करिब २०० वर्ष अगाडि नौ लाख मूल्यको यो हार जङ्गबहादुरको समयमा नै करिब ९० लाखको थियो । तसर्थ, अहिलेको तुलना गर्ने हो भने अनुमान नै गर्न सक्देनौं । यो अरबौँ रुपैयाँ पर्न सक्छ ।
हुन त अचेल नौलखा हारको अर्थ नौ लाख मूल्य पर्ने हार नै हुन्छ । तसर्थ अचेल जो कोहीले पनि बनाउन सक्दछन् । तर जुन बेला यो नौलखा हारको नाम रहन गयो, त्यो बेला भने यो बहुमूल्य थियो । जो कोहीको लागि किन्न वा बनाउन सम्भव थिएन । करिब २०० वर्ष अगाडि नौ लाख मूल्यको यो हार जङ्गबहादुरको समयमा नै करिब ९० लाखको थियो । तसर्थ, अहिलेको तुलना गर्ने हो भने अनुमान नै गर्न सक्देनौं । यो अरबौँ रुपैयाँ पर्न सक्छ ।
१७ औँ शताब्दीमा मराठा राज्यमा पेशवाहरू खानदानी प्रधानमन्त्री थिए । त्यतिबेला प्रधानमन्त्रीलाई पेशवा भनिन्थ्यो । र, खानदानी रूपमा प्रधानमन्त्री हुँदै आएपछि पेशवा नै थरका रूपमा राख्न थाले । बालाजी विश्वनाथ मराठा राज्यमा सन् १७२० मा पेशवा बनेका थिए । यसपछि उनकै सन्तति पेशवाका रूपमा रहन थाले । उनकै सन्तति बाजीराव द्वितीय बाल्यकालमा नै पेशवा बनाइएका थिए । बाजीराव द्वितीय नि:सन्तान थिए । बाजीरावको समयमा अङ्ग्रेजले उनको जागिर मात्र होइन मराठा राज्यको अस्तित्व नै समाप्त पारिदियो । तर, पनि बाजीरावलाई मृत्युसम्म मासिक ८० हजार पेन्सन दिइरहे । तर अङ्ग्रेजले धर्मपुत्रका हकमा यो नियम लागू गर्न चाहेन । नानासाहेबलाई भने बाजीराजले मराठा राज्यबाट निष्कासन भइसकेपछि मात्र पालेको धर्मपुत्र हुँदा उनलाई पेशवा मानेन । तर, नानासाहेब आफैँ तथा रानी लक्ष्मीबाई तथा तात्या टोपेले पेशवाको रूपमा नायक बनाएर १८५७ मा कानपुरमा अङ्ग्रेज विरुद्ध युद्ध लडे । यसमा अङ्ग्रेजसँग हार भएपछि सबै भागाभाग भए ।
नानासाहेबको बाल्यकालको नाम भने धोन्दु पन्त थियो । अंग्रेजहरूले भारतमा आफ्नो बिस्तार गर्न थालिसकेका थिए । स-साना राज्यहरू माथि आक्रमण गर्दै अङ्ग्रेजले आफ्नो प्रभुत्व कायम गर्दै थिए । यसै क्रममा बाजीराव द्वितीय पेशवा हुने समयमा नै मराठा राज्यमा अङ्ग्रेजले आक्रमण गरेपछि बाजीराव द्वितीय भागेर अर्कै राज्यमा शरण लिन पुगेका थिए । यही नै नानासाहेबलाई धर्मपुत्रका रूपमा आफूसँग राखेका थिए । राज्य नभए पनि अङ्ग्रेजले बाजीराव द्वितीयलाई पेन्सन उपलब्ध गराउँदै आएका थिए । सन् १८५१ मा बाजीरावको निधन भयो । यिनै बाजीरावको नाममा उनकै जीवनमा आधारित एउटा फिल्मले निकै चर्चा पायो, ‘बाजीराव मस्तानी ।’ बाजीरावको निधन पछि उनका धर्मपुत्र नानासाहेबले आफैँलाई बिना राज्यको पेशवा घोषणा गरे । अङ्ग्रेजले उनलाई पेसवाले पाउने पेन्सन दिन अस्वीकार गरे । किनकि नानासाहेब पुस्तैनी पेशवा परिवारमा जन्म लिएका थिएनन् । यहीँ कारणले नानासाहेब अङ्ग्रेज विरुद्ध युद्धको तैयारीमा लागे ।
अङ्ग्रेजबाट पेन्सन नपाएपछि नानासाहेब अङ्ग्रेज विरुद्ध हतियार उठाउन थाले । सन् १८५७ मा भएको अङ्ग्रेज विरुद्धको कानपुर विद्रोहमा तात्या टोपेको साथ लिएर नानाले नेतृत्व लिएका थिए । अङ्ग्रेजले यो आन्दोलनलाई नराम्रोसँग दबाएपछि भागेका नानासाहेब लामो समयसम्म हराए । अङ्ग्रेज सरकारले उनको खोजी निकै गर्यो । उनको शीरको मूल्य अङ्ग्रेजले त्यो समय नै ‘एक लाख’ राखेको थियो । उसलाई जिउँदो वा मृत शरीर लिएर आउनेका लागि एक लाखको पुरस्कार तोकिएको थियो । तसर्थ, उनको परिवार फकिर भएर गुमनाम लुकीछिपी हिँड्न थालेको थियो । सन् १८५९ (वि. सं १९१५ फागुन २१) को शिवरात्रिमा पशुपति दर्शनका लागि हिँडेका योगीहरूको भीडमा छद्म भेषमा नानाका परिवार तथा सयौँ सिपाही नेपाल सीमामा प्रवेश गरे । यसरी नेपाल सीमा प्रवेश गरेका नानासाहेबले अचानक तत्कालीन श्री ३ जङ्गबहादुरलाई शरणका लागि अनुरोध गरे । जङ्गबहादुरले नाना तथा उनको साथ आउने सबैका लागि पहिरन तथा नेपाल प्रवेश गर्ने समय पनि तोकिदिएका थिए । सबैलाई सन्यासीको पहिरनमा आउन तथा शिवरात्रिको लागि नेपाल प्रवेश गर्ने हजारौँ सन्यासी योगीहरूको भीडमा नेपाल प्रवेश गर्न सुझाएका थिए । जसअनुसार सन्यासीको रूपमा त्रिवेणी पुगेका उनले परिवार र परिचारिका सहित नेपाल सरकार समक्ष शरण मागे ।
सन् १८५७ को लखनऊ विद्रोह दबाउन जङ्गबहादुर स्वयं अङ्ग्रेजलाई सहयोग गर्न पुगेका हुनाले पनि १८५७ कै कानपुर विद्रोहका नायकलाई शरण दिन निकै अप्ठेरो परेको थियो । सुरुमा शरण दिन अस्वीकार गरे । तर नानाको साथमा आएको त्यो भीडमा अवधका बेगम हजरत महल तथा उनका छोरा र केही सहयोगीहरू पनि थिए । जङ्गले नानाका साथ आएका महिलाहरूलाई मात्र शरण दिन सक्ने जानकारी पठाए । जङ्गले चाहेको भए नानासाहेबलाई, अङ्ग्रेजलाई बुझाएर लाख पुरस्कार र अङ्ग्रेजबाट अन्य सहयोग पनि पाउन सक्थे । तर, उनले अङ्ग्रेजलाई त्यो सहयोग नगरेर ढाँटे । यसको बदलामा नानासाहेबबाट लाखौँ मूल्यका जवाहरातहरू लिए । यसरी शरणको स्वीकार गर्नु अगाडि बेगम हजरत महल तथा नानाका रानीहरूले धेरै जवाहरात जङ्गलाई उपहारमा दिएका थिए । कसैले दिएको उपहार स्वीकार गरी ती उपहार दिनेको चाहना पूरा गर्नुलाई आजको भाषामा घुस लिने भनिन्छ । तसर्थ जङ्गले त्यतिबेला घुस स्वीकार गरेका थिए । यसको साथै नानाका दाजुभाइलाई सुरक्षित राख्न पनि श्री ३ ले थुप्रै जवाहरात स्वीकार गरेका थिए । सक्कली, नक्कली तथा मूल्य थाहा पाई बिक्री समेत गर्नका लागि जङ्गले दिल्लीबाट जवाहरात व्यापारीलाई समेत नेपाल बोलाएका थिए । त्यसबेला नानाको परिवार तथा हजरत महलबाट पाएको जवाहरात ती व्यापारीलाई बिक्री गरेका थिए । त्यसबेला जङ्गले बहुमूल्य नौलखा हार, पन्नाको ३ इन्च लामो नानासाहेबको सिल तथा अंगुरको झुप्पा भन्दा ठुलो पन्नाको झुप्पा भने बिक्री गरेनन् । जुन आफैँसँग राखे । जङ्गले नानाको परिवारका खर्चका लागि सालाना ६-७ हजार कर उठ्ने दुई गाउँ पनि दिएका थिए ।
पेशवा खानदानको खानदानी गहना थियो- नौलखा हार । सुरुमा बाजीराव प्रथमले हीरा, मोती तथा पन्ना जडित बहुमूल्य हार बनाउन लगाएका थिए । पेशवाका रूपमा यो हार गलामा लगाएर दरबार पुग्दथे । उनको मृत्युपछि जोजो पेशवा बने । उनले यो नौलखा हार पनि जागिरसँगै पाउँदै गए । हरेक नयाँ पेशवाले यस हारमा जवाहरात थप्दै गएका थिए । जसले गर्दा यसको मूल्य अझै बढ्दै गयो । नानासाहेबको समयमा आइपुग्दा यो हारको मूल्य करिब ९० लाख पुगिसकेको थियो ।
सन् १८५७ को विद्रोहमा रानी लक्ष्मीबाई तथा भारतीय प्रथम स्वतन्त्रता सेनानी तात्या टोपेलाई आफ्नो साथ लिएर अङ्ग्रेज विरुद्ध लडेका नानासाहेब भने कानपुरमा अङ्ग्रेजको विजयसँगै हराए । उनका साथ लडेका तात्या टोपे अङ्ग्रेजद्वारा समाइएपछि फाँसीको सजाय भयो । यसरी अङ्ग्रेजले समाएमा मृत्युदण्ड पाउन सक्ने हुँदा नानासाहेब पेशवा गोप्य रूपमा कानपुरबाट भागेर नेपाल पुगेका थिए । यता नानासाहेब कानपुरबाट भागेर नेपालको त्रिवेणी हुँदै आउँदै गरेको खबर जङ्गबहादुरले पाएपछि आफ्ना कान्छो भाइ कृष्णबहादुर राणा तथा विशेष दूतका रूपमा केदार नरसिंह राणालाई लिन पठाएका थिए । अङ्ग्रेजको सहयोगमा सन् १८५७ को लखनऊ विद्रोह दबाउन स्वयं ८००० गोर्खाली सैनिक लिएर गएका जङ्गबहादुरलाई त्यही १८५७ को कानपुर विद्रोहका नायकलाई स्वागत गर्न तथा शरण दिन जङ्गबहादुरले कान्छो भाइ कृष्णबहादुर राणालाई पठाए ।

Begum Hazrat Mahal and Her People Seek Refuge in Nepal, Kavita Nambissan
नानासाहेब जब नेपाल प्रवेश गरे, उनको साथ उनकी विधवा धर्म आमा सरस्वती बाई, नानाको रानी कृष्णा बाई र काशी बाई, काम गर्ने सेविका सुन्द्रा बाई (उनलाई काकु बाई पनि भनिन्थ्यो), भाइ बाला राव, तात्या टोपे, सेक्रेटरी अजिमुल्ला खान, बाबा गोडबोले, झन्नु सिंह, परशुराम जगमल तथा अन्य केही नौकर आएका थिए । तर अङ्ग्रेजहरू बीच एउटा हल्ला फैलिएको थियो, यिनीहरूका साथ केही अङ्ग्रेजहरू पनि थिए । तर, पछि त्यहाँ रहेका सरकारी कर्मचारी नरसिंह पाध्याले सैनिक अफिसर सिद्धिमान सिंह राज भण्डारीलाई अङ्ग्रेज महिलाहरूको भने हत्या भइसकेको समाचार पठाएका थिए । शरण माग्न ठूलै समूह आए पनि जङ्गबहादुरले अन्ततः महिला तथा परिचारिकाहरूलाई मात्र शरण दिन सक्ने जानकारी दिए । उनले सिद्धिमान सिंहलाई खबर पठाए, “नानासाहेब र बालासाहेबलाई भनिदिनु, म उनीहरूलाई शरण दिएर अङ्ग्रेजसँगको सम्बन्ध बिगार्न चाहन्न ।” यसरी खुला रूपले नानासाहेब र बालासाहेबलाई शरण नदिने भनिएपछि उनलाई छोड्न आएका अन्य सबै फर्किए तर, सेक्रेटरी अजिमुल्ला खानका साथ नानासाहेब र बालासाहेब भने गएनन् नेपालमा नै रहे ।
नानासाहेबले आफू ठुलो समूहका साथ आएको हुँदा खर्चको अभाव रहेको जानकारी दिँदै आफूसँग रहेको नौलखा हार बेच्ने मनसाय सिद्धिमान सिंह मार्फत गरेका थिए । पछि जङ्गबहादुरले नगद ९३ हजार रुपैयाँ मात्र दिन चाहेको जानकारी पाएपछि केही समय दोधारमा परेका थिए । तर आफ्नो खाँचो ठुलो भएको र त्यति धेरै रकम अरूले दिन नसक्ने सम्झि उनले सो नब्बे लाखभन्दा बढी पर्ने नौलखा हार जङ्गबहादुरलाई केवल ९३ हजार रुपैयाँमा नै दिएका थिए । नानासाहेबले आफ्नो लाहा छापको लागि बनाएको ३ इन्च लामो पन्ना पनि जङ्गबहादुरलाई नै दिए । यस बहुमूल्य हारलाई ‘शिरोमणि हार’ भनिन्थ्यो । जसमा एकातर्फ नानासाहेबको छापको रूपमा नानाको घोडा चढेको आकृति कुँडिएको थियो । यसको साथै श्री ३ को श्रीपेचमा अङ्गुरका झुप्पाझैँ झुन्ड्याइएको पन्नाहरू पनि नानासाहेबले नै दिएका थिए । नानासाहेबले नेपालमा ल्याएका जवाहरातको सूची जुन सिद्धिमान सिंहले जङ्गबहादुरलाई पठाएका थिए । त्यसमा ४८ वटा मोती र २४ वटा पन्ना भएको नेकलेस तथा २ इन्च चौडा र ३ इन्च लामो हिरा पनि थियो । नेकलेसको बीचमा करिब आधा इन्चको चौकोर हिरा जडेको थियो जसको चारैतिर ३४ वटा साना साना हिरा जडित थियो । साथै साढे ३ इन्च लामो र २ इन्च चौंडा अर्को एक हिरा जसको चारैतिर ३१ साना हिरा जडित थियो त्यो पनि दिइएको थियो । अर्को एक इन्च चतुराकारको हिरा पनि थियो । यी सबै हिरा जवाहरातहरू नानासाहेबले नेपालमा शरण पाउनका लागि जङ्गबहादुरलाई घुसका रूपमा दिएका थिए ।
भारतमा रहेको अङ्ग्रेज सरकारको विरोधका कारण जङ्गबहादुरले बाहिर देखिने गरी नानासाहेबको विधवा धर्म आमा, दुई रानी तथा तथा अन्य परिचारिका महिलाहरूलाई काठमाडौंमा आउन अनुमति दिए । तर, नानासाहेबलाई भने काठमाडौं आउन दिएनन् । भित्र-भित्र गोप्य रूपमा नानासाहेबलाई नेपाल भित्र नै रहन छुट दिए । थापाथली दरबार नजिकै एक घर भाडामा लिएर शरणगत महिलाहरूलाई बस्ने प्रबन्ध मिलाए । साथै, सो घरको भाडा बापत मासिक ४०० रुपैयाँ पनि जङ्गबहादुरले नै व्यवस्था गरिदिएका थिए । लखनऊ विद्रोहमा पकडाउ परेका बेगम हजरत महल, नवाब विरजिस कद्रका साथ नानासाहेबसँग आएका उनका आमा, दुई रानी तथा परिचारिकालाई जङ्गबहादुरले शरण दिए । नानासाहेबको परिवार तथा बेगम हजरत महललाई पनि थापाथली नजिकै बस्ने व्यवस्था मिलाइदिएका थिए । नानासाहेब र बालारावलाई अङ्ग्रेजले सुम्पन जङ्गबहादुर समक्ष आग्रह गरे । तर जङ्गले यी दुईलाई अङ्ग्रेज सरकार सामू सुम्पनुभन्दा सुरक्षित लुकाउन मद्धत गरे ।
नानासाहेब, बालासाहेब तथा अजिमुल्ला खान भने गोप्य रूपमा योगीको भेषमा नेपालमा नै रहे । समय- समयमा थापाथली आएर धर्म आमा तथा रानीहरूलाई भेट्दथे । तर, जङ्गले थाहा नपाएझैँ गरिरहन्थे । नानाको कान्छी रानी काशीबाई भर्खर कि थिइन् । २४ वर्षकी काशीबाईका कारण पनि जङ्गले आफ्नो दरबार नजिकै नानासाहेबको परिवारका लागि घर खोजी दिएका थिए । नानासाहेबको मृत्यु भइसकेको भएपनि काशीबाईले विधवा स्वरूपमा बसिनन् । कतै-कतै काशीबाईलाई नानाको भाइ ‘बाला रावको रानी’ पनि भन्ने लेखिएको छ ।
नानासाहेबबाट विभिन्न जवाहरातहरू घुस बापत पाएको हुँदा जङ्गबहादुरले नानासाहेबलाई सुरक्षित राख्ने व्यवस्था गोप्य रूपमा मिलाइदिएका थिए । सुरुमा अङ्ग्रेजबाट उपहारमा पाएको चार जिल्लाको नयाँ नेपालमा नै लुकाई राखेका थिए । पछि अङ्ग्रेजका दूतहरू समय-समयमा बाँके आइरहने तथा जङ्गले बाँकेमा नयाँ शहरका रूपमा नेपालगञ्ज बनाउन लागेका हुँदा पनि त्यहाँ लुकाएर राख्न उचित नठानी दाङमा पठाउने सोच बनाएका थिए । त्यसको लागि आफ्नो विश्वासपात्र सिद्धिमानसिंह राज भण्डारीलाई दाङको बडाहाकिम बनाई पठाए । त्यही नानासाहेबलाई पनि गोप्य रूपमा बस्ने सिद्धिमानसिंहले नै व्यवस्था मिलाई दिएका थिए । नानासाहेबले गोप्य रूपमा ३०० सिपाहीहरूलाई सुरक्षाका लागि पनि राखेका थिए । नाना तथा ती सबै सिपाहीहरू सन्यासीका रूपमा बसेका थिए । नानासाहेबका साथै उनका भाइ बाला राव पनि नेपालमा रहेको जानकारी गोप्य रूपमा अङ्ग्रेजलाई थियो । तर जङ्गबहादुरले दाङको भित्री क्षेत्रमा गोप्य रूपमा सुरक्षित बस्न दिएका थिए । वि.सं. १९१६ को जेठ (सन् १८५९ जुन) मा दाङबाट सरदार सिद्धिमान सिंहले जङ्गबहादुरलाई पत्र लेखेर नानासाहेबको भाइ बाला रावले आफ्नो परिवारलाई जङ्गबहादुरको शरणमा छोडेर जाने चाहेको कुरा लेखे । तर, जङ्गले अस्वीकार गरे । यसको केही समयपछि बाला रावको पश्चिम नेपालमा रहेको समय देहान्त भयो । त्यति बेला नै जङ्गबहादुरले नानासाहेबको जङ्गलमा शिकारको क्रममा बाघको आक्रमणबाट मृत्यु भएको समाचार फैलाइयो । तर, वास्तविकता कसैलाई पनि ज्ञात रहेन । विधवा आमाले कृयाकर्म गर्न खर्च नभएको भन्दै केही गहना १० हजार रुपैयाँमा बेचे । वि.सं. १९१६ कार्तिक २१ गते जङ्गबहादुरको सहयोगमा निधारको एक हड्डी जो नानासाहेबको हो भनिएको थियो ।
उता नानासाहेबको मृत्यु भएको भनी अन्त्येष्टि समेत गरियो । तर काशी बाईले रातो साडी र निधार भरि टीका लगाउन तथा रातो चुरा लगाउन छोडेनन् । अर्को तर्फ यो पनि हल्ला थियो कि जङ्गले काशी बाईलाई गोप्य रूपमा पत्नी बनाएकी थिइन् । उनको घरमा जङ्ग बाहेक कसैलाई जाने अनुमति नै थिएन । काशी बाईको घर, बेगम हजरत महलको घर तथा पञ्जावकेशरी महाराजा रञ्जित सिंहकी विधवा जिंद कौर बस्ने घर नजिक-नजिक नै थियो । इ.सं. १८६० मे ७ मा थापाथली दरबार नजिकै बसिरहेका बेगम हजरत महल, काशी बाई तथा कृष्णा बाईले जङ्गबहादुरलाई किस्तीहरू भरी-भरी सुन, हिरा, मोती तथा पन्ना इत्यादि जवाहरातहरू नजराना चढाएका थिए ।
सन् १८६१ फेब्रुअरीमा जिंद कौर कलकत्तामा आफ्नो छोरालाई भेट्न फर्केपछि जिंद कौर बस्ने थापाथलीको घर काशी बाईलाई जङ्गबहादुरले दिएका थिए । बेगम हजरत महललाई पनि थापाथली दरबार नजिकै नै बस्ने घर बनाइदिएका थिए । जुन घरलाई ‘बरफ बाग’ भनिएको थियो । सन् १८७३ मा हजरत महलको निधन भएपछि घण्टाघर नजिकै रहेको जामा मस्जिदमा कब्र बनाएर गाडियो । उनको महल बरफ बाग भने जङ्गको थापाथली दरबार भित्र नै समाहित भयो । छोरा नवाब विरजिस कद्रलाई रानी भिक्टोरियाले क्षमा दिएपछि फर्केर कलकत्ता गए, जहाँ उनको आफन्तबाट नै हत्या भयो ।

यता जङ्गबहादुर नानासाहेबको मृत्युको झुठो समाचार प्रमाणित गर्न विस्तारै सक्षम हुँदै गए । नेपालमा रहेको बेलायती रेसिडेन्ट ले.क. जर्ज रामसेले बेलायत सरकारलाई पत्र लेखेर नानासाहेबको मृत्यु भएको समाचार पठाए । यसरी सरकारी रूपमा नानासाहेबको मृत्युको झुठो समाचार फैलाएर जङ्गबहादुरले नानासाहेबलाई नेपालमा नै रहने व्यवस्था मिलाइ रहे । त्यस्तै उनका सेक्रेटरी अजिमुल्ला खानको पनि वि.सं. १९१६ को मङ्सिरमा नै बुटवलमा देहान्त भएको खबर अङ्ग्रेजलाई पठाइसकेका थिए ।
यसरी नानाको मृत्यु भइसकेको समाचार व्यापक गरी अन्त्येष्टि समेत गरेको ६-७ वर्षपछि काशीबाईको बाबु नेपाल आएका थिए । छोरीलाई भेटेपछि छोरीको पहिरन देखेर आश्चर्यित भएका थिए । उनमा विधवाको स्वरूप कति पनि थिएन । निधारमा सिन्दूर, हातमा चुरा, आँखामा चमक उस्तै देखे । बाबूलाई काशीबाईले आफ्नो पतिको निधन नभएको जानकारी दिएका थिए । काशीबाईलाई भेट्न नाना हरेक साल शिवरात्रिको समय थापाथली पुग्दथे । केही समय उनको साथ बसेर फेरी गुप्तवासतर्फ लाग्दथे ।
४२ साल पर्व पछि वि.सं. १९४२ को कार्तिकमा जनरल केदारनरसिंह राणा काठमाडौंबाट लखेटिए । नानासाहेबका साथ केदारनरसिंहको राम्रो सम्बन्ध थियो । तसर्थ उनले लेखापढी गरी कागजपत्र मिलाई फर्जी नाम राखेर फकिरका रूपमा वि.सं. १९४४ मा इलाहावाद लिएर गए । इलाहावादमा केदारनरसिंहका साथ नानासाहेब करिब ७ वर्ष फकिरका रूपमा रहे । धेरै पछि उनको निधन भएको समाचार केदारनरसिंह राणाले वीरशम्शेरलाई दिएका थिए । सन् १९७० मा केही डायरी तथा चिठ्ठीहरू भेटियो । जसकाअनुसार नानासाहेबले आफ्नो छद्म नाम योगिन्द्र दयानन्द महाराजका रूपमा भारतकै विभिन्न शहरमा लुकीछिपी बसिरहेका थिए । यसरी लुक्दै छिप्दै बसेका नानासाहेबको वि.सं. १९६० तिर गुजरातमा निधन भएको थियो ।