुको अनौठो माग सुनेर राजाले पनि बत्ती नबाल्न उर्दी जारी गरिदिन्छन् । त्यसदिन कात्र्तिक कृष्ण औशी परेको रहेछ । अनि रात्रीमा श्रीलक्ष्मी घुम्न आएको बेलामा त चारैतिर अन्धकार, ज्यापुको घरमा मात्र उज्यालो छ । ज्यापुको घरमा भने ज्यापुनीले झिलीमिली बत्ती बालेकी छ, विभिन्न किसिमका रोटी बनाई लक्ष्मीलाई स्वागत गरेकी छन् ।

त्यो देखेर धनधान्यकी देवी अत्यन्तै हर्षित भई तिमीले यसरी बत्ती बालेर मेरो स्वागत ग-यौ, त्यसैले आजदेखि म तिम्रै घरमा स्थिर भएर बस्छु भनेर बसिछिन् । अनि त के चाहियो, ज्यापुको घरमा औलादौलो, धनसम्पत्ति भरिपाूर्ण ! यो कुरा चारैतिर फैलियो । राजाको कानमा पनि पुग्यो ।

अनि त्यही बेलादेखि कात्तिक कृष्ण औंशीका दिन देशभरि नै दीपावली गरेर लक्ष्मीको पूजा आराधना गर भनी राजाले परम्परा नै बसाले । वास्तवमा, ज्यापुले देखेको लक्ष्मी देवीको रुप र लक्ष्मी बसिरिहेको आसनको वारेमा ज्यापुले बताएको आधारमा ‘पुँ’ (नेवार चिचकार) ले लक्ष्मीको चित्र बनाएका हुन् भनिन्छ । (न्यूजअफअनलाइनबाट साभार)

सम्बन्धित समाचार