शुक्रबार , मंग्सिर २३, २०७९

मधेशमा अनौठो ‘भूत मेला’ लाग्दै, धामी झाँक्रीको घुइँचो

पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारू धामीझाँक्रीहरू माटोले बनेको ढकनामा बलिरहेको आगो हातमा राखेर बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याउँदै गंगा तथा नदी किनारमा पुगेका हुन्छन् ।

image

भूत भन्ने बित्तिकै हर-कोहीको झसङ्ग हुनसक्छन् । तर, मधेशमा एउटा यस्तो दिन पनि आउँछ, जब भूतको मेला नै लाग्ने गर्छ ।

छठ सकिएको नौ दिनपछि अर्थात् कात्तिक शुक्ल पूर्णिमाको दिन गङ्गा सागर, कमला नदी तथा विभिन्न मठ मन्दिरमा भूत मेला लाग्ने गरेको छ । टाढा-टाढाबाट हिजो साँझदेखि यातायातमार्फत या हिँडेरै भक्तजनहरू गङ्गा तथा कमला नदी किनारमा पुगेका छन् । यस दिन भूत मेला हेर्नका लागि गाउँगाउँबाट मानिसहरू आउने गरेका छन् । यो मेला नेपालको तराई क्षेत्रका साथै भारत विहारमा प्रत्येक वर्ष लाग्ने गरेको छ ।

मधेशमा परापूर्वकालदेखि यो मेला लाग्ने गरेको छ । कतिपयले यसलाई अन्धविश्वास बताउँदै बेवास्ता गर्न थालेका छन् भने धेरैले धर्म र आस्थाका आधारमा मनाउँदै आएका छन् । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी झाँक्रीहरू माटोले बनेको ढकनामा बलिरहेको आगो हातमा राखेर बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याउँदै गङ्गा तथा नदी किनारमा पुगेका हुन्छन् ।

भक्तजनहरू आ-आफ्ना इष्ट देवताकोको नाम फलाक्दै मादल, झ्याली, ढोल पिपही जस्ता बाजागाजाका साथ कमला नदीमा पुगेका छन् । तान्त्रिक विद्यासिद्धीका लागि आजको दिनलाई शुभ मान्ने गरेको छ र त्यसका लागि गङ्गा नदी र कमला नदीमा त्यसको मेला लाग्ने गरेको छ ।

आगो बलिरहेको ढकना हातमा लिएर ‘भूत खेल्दै’ नदी किनारसम्म पुग्दा पनि हातमा केही भएको हुँदैन । जसले यसमा दैवी शक्ति रहेको पुष्टि गर्छ । सिरहा पटेर्वाका भोला यादव भन्छन्, ‘शिक्षा र चेतनाको विकाससँग कतिपयले भूत सुत केही होइन यी सबै अन्धविश्वास हो भन्छन् तर आजको दिन कमला नदीमा भिड हेर्दा लाग्छ- यसलाई अन्धविश्वास भन्नेहरू सबै ढोँगी हुन् । जसले भूत प्रेतलाई अन्धविश्वास भनेका हुन्छन् उनीहरू पनि कमल स्नानका लागि आएका देख्छु म ।’

आजको दिन सिकारु धामीझाँक्रीका लागि सिद्धिको दिन हो भने कुनै व्यक्तिमा भूत प्रेत छ भने त्यसलाई पनि हटाउने दिन रहेको सिरहाका धामी शालिग्राम ठाकुरले जानकारी दिए । उनले भने, ‘जो  दशैंमा नयाँ-नयाँ धामी बनेका हुन्छन्, उसले आजैका दिन सिद्धि गर्न कमला स्नान वा गङ्गा स्नान जाने गरेका छन्’, उनी अगाडि भन्छन्, ‘घरबाट देउता खेल्दै नदीसम्म जानुपर्ने हुन्छ, बाटो भरी देउता तथा भूत खेल्दै गइरहेको दृश्य रमाइलो हुन्छ ।’

धामी ठाकुरका अनुसार मूल धामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रसिद्धीका लागि यो दिन पूर्णाहुति दिने चलन रहेको उनले बताए ।

कमला नदीमा स्नान गरिए कमलेश्वरी देवी र गङ्गा नदीमा स्नान गरे गङ्गा देवीले तान्त्रिक विद्या सिद्ध बनाई दिने तथा घरका देवी (घरदेवता) शुद्धि हुने विश्वास रहेको छ । कमला तथा गङ्गा स्नान गरेर घर फर्किने बेला नदी किनारमा धामी झाँक्रीसहित अन्य भक्तजनहरूले दही चिउरा खाने चलन रहेको छ । साथै घर फर्किने बेला भक्तजनहरू गङ्गा र कमलाबाट पानी (जल) लिएर पनि आउने गरेका छन् । त्यो पानीले घरपरिवार तथा घरका अन्य सदस्यलाई पनि चोखो बनाउने चलन छ ।

धामीझाँक्रीले महराई (एक प्रकारको गीत) गाउँदै त्यसको तालमा बजाएको ढोल, झाइलले भूत तथा देवता खेल्नेलाई झन् उत्तेजित बनाएका हुन्छन् । धामी झाँक्रीले आफ्नो महराई (गीत) को तालमा भूत तथा देवतालाई खेलाई रहेका हुन्छन् । धामी झाँक्रीको महराई र ढोल, झाइलक तथा भुक्त, देवताको क्रमशः स्वरले एक प्रकारको भय उत्पन्न गरेका हुन्छन् ।

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तैयस्तै आ-आफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल),  झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन्छन् । रातोपाटीबाट 

Tags:

सम्बन्धित समाचार