शुक्रबार , मंग्सिर २३, २०७९

मञ्जुश्री र समय

लोकविश्वास अनुसार मञ्जुश्रीलाई नेपालका सृष्टिकर्ता भनी मानिएको छ । पहिले यो उपत्यका एउटा पोखरीको रूपमा थियो । विपश्वी बुद्ध आएर यो पोखरीमा छरिदिएको कमलको बीउबाट केही समयपछि एउटा कमलको फूल बनी फुल्यो । सो फूल गाडाको पाङ्ग्रा जत्रो थियो र यसमा सुनका हजार पातहरू थिए ।

image

  • शीतल गिरी

लोकविश्वास अनुसार मञ्जुश्रीलाई नेपालका सृष्टिकर्ता भनी मानिएको छ । पहिले यो उपत्यका एउटा पोखरीको रूपमा थियो । विपश्वी बुद्ध आएर यो पोखरीमा छरिदिएको कमलको बीउबाट केही समयपछि एउटा कमलको फूल बनी फुल्यो । सो फूल गाडाको पाङ्ग्रा जत्रो थियो र यसमा सुनका हजार पातहरू थिए ।

महाचीनका पंचशीर्ष बोधिसत्व मञ्जुश्रीले नेपालमा देवताको रूप स्वयम्भू आफैँ प्रकट भएको थाहा पाए । उनी आफ्ना दुई पत्नी केशिनी र उपकेशिनी (वरदा र मोक्षदा) तथा चेलाहरू लिएर हिँडे । उनी नेपाल पस्दा उत्तर–पूर्वको पहाडपट्टिबाट आए र महादेवपोखरीमा तीन रात ध्यान बसी, फुलचोकीमा आफ्नी जेठी पत्नी वरदालाई बसाले, कान्छीलाई चम्पादेवीमा बसालीकन आफू स्वयम्भूलाई दाहिने पारेर वरिपरि घुमेपछि पानी छेकिराखेको पहाडलाई हातमा भएको चन्द्रमा आकारको खड्गले काटी पानी बाहिर पठाइ दिए । पोखरीमा बस्ने नाग र राक्षसहरू पनि पानीसँगै बगेर गए । त्यसपछि पोखरीको फेदमा रहेको कमलको नजिकै गएर हेर्दा उनले कलकल आवाज सुने र त्यहाँ पूजा गरे । रहस्यमयी देवी गुह्येश्वरी त्यहाँ प्रकट भइन् । स्वयम्भू नजिकैको ढिस्कोमा सिँगारेर राखिएको गुह्येश्वरीको पाइलालाई भक्तहरू अहिले पनि पूजा गर्छन् ।

मञ्जुश्रीले बागमती र विष्णुमतीको बीचको जमिनमा उनैको खड्ग आकारको मञ्जुपतन निर्माण गरी चीनबाट उनीसँगै आएका धर्माकर नाम गरेका धर्मात्मा चिनियाँलाई राजा बनाइदिएर आफू आफ्नो देश फर्के । शाक्यमुनिभन्दा दुई बुद्ध पहिलेका कश्यप बुद्धको समयमा एकपटक फेरि मञ्जुश्रीको नाम देखा परेको छ ।

विक्रमशील विहारमा बसेर अ आ इ ई उ ऊ ए ऐ ओ औ अं अः को पवित्र सूत्रको रहस्यपता लगाउन खोजिरहेका बनारसका पण्डित धर्मश्री मित्रलाई यी बाह्र अक्षरको व्याख्या गर्न सक्ने मञ्जुश्री मात्र हुन् भन्ने थाहा थियो । उनलाई भेट्न पण्डित धर्मश्री मित्र नेपाल आए । स्वयम्भू नजिकै आइपुग्दा उनले एक जना किसानले बाघ र सिंहलाई नारेर खेत जोतिरहेको देखे । उनले यस अनौठो हलो जोत्ने व्यक्तिलाई चीन जाने बाटो सोध्दा ‘आज अबेर भइसक्यो, आज एकरात मकहाँ बस्नुहोस्’ भन्ने जवाफ दिए । धर्मश्रीले आतिथ्य स्वीकार गर्ने बितिकै त्यहाँको जमिनमा उनलाई रात बिताउन एउटा बिहार खडा भयो । यो के भयो ? कुन चाहिँ देवताले मलाई शरण दियो भन्ने विचार गर्दै धर्मश्रीले आफूले खोजेको बाह्र अक्षरको व्याख्या थाहा पाउन भोलिपल्ट सबेरै बिन्ती गरे ।

मञ्जुश्रीले यी शब्दहरूको मतलब बुझाए र नामसङ्गीतिका यी बाह्र अक्षरको सम्मिश्रणबाट निस्कने सङ्गीतबारे पनि बताए । नेपाली सभ्यता चिनियाँ सभ्यतासँग धेरै कुरामा मिल्ने हुँदा नेपाललाई त्यस सभ्यतासित गाँस्ने अनुश्रुति मानिसलाई चकित पार्न बनाइएको हुन् । धेरै बुद्धहरू नेपालको तराईमा जन्मेका हुन् । परम्पराले गर्दा नेपालको चीनसँग सम्बन्ध हुनुपर्ने देखिएको छ । भारतमा बौद्ध धर्मको अन्त्य भइसकेपछि चीन देशमा आश्रित यस धर्मको जगजगी भएको बेला अथवा नेपालको चीन साम्राज्यसँग सम्बन्ध राम्रो भएको समयमा यो किंवदन्ती सुरु भएको हुन सक्छ । यसको वर्णन गर्ने ‘स्वयम्भू पुराण’ कुन समयको भन्ने निश्चित नभएकोले नेपालको सभ्यताको चिनियाँ सभ्यतासँगको सम्बन्ध बारेको समस्याको कुनै समाधान पाउन सकिँदैन । यो कथा प्राचीन नै हो भन्ने कुरा चाहिँ पक्का छ । जो प्रमाणीक कुरो मात्र खोज्छ, पौराणीक कुरो पत्याउँदैन, त्यस्ता मानिस प्राग्इतिहास खोज्न चाहँदैन । त्यस्ताले मौखिक इतिहास नकार्छ, स्वीकार्दैन र हेला गर्छ । यस्तो कार्यले इतिहासको अपमान हुन्छ । इतिहास अर्थात् समयको मान, परिवर्तन र सत्य तथ्य पतालगाउने योग्यता । इतिहासको समय हुन्छ, यानी की समय पहिल्याउन सकियो भने सत्यको नजिक पुग्न सकिन्छ । प्राचीन कथा पनि नभएको भए, नेपाल उत्पत्तिको बारे थाहा पाउने कुनै संकेत पनि पाइने थिएन । प्राचीन कथा भएर केही अस्वाभावीक, केही स्वाभावीक कुरा त पाएका छौं । जो यस्ता कथाहरूलाई गहन अध्ययन गर्छ र सत्य अंश केलाउने चेष्टा गर्छ ऊ नै यथार्थको नजिक पुग्न सक्छ ।

धेरै शताब्दीअघिदेखि मञ्जुश्रीलाई चीनियाहरूले मानिआएका हुन् । मञ्जुश्री तीर्थयात्रामा नेपाल आउँदा संस्कृतमा पञ्चशीर्ष पहाड भनिने चीनको प्रसिद्ध ठाउँबाट आएका हुन् । चिनियाँ भाषामा वौ ताइ चान (पाँच तहतह परेको पहाड) हो । चीनको राजधानी पेकिङबाट कलगन, चि–पा–ताइ र तो–ताङको बाटो भएर जान पाँच दिन लाग्छ । यहाँको सबभन्दा पुरानो मन्दिर जान वौ–ताइ–चान उपत्यकाबाट पनि माथि अशोक भन्ने ठाउँमा चढ्नु पर्छ । सो स्तूप पनि स्वयम्भूकै शैलीमा बनाइएको छ, बाहिर बज्र लगाइएको छ, माथि सुनौलो घण्टा पनि छ । यहाँभित्र बुद्धको अस्तु राखिएको छ भनिन्छ ।

जे होस्, वै वंशका पछिल्लो राजाको समय सन् ४७१ र ५०० को बीचमा प्रमुख मन्दिर हिएन वङ–सेउ बनेको थियो भन्ने कुरा निश्चित छ । सङ्गमर्मरको एकसय तीसवटा खुड्किला भएको भर्याङ चढेर मन्दिरको बीचमा, रेशमको वस्त्रले सिँगारिएको मञ्जुश्रीको प्रतिमा छ । छैटौं शताब्दीदेखि नै त्यहाँका राजवंशका हरेक सदस्यले सम्मानका साथ यहाँ पूजा गरेका छन् । सन् ५८१–६०१ का काइ–होआङो समयदेखि त्यस पहाडका पाँचै चुचुरामा मन्दिरहरू बने । धेरै पहिलेदेखि टाढाटाढासम्म यो पञ्चशीर्ष पहाडको प्रशंसा फैलिसकेको थियो । सन् ८२४मा एक तिब्बती दूत तौ–फानले बौ–ताइ–चानको रङ्गीन चित्र पाउन चीन राजदरबारमा अनुरोध गरेको देखिन्छ । भोजदेव र लक्ष्मीकान्तदेवहरूको राज्यकालको ‘अष्ट सहस्रिका प्रज्ञापारमिता’को नेपाली पाण्डुलिपि (संवत् १३५)मा धेरै राम्रा लघुचित्र छन् र त्यसमा एउटा मञ्जुश्रीको चित्र पनि छ । पञ्चशीर्ष पहाडमा वागीश्वर (मञ्जुश्रीको अर्को नाम) बोधिसत्व पहेँलो लुगा लगाएर आर्यबस्ने ढङ्गमा बसेका छन्— देब्रे खुट्टा सिंहमा राखेका, शिक्षा दिन लागेको जस्तो गरी हात जोडेका, एउटा नीलो कमल हातमा रङ लगाउने जस्तो गरी ब्रुस समाउने ढाँचामा लिएका । देव्रेपट्टि एक जना डरलाग्दो अनुहारको सानो तहको सेवक गदा हातमा लिई बसेको छ । हेर्दा राम्रो लाग्छ, मनमा भएको क्लेष समाप्त भएरजान्छ ।

पृष्ठभूमिमा रुख, पहाड खोस्रेर बनाएको गुफाभित्र मन्दिर र ऋषिहरू छन् । शङ्करदेवको पालाको संवत् १९१को ग्रन्थमा अरू धेरै चित्रका साथ यहाँ उल्लेख गरिएको जस्तै एउटा चित्र पनि पाइन्छ र त्यो चित्रको शीर्षक महाचीन मञ्जुघोष अर्थात् मञ्जुश्री रहेको छ ।

नेपाली कलाकारहरूले बनाएको चित्रमा पहेँलो लुगा लगाएको, भारतीय ढङ्गमा बसेको, दाहिने हातमा खड्ग, खुम्चाइएको देब्रे हातमा पुस्तक लिएको र काखीमुनि एउटा कमलको फूल घुसारिएको छ । यसबाट वौ–ताइ–चानका मञ्जुश्री नेपालमा पहिलेदेखि नै चिनिएका रहेछन् भन्ने थाहा हुन्छ । यो चीनबाट सन् ६४६ र ६६० बीचमा नेपाल आएका अथवा नेपालबाट चीन गएका कूटनैतिक प्रतिनिधिहरूले सौगातका रूपमा धर्मात्मा राजा नरेन्द्रदेवलाई दिएको हुन सक्छ वा त्यस्तै नेपालको बाटो आउने तीर्थयात्रीहरूले यी चित्रहरू कुनै विहार या बौद्ध धर्मस्थलमा दान दिएको पनि हुन सक्छ, किनभने वौ–ताइ–चान का धेरै यात्रुहरू नेपाल आएका थिए र तीमध्ये कैयौं त नमरुन्जेल नेपालमै बसे पनि ।

मञ्जुश्रीले अभिभावक जस्तो भएर ह्वान–स्याङ भारतमा बसेको बेला ‘अब डरलाग्दो समय आउन लाग्यो चाँडो आफ्नो देशमा फर्क’ भनेर सपनामा सल्लाह दिएका थिए । तर भारतमा कुनै पनि विद्वानले ह्वान–स्याङसित चीनको कुरा गर्दा मञ्जुश्रीको नाम लिएनन् । तर आधा शताब्दीपछि इ–सिङ भारत भ्रमणमा गएको बेला विद्वान मञ्जुश्रीले अचेल पिङ चेउमा बस्छन् भनी चीन देशको इज्जत गरेको पाइन्छ । इ–सिङको भ्रमणपछि मञ्जुश्री चीनकै हुन भनेर सबैले मान्न थाले र हिन्दू तीर्थयात्रीहरू उनको पूजा गर्न चीन जान थाले । सन् ७०० तिर प्रसीद्ध अमोघ–बज्रका गुरु बज्रवोधी सिलोनबाट मञ्जुश्रीको पूजा गर्न चीन गएका थिए । ‘महायान–बुद्ध–सत–पारमिता–सूत्र’का अनुवादक प्राज्ञ, विद्वान किङ चिङका सहयोगी पनि मञ्जुश्री पूर्वका देशमा छन् भन्ने सुनेर चीन गए ।

बुद्ध चीनमा धार्मिक शिक्षा दिन आएका थिए, तर उनले दिएको ज्ञान यहाँका मूर्खहरूका लागि अति उपल्लो खालको भएकोले तिनीहरूलाई काम लागेन । उनी पञ्चशीर्ष पर्वतमा केही समय बसे । यस पर्वतको सेरोफेरोमा एउटा जम्बुको रुख उम्रेको थियो र यसैबाट जम्बुद्वीप देश नाम रहन गयो । भगवानको निधारबाट एउटा कमलको फूल पनि निस्क्यो र त्यही फूलमाथि ऋषिमुनिहरूका राजा, पहेँला रङ्गका एक मात्र अनुहार भएका दुई हातमध्ये देब्रेमा गोलाकार कमलको फूलमा रहेको पुस्तक र दाहिनेमा विज्ञानको खड्ग लिएका आर्य मञ्जुश्री बसेका छन् ।

तर नेपाली लघुचित्रहरूमा दिइएका जस्ता अरू खास चिन्ह भने देखिँदैनन् । आर्य मञ्जुश्रीको निधारबाट एउटा सुनको कछुवा निस्केर पर्वतको फेंदमा रहेको शीतसरस कुण्डमा बस्न गयो । यस बेलादेखि मञ्जुश्री पञ्चशीर्षमा बस्ने भए । हरेक पहाडका फूलहरू पनि चुचुराकै रङका सेतो, नीलो, पहेँलो, हरियो र रातो हुन्छन् र हरेकको पुण्य पनि भिन्दाभिन्दै छन् ।

मञ्जुश्रीको समय जस्तै ठाउँबारे पनि फरकफरक कुरा छन् । ‘मञ्जुश्री परिनिर्वाण’ बमोजिम पुस्तकका नायक मञ्जुश्रीले हिमशिखरमा ५०० ऋषिहरूलाई शिक्षा दिएका थिए । यति भएपछि त मञ्जुश्रीलाई उफारेर हिमालयबाट चीन लान सजिलो भइहाल्यो । मञ्जुश्रीलाई एकथरीले ऐतिहासिक व्यक्ति भनेर मान्छन् भने अर्काथरीले अलौकिक भनेर मान्छन् ।

मञ्जुश्रीबाट उठ्ने धेरै नाम छन्, जस्तो मञ्जुघोष, मञ्जुश्वर, मञ्जुभद्र, मञ्जुनाथ । यी सबै नामहरू गुरु बागीश्वरका विभिन्न नामहरू हुन् । विशेषणका रूपमा मञ्जु शब्द ध्वनि वा ध्वनिको झङ्कारका लागि मात्र प्रयोग गरिन्छ । तिब्वती अनुवादकहरूले राम्रो मनन गरी यस शब्दलाई झाम (hjam) भने र यसको अर्थ हुन्छ— शब्दको मिठास । यिनलाई आवाजका ईश्वर, वाङ्मयका गुरु भन्नुका साथै हिन्दूहरूको ब्रह्माको स्थानमा राखियो । दुवैका बीच सम्बन्ध कति घनिष्ठ देखिन्छ भने ब्रह्मा जस्तै मञ्जुश्रीले कमलको आसन र सङ्निीका रूपमा सरस्वतीलाई लिएका छन् । ब्रह्मा धार्मिक कार्यका दृष्टिले पूजाआजामा देखिँदैनन्, तर बौद्ध धर्ममा मञ्जुश्री अरू बोधिसत्त्वहरू जस्तै महत्त्वपूर्ण हुँदै गएका देखिन्छन् । यस्तो सफलता चीन देशका मानिसहरूको समूहमा मञ्जुश्री प्रिय हुनु र पछि गएर मान्चु सम्राट्हरूबीच लोकप्रिय हुनु अनि पछि गएर मञ्जुश्रीको अवतारको रूपमा लिइयो । मान्चु नाम त पछिको हो तसर्थ, यससित मञ्जुश्रीको सम्बन्ध देखिनु संयोग मात्र हो । चीनका पुराना अनुवादक तथा शब्दविद्हरू शब्दहरूलाई भन्दा अर्थलाई बढी महत्त्व दिने हुँदा भारतीय विद्वानहरूले देखेका कुरा जस्ताको त्यस्तै नक्कल गरेर र शब्दको सार या व्युत्पति नबुझीकनै ‘मीठो आवाज’ अर्थ आउने शब्दलाई आफ्नै हिसाबले सोझै अथ्र्याएर अनुवाद गरे । सिरी भनिने ‘श्री’ लाई भारतको बोलचालको भाषामा ‘शिरो’ भनिने हुँदा चिनियाँमा ‘चि–लो’ भनेर अनुवाद गरियो । कसैले मञ्जुश्रीलाई ‘श्रेष्ठ आशीर्वाद’ भनी अनुवाद गरे, किनभने यो नाम सबैभन्दा बढी सगुनको प्रतीक थियो । वास्तवमा यिनी शब्दका गुरु र चिन्तनका रक्षक हुन् । यी सब शब्दको खेलले गर्दा मञ्जुश्रीको भूमिका चीनमा उच्च दर्जाको हुन गयो । यसो हेर्दा जीनाश्री, जगश्री, पद्यश्री, धर्मश्री इत्यादी परिचित नामहरू जस्तै मञ्जुश्री पनि हो कि जस्तो लाग्छ । तर मञ्जुश्री र यिनीहरूको ‘श्री’मा फरक छ । अरू नामका श्री सङ्ज्ञा हुन् तर मञ्जुश्रीमा भने विशेषण हो ।

व्याकरणबाट मञ्जु भन्ने शब्द हेरौं । मञ्जुघोष, बुद्धघोष या अश्वघोष इत्यादिमा पहिलो शब्द विशेषण भन्ने स्पष्ट थाहा पाइन्छ । सुरुको नाम मञ्जुघोष होला जस्तो देखिन्छ र मञ्जुश्री चाहिँ शुद्ध रूपमा लेखिएको भन्दा इज्जत गरेर लेखिएको शब्द हुनु पर्छ । चीनमा सुरुसुरुमा प्रवेश गरेका प्रथम बौद्ध ग्रन्थहरूमा मञ्जुश्रीले महत्त्वपूर्ण स्थान पाएका छन् । उदाहरणार्थ सन् १४७ र १८६ को बीचमा यु–चि प्रान्तका भिक्षु लिउ किमा च्यानले अनुवाद गरेका पुस्तकहरू वेन–जोउ–चि–लि वेन–पाउ–सा चोङ–किङ तथा नेइ–साङ पाइ यू किङमा उनको नाम आउँछ । चु फा–हुले सन् २७० मा अनुवाद गरेको रत्नकरण्डक–व्यूहमा यिनको ठूलो तारिफ छ । आवाज, शब्द, अक्षरको रहस्यमय शक्तिमा अटलविश्वास गर्ने चिनियाँ र तिब्बती बौद्ध धर्ममा पनि यहुदिहरूका मासोरेट र काव्बाल जस्तै मञ्जुश्री आवाज र शब्दका जन्मजात गुरु र चिन्तक देवता हुन्, बोधिसत्त्व हुन् । धर्मश्री मित्रलाई १२ ओटा स्वर–ध्वनिसम्बन्धी गुह्य मतलब बुझाउनु साथै बुद्धको शक्ति र विद्वता थाहा दिन धारणी–मन्त्र र त्यसको साधनाविधि पनि बताउने मञ्जुश्री हुन् । उत्तरका बर्बरहरूलाई बुद्धको शक्ति र ज्ञान यिनले नै दिएका हुन् । शब्दहरूको सार्वभौम शक्ति मञ्जुश्री । तर शब्दहरूको शक्ति हामी थाहा पाउदैनौं, किनभने रहस्य थाहा पाउन साधनाविधि हामी अपनाउँदैनौं । ‘म’ नै सर्वेसर्वा हुँ भन्नु दुःख रूप हो । यसले ज्ञानमार्गमा लम्किन थालेको हाम्रो गतिमा अवरोध ल्याउँछ । म त हुँ, तर किन हुँ, शेष भन्दा फरक किन हुँ ? यसकारण शेष यानी समाजलाई अपनाउनु पर्छ र सबैको प्रिय बन्न सक्नु पर्छ । म ममामात्र रहन सक्दैन, सबैको हुनैपर्छ । प्रेम यानी आत्मीयताको आवश्यकता चारैतिर छ— अपनाउन सक्नु पर्छ, बलिदानी हुन सक्नु पर्छ । जसले अपनाउन सक्छ उसले आनन्द नै आनन्द प्राप्त गर्न सक्छ । तर अचम्म समग्रलाई अपनाउँन मानिसलाई आउँदिन, सबैको प्रिय बन्न चाहँदैन, आफू हुनुसम्म सीमित राख्दछ । सीमित बन्छ र दुःख पाउछ । आफ्नोपनको दुःख जसले चारैतिर छर्न सक्छ उही नै परिपूर्ण बन्न सक्छ । एक्लोपनको व्यथा सीमित रहँदा पाइएको न हो यसकारण चारैतिर छरिनुपर्छ । जसरी मञ्जुश्री छरिए, हिमालको सीमाले रोक्न सकेन, चारैतिर सम्मान छ ।

मञ्जुश्रीलाई व्रह्माको स्वरूप मानिन्छ, तर उनमा त्यस्तो शक्ति भने बच्न सकेन । हिन्दूका सानातिना मठहरूबाट युशचे, तुखारा, तुरुस्का, सिनाका सीधासादा जनजातिहरूका बीचमा पहिले झाँक्री, टुनामुना र जादुको क्षेत्रमा आर्यहरूले उन्नति गरेका र प्रभाव पारेका ठाउँमा मञ्जुश्रीले आफूलाई स्थापना गरे । उनी हिन्दकुशदेखि चीनको समुद्रसम्म सजिलैसित एकछत्र प्रभाव जमाएर फैले । नेपालका हिन्दुहरूले पनि हातको सीपको पेसाका गुरु मञ्जुश्री मान्नाले हिमालको दक्षिणपट्टि पनि तिब्वती र चिनियाँहरूको प्रभाव कम छैन भन्ने देखाउँछ । प्रतीक मिथकीय हुन् । यी मिथकको प्रभाव निरर्थक होइनन् । दुई ठूला जातिहरूका बीच स्थायी सम्बन्ध कायम हुन धर्म र विश्वासको आदानप्रदानको आवश्यकता हुन्छ । चिनियाँ बौद्ध धर्मले शाक्यमुनि भनेर मानेको लाव–चे पूर्वतिर आफ्नो धर्म प्रचार गर्न गए भनिन्छ । त्यस्तै शाक्यमुनिलाई आफ्ना गुरु लावचेका रूपमा लिने टाव धर्मावलम्वीहरूले उनीहरूका गुरु अकस्मात अनौठो किसिमले चीन छोडेर पश्छिमी देशहरू घुम्न गएका भन्छन् । ऐतिहासिक दस्तावेजको कमीले गर्दा आर्यक्षेत्रमा बाहिरको के–कस्तो प्रभाव परेको छ भनी पत्ता लगाउन गाह्रो छ । ऐतिहासिक दस्तावेज भनेको पुराणका गफ होइनन् न त सिद्धका चमत्कार नै हुन् ।

नेपालको पूर्वको छिमेकी कामरूपका राजाले चीनका सम्राट्लाई इस्वीको सातौं शताब्दीमा लेखेको पत्रमा लाव–चेको एउटा मूर्ति र उनले लेखेको पुस्तक ताओ–ते–किङको संस्कृत अनुवाद पठाइदिन अनुरोध गरेबाट बाहिरको प्रभावबारे केही सङ्केत पाउन सकिन्छ । चीनका तीर्थयात्री र व्यापारीहरूको भेटघाट आर्यक्षेत्रका मानिसहरूसँग भएपछि लाव–चेबारे केही चिह्न त अवश्य छाडे होलान् । नेपाल र तिब्वतका बीच सम्बन्ध खुल्नेबित्तिकै नरेन्द्रदेवको पालामा विद्वान बन्धुदत्तले तिब्वतबाट एउटा नयाँ देवता महाँकाल नेपालमा ल्याए भनी नेपालको इतिहासमा भनिएको छ । शिवमार्गी र बुद्धमार्गीहरूलाई जोड्ने रेखाको रूपमा देखिने तन्त्रवादको बर्बरता, अलौकिकता, अश्लीलता तथा काटमार र अशान्तिमा विश्वास गर्ने विद्या चीन देशतिरबाट हुनुपर्छ । धेरै तन्त्र सिद्धान्तको जन्मस्थान चीन भनिन्छ । ताराबाट उत्पत्ति भएको एउटा प्राचीन देवतालाई मान्ने तारातन्त्रलाई बौद्ध धर्मले स्वीकार गरेर यसको ठूलो प्रचार गर्यो । पछि यो हिन्दू धर्ममा आएबाट ताराको ज्ञान चीनबाट आयो भन्ने देखाउँछ । वेदका ऋच्चाहरूका प्राचीन ज्ञानी वशिष्ठलाई एकपटक बुद्धकहाँ शिक्षा लिन जानुपर्दा नेपाल र तिब्वतमा बुद्ध फेला नपरेकाले उनी चीन जानु परेको थियो । चीनतन्त्रबमोजिम यो गोप्य कुरा शिवले पार्वतीलाई भनेका थिए । बुद्ध विष्णुका रूपमा देखिन्छन्, तर कहिले शिवको अर्को रूप भैरव नै बुद्ध हुन्छन् । चिन–सार–तन्त्र पनि भनिने महा–चीन–क्रमासारमा शिवले पार्वतीको शङ्का हटाउनका लागि गरेको कुरा पनि अचम्मको छ । आज यहि कुरा समयको प्रत्येक धुकधुकीको साथ बाचेको र अडेको छ । यस्ता कुराहरू आज जन्मिन्छन्, भोली हुर्किन्छन् र पर्सि फैलिन्छन् । यस्तै गरि समयप्रति धेरै कुराहरू विस्वस्त हुँदै फैलेका छन् । जुन कुरोमा लोकको आस्था र विश्वास अडेको हुन्छ त्यस्ता कुरा परिपूर्णतातर्फ बढ्दै रिक्तता रहेको स्थान पूर्ण गर्दै मुक्त हुन्छ । तन्त्रमा आस्था र विश्वास भरिएको हुन्छ । जसरी शरीरमा इन्द्रियहरू हुन्छन् जसद्वारा भीत्रका अनावश्यक कुरा बाहिर आउँछ र बाहिरको आवश्यक कुरा भीत्र पठाउँन सक्छ । जीवन आरम्भ हो सम्बन्धको जसले भीन्नलाई मिलाएर अभिन्न बनाउँने गर्छ । मन्त्रमा विश्वास गर्नेले जीवनसँग अभीन्न बनाएर बसेका हुन्छन् । मन्त्र यसैकारण पाइएको हो, जसरी समयलाई बाधेर राख्न खोज्नुको अर्थ हो तन्त्रको अस्तित्व अस्विकार गर्नु ।

ब्रह्माका छोरा वशिष्ठले चीनमा अध्ययन गरेको कुरा शिवले पार्वतीलाई बताए । तारा सम्प्रदायको पाठपूजाबारे विष्णुलाई मात्र थाहा भएकोले वशिष्ठले बुद्धको रूपमा रहेको विष्णुसँग पनि भेटेर जानकारी लिएका थिए । वशिष्ठ महाचीन गए र त्यहाँ बुद्ध (बुद्धरूपी जनार्दन) हजारौं प्रेमिकाद्वारा नग्न र अश्लील ढङ्गले घेरिएर बसेका देखे । यो देखेर वशिष्ठ ‘वेदको शिक्षा विपरीत भयो’ भनेर कराएको बेला आकाशवाणी भयो, ‘यदि तिमीले तारालाई खुसी तुल्याएर उनको निगाह खोल्ने हो भने यसै चिनियाँ काइदाले मलाई पूजा गर ।’ यो सुनेपछि उनी बुद्धको अगाडि गए र आफूले विचारै नगरेको कुरा बुद्धको मुखबाट शिक्षा पाए, ‘नारी भनेका देवता हुन्, नारी भनेका जीवन हुन्, नारीहरू शृङ्गार हुन् । सधैं दिमागमा नारीहरू राख्ने गर ।’ पञ्च मकार पूजाको आखिरी विधि तथा नियम मैथुन हो । जुनसुकै जातकी स्वास्नीमान्छे भए पनि नाङ्गै पारेर पूजा गरेमा अति प्रभावकारी हुन्छ । निरर्थक, विकृतिपूर्ण, भ्रम व्यवहारबाट मुक्ति पाउन सकिन्छ भनेर पहिले मानिआएको तर अहिले चलनचल्तीमा धेरै नभएको पुरानो सिद्धान्त भारतले चीन र बौद्ध धर्मबाट लिएको हो । यस्तो अनौठो सिद्धान्त विभिन्न समयमा देखिएका अविश्वसनीय ‘गोप्य समाजहरू’ले केही बताउन सक्लान । चीनले आफ्नो कुनै संस्कृति या चालचलन दिएको तर्फ खोजी गरिनु पर्छ । एक एक कुरो गहिरिएर अध्ययन गरिनुपर्छ । तबमात्र प्राचीन चीनका कतिपय रहस्यमय कुराहरू थाहा पाउन सक्नेछौं । यस्तो तबमात्र हुन्छ जब ताराको रहस्य थाहा पाएर मञ्जुश्रीको यथार्थसम्म पुग्न सकिने छौं ।

सम्बन्धित समाचार