राजा धर्मदेवले छोरा मानदेव प्रथमलाई बोलाएर उनलाई थाहै नदिइ 'भोलि बिहान काग कराउनु अगावै नारायणहिटीको ढुंगेधारा नजिक एउटा सेतो कपडामा ढाकिएको वस्तु हुनेछ । त्यसलाई बिहानको पूरा उज्यालो नहुँदै तरवारले दुई टुक्रा पारिदिनु' भन्ने आदेश दिएछन् ।
नेपालको अन्तिम राजाको राजदरवार नारायणहिटी हाल राष्ट्रिय संग्रालयको रुपमा अवस्थित छ । संवत् २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए । त्यसको ठिक ८ महिनापछि तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले सङ्ग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए । नारायणहिटी सङ्ग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।
नारायण मन्दिर र हिटी भएको उक्त दुई संरचनाका आधारमा नै यस दरबारको नाम ‘नारायणहिटी’ रहन गएकोमा इतिहासविद्हरू एकमत छन् ।
नारायणहिटी पछिल्ला हत्याकाण्डसँग जोडिएकाले पटक-पटक विवादित र शंकास्पद नजरले हेर्ने गरिन्छ । तर, प्रचलित किम्बदन्तीहरूले यस दरबार परिसरमा रहेको नारायणहिटी नामको हिटी (धारो) सँग पनि हत्याकाण्ड जोडिएको संकेत गर्दछ । किम्बदन्तीका आधारित सो इतिहास वास्तवमै कहालीलाग्दो छ । सो हत्याकाण्डलाई नेपाली राजनीतिमा छोराबाट बाबुको ज्यान लिइएको सम्भवतः पहिलो घटनाको रुपमा मान्ने गरिन्छ।
नारयण मन्दिर :
राजपरिवारले पूजा गर्ने नारायण मन्दिर दरबारको छेउमै अवस्थित छ । हाल यहाँ आमभक्तजनले पूजाआज्ञा गर्दछन् । कृष्णजन्माष्टमी र रामनवमीमा यस मन्दिरमा मेला लाग्ने गर्दछ । गुठी संस्थानले उपलब्ध गराउँदै आएको मासिक ६ हजारले नै समग्र पूजाआजा र पर्वपूजा गर्दै आइरहेकाले रकम अभाव भएको मन्दिरका पुजारी रोहिणीप्रसाद पौडेलको भनाइ छ ।
शिखर शैलीमा बनेको नारायण मन्दिरमा मन्दिर भन्दा पुरानो विष्णुको दुर्लभ चर्तुव्यूह मूर्ति रहेको छ । विभिन्न चार दिशामा चार स्वरुप (वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्र) एउटै शिलामा कुँदिएको चर्तुव्यूह मूर्ति मन्दिरभन्दा पनि पुरानो हो । चतुर्व्यूह नारायणलाई एउटै शिलाको चार दिशामा कृष्ण र उनका भाइ बलराम, छोरा प्रद्युम्न र नाति अनिरुद्धको स्वरुप बताउने गरिन्छ ।
गोपालराज वंशावलीमा विष्णुगुप्तले नारायण मन्दिर बनाएको उल्लेख भएबाट यस मन्दिर सातौँ शताब्दीमा निर्मित रहेको बुझ्न सकिन्छ ।

नारायण मन्दिर, तस्बीर : शिलापत्र
हिटी
ढुंगेधाराको वास्तविक नाम ‘इति’ हो; पछि अपभ्रंश भएर ‘हिटी’ हुन पुगेको हो । लिच्छवीकालमा यसलाई ’प्रणाली’ भन्ने गरिन्थ्यो; पछि मध्यकालमा इति भएको मानिन्छ । ‘इति’लाई नेवारी भाषामा येचु:ती अर्थात् ‘सफा पानी’ भनेर बुझिन्छ ।
नारायाण मन्दिरको पारीपट्टि (सडकपारी) एउटा हिटी (प्रणाली) रहेको छ, जहाँबाट पानी ल्याई नारायणलाई जलाभिषेक गर्ने गरिन्छ । हिटी सभ्यता लिच्छविकालमै समुन्नत भएको प्रमाणस्वरूप यस हिटी रहेकाले यसको संरक्षण नितान्त आवश्यक छ । इतिहासविद् प्रा डा. सुदर्शनराज तिवारीका अनुसार ‘नारायणको मूर्ति भन्दा पनि हिटी पुरानो हो ।’ यद्यपि उक्त हिटीमा कुनै पनि लिच्छविकालीन अभिलेख भने पाइँदैन । हिटीमा रहेको तीन अभिलेखमध्ये एउटा अभिलेख भने मल्लकालीन समयको हो । लिच्छवीकालीन समयमा यस हिटी केकस्तो अवस्थामा रहेको थियो भन्नेबारे इतिहास मौन छ ।
यस हिटीमा रहेको मकर पछाडि फर्किएको छ, जो उपत्यकाका पुरिएका/नपुरिएका ६०० भन्दा ज्यादा हिटीहरूमा देख्न पाइन्न । तर नारायणहिटीको हिटी मात्रै एक त्यस्तो हिटी हो जसमा मकरको स्वरुप पछाडिपट्टि घुम्रेको पाइन्छ । लिच्छवीकालमा सामान्य मकर र चतुरकुष आकारमा ढुंगेधाराहरू बन्थे भने मध्यकालमा अलंक्रित मकर र पञ्चकोनियआकृतिमा ढुंगेधाराहरूको विकास भएका हुन् । (दीपेन्द्र रोक्का)
यस हिटीको सन्दर्भमा प्रचलित किम्बदन्तीले एकसाथ दुई वटा घटना हाम्रोसामू राख्दछ;
एक- गोही र हात्ती मिश्रित मकर घुम्नुको कारण,
दुई- यस ठाउँमा लिच्छवीकालीन समयमा हत्याकाण्ड चलेको थियो ।

मकरको स्वरुप पछाडिपट्टि घुमेको छ, तस्बीर : शिलापत्र
किम्बदन्ती
१.
किम्बदन्ती अनुसार, ‘लिच्छ्वीकालमा राजकुमार मानदेव प्रथमले खडेरी पर्नबाट राज्यलाई जोगाउन आफ्नै पिता धर्म देवको टाउको काटेका थिए । बाबुको बलि दिएर राज्यलाई खडेरीमुक्त बनाएको बताइन्छ ।’
कथा अनुसार, त्यतिबेला देशमा खडेरी परि उपत्यकामा सम्पूर्ण ढुंगेधारा नदी, पोखरी सुक्दा जनता आकुल व्याकुल भइ निकै हाहाकार मच्चिएको थियो । यस पीडाबाट राजा धर्मदेव निकै पिरोलिए । यसको निराकरण कसरी गर्ने भनेर ज्योतिषीलाइ देखाउँदा राज्यमा ३२ लक्षिणयुक्त व्यक्तिलाई मानव बलि दिएपछि खडेरी अन्त्य हुने सल्लाह दिएछन । ३२ लक्षणले युक्त मान्छे खोज्न थालेछन् तर त्यस्तो व्यक्ति आफू मात्र रहेको आभास उनलाई भयो । तदनुसार राज्यको रक्षार्थ उनले आफूलाई नै बलि चढाउने निधो गरे ।
सोही योजना अनुसार मानदेव प्रथमलाई बोलाएर उनलाई थाहै नदिइ “भोलि बिहान काग कराउनु अगावै नारायणहिटीको ढुंगेधारा नजिक एउटा सेतो कपडामा ढाकिएको वस्तु हुनेछ । त्यसलाई बिहानको पूरा उज्यालो नहुँदै तरवारले दुई टुक्रा पारिदिनु” भन्ने आदेश दिएछ्न् । बुबाको आज्ञा बमोजिम राजकुमारले तरवारले प्रहार गरे । रगत बग्न थाल्यो । कपडा हटाएर हेर्दा उनले आफ्नै पीता धर्मदेवको शरीर देखे ।

२.
धर्मदेवको बली दिएलगत्तै धाराबाट पानी आउन थाल्यो । त्यही पानीले तरबार पखाल्न जाँदा ‘पितृहत्या गर्नेको मुख पनि हेर्दिनँ’ भनेर धाराले समेत उल्टो मुख लगाएको भन्ने उल्लेख पाइन्छ । जसकारण नारायणहिटीको दुईवटा ढुंगेधाराको मकर स्वरुप पछाडिपट्टि फर्किएको जनश्रुति प्रचलित रहँदै आएको छ । नारायणहिटी भित्र रहेको सो धारालाई ‘ब्रम्हदण्डको स्वरूप’ उल्टो फर्काइएको बताउनेहरू पनि छन् । नारायणहिटी पापीको अनुहार हेर्दिन भनेपश्चात् हिटीमा राखिएको ब्रम्म्हदण्ड उल्टो पारेर गाडेर प्रयोगमा ल्याइएको कथनबारे खोजी हुनु आवश्यक छ ।
चाँगुनारायणलगायतका विविध अभिलेखमा हेर्ने हो भने पनि धर्मदेवको अकस्मात् मृत्यु भएको र रानी राज्यवतीको बिलौना बारे पटक-पटक उल्लेख गरिएको हुनाले पनि सो किंवदन्तीलाई अस्वीकार गरिहाल्न इतिहासविदहरूले सकेका छैनन् ।
३.
अर्को कथनअनुसार, पिताको हत्यापश्चात् राजकुमार मानदेव प्रथम पाप मोचानार्थ बौद्धदेवी बज्रयोगिनीको ध्यान गर्न साँखु पुगेको बताइने गरिन्छ । यस कथनले तिनै देवीको आज्ञा मुताविक कश्यपबुद्धको अस्थि राखी राजकुमार (अब राजा) मानदेव प्रथमले बौद्धनाथ स्तुपा बनाएको बताउँदछ ।
‘बौद्धनाथको परिचय, वातावरण संरक्षणमा देखापरेका समस्या र समाधान’मा श्रीमती सोभा श्रेष्ठले देवकन्लेया भई स्वर्गमा जन्मिएकी अप्सराले एक आइमाई सुखान्तेमा (काङ्मा)को भेषमा पृथ्वीलोकमा आई (च्यूत भई) स्तुपा बनाएकी बताएकी छन् ।
‘सुखान्तेमा (काङ्मा) स्वर्गलोकबाट च्यूत भई धर्तीमा एक सुंघुर पाल्नेको घरमा जन्मिएकी थिइन् । चार भाई छोराहरूको आमा रहेकी, धार्मिक प्रवित्तिकी यिनले जीविकोपार्जनको लागि हाँस पाल्ने र त्यसबाट बचेको पैसाले अमिताभ बुद्धको स्तूप निर्माणका लागि राजासँग जग्गा माग्थिन। त्यसबखत छुद्र जातका आइमाईले स्तूप निर्माण गर्नु हुँदैन र जग्गा पनि दिनु हुँदैन भनेर राजालाई भनेका थिए । तर राजाले धार्मिक कामको लागि भनेर जग्गा उपब्ध गराए तर, निर्माण कार्य पुरा नहुँदै कालगतिले उनको मृत्यु भयो । यसपश्चात् उनका चार भाइ छोराहरूले कश्यप बुद्धको अस्तधातु राखी उक्त स्तूप निर्माण गरेको र निर्माण कार्यमा दुई हजार पाँच सय पचपन्न दिन लाग्यो ।”

काठमाडौंको उत्तर-पूर्वी भागमा रहेको बौद्धनाथ स्तुप, जसलाई नेवारहरू ‘खास्ती’ भन्छन्। यस चित्रकलामा कलाकारले दुई-तीन सय वर्षअघिको बौद्धनाथ स्तुप र वरपरको जनजीवन परिकल्पना गरेका छन्। चित्रमा असोज-कात्तिक महिनातिर बिहानको न्यानो घाममा अन्नपात र जाँडका घ्याम्पा सुकाएर मानिसहरू घाम ताप्दै छन्। अलि पर कञ्चन बागमती नदी, हराभरा फाँट, जंगल र विश्वरूप मन्दिर देखिन्छन्। चित्र: हरिप्रसाद शर्मा
श्रेष्ठको यस कथनले राजा मानदेवले बाबुको हत्या पश्चात्को केहि समय ध्यान गरेको र ध्यान गरेर फर्कदा बौद्धनाथ स्तुपा निर्माण गरेको प्रसंगलाई पुष्टि गर्न खोज्दछ । तर, मानदेवले पिता हत्याको पश्चतापमा कति समय बिताए र सुखान्तेमाले जग्गा धर्मदेवसँग मागेकी थिइन् कि राजा मानदेवसँग भन्ने कुरा भने यहाँबाट प्रष्ट हुन् सक्दैन ।
धर्मदेवको शिरछेदनपछि गद्दीनसिन राजा मानदेवले ४१ वर्ष शासन गरेको इतिहास छ ।
नारायणहिटी दरबारबारे केहि कुरा
अघि त्यहाँ काजी धोकलसिंह बस्न्यातको विशाल भवन थियो भन्ने उल्लेख भेटिन्छ । नारायणहिटी दरबार प्रधानसेनापति शिवरामसिंह बस्न्यातको कान्छा छोरा सेनापति काजी धौकलसिंह बस्न्यातले बनाएका थिए । सो दरबार राजा रणबहादुर शाहले खोसी चौतरिया फत्तेजंग शाहलाई दिएका थिए ।
रणोद्दिप सिँह बहादुर राणाले नारायणहिटी हत्याउनु अघि सम्म (कोतपर्वको दिन सम्म) नारायणहिटी भवन चौतरिया फत्तेजंग शाह तत्कालिन प्रधानमन्त्रीको निवास रहेको थियो । कोतपर्वमा प्रधानमन्त्री चौतरिया फत्तेजंग मारिएपछी जंगबहादुरले सो दरबार रणोद्दिप सिँह बहादुर राणालाई दिएका थिए । १९४२ सालको पर्वमा शमशेर खलकले श्री ३ रणोद्दीप सिहको हत्या गरेपछि सो दरबार वीर शमशेरको नाममा आयो । श्री ३ वीर शमशेरको दुई छोरीहरूको विवाह राजा पृथ्वी वीर विक्रमसँग भएपछी सो दरबार श्री ३ वीरले छोरीलाई दाइजो दिए ।
पृथ्वी वीरविक्रम शाहलाई सुरक्षाको वहानामा रणोद्दिप सिँह बहादुर राणाले आफ्नो दरबारको उत्तरी मोहडामा ल्याएर राखेपछि दरबारबाट राजदरबारमा परीणत उक्त खण्डको विभिन्न काल खण्डमा निर्माण तथा पुनर्निर्माण हुँदै आयो । त्यसअघि पृथ्वीनारायण शाहदेखिका सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमा बस्ने गर्दथे ।

वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण गरिएको हो । बेन्जामिन पोल्क त्यतिखेर कलकत्तास्थित एसियाकै सबैभन्दा ठुलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका संचालक थिए । उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमा नेपालमा संचालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रहेका थिए । शाहवंशीय पछिल्ला राजाहरू: त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन् ।
हाल संग्रलायको रूपमा सञ्चालित नारायणहिटी दरबारमा जम्माजम्मी ५२ वटा बैठक-कक्षहरू छन् । अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला गरिएको छ । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रम अनुसार सबै खुला हुने बताइएको छ । फिल्म हल, पुस्तकालय जस्ता राजपरिवारको इतिहास बोल्ने कोठाहरु अहिलेसम्म पनि सर्वसाधारणको पहुँचमा छैनन् ।
पछिल्लो क्रममा नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरूका लागि खुला गरिएको छ, जहाँ हिटलरले तत्कालिन राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको गाडी, तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज आदि प्रदर्शनमा राखिएका छन् ।

नारायणहिटीभित्रको फिल्म हल जहाँ राजारानी फिल्म हेर्थे, तस्बीर : अनलाइन खबर
नारायणहिटी दरबारभित्रका कोठाहरुलाई विभिन्न जिल्लाको नामकरण गरिएसरह ढोकाहरूलाई हिमालको नामबाट नामाकरण गरिएको छ । ल्होत्से द्वारबाट प्रवेश गरेपछि पुगिने नारायणहिटी दरबारको प्युठान कोठामा मझौला सिनेमा घर (११६ सिट क्षमता) छ, जहाँ राजारानीहरू चलचित्र हेर्ने गर्दथे । २०६२ सालमा राजा ज्ञानेन्द्रले यही हलमा आएर हलिउड सुपरहिरो फिल्म ‘स्पाइडर म्यान’ हेरेको इतिहास भेटिन्छ । यस हललाई सर्वसाधारणको लागि खुला गरिने बताइएको छ ।
गणतन्त्र स्मारक
दरबार सङ्ग्रहालयको पूर्वतर्फ हालै गणतन्त्र स्मारक समेत बनाइएको छ । ११ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३५ रोपनी क्षेत्रफलमा फैलिएको सो स्मारक उद्घाटन गरिसकेकी छन् । गणतन्त्र स्तम्भकै अगाडि संविधानको प्रतिमूर्ति किताब कुँदेर देख्न सकिन्छ । स्मारकमा चार वटा मुख्य खम्बाहरू छन् । यी खम्बाका आफ्नै अर्थ छ। स्टीलका यी खम्बाले गणतन्त्र प्राप्तिका लागि शहीदले गरेका बलिदानीको प्रतिनिधित्व गर्छन् । २०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले स्मारकको शिलान्यास गरेका थिए ।
