शुक्रबार , मंग्सिर २३, २०७९

फूलैफूलको मौसम तिमीलाई, मेरो माया हरदम तिमीलाई

मानिसहरुलाई प्रकृतिले दिएको सबै भन्दा सुन्दर र बहुमूल्य उपहार हो, फूल ।

image

फूलैफूलको मौसम तिमीलाई
तारा जूनको रमझम तिमीलाई
मेरो माया हरदम तिमीलाई………. ।

यति बेला तिहार नजिकिएको छ। तिहारमा गरिने हरेक पूजामा फूलको प्रयोग हुने भएकाले तिहारलाई विशेष रूपमा फूलैफूलको पर्व पनि भनिन्छ ।

आकर्षक सयपत्री र अजम्बरी मानिने मखमलीको मालाले घर सजाउनु, लक्ष्मी पूजा गर्नु र दिदीबहिनीले दाजुभाइलाई यिनै फूलको माला लगाई दिएर दीर्घायुको कामना गर्नु तिहारको विशेषता हो ।

भन्ने गरिन्छ – ‘फूलहरुको आ-आफ्नै महत्व हुन्छ । जबसम्म फूल बोट मै हुन्छ, तबसम्म फूलको महत्व अत्यन्तै हुन्छ र टिपेपछि महत्व हराउँदछ ।’

तर, तिहारमा फुल्ने फूल भने टिपेपछि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छन् ।

कसैले भनेको छ, ‘फूलेको फूलको सौन्दर्यले खुल्ला आकाशमा दिल खोलेर हाँस्न सिकाउँछ । मानिसहरुलाई प्रकृतिले दिएको सबै भन्दा सुन्दर र बहुमूल्य उपहार हो, फूल ।’

त्यसैले पनि होला फूललाई जन्मेदेखि मृत्यु हुँदासम्मको महत्वपूर्ण क्षणहरुमा प्रयोग गरिन्छ ।

तिहार सुरु हुन केही दिन मात्र बाँकी हुँदा व्यवसायीहरुको व्यस्तता अहिले बढेको छ । बारीका फूल टिपेर माला गाँस्ने र बजार पुर्याउने काम गर्न उनीहरुलाई भ्याइनभ्याई छ ।

फूल भए फेरि फुल्थेँ
तिमी आउने बाटोभरि
सुवास छर्दै बसन्त ल्याउथेँ
तिमी आउने बाटोभरि ………।

जब जीवनमा फूलको वहार आउँछ, तब जीत बन्छ अनि मन आनन्दित हुन्छ, रोमाञ्चक हुन्छ । त्यो आनन्दमा हामीले एउटा बेग्लै संसार पाउँछौँ । सुन्दर र आल्हादित अनि क्षितिजकोे इन्द्रेणीजस्तो । हिमाली शृङ्खलाझैँ खै कस्तो कस्तो हो फूलको महिमा, जसको वणर्न गर्ने शब्द नै हुँदैन ।

कोपिला फक्रिएर फूल्छ र सुन्दर बनाउँछ धरालाई । दुःखसुखमा जिउन सिकाउने, मृत्यु बुझाउने संवेदित सुन्दर पुस्तक हो फूल । फूल फुलेर जसरी मुस्कुराउँछ, त्यसरी नै हाँसीहाँसी झर्छ । मृत्यु स्वीकार्ने सृष्टिको अनुपम सिर्जना हो फूल ।

सम्बन्धित समाचार