बिहिबार , मंग्सिर २१, २०८०

वीरेन्द्र वंशनाश : गोलीका डोबबाहेक सारा रहस्य खाक !

नारायणहिटीले सुरक्षित राखेका राजा वीरेन्द्रको वंश विनाशका गोलीका तिनै आठ–दश डोबबाहेक अन्य रहस्य मुकुण्डोधारी राजाहरूले राजवंशको चितासँगै जलाएर सायद खाक पारे !

image

-महेन्द्र रावल

देशबाट राजतन्त्र हटेको पनि दशकौँ वीरेन्द्र वंशनाश : गोलीका डोबबाहेक सारा रहस्य खाक ! बितिसकेको छ । तर, राजा वीरेन्द्रको वंशनाश कसरी भयो, अझै रहस्यमै छ ।

***

वि.सं. २०५८ जेठ १९ गते शुक्रबारको रातको नारायणहिटी आज पनि सबैको रहस्यको विषयमा सीमित छ । प्रत्येक शुक्रवारझैँ सम्पूर्ण राजपरिवार एकै ठाउँ जम्मा भएको त्यो साँझको गुड फ्राइडे रमझम क्षणभरमै डरलाग्दो कहालीमा बदलियो । त्यही रातको पिठ्युँमा चढेर देश आज यहाँसम्म आइपुगेको छ । त्यही रात पश्चातका घटनाकै प्रतिफलस्वरूप आफूलाई राजा नै घोषित नगरे पनि आजसम्म राजा भन्दा चर्को रवाफ देखाउने कैयौँ अघोषित राजाहरूले शासन गरिसकेका छन् ।

संविधान सभाबाट संविधान निर्माण गरेर देशले संघियताको पाँच वर्षे सफल कार्यकाल व्यतित गरी दोस्रोपटक देशका स्थानीय तहले नेतृत्व लिइसकेका छन् भने संघ र प्रदेशले पनि केही दिनभित्रै नयाँ जननिर्वाचित नेतृत्व पाउँदैछ । संघियता कार्यान्वनमा बितेको पाँच वर्षले जनतालाई यति विचलित र निराश बनाइदियो कि जनताले बितेका तीन वर्षमा राजा वीरेन्द्रका देनहरूलाई पटक–पटक स्मरण गरिरहे अनि सम्झिरहे यो बिडम्वना निम्त्याउने जेठ १९ को कहालीलाग्दो नारायणहिटी हत्याकाण्ड !

राजा वीरेन्द्रको वंश नाशपछिको नेपाली राजनीतिमा आएका उतारचढावले नारायणहिटी राजदरबारलाई नारायणहिटी संग्रहालयमा रूपान्तरित गराइदियो जसले सम्हालेर राखेको छ २०५८ जेठ १९ को कालो रातका निशानीहरूलाई, गोलीका छापहरूलाई । नारायणहिटी संग्रहालयभित्र राजा वीरेन्द्रका सम्पूर्ण परीवार र वशंजहरूसंग साक्षातकार गरेर जब भर्खर नारायणहिटीको पछाडितर्फ निस्किएको थिए आँखा अगाडिको बोर्डले राजा वीरेन्द्रको वशं नाश गरिएको स्थान तर्फ डोहोर्यायो । संग्रहालयपछाडि ढोकामै उभिएको बोर्डले जब राजा वीरेन्द्रको वशं नाश गरिएको स्थानतर्फ औँला तेर्सायो तब मनमा एक किसिमको अनौठो भय र मानसिकतामा अत्यासलाग्दो चेतनाले स्थान लियो । मनमा चिसो आभास भयो, मानसपटलका नसाहरु तन्किन थाले र विचारहरू अचानक ब्युँझिएर दौडिन थाले, हातखुट्टामा नजाँनिदो कम्पन छुट्यो ।

जसै सम्हाल्दै आफूलाई त्यसै बोर्डले निर्दय तेर्साएका औलाको संकेत पछ्याउँदै अघि बढेँ । राजवंशको सर्वनाश भएको त्यस स्थानमा पाइला टेक्नुपूर्व गेटमा टांगिएको अर्को बोर्डले भन्यो, “राजा वीरेन्द्रको वशंनाशपछि, यहाँका केही भित्ताहरू भत्काइयो ।” बोर्डका कुराहरूले मलाई झन बढि बेचैन बनायो । “किन भत्काईयो ति रगत लत्पतिएका पर्खालहरु ? राजा बिरेन्द्रका वंशजहरुको आत्माले बस्न दिन्न भनेर वा पर्खालमा लत्पतिएको रगतको डरले ।” यो बोर्डको कति चिसो बोलेको ! लाग्यो छातीभित्र कतै अनेकौँ प्रश्नहरूका वाँण एकसाथ रोपिए । कसको निर्देशनमा भत्काइएछ ती घाइते पर्खालहरूलाई जसले भगवान विष्णुको वंशनाश हुँदासमेत ट्वाल्ल परेर हेरिरहे ? ती घाइते पर्खालहरूमा कसको कर्तुतको निशानी थियो होला र तिनलाई समेत गायब पार्नुपर्यो ? हामीले कसरी चिन्ने रगतले पोतिएका अनुहारहरू नै नरहेपछि ?

लाग्यो, ती भित्ता थिएनन्, जल्लादका अनुहार थिए जसलाई रगतसहित रंगेहात देख्न सकिएन । र सायद ती अनुहार आज खुलेआम हाँस्दै पो हिँडिरहेका छन् हाम्रै सामुन्नेबाट । होइन भने, ती पर्खालहरूलाई कालान्तरसम्म जीवित राखिनुपर्थ्यो । नारायणहिटीमा विशेष संग्रह ती पर्खालको हुनुपर्ने थिएन र ? जो एक युगान्त्यका साक्षी थिए ! जसले सम्हालेर राखेका थिए, भगवान विष्णुका अवतार मानिने राजा वीरेन्द्रको वंश नाश गर्ने असुरहरूका नकाबमुनिका अनुहार ।

साच्चै, आजसम्म भगवानको बध गर्ने राक्षसको बारेमा हाम्रा धर्मग्रन्थमा कहीँ कतै उल्लेख गरिएको पाइएको छैन । पक्कैपनि यो कुनै शक्तिशालि राक्षस हुनुपर्छ । जसले कुनै पनि मायामोहमा नफस्ने विष्णु र उसको वशंलाई आफ्नो मायाजालमा पारेर सबैको आँखा सामुन्ने रहँदारहँदै नष्ट गरिदियो । आश्चर्य ! वीरेनद्रको काखै नजिक बसेर केही समयअघिसम्म हाँसिरहेकाहरूले समेत पत्तो पाएनन् । जुन दिन भगवानको अवतार मानिने विरेन्द्रको वंश नासियो त्यही दिनबाट यो देशबाट सनातन हिन्दु धर्मले बाटो मोड्यो । ”

विचारहरूको पर्खालबाट बाहिर निक्लिएर म बिलियार्ड बैठकतिर गए जहाँ अर्को बोर्ड हातमा पर्चा लिएर बसेको थियो । यो देशका जनताले भगवान विष्णुको अवतार मान्ने ‘राजा वीरेन्द्रको हत्या भएको ठाउँ’ लेखिएको । ढोका बन्द थियो । झ्यालबाट भित्र चिहाएँ, बिलियार्ड राखिएको थियो । हल उदाङ्गो अनि उदास थियो । त्यहाँबाट सिधा अघि बढेँ जहाँ निर्माणाधीन भवनमा एउटा अर्काे बोर्ड खडा थियो । जसले भनिरहेको थियो, “भित्र बिलियार्ड हलमा आफ्नो पतिको हत्या भइसकेपछि रानि ऐश्वर्या आफ्नो पिता मार्ने पुत्रलाई लखेट्दै आउँदा पुत्रले आमालाई मारेको ठाउँ हो यो ।” बोर्डको कुराले मनमा अझै प्रश्न उब्जाइदियो । पिता मारिसकेको पुत्रको पछि रानी बिलियार्डहलबाट यहाँसम्म किन लखेट्दै आइन् ? उनले त आफ्नो पति गोली लागेर ढलिसकेपछि अचेत भएर पतिको छातीमा अंगालो हालेर रुने कराउने होएन र ? छोराको रूपको मायावी सैतानको पछि लागेर यहाँसम्म आइन् होला ? के रानी पनि उसको मायाजालमा फसिन् होली ?

त्यसपछि दायाँ फर्किएँ । आँखाअगाडि पुल थियो र त्यही पुलमा अर्काे बोर्डले भन्दै थियो, ‘यही ठाउँ हो, जहाँ आफ्ना पूजनिय मातापिता र प्यारा भाइ अधिराजकुमार निराजन तथा प्यारी बहिनी अधिराजकुमारी श्रुति लगायत बाह्रजना सम्माननीय आफन्तजनहरूको नसाको तालमा उठ्नै नसक्ने युवराज दिपेन्द्रले छानीछानी निसाना लगाएर हत्या गरे । र त्यसपछि आफूलाई समेत गोली हानी आफू स्वयं पनि अरूसँगै अचेत अवस्थामा भेटिएको ठाउँ ।’

त्यहाँबाट सिधा अगाडिको घरमा आँखा गए जहाँ अरू दुईवटा बोर्डहरू थिए जसमा एउटाले ‘नसाले मात्तिएर हलचल गर्न नसक्ने दाइ दीपेन्द्रले आफ्ना प्यारा भाइबहिनी निराजन र श्रुतिलाई लखेट्दै ल्याएर गोली हानी हत्या गरेको ठाउँ’ बताइरहेको थियो भने अर्काेले घरका पर्खाललाई कुरुप बनाउने गरी लागेका आठ–दश वटा गोलीका दागतर्फ संकेत गर्दै भनिरहेको थियो ‘यी हामीले सुरक्षित गरी राखेका गोलीका खतहरू हुन् जुन ती सफल राइफलबाट निक्लिएका थिए जसले यो देश बनाउने कल्पना गरेर देश विकासका खाकाहरूलाई अन्तराष्ट्रिय स्तरसम्म छलफल गरिरहेका राजा वीरेन्द्रको वंश नास गर्न सफल रहेका थिए ।’

मनमनै सोधेँ, यो व्यवस्था र यो नारायणहिटीले अरू के सम्हालेर राखेको होला, गोलीका डरलाग्दा वंश विनाशका डोब सिवाय ? जवाफ आएन ।

यसबेलासम्म म आफूलाई निकै नै थकित अनुभव गरिरहेको थिएँ । त्यहाँबाट पछाडि गएर घुम्ने घर नजिकै केहीबेर विश्राम लिने सोचेँ । तर, मन भने दौडिन अझै छोडेन । अनेकौँ अमिला अनि धमिला विचार बोकेर मन दौडिरह्यो । विचारहरूकाे त्यही भुमरीमा हराउँदा हराउँदै त्यहाँबाट कतिखेर निस्किएर म काेठामा आइपुगेछु । फोन खाेलेर गुगलमा गएर नारायणहिटी हत्याकाण्डको बारेमा खोजी गरेँ । यो सबै घटना त जम्मा तीस सेकेण्डभित्र घटेको रहेछ । एउटा नसाले मत्त व्यक्तिले तीनवटा राइफल एक्लै चलाएर तीस सेकेण्डभित्र त्यसरी दौडाई–दौडाई बाह्रजना मार्न सक्ने र आफू पनि मर्न सक्ने रहेछ ? आश्चर्य र उदेक लाग्यो । कता कता लाज पनि लाग्यो । यति गम्भीर विषयमा कति सस्तो झुट फैलाइएको !

देशको अविभावक राजाको समुल वशंनाशको घटना नेपालीहरूका सामुन्ने २०–२२ वर्षपछिसम्म पनि रहस्य बनेर खडा छ । किनभने, जुन सत्य भिराइएको छ, त्यो सत्य पाच्य छैन । सत्य त तितो भएपनि रुच्छ र पच्छ भनिन्छ । जुन भिराइयो त्यो सत्यको नकाबमुनि एउटा झुट मात्र थियो । जुन देशमा एउटा राजाको वंश तीस सेकेण्डभित्र नाश हुन्छ र जसको यथार्थ दशकौंसम्म पनि कसैको निजी मुठ्ठीभित्र काबुमा राखिन्छ, त्यो देशका जनताले कसरी विश्वास गर्ने कि यहाँ एउटा आम मानिसलाई स्वच्छ-निष्पक्ष न्याय मिल्न सक्छ ?

श्रीपेचधारी राजाको वंशनाशपछि कैयौँ मुकुण्डोधारी राजाहरूले छानबिन गर्ने आश्वासन दिलाए, जुन आश्वासन कालान्तरमा नैराश्यमा परिणत भए । नारायणहिटी हत्याकाण्डपछि विदेशी राष्ट्रको नजरबाट गिरेको नेपालले परराष्ट्र नीतिमा सुधार ल्याउनु त परको कुरा खाली उनीहरूको दृष्टिमा आफ्नो लागि पहिलेझैं सम्मान मात्र पनि कमाउन सकेको छैन । सैयौँ सैनिकहरूको बीचमा आफ्नै राजाको हत्या कसरी भयो पुष्टि गर्न नसक्ने यो व्यवस्थाबाट आम जनताले अपेक्षा नै के गर्ने ? नारायणहिटीले सुरक्षित राखेका राजा वीरेन्द्रको वंश विनाशका गोलीका तिनै आठ–दश डोबबाहेक अन्य रहस्य मुकुण्डोधारी राजाहरूले राजवंशको चितासँगै जलाएर सायद खाक पारे !

Tags:

सम्बन्धित समाचार