वास्तवमा म्हेनङ के हो त ? दशैँ र म्हेनङको बीचमा के फरक छ ? म्हेनङ कसरी दशैँ होइन ? कहिलेदेखि म्हेनङमाथि दशैँ कसले कसरी खप्ट्याएको थियो ?
१. पृष्ठभूमि
म्हेनङलाई तामाङ पूर्खाले महान् पर्वको रूपमा स्थापित गराएका देखिन्छन् । यसलाई प्रकृति तथा पितृपूजासँग सम्बन्धित पर्व (चाड) को रूपमा लिन सकिन्छ । यिनीहरू आफू बसेको प्रकृति (स्थान)लाई ‘बप्सा’ भन्ने गर्दछन् । बप्सामा ज्योहो/ज्योमो स्थापित गरेका हुन्छन् । ज्योहो/ज्योमो भनेको पितृको एक रूप हो । त्यसैले आफ्नो पर्यावयरण र पितृलाई मौसम मिलाएर पूजा गर्दछन् । म्हेनङमा पनि उनै प्रकृति (स्थान/पर्यावरण) र पितृहरूलाई हर्षोल्लासका साथ पूजा आराधना गर्दछन् । आफ्नो बप्सामा बप्पा अर्थात् अनूकुलित हुने एवंरीतले पितृको सम्झना गर्ने संस्कृतिको एउटा रूप म्हेनङ पनि हो ।
४.१.८ खाद्य संस्कृति
कुनै पनि समुदायलाई मौलिक पहिचान सहितको बेग्लै हो भनेर चिनाउने एउटा पक्ष भनेको खाद्य संस्कृति पनि हो । म्हेनङ पर्वमा प्रयोग हुने खाद्य परिकार र संस्कृतिको आफ्नै महत्त्व रहेको देख्न सकिन्छ । यस संस्कृतिले समुदायको उद्विकास र ज्ञानको क्षेत्रबारेमा तथ्यहरू उजागर गरिरहेको स्पष्ट देख्न सकिन्छ । सकेसम्म नयाँ धानको चिउराको प्रयोग मुख्य मानिन्छ । म्हेनङलाई ‘चिउराको चाड’को रूपमा पनि चिन्ने गरेको छ । कोशेली लाने क्रममा पनि चिउरा अनिवार्य मानिन्छन् । चिउरा पनि मीलमा कुटाएको नभएर सकेसम्म ढिकीमै कुटाएको चाहिने मान्यता रहेको थियो । केही समयअघिसम्म पनि गाउँतिर कम्तिमा पनि देउतालाई चढाउन भने ढिकीमै कुटाएर चिउरा बनाउने प्रचलन रहेको थियो ।
त्यस्तैगरी भात (चामल) र तोर्मा अनि खेप्पास्हुङको क्रममा बलि चढाएको भालेको सुपको विशेष महत्त्व रहेको कुरा माथि नै उल्लेख गरियो । अष्टमीको दिन राँगा काट्ने र त्यो पनि पर्साएर मात्र काट्ने प्रचलन रहेको छ । राँगा काटेपछि भने त्यो दिन नुहाउन वर्जित मान्दछन् । सोही राति कुखुरा बास्नुअघि उठेर भोज खाने प्रचलन रहेको छ । भोजको क्रममा मासु र चिउरा ठूला र साना सबैलाई बराबरी रूपमा भाग लगाएर खाने गर्दछन् । सकेसम्म केराको पात र नभएमा शालको पाल गाँसेर टपरीमा खान्छन् । भोजमा केरा पनि आवश्यक मानिन्छन् । केरा खाएपछि भने त्यसको बोक्राहरू एउटा टपरीमा जम्मा गरी दोबाटोनेर लगेर फाल्छन् । त्यसरी फाल्नुको अर्थ ‘हाम्रो परिवारले पनि भोज खायौं’ भनेर अन्यलाई सूचना दिनु हो । दही पनि भोजको क्रममा अनिवार्य मानिन्छन् । त्यसैले दही भएका घरहरूले आफ्ना नजिकका र दही नभएको घरमा पुर्याउने गर्दछन् । त्यसैले दही नै नभएको घरमा समेत दही जम्मा हुन्छन् र भोज राम्ररी चल्दछ ।
घिउ, तेल र मसलाको प्रशस्त प्रयोग गर्दै म्हेनङ मनाउँछन् । तोर्मोको होस् वा कुनै पनि खानेचिजको भाग लगाउँदा घरका ठूलासाना सबैलाई बराबरी भाग लगाउँछन् । ठूलो र सानो भनेर धेरै वा थोरै भाग लगाउन पाउँदैन । आफ्ना नजिकका नाताहरूलाई म्हेनङ भाग स्वरूप- चिउरा, केरा र स्यला ख्वङ (सिन्कामा उनेको मासुको मालाजस्तो) लाने प्रचलन रहेको छ । जाँड र अझ धेरै रक्सी प्रयोग गर्दछन् । पाहुनाको रूपमा आइपुग्नुपर्ने मान्छेको सबैजना नआइपुग्न पनि सक्छन् । यदि आएनन् भने तिनलाई म्हेनङको भाग स्वरूप चामल, चिउरा, मासु र रक्सी समेत पठाउने प्रचलन रहेको देख्न सकिन्छ । साथीसङ्गी र मितेरी साइनोका लागि समेत म्हेनङको भाग पुर्याउने तामाङ प्रचलन रहेको छ । म्हेनङको बेलामा कोशेली पुर्याउन नसकेमा वा जान नसकेमा त्यस सालको हिउँदभरिमा भएपनि जाने र जानुपर्छ भन्ने मान्यता समेत तामाङ समाजमा पाइन्छ ।
४.१.९ पिङ संस्कृति
तामाङ समाजमा पनि पिङ संस्कृति रहेको पाइन्छ । यद्यपि यो संस्कृति हिन्दू र अन्य आदिवासी जनजातिमा पनि प्रशस्त रहेको पाइन्छ । कतिपयले पिङलाई तामाङको संस्कृति भन्दा पनि आयतितको रूपमा मान्ने गरेका पनि पाइन्छन् । यति हुँदा-हुँदै पनि छेपाच्यूको दिन पिङ खेल्नु पर्ने र एकै छिन भएपनि पृथ्वीमाथि टेक्न छोड्नुपर्ने मान्यता रहेको देखिन्छ । यसले धर्तीमाता माथिको सम्मान भावलाई इङ्कित गरेको हुन्छ । मानिसले जन्मदेखि नै पृथ्वीमाथि टेकेर भार थपिरहेको हुन्छ । त्यसैले पृथ्वीमा टेकेको दस्तुर पनि तिर्नै पर्ने हुन्छ । त्यो भार कम गराउनको लागि पनि पिङमा झुण्डिनुपर्ने जनविश्वास रहेको देखिन्छ ।
४.१.१० मिथक तथा आहानहरू
म्हेनङ सम्बन्धी थुप्रै मिथक वा आहानहरू पाइन्छन् । ती आहानहरूमध्ये खेप्पास्हुङ निकै प्रख्यात मानिन्छ । त्यस्तैगरी पिङ खेलेर एकै क्षण भएपनि धरामातालाई कुल्चन र भार कम गराउनुपर्ने, भोजको बेला खाएको केराको बोक्रा दोबाटोमा फाल्नुपर्ने, घामकिरीको मिथकहरू पाइन्छन् ।
म्हेनङ आउन लागेपछि गाउँतिर घामकिरीहरू प्रशस्त देखापर्दछन् । त्यसलाई तामाङ भाषामा ‘छिपिङपिङ’ भन्ने गर्दछन् । यसलाई ठाउँ विशेष केही फरक रूपमा चिन्ने वा नाम उच्चारण गर्ने गरेका पाइन्छन् । म्हेनङ बोलाउने र गाउँमा भित्र्याउने काम छिपिङपिङले गर्ने हुनाले साना नानीबाबुहरूले “म्हेनङ हजी छिपिङपिङ ! मइ राँगुला डि छिङछिङ !!” भन्दै बालगीत गाउने गर्दछन् । ती नानीबाबुहरूले भने म्हेनङलाई बोलाएर ल्याउने किरीको रूपमा छिपिङपिङलाई चिन्ने र सोही अनुरूप गीत गाउँदै रङ्गीचङ्गी छिपिङपिङसँग खेल्ने गर्दछन् ।
ताफोले म्हेन्दोलाई पनि म्हेनङको गहनाको रूपमा चिन्ने गर्दछन् । त्यसैले खेप्पास्हुङभन्दा अगाडि ताफोले म्हेन्दोको प्रयोग गर्दैनन् । त्यसअघि प्रयोग गरेमा जुठो हुने र देउतालाई नचल्ने जनविश्वास पनि पाइन्छ । तामाङ गाउँघरमा अहिले पनि कोदोको ब्याड राख्ने क्रममा सँगै ताफोले म्हेन्दोको पनि ब्याड राख्ने अनि कोदोसँगै बारीको डिलडिलमा रोप्ने गर्दछन् । त्यसैले म्हेननको बेलामा बारीको कान्लाकान्लामा ताफोले म्हेन्दो ढकमक्क फुलेका हुन्छन् । जसले पर्यावरणी रूपमा पनि साह्रै मनमोहकता वा मादक थप्ने गर्दछ ।
म्य-दली लिएर तारो हान्ने प्रचलनको आफ्नै मिथकीय मान्यता रहेको देख्न सकिन्छ । सबैले तारो हान्ने तर लगाउन सक्नेलाई राम्रो निशानीवाजको रूपमा चिन्छन् । त्यस वर्षभरि गाउँले सबै मिलेर गर्ने शिकारको क्रममा उनी पहिलो शिकारी अर्थात् निशाना लगाउने व्यक्तिमा छानिन सक्छन् । म्हेनङको पूजामा भिमसेनपाती भनिने ‘फापरसिङमा’को पनि प्रयोग गर्दछन् । यसैको प्रयोग मर्चा बनाउने क्रममा पनि प्रयोग गर्ने गरेका पाइन्छन् ।
मिथकीय विश्वासकै कुरा गर्ने क्रममा खेप्पास्हुङलाई बिर्सन हुँदैन । कथा अनुसार आदिमानव म्हिए रेञ्जेनकी श्रीमती देवकन्या गङ्सल्मो थिइन् । पछि गोडा भाँचिएपछि देउताले छोरीलाई देवलोकमै फिर्ता लगेछन् । गर्भवती देवकन्या गङ्सल्मोले देवलोकमै छोरो जन्माइछन् । त्यो छोरो देवकन्या र मानिसको छोरो भएकोले चन अर्थात् शिकारी देउताको रूपमा स्थापित भएछन् । उनलाई शिकारी देउताहरूको प्रमुख मान्दछन् । पछि तिनी अंश खोज्दै आफ्ना बाउ कहाँ आइपुगेछन् । त्यसबखत उनका बाउले बाग्रैलमो- पहराकी देवीसँग विवाह गरेर घरबार बसाइसकेका रहेछन् । अंश मागेपछि सम्झौता भएछ; जसअनुसार पृथ्वीलोकमा रहेका दाजुभाइले दाजुको अंश स्वरूप प्रत्येक वर्ष म्हेनङमा एउटा कुखुराको भाले बलि दिने बाचा कसम बाँधेछन् । त्यसरी शिकारी दाजुलाई दिइएको बलिको रगत मात्रै दाइले खाने हुनाले बाँकी मासु भाइहरूले नै पाएछन् (स्रोत : ङ्हेमा थाङ्पाल, पोखरीनारायणथान-काभ्रे) ।
त्यसलाई प्रसादको रूपमा लिएको हुनाले वर्षामासभरि शरीरमा गढेको ओस/चिसो पनि उक्त भालेको मासु र सुपले निकाल्छ भन्ने जनविश्वास बनेको रहेछ । सम्झौताकै क्रममा बारीको कान्लामा फुलेका ताफोले म्हेन्दोको पहिलो अधिकारी पनि गुरुचनदेओ नै भएछन् । त्यसैले उनैलाई चढाएपछि मात्रै मनुष्यले चलाउन पाउने भएछन् ।
४.२ बौद्ध धार्मिक परम्परा
तामाङ बौद्ध परम्परा र मान्यता अनुरूप म्हेनङमा निम्नानुसारका परम्परागत संस्कृति तथा मान्यताहरू प्रचलन रहेका पाइन्छन् । जसका बारेमा सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
४.२.१ ङोवा
कुनै त्यस्तो समुदाय छैन होला; जसलाई आफ्ना पूर्खाप्रति गर्व नहोस् । संस्कार संस्कृतिमा जस्तोसुकै फरक भएतापनि सबै समुदायका मानिसले आफ्ना पूर्खालाई पुज्ने वा भक्तभाव प्रदर्शन गर्ने गर्दछन् । नेपालमा तामाङ लगायत सबै जातजाति तथा समुदायका मानिसहरूले आफ्ना पूर्खालाई पुज्ने गरेका पाइन्छन् । म्हेनङमा तामाङ बोनहरूले विशेषतः खेप्पास्हुङको बेला आफ्ना पूर्वजको नामावली वाचन नै गर्दछन् । त्यस्तैगरी लामाहरूले पनि मृतक पूर्खाहरू कहीँ नतरेको वा समस्यमा परेको भए समस्याबाट मुक्ति होस् अनि अमिताभ लोकमै पुगेको भएपनि सदा राम्रो होस्; त्यस्तैगरी पूर्वजको सदा आशीर्वाद प्राप्त भइरहोस् भन्ने यावत् मनसायका साथ तिनैका नाममा ङोवा गर्ने प्रचलन रहेको छ । भनिन्छ; ङोवाले घेवालाई पनि टार्न सक्छ । “ङोवा विशेषतः फूलपातीको दिनमा गर्ने प्रचलन रहेको छ (स्रोत : पेमा मोक्तान, ठूलोपाखर-सिन्धुपाल्चोक साथै हिरामान बल, सर्स्युँखर्क- काभ्रे) ।”
४.२.२ डोल्मोको पूजा
तामाङ लामागुरुहरूका अनुसार म्हेनङको बेलामा डोल्मोको पूजा आराधना गर्ने प्रचलन रहेको छ । लामागुरु पाल्साङबज्र लामाका अनुसार म्हेनङको बेलामा हरित तारा (ग्रीन तारा)को विशेष पूजा आराधना गरिन्छन् । यिनी म्हेनङकै छेपागेको दिन जन्मेको बताइन्छन् । ताराहरू २१ प्रकारका हुन्छन् । ”महायानी बौद्धहरूले आफ्नो मनोकाङ्क्षा पूरा गर्न र विभिन्न डर र भयबाट मुक्ति पाउन हरित ताराको पूजा गर्ने गर्दछन् (मोक्तान, २०७१ : १६७) ।”
४.२.३ खेपासुम/आखेसुम
बोन प्रचलनमा रहेको ‘खेप्पास्हुङ’लाई नै तामाङ लामाले भने ‘खेपासुम/आखेसुम’ भनेका हुन् । यसले त्रिरत्नलाई इङ्कित गर्ने लामाहरू बताउँछन् । त्यस्तै गरेर लामा धर्ममा तीन सङ्गेहरूलाई मान्ने गर्दछन् । तिनमा ‘छ्योइकु, ल्हुङ्कु र टुल्कु पर्दछन् । तिनैको पूजा गरिने हुनाले ‘खेपासुम’ भनिएको हो । ‘सुम’ले तीन भन्ने अर्थ दिन्छ । बौद्ध धर्ममा ती तीनलाई उच्च तहको बुद्धको रूपमा स्वीकार गर्ने प्रचलन रहेको छ ।
४.२.४ सङ्गे मेनलाको पूजा
बौद्ध धर्मावलम्बीहरूले पुज्ने बुद्धहरू मध्ये सङ्गे मेनला पनि हो । यसैलाई अङ्ग्रेजी भाषामा medicine Buddha भन्ने गरिएको हो । औषधी (जडिबुटी)सँग सम्बन्धित भएकोले नै यसलाई सङ्गे मेनला भनिएको स्पष्ट हुन्छ । तामाङ समाजमा “मन्त्र भनेको कुरै हो ! औषधी भनेको झारै हो !! भन्ने उक्ति रहेको छ (स्रोतः लबोन तुलाबहादुर गोले, सिन्धुली) ।” म्हेनङको शुभअवसरमा तिनै सङ्गे मेनलाको पूजा गर्ने परम्परा रहेको छ (स्रोतः इन्द्रबहादुर गोले, सल्लेभुम्लु-काभ्रे) ।”
४.२.५ गुरु पद्म सम्भवको पूजा
तामाङ समाजले बौद्धधर्ममा गुरु पद्म सम्भवलाई विशेष मान्ने गरेको पाइन्छ । तिनैले भारतबाट तिब्बत जाने क्रममा काठमाडौं वरिपरिका तामाङलाई असिना पानी तर्काउनको लागि खेतमा फिरफिरे गाड्ने विधि सिकाएको कुरा लेखक तथा अनुसन्धाता रवीन्द्र तामाङले असिना र लामापाथी सम्बन्धी लेखमा उल्लेख गरेका देखिन्छन् । तिनै गुरु पद्म सम्भवको जन्म भने कमलको फूलमा भएको जनविश्वास पाइन्छ । म्हेनङको छेपाच्यूमा नै तिनको जन्म भएको भन्ने गरिन्छन् । त्यसैले कतिपय लामाहरूले नै त्यसदिनलाई गुरु पद्म सम्भवको जन्मदिनको रूपमा मान्ने गरेका छन् । ‘उहाँले नै तन्त्रयान, बोन्पोवाद र बुद्ध धर्म मिलाएर बेग्लै किसिमको लामा बुद्ध धर्मको विकास गर्नु भयो । विशेषगरी ञीन्मा सम्प्रदाय उहाँले विकास गरेकै रूपमा चलिरहेको छ (मोक्तान, २०७२ : ७३) ।”
४.२.६ म्हरमेन संस्कृति
महायानी बौद्ध परम्परामा ‘म्हरमेन संस्कृति’को आफ्नै महत्त्व रहेको देख्न सकिन्छ । ‘म्हरमेन’ शब्द ‘म्हर’ अर्थात् घिउ मा ‘मेन’ जोडिएर बनेको हो; जसले दीप प्रज्ज्वलन गर्ने भन्ने अर्थ दिन्छ । हरेक अवसरमा म्हरमेन बाल्नुलाई बौद्ध संस्कृतिकै रूपमा लिन सकिन्छ । त्यसले आफ्नै अर्थ बोकेको हुन्छ । म्हेनङको अवसरमा प्रशस्त म्हरमेन बाल्नुले पनि तामाङ बौद्ध धर्ममा म्हेनङको महत्त्वलाई दर्साएको मान्न सकिन्छ ।
४.२.७ छ्योरे
छ्योरे पूजा तामाङ बोनमा मात्र नभएर लामामा पनि प्रचलित रहेका कुरा लामागुरु पाल्साङबज्र लामा बताउनु हुन्छ । उहाँका अनुसार ‘छ्योरे’ शब्द ‘छ्यो’ अर्थात् दिशा र ‘रे’ अर्थात् दिन मिलेर बनेको हो । विशेषतः छेपाकु (नवमी)को दिन चारवटा दिशाहरू (पूर्व, पश्चिम, उत्तर र दक्षिण); ती चारै दिशाहरूका बीचमा पर्ने अनदिशा भनिने अन्य चारवटा साथै पाताल र आकाश गरी दश दिशामा रहेका बुद्धहरूका पूजा गर्ने प्रचलन रहेको छ । यसले संसार (पृथ्वी) सृष्टिलाई सङ्केत गर्दछ भने प्रकृतिको पूजा पनि हो ।
४.२.८ सम्राट अशोक र अशोक वृक्ष
सम्राट अशोकलाई तत्कालीन समयमा चक्रवर्ती राजाको रूपमा चिनिएको थियो । उनले जीवनमा धेरै युद्धहरू गरे साथै जिते पनि ! अन्तमा कलिङ्गको युद्धबाट फर्कने क्रममा बौद्ध भिक्षुलाई भेटे । भेटको क्रममा बौद्ध भिक्षुको व्याख्या सुनेपछि उनले एकाएक राज्यसत्ता नै त्यागेर बौद्धधर्ममा प्रवेश गरे । आफ्ना सन्तानहरूलाई बौद्धधर्मको प्रचारमा खटाए । त्यसरी ती राजाले हतियार बिसाएको तिथि पनि म्हेनङको छेपाच्यूकै दिन परेको बताइन्छन् । त्यसरी हतियारसहित उठेका हात उनले तल झारेकैले अशोक वृक्षको हाँगो पनि माथितिर नगई तलतिर झरेका हुन् भन्ने मिथकीय मान्यता पनि पाइन्छन् ।
४.२.९ ञुङ्ने बस्ने
केही वर्ष अगाडिदेखि म्हेनङमा बौद्ध धार्मिक मान्यतानुरूप ञुङ्ने बस्ने वा राख्ने गरिएको छ । यस क्रममा एक दिन निराहार बसेर प्रेतलोक, एक दिन नबोलेर पशुलोक साथै दुःख सहेर नरकलोक भोग्ने प्रचलन रहेको छ । यसबाट तिर्यकबाट मुक्ति पाउने जनविश्वास रहेको पाइन्छ । दशैँको बेला अनेक थरी पशुपङ्क्षीहरूका हत्या गरेर बलि दिने प्रचलन रहेको छ । त्यसरी बलिमा चढेका प्राणीका चित्तले शान्ति प्राप्त गरुन् साथै मुक्ति मिलोस् भन्ने हेतुले यो व्रत बसेको बताउने गरेका पाइन्छन् ।
५. हिन्दू अतिक्रमण साथै सांस्कृतिक विचलन
हिन्दू अतिक्रमण र सांस्कृतिक विचलन सम्बन्धमा तामाङ मात्रै नभएर अन्य आदिवासी जनजाति वा मूलबासीहरू समेत समस्या परेका देखिन्छन् । ”राणाकालको प्रारम्भसँगै जंगबहादुर कुँवरले वि.सं. १९१० मा जारी गराएको मुलुकी ऐनले वैधानिक रूपमा चलाएको हिन्दुकरण अभियानबाट भ्रमित हुन पुगेको यथार्थतालाई बुझ्ने र विश्लेषण गर्ने प्रयासै नगरी आफ्नै पुर्खाको धरोहर मौलिक संस्कार र चाडबाडको गलत ढंगबाट व्याख्या, विश्लेषण गर्ने प्रवृत्तिले थप जटिलता सिर्जना भएको छ [श्रीसमगर, मीन ‘मगर जातिका संस्कार र चाडबाड’ (२०७१) पृ. ११९]।” उदृत अंशले सङ्केत गरेको समस्या तामाङ समाजमा पनि देखिएको छ ।
उक्त लेखमा यो पनि भनिएको छ- “झाँक्रीवादी धार्मिक मान्यता, प्रकृतिपूजा र त्यसकै केन्द्रीयतामा रहेर विकास भएका चाडबाड, संस्कार, रीतिरिवाजव, लोकगीत, नृत्यु भेषभूषा आदिका समग्रता नै मगराती सभ्यता हो (ऐ.ऐ.) ।” यहाँ तामाङ समुदायले पनि आफ्नो मौलिक पहिचानमूलक सभ्यताको खोजी गर्ने हो भने आदिवासी/मुलबासी भएको नाताले बोन (बोम्बो/झाँक्री)वादी सांस्कृतिक मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्ने हुन्छ । त्यही गर्न नसकेकैले अहिले तामाङ संस्कृतिहरू खिचडी हुने क्रममा रहेको देख्न सकिन्छ । तामाङ समुदायमा पनि उच्च खानदानी वा पढेलेखेको भनी देखाउनको लागि पनि आफ्नौ मौलिक पहिचानसहितको संस्कृतिलाई वास्ता नगर्ने अनि हिन्दूवादी सोच राख्नेहरूको कमि छैन ।
पछिल्लो समयमा आएर बौद्धधर्मको नाममा मौलिक संस्कृतिहरूमाथि प्रहार भएको भन्ने गुनासाहरू पनि नसुनिएका होइनन् । कतिपय गुम्बा तथा विदेशमा गएर बौद्धदर्शन अध्ययन गरेर आएकाहरूले तामाङ संस्कृति सम्बन्धी अध्ययन गरेके हुँदैनन् । तिनै व्यक्ति बौद्धगुरु बनेर तामाङ बस्तीमा प्रवेश गर्दछन् । त्यहाँ रहेका ऐतिहासिक मौलिक पहिचानयुक्त साथै पूर्खाको नासोको रूपमा स्थापित तामाङ मूल्य र मान्यतालाई बुझ्न सक्तैनन् । त्यसपछि प्रचलित तामाङ संस्कृतिलाई गलत र गर्नै नहुने कार्य भन्दै सखाप पार्दै अगाडि बढ्दछन् । यस्तो हुनु सरासर दूर्भाग्यपूर्ण हो भन्ने गुनासाहरू पनि प्रशस्त आउन थालेका छन् ।
यसै प्रसङ्गमा मीन श्रीसमगर आफ्नो लेखमा अगाडि लेख्छन्, ‘… २०४६ सालपछि भने मौलिकताका नाममा बौद्ध धर्मका विभिन्न सम्प्रदायका कर्मकाण्डी संस्कार, हिन्दू कर्मकाण्डी संस्कार र आफ्नौ मौलिक परम्पराका केही अंश मिसाएर ‘बुख्याँचा’ संस्कृति निर्माण अनपेक्षित तथा अप्रत्यासित रूपमा भइरहेको देखिन्छ (ऐ.ऐ. पृ. ११७) ।” अहिले तामाङ समुदाय पनि यही यथार्थको शिकार हुने क्रम दैनदिन बढिरहेको छ । तथापि तामाङ समुदायमा बौद्ध धर्म दर्शन अर्थात् लामा संस्कृति पनि धेरै अगाडिदेखि नै प्रचलनमा रहेको देखिन्छ । त्यसैले पूर्ण रूपमा लामा संस्कृतिलाई यस समाजबाट हटाउन सकिने अवस्था छैन ।
लामामा पनि गाउँमा रहेका टीका लामा भनिएकाहरू र पछिल्लो समयमा बाहिरफेरो पुगेर पढेर आएका अब्बल दर्जाका भनिएका लामाबीचको संयोजनको समस्या रहेको छ । उहिलेदेखि प्रचलित तामाङ लामाले कर्मकाण्ड चलाउँदासम्म समाजमा कुनै समस्या थिएन । बरू राम्रोसँग चलिरहेकै थियो । पछिल्लो समयमा घुसेका नयाँ लामाहरूले नै अघिल्ला पुस्ताका; जो तामाङ समुदायको आफ्नै भइसकेका छन्; तिनैलाई हटाएर आफूहरू स्थापित हुन खोज्दाखेरि यस्तो समस्या देखिएको भन्ने सुनिन्छन् ।
माथि उल्लेख गरिएका तथ्यहरूले हामी तामाङ समुदाय भनेको सर्वप्राचीन बोन धर्मको अनुयायी भन्ने स्पष्ट गर्दछ । यसको अर्थ नेपालको पनि प्रस्तावित ताम्सालिङ क्षेत्रको मात्रै नभएर नेपाल उपत्यकाको समेत पहिलो बासिन्दा हो भन्ने स्पष्ट हुन्छ । यिनीहरू बोनधर्मका अनुयायी र अभ्यासकर्ता नै हुन् । पछिल्लो समयमा यिनीहरूले बौद्धधर्मलाई पनि अङ्गिकार गरेका थिए । तथापि त्यसबेलाको बौद्धधर्मले दार्शनिक रूपमा आफ्नो र सांस्कृतिक रूपमा बोनलाई आत्मसात् गरेका थिए । त्यसैले ती दुईका बीचमा द्वन्द्वको सट्टा सामिप्यता कायम रहेको थियो ।
शुरूमा हिन्दूधर्मको प्रवेशले तामाङ समुदायमा खासै असर गरेको थिएन् । मल्ल कालमा आएपछि हालको पशुपति तामाङहरूबाट लुटियो । त्यस क्षेत्रका विहारहरू भत्काएर हिन्दूकरण थालेको भन्ने अझैपनि धेरैले दाबी गर्दै आएका छन् । तैपनि पृथ्वीनारायण शाहको प्रवेश हुँदासम्म पनि तामाङ समुदायले विभिन्न स्थानमा तामाङ राज्यहरू कायम गरेर एकलौटी कबिलायी शासन चलाएर बसेकै थिए । अनेकन छलकपट गर्दै शाहहरूले तामाङ राजा र राज्यहरू सखाप पारे । तामाङ भूमिहरू खोस्न थाले । राणाकालमा आइपुगेपछि चरम दमन गरे । आफैँले पालेको आफ्नै गोरु पनि काटेर खान वा कुलपूजा गर्न दिएनन् । मानिस मर्दा लाने गरिएको ‘मेस्या’माथि बन्देज लगाए । पछि त्यही ‘मेस्या’ अर्थात् गोरुको मासु बाख्राको मासुद्वारा टार्न थाले । त्यसपछि भने ‘मेस्या’ पनि ‘म्हेस्सा’ वा ‘म्हेप्सा’ वा ‘मेप्सा’ अर्थात् बाख्राको मासुमा परिणत गरिए ।
थोरै अगाडि हेर्ने हो भने तेमालमाथि अशोजको २ गते आक्रमण गरेर समाप्त पारेको देखिन्छ । त्यसको अर्थ आफ्नो म्हेनङ मान्ने तयारीमा रहेको बेला झुक्याएको स्पष्ट हुन्छ । गोर्खाको लिगलिग कोटका घलेहरूमा त सोही म्हेनङको अवसरमा राजा नै छान्ने प्रचलन रहेको थियो । सोही बेला छलपूर्वक घलेको राज्य शाहहरूले कब्जा गरेका थिए । त्यसअघि मगरहरूमा झाँक्रीवादी संस्कृति रहेको स्पष्ट भइसकेको छ । त्यस्तैगरी गुरुङदेखि राइ र लिम्बुहरूसमेत झाँक्रीवादी सांस्कृतिक प्रचलनका अनुयायी भएको शङ्का छैन । मीन श्रीसमगर दाबी गर्छन्, ”… डस्याक्के (थालनी/प्रारम्भ) शब्द प्रयोग हुनेक्रममा डस्याक्केबाटै दसैँ शब्दको व्युत्पत्ति भएको मानिन्छ (ऐ.ऐ. पृ. १३८) ।” मगरातमा ”दसैँमा गरिने पितृ तथा कुलानपूजा … परम्परा झाँक्रीवादी तथा प्रकृतिपूजक धार्मिक विश्वास र मान्यताका स्पष्ट संकेत पाइन्छन् (ऐ.ऐ. पृ १३५) ।”
यसबाट के स्पष्ट हुन्छ भने मगरातीहरू दशैँमा आफ्ना पितृ तथा कुलानपूजा गर्दथे । उनीहरू प्रकृतिको पूजा गर्दथे । उनी अझै अगाडि लेख्छन्, “उँधेली गामपूजा परम्पराबाट शरदकालीन दसैँ मनाउने प्रचलन विकास भएको मानिन्छ । मकै भित्र्याउने र जौ छर्ने समयमा असोजे दसैँ मनाइन्छ । साउनदेखि असोजसम्म मकै भित्र्याउने र असोजदेखि जौ छर्ने काम हुन्छ । मुख्य अन्नबाली मकै र जौलाई भूमि तथा प्रकृति देवताका पवित्र एवम् अमूल्य प्रसाद सम्झेर छर्ने र भित्र्याउने समयमा पूजाआजा र नाचगान गरी तिनै अन्नका जमरा शिरमा लगाउने परम्पराबाट ऐतिहासिक मगरात क्षेत्रमा दसैँ चाड अभ्यास भएको देखिन्छ । दसैँको समयमा खनजोत गर्न तथा अन्नबाली काट्न प्रयोग गरिने कृषि औजार तथा हातहतियार, आफ्ना कुलपितृ तथा स्थानीय देवदेवीको पूजा गरिन्छ । त्यहाँका जीव, वनस्पति, जल, थल, हावा आदि प्राकृतिक वातावरणलाई स्थानीय देवदेवीका रूपमा पुज्ने गरिन्छ । असोजे दसैँलाई धुमधामसँग मनाइने हुँदा बडा (ठूलो) दसैँ भन्ने गरिएको हो (ऐऐ. पृ. १४४) ।”
यहाँ बुझ्नुपर्ने तथ्य के हो भने मगरहरूले दशैँ भनेर मानेका थिए तर त्यसको अर्थ हिन्दूले भनेजस्तो राक्षसहरूमाथि देवताहरूले विजय प्राप्त गरेको अर्थमा होइन । यहीनेर तामाङले ‘म्हेनङ’ मान्नुको अर्थ पनि मगरको जस्तै नै हो । तथापि राणाकालीन शासकहरूले जबरजस्ती मगरको दशैँ र तामाङको म्हेनङमाथि उनीहरूको दशैँ ल्याएर खप्ट्याए । जसले गर्दा मगर र तामाङको मौलिक संस्कृति चाहिँ ओझेल पर्न थाल्यो । कतिपय मौलिक संस्कृतिहरू दशैँद्वारा सखाप नै पारियो । त्यसैको परिणाम स्वरूप आज हामीलाई ‘म्हेनङ’ भन्दा आफ्नो पूर्खाले स्थापित गरेको पितृ/ज्योहो पूजा र अन्नबाली भित्र्याएको खुशीयालीको पर्व भन्ने अर्थ आउँदैन । बरू हिन्दूद्वारा लादिएको दशैँको ‘घीनलाग्दो अनुहार’ मात्रै आउने गरेको छ । त्यसैले अब दशैँलाई चिन्ने र त्यसलाई फालेर आफ्ना पूर्खाले स्थापित गराएका संस्बृतिको खोजी र पालना नै आजको तामाङ समुदायले सबैभन्दा अगाडि गर्ने पर्ने काम भएको छ ।
तामाङ राज्यहरू शाह वंशले कब्जा गरेर करीब २४० वर्षमात्रै भएको छ । त्यसमा पनि दशैँ लादिएको राणाकालमा आएर मात्रै भन्ने देखिएको छ । कुनै पनि जातिलाई सखाप पार्नको लागि त्यसको संस्कृतिमाथि प्रहार आवश्यक हुने तर्क गरिन्छन् । सोही अनुरूप नेपालमा वि.सं. १९७४ बैशाख (इ. १९१७) मा लिइएको भाषा सम्बन्धमा हर्क गुरुङले, कृष्णचन्द्र अर्याल एवं वैद्यनाथ जोशी (सेढाई) गोर्खा भाषा, गोर्खा एजेन्सी कार्यालय, नेपाल, वैशाख १९७४ (इ. १९१७) लाई उदृत लेखेका छन्- “अझ सम्म एक ही “गोर्खा भाषा” को सर्व-व्यापकता हुन सकेको छैन, किन्तु नेवार, भोटे, मगर, गुरुङ, लिम्बु, सुनुवार, दनुवार, थारु प्रवृतिका जंगली भाषालाई अर्ध-चन्द्र (गलहती) लगाउन्न, त्यहाँसम्म “गोर्खा भाषाको उन्नती हुन्छ” भन्नु र “मुख्य भाषा कहिन योग्य छ” भन्नु केवल मनोलड्डु मात्र हो (जनजाति सेरोफेरो, इ.सं. २००४ पृ. २९) ।”
त्यसपछिको उदाहरण दिँदै हर्क गुरुङ लेख्छन्, ”Education in Nepal, Report of the Nepal National Education Planning Commission. Kathmandu : College of Education, 1956, p. 97 ।” लाई उदृत गर्दै लेख्छन्, “माथिको सोचाई राणाकालीन भएकोले स्वाभाविक ठान्नु पर्दछ । तर प्रजातन्त्र स्थापना पछि ई १९५६ मा अंग्रेजी भाषामा प्रकाशित नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको निम्न भनाई पनि त्यहि एकलौटी पाराको छ : And it should be emphasized that if Nepali is to become the true national language, then we must insist that its use be enforced in the primary school … Local dialects and tongues, other than standard Nepali, should be vanished [banished] from the school and playground as early as possible in the life of the child (ऐ.ऐ. पृ. ९२) ।
यी उदाहरणहरूले पनि तामाङ माथि हिन्दूको दशैँ कहिलेदेखि लादियो होला भन्ने सम्बन्धमा अनुमान लगाउन सहज बनाएको छ । सन् १९२७ मा बौद्धधर्म प्रचार गरेको अभियोगमा बौद्ध भिक्षुहरूलाई देशनिकाला गरेका थिए । यसबाट पनि हिन्दूधर्मलाई नेपालका आदिवासी जनजातिले कसरी हेरेका थिए । हिन्दूको सट्टा तिनीहरूले बौद्ध र बोन धर्मलाई कसरी अभ्यास गरिरहेका थिए भन्ने स्पष्ट गराउँदछ । यस्तै दमन र अतिक्रमणका कारण हिन्दूधर्मको हाबी र मौलिक पहिचानयुक्त धर्म संस्कृतिको समाप्ति क्रम चलेको देख्न सकिन्छ ।
स्मरणीय तथ्य यो पनि हो कि- तामाङ समुदाय आजभन्दा करीब ३२ हजार वर्ष अगाडि नै काठमाडौं वरिपरि आइपुगिसकेका थिए । यस सम्बन्धमा जनकलाल शर्माले आफ्नो पुस्तक ”हाम्रो समाज : एक अध्ययन” (२०५८) पृ. ३१५-११७ मा उल्लेख गरेका छन् । हिन्दूहरू भने आजभन्दा आठ हजार वर्ष अर्थात् इशापूर्व ६,००० वर्ष अगाडिसम्म पनि रुसको माथ्लो वोल्गातटमै रहेका थिए । त्यसपछि बसाईं सर्दै आउने क्रममा इ.पू. २,००० मा मात्रै हिन्द- आर्य कहलिएका थिए । तिनीहरूले बेबिलोन कब्जा गर्नु अघि नै त्यहाँ सभ्यताको विकास अरूले नै गरिसकेका देखिन्छ । सिन्धु सभ्यताको पनि स्थापना अगाडि नै त्यहाँ सभ्यता कायम भइसकेको थियो भन्ने तथ्यलाई महापण्डित राहुल साङ्कृत्यायनले आफ्नो कृति ”वोल्गादेखि गङ्गा”मा उल्लेख गरेको देख्न सकिन्छ । जुन कृतिलाई नारायणप्रसाद आचार्यले अनुवाद गरेका छन् ।
६. समयले जन्माएको आवश्यकता र महत्त्व
भनिन्छ; समय बलवान हुन्छ । त्यसैले समयसँगै हरेकले आफूलाई बढो जतन साथ समाहित गराउन सक्नुपर्दछ । त्यसक्रममा असफल हुनु भनेको जीवनमै असफल हुनु हो । यही कारण हुनुपर्दछ- जीवन भनेको सम्झौता हो भनेर भन्ने गरेको पनि ! कतिपयले भने शक्तिशालीहरू समयसँगै होइन; बरू समयचाहिँ तिनीहरूसँगै समाहित हुन्छ; भन्छन् ! यस्तै तार्किक कुराले कहिले कहीँ राम्रो कुरालाई जन्म दिएको हुन्छ । अझ भनौं समयले यस्तो मोडमा पुर्याइदिन्छ- जहाँ केही न केही गर्न कर्ता बाध्य हुने गर्दछ । त्यस्तैगरी आम नेपाली आदिवासी जनजातिका साथै तामाङलाई पनि समयले एउटा यस्तो बिन्दूमा उभ्याएको छ । त्यही बिन्दूनेर समयले आवश्यकता कोरलेको छ । त्यसको आफ्नै महत्त्व पनि स्थापित गराइदिएको पनि छ ।
विश्वदेखि नेपाली परिवेशले कम्तिमा पनि आदिवासी जनजातिहरूलाई आफ्नो मौलिक संस्कृतिका बारेमा अध्ययन, अनुसन्धान, उत्खनन् साथै पुनरुत्थानको लागि जगाएको छ । पुनःव्याख्या, संरक्षण तथा छलफलको लागि डिस्कोर्शको रूपमा स्थापित गर्न गराउन पनि दबाब दिइरहेको देख्न सकिन्छ । बद्लिँदो परिवेश साथै राजनैतिक खिचातानीले ऐतिहासिक कालखण्डहरूमा राज्यसत्ताले कोतरेको घाउ र तिनका खाटाहरूलाई बल्झाइरहेको छ । उपचारको खोजी गर्न अनि पूर्खाहरूमाथि भए गरिएका घोर अपमान र अन्यायको क्षतिपूर्ति माग्न उक्साइरहेको छ । आफ्ना पूर्खाबाट छलकपटपूर्ण तरिकाले खोसिएका नासोहरू खोज्न र प्राप्त गर्न अह्राइरहेको छ ।
यसै कारण हुनुपर्दछ- नेपालमा तामाङ समुदायले आफ्नो पहिचान र सामर्थ्य प्रदर्शनीको लागि अवसर खोजिरहेको छ । आफ्नो भाषा, धर्म, संस्कृति, भूमि, इतिहास र निरन्तरताको पाटोहरूको उत्खनन् गरिरहेका छन् । यो एक प्रकारको अधिकार प्राप्तिको आन्दोलन पनि हो । त्यसैले अब तामाङ समुदायले म्हेनङलाई हिन्दूको दशैँको रूपमा हेर्नु भन्दा पनि आफ्नै पूर्खाले स्थापित गरेका मौलिक पहिचानमूलक धरोहरको रूपमा बुझ्न आवश्यक भएको छ । अन्यथा समुदायको पहिचान समाप्त हुनेछ । अधिकार प्राप्तिको आन्दोलन पनि बेअर्थ सावित हुने साथै ओझेल पर्ने मात्रै नभई समाप्त नै हुन बेर लाग्ने छैन ।
७. चुनौती
चुनौतीविहीन शायद केही हुँदैन । म्हेनङको पनि आफ्नै चुनौतीहरू छन् । यसअघि हिन्दू राज्यसत्ताद्वारा म्हेनङलाई सिध्याउने ध्येयका साथ उनीहरूको दशैँ लादेका थिए । जसले गर्दा, म्हेनङ एक किसिमले लङ्गटो जस्तो भैसकेको छ । त्यसमा पनि बोन र लामाधर्मका बीचमा देखिएका मतभेदहरूले पनि थप जटिलता थपेको देख्न सकिन्छ । पृथ्वीनारायण शाहदेखि राणाकाल हुँदै पञ्चायती सत्ताले गरेको विभेदले समग्र समुदाय नै थिलथिलो भएको छ । वि.सं. २०४६ सालपछि आएको परिवर्तनले पनि न तामाङ, न हिन्दू अनि न बोन, न लामा बनाएको छ । ती सबैको समिश्रणले पूरै संस्कृतिलाई खिचडी बनाएको छ ।
यसअघि परिवर्तनको नाममा केही प्रयासहरू त भएका थिए । ती प्रयासहरू पनि क्षणिक आवेग साथै समाजशास्त्रीय तथा मानवशास्त्रीय गम्भीर अध्ययन बिनाका थिए । परिणामतः दशैँ बहिष्कारको नाममा बौद्धधर्मको अन्धाधुन्दा नक्कल एवंरीतले बोन धर्म संस्कृतिमाथि हेयको भाव सिर्जना हुन पुग्यो । अस्पष्ट साथै मनगढन्ते लेख, रचना साथै ग्रन्थहरूको प्रकाशनले समुदायलाई कुहिरोको काग बनायो । साउनमा आँखा फूटेको गोरुले जहिले पनि हरियो देख्छ भन्ने उखानका गोरु भएका छौं । आफ्नो मौलिक संस्कृतिलाई चिन्न नसक्ने र आफ्नैलाई पनि अर्को भनेर तर्सिने रोग लागेको छ । पुनःजागरणको कुरा त गरेकै हो तर व्यवहारमा उतार्ने कर्मतिर कहिल्यै लागिएन । यही नै म्हेनङ सम्बन्धमा तामाङ समुदायको मुख्य चुनौती बनेको छ ।
८. सुझाव
अब तामाङले आफ्नो र अर्काको चिन्न सक्नुपर्दछ । हामी को हौँ भनेर चिन्नका निमित्त को होइनौं भन्नेमा स्पष्ट हुन जरुरी भएको छ । आफ्नो मौलिक संस्कृति, भाषा, धर्म र पहिचानको बारेमा समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययन थाल्न सक्नुपर्दछ । आदिवासी अध्ययनका निमित्त विश्वविद्यालय नै खडा गर्न सक्नुपर्दछ । म्हेनङ लगायत संस्कार संस्कृतिमाथि थोपरिएका अन्य संस्कृति साथै आफ्नो धर्म र संस्कृतिको मुख्य आधार के हो भन्नेमा स्पष्ट हुन सक्नु आजको आवश्यकता हो । अन्तरजातीय विवाह तथा स्वाँगेभाइ मिच्ने क्रमलाई रोक्न सक्नुपर्दछ । भाषा, भेषभूषा तथा खाद्य संस्कृतिका बारेमा व्यापक छलफल थाल्न ढिलो गर्न हुन्न । कम्तिमा पनि म्हेनङभरि तामाङ भाषा, पहिरनको प्रयोगलाई अनिवार्य बनाउन सकेमा मात्रै पनि भोलिको उज्यालो भविष्य छिटै साक्षत्कार हुनेछ ।
९. निष्कर्ष
एक्ला-एक्लै होइन; सामूहिक र सामाजिक हुन सक्नुपर्दछ । आफू खुशी निर्णय गर्ने बानी त्याग्न सक्नुपर्दछ । म्हेनङ हाम्रो होइन वा हिन्दूको भनेर बहस गर्नुको सट्टा यथार्थ तथ्यलाई हृदयङ्गम गर्दै यसैपालिदेखि मान्न सक्नुपर्दछ । म्हेनङ हिन्दूको हो वा बोनको कुरीतिको उपज भन्नुको सट्टा मौलिक पहिचानको निमित्त आफ्ना पूखाले निर्माण गरिदिएका उपहारको रूपमा आत्मसात् गर्न सक्नुपर्दछ । यस पर्वलाई हिन्दू वा बौद्ध आँखाबाट मात्र हेर्ने र गलत व्याख्या गर्ने बानी त्याग्नु सक्नुपर्दछ । म्हेनङ हिन्दूको होइन । यो त तामाङको मौलिक पर्व हो । दशैँ त धेरै पछि मात्र आएको हो । म्हेनङ त धेरै अघि नै तामाङ पूर्खाले निर्माण गरेका थिए । त्यसैले म्हेनङलाई घृणा हैन माया गरौं । यसैले अधिकार प्राप्तिको आन्दोलनलाई सफलताको शिखरसम्म पुर्याउनेछ ।