शुक्रबार , मंग्सिर २३, २०७९

नवदुर्गा पूजा: पशुबलीको विरोध गर्नेहरूले शक्ति पूजाहरूको महत्त्व बुझेका छैनन्

नवदुर्गा भवानीलाई खुसी पार्न पशुवलि चढाएर शक्ति पूजाहरू गर्ने प्रचलनलाई हटाएर लान खोजेको भान हुन्छ । यसमा पशुवलि चढाएर देवी कसरी खुसी हुन्छ भन्नुभन्दा पहिले एकपटक यी शक्ति पूजाहरूको महत्त्व बुझेर सबै बसेर छलफल भएर निर्णय भएमा वेश हुने थियो ।

image

नवदुर्गा पूजा भन्नाले साधारण त सबैले शक्तिको उपासना/आराधना गर्ने पूजा भनि बुझेको पाइन्छ । नवदुर्गा पूजा भन्दा हामीले दुईटा कुरा प्रष्ट रूपमा देख्न सक्तछौं । एउटा नवदुर्गा भवानी हामी कसलाई मान्दछौँ । दोस्रो, नवदुर्गा पूजा हामी कुन विधिबाट गर्दछौँ । त्यसकारण नवदुर्गा पूजा भन्दा हामीले कुन देवीहरूलाई कुन विधिबाट पूजा गर्दछौ प्रष्ट हुन जरुरी छ ।

१.

त्यसकारण पहिले हामीले नवदुर्गा भवानी भनेर कसलाई मान्दछौ प्रष्ट हुन जरुरी छ ।

सबैको मुखबाट नवदुर्गा पूजा नजिकै आइरहेको छ भनेको सुनिएता पनि सबैको नवदुर्गा एकै देखिँदैन । सबैले आआफ्नू धर्म र विधि अनुसार परिभाषित गरेको पाइन्छ । यसलाई बुझ्न र परिभाषित गर्न सजिलो होस भनेर यसलाई विभिन्न धर्मावलम्बीहरूले मानिआएको नवदुर्गा भवानीहरूको विकास कसरी भएर आएको हो बुझ्न जरुरी छ ।

१.१. शैव शाक्त धर्म मान्नेहरूले दश महाविद्याहरू र अष्टमातृका गणहरूलाई नवदुर्गा भवानी भनेर परापूर्वकालदेखि मानेर आएको पाइन्छ ।त्यसमा कोही दश महाविद्याहरूलाई मान्छन् । तर त्यसमा अष्टमातृकाहरू र अष्टभैरवहरू वरिपरि उपस्थिति रहेको मान्यता राख्दछन् भने केही अष्टमातृकाहरू आठ + एक दश महाविद्या जोडेर नवदुर्गा मान्ने गरेको पाइन्छ । तिनीहरू दुवैले यस पर्वलाई “मोहनी नख:” को नामबाट प्रसिद्धि पाएको देखिन्छ । यसरी नेपाल मण्डलमा परापूर्वकालदेखि चलिआएको मोहनी नख: लाई नै हाल आएर बडादशैं, विजया दशमी, दशैं भनेको वा नवदुर्गा भनेको देखिन्छ । तर मोहनी नख: र बडादशैं मा प्रशस्त फरक देखिन्छ । पहिलो ठूलो फरक मोहनी नख: मा तान्त्रिक विधिद्वारा तान्त्रिक देवीहरूको पूजा हुन्छ भने बडादशैं वैदिक शास्त्र अनुसार पार्वतीको नौ रूपलाई नवदुर्गा भवानीको रूपमा पूजा हुन्छ र वैदिक विधिमा पूजाहरू भएको पाइन्छ ।

१.२. बौद्ध धर्म मान्नेहरू खासमा महायान बज्रयान मान्नेहरूले सोही शक्ति पीठहरूलाई योगिनी/जोगिनी नामाकरण भई नवदुर्गा भवानीको रूपमा मानिआएको पाइन्छ । नेपाल मण्डलमा बौद्ध धर्म मान्नेहरूले पनि मोहनी नख: पर्वकै रूपमा मानेर तान्त्रिक देवीहरूलाई तान्त्रिक विधि अनुसार नै पूजाहरू गरेको पाइन्छ ।

१.३. वैदिक सनातन हिन्दू धर्म मान्नेहरूले पार्वतीको नौ रूपलाई नवदुर्गा भवानीको नाममा वैदिक विधिबाट पूजा भएको पाइन्छ । केहीले भने महिषासुर मर्दिनी र अष्टमातृका गणहरूलाई मानेको पनि पाइन्छ । तिनीहरूको यो पर्वले बडादशैं वा विजया दशमीको नामबाट प्रसिद्धि पाएको छ । त्यसमा पनि साधारण दशैं नामलाई विशेष युद्ध भएको र देवीहरूले विजय प्राप्त गरेको घटनालाई जोडेर विजयादशमी नाम दिएको पाइन्छ ।

१.४. यसरी हेर्दा यी तीनै समूहहरूले आआफ्नू धर्म र विधि अनुसार मानिआएको प्रष्ट देखिन्छ । यसरी आआफ्नू धर्म अनुसार मान्नुमा कुनै आपत्ति कसैलाई हुनु पर्ने देखिँदैन । यस विषयमा आआफ्नू मान्यता र आआफ्नू विषयमा प्रष्ट भएर एक अर्कालाई हस्तक्षेप नगरी परापूर्व काल देखि मानिआएको परम्परालाई चालु राख्न सकिन्छ । तर यसमा हामीले बुझ्नु पर्ने मुख्य पाँच कुराहरू छन् ।

  • आफूले मानिआएको धर्म अनुसारको देवीहरू र पूजा विधि अपनाउन सकेमा वेश हुन्छ । त्यस कारण आआफ्नू धर्म अनुसार परापूर्व काल देखि मानिआएको नवदुर्गा भवानी लाई नै मान्नुमा वेश हुन्छ ।
  • ती आफूले परापूर्वकालदेखि मानिआएको नवदुर्गाहरू कहाँ कहाँ स्थापित छन् र यसको कारण के हुन् थाहा पाउनु र विशेष पूजाहरू भएमा वेश हुन्छ।
  • साधारण त यी नवदुर्गाहरूको संक्षिप्त माहात्म्य/महिमा सबैलाई थाहा भए पाठ गर्न वा उपासना गर्न वेश हुन्छ ।
  • ती आआफ्नू नवदुर्गाहरूको पूजा विधि के के हुन् सोही अनुसार शक्ति पूजाहरू भएमा यसबाट राम्रो र ठूलो फल प्राप्त हुन्छ वा शक्ति प्राप्त हुन्छ भन्ने मान्यता छ ।

१.५. नेपाल मण्डलको धार्मिक, ऐतिहासिक पृष्ठभूमि हेर्दा नेपाल मण्डलमा किराँत काल वा सो भन्दा पहिलेदेखि नै शिव पार्वतीको जन्म क्षेत्र, क्रीडा क्षेत्र र कार्य क्षेत्र भएको पाइन्छ । यस नेपाल मण्डलमा श्री गुह्येश्वरी शक्ति पीठको उत्पत्ति सत्ययुगमा नै भएदेखि बसोबास शुरु भएको र स्थानीय वासीहरूले गुह्येश्वरी शक्ति पीठलाई शक्तिको श्रोत र कुलदेवता मानिआएको प्रष्ट भन्न सकिन्छ । यसमा श्री पशुपतिनाथ ज्योतिर्लिङ्ग इष्टदेवको रूपमा रहेको पनि प्रष्ट देखिन्छ । यस हिसाबले हेर्दा यस नेपाल मण्डलमा सबभन्दा पहिले शैव शाक्त धर्म मान्नेहरू भएको प्रष्ट देखिन्छ । यो कुरा किराँत कालसम्म शुद्धरूपमा चलिआएको देखिन्छ ।

त्यसपछि लिच्छविकालमा बौद्ध धर्म र वैदिक सनातन हिन्दू धर्मको केही प्रचारप्रसार भएको भएता पनि तान्त्रिक विधि अनुसार नै चलिआएको देखिन्छ । तर त्यसबेलासम्ममा आगम शास्त्र र निगम शास्त्रको शुरुआत भएको हो कि जस्तो देखिन्छ । तर पनि नेपाल मण्डलमा मल्लकालसम्म सबैले तान्त्रिक विधि अपनाएको पाइन्छ । मल्लकालमा विभिन्न समूहहरू भित्रिएको भएता पनि तान्त्रिक विधि अनुसार नै पूजा पाठहरू नित्यरूपमा सञ्चालन भइआएको देखिन्छ ।

शाहकालमा आएर विभिन्न बहानाहरूमा आचाजुहरूलाई हटाएर वैदिक शास्त्रमा जोडदिएपछि मात्र तान्त्रिक विधि अपनाउन केही कमी आएको पाइन्छ । तर जे होस नेपाल मण्डलमा अझैसम्म पनि दुवै आगम शास्त्र र वैदिक शास्त्र आआफ्नू तरिकाले अपनाईआएको पाइन्छ । अब नयाँ आउने पुस्ताले यी दुवैको अध्ययन गरी दुवैलाई आआफ्नू तरिकाले बचाएर राख्न जरुरी देखिन्छ ।

तर एउटा कुरा के मान्न जरुरी छ भने नेपाल मण्डलमा परापूर्वकालदेखि मानिआएको “मोहनी नख:” हाम्रो मौलिक संस्कृति हो । यसमा धेरै कुराहरूमा मौलिकता झल्कन्छ । त्यसकारण मोहनी नख: पर्व मनाउनाको कारण र यसको महत्त्व बुझेर मात्र यसलाई विरोध गर्नु पर्दछ भन्ने लाग्दछ भने मात्र गर्नु होला । यो जथाभाबी आफूले बुझ्न कोसिस नगर्ने वा बुझ्न सकेन भनेर अर्काको परापूर्वकालदेखि चलिआएको मानिआएको पशुवलि चढाएर तान्त्रिक शक्ति पूजाहरू भइरहेकोमा हस्तक्षेप गर्न भएन ।

२.

अब दोस्रो प्रश्न नवदुर्गा पूजा गर्न कुन-कुन विधिहरू अपनाउँछौ भन्दा आआफ्नू धर्म संस्कृति अनुसार विभिन्न विधिहरू अपनाइ आएकोमा हामीले गौरव मान्नै पर्दछ । यसमा गौरव गर्न सबभन्दा पहिले नवदुर्गा पूजाको धार्मिक, ऐतिहासिक पद्धति र विधिहरू बुझ्न जरुरी छ ।

२.१. शक्ति पीठहरूको पुजारी आचाजुहरूको कहानी र किम्बदन्तीहरू अध्ययन गरी हेर्दा नेपाल मण्डलमा परापूर्वकालदेखि नै निराकार स्वरूपको शक्ति पीठहरूको महत्त्व र प्रसिद्धि प्रष्ट भएको देखिन्छ । यसमा तान्त्रिक शक्ति पूजाहरू गरी आचाजुहरूले सिद्धि प्राप्त गरेको, नित्य रूपमा पशुवलि चढाएर शक्ति प्राप्त गरी आएको प्रष्ट देखिन्छ । ती सिद्धि प्राप्त आचाजुहरूले समय- समयमा आवश्यकता अनुसार गेडागुडीहरूबाट पनि जीवित पशुहरू उत्पत्ति गरेर पशुवलि चढाएको कहानीहरू नकार्न मिल्दैन । तर आज आएर धेरै शक्ति पीठहरूबाट आचाजुहरूलाई हटाई सकिएको देखिन्छ । तर पनि केही शक्ति पीठहरूमा आजसम्म पनि द्योला, देउला, डङ्गोल, महर्जन, शाही, आदि रहेको देख्दा तान्त्रिक युगको सम्झना ताजा नै रहन्छ ।

२.२. नेपाल मण्डलमा परापूर्वकालदेखि चलिआएको मोहनी नख: पर्व तान्त्रिक विधि अनुसार पशुवलि चढाएर गरिने शक्ति पूजाहरूको प्रचलन आज पनि कायम नै छ । आज आएर झन् त्यसको महत्त्व र औचित्य बढेको छ र प्राथमिकता दिएर शक्ति पूजाहरू भइरहेको पाइन्छ । यसबाट शक्ति उत्पन्न हुन्छ र हामीले प्राप्त गरी शक्तिमान भएर सङ्घर्ष गरी सफलता हासिल गर्न सकिन्छ भन्ने मान्यता रहेको छ, जसले गर्दा नेपाल मण्डलमा “ मोहनी नख:” नै मनाउने परम्परा चलिरहेको पाइन्छ ।

-१. त्यसो भन्दा मोहनी नख: मा कुलदेवताको पूजाहरू मोहनी द्य: को रूपमा गरिन्छ । सो मोहनी द्यले मोहनीका रूपमा शक्ति प्रदान गरेको मानिन्छ । मोहनी नख: मा मोहनी थाप्ने प्रचलनलाई अनिवार्य मानिएको छ । यसरी थापेको मोहनीलाई मोहनी पूजाको टीका प्रसादको रूपमा कालो मोहनी टीका प्राथमिकताका साथ लगाइदिने प्रचलन छ ।

-२. मोहनी नख: लाई कुलदेवताको पाँच अनिवार्य पूजाहरूमा समावेश गरिएको छ ।

-३. यी सबै पूजाहरूमा पन्चतत्वहरूको प्रतीकको रूपमा पाँच वस्तुहरू चढाएर विभिन्न पूजा सम्पन्न गरिन्छन् ।

-४. यसरी पन्चतत्वहरूको प्रतीक वस्तुहरू चढाएर पूजा गर्दा एकातिर पञ्चोपचार, दशोपचार, र षोडशोपचार पूजाहरू भएको मान्यता छ । जसमा पुजारीले आफ्नू आत्मा चढाएर सोरहौ तत्त्वको प्रतीक चढाएको मान्यता रहेको हुन्छ ।

-५. यसरी नै पन्चतत्वहरूको प्रतीक वस्तुहरू चढाएर पूजा गर्दा अर्कोतिर सत्कार पूजा, सम्मान पूजा, समह्यबजी पूजा, पन्चमकार पूजा, पशुवलि चढाएर शक्ति पूजा, आदि पूजाहरूको विधिविधानको कुराहरू आउँछन् । मोहनी नख: को पूजाहरूमा यही विधिहरू अपनाएको पाइन्छ ।

-६. तान्त्रिक पूजाहरूमा अनिवार्य रूपमा पशुवलि चढाएर पूजा गर्ने परम्परा रहेको छ । अझ भन्नुपर्दा पशुवलि अनिवार्य रूपमा चढाएर शक्ति उत्पन्न भई पूजाहरूमा संलग्न सबै परिवार सदस्यहरूले शक्ति प्राप्त गर्दछन् भन्ने मान्यता रहेको छ ।

-७. अझ भनिन्छ तान्त्रिक षोडशो उपचार पूजाहरूमा आत्मा राखेर वा चढाएर पूजा गरिन्छ । यसमा आचाजुहरूले शक्ति पूजाहरूमा आफ्नू आत्मा नै समर्पण गरेको मानिन्छ । आजकालका गुरुहरूले सो पूजा को विश्लेषण गर्न नसकेर साधारण त पन्चबलि भनेको लोभ, क्रोध, मोह, द्वेष, रिसराग, आदिको बलि दिने भनेको हो भनेको हल्का जबाफ दिएर विद्धान भएको हेर्दा फिका लाग्दछ । कहाँको आत्मा समर्पण गरी शक्ति पूजाहरू पन्चमकार र पशुवलि चढाएर साधना गर्नेको अगाडि साधारण शारीरिक क्रिया प्रक्रिया किस राग, द्वेष, लोभ, मोह, क्रोधसँग तुलना फुर्तीले गरेको पाउँदा अचम्म लाग्दछ । गुरुहरूले पनि यी कुराहरू गर्नुभन्दा पहिले यी तान्त्रिक शक्ति पूजाहरूको बारेमा अलिकति बुझ्न जरुरी देखिन्छ । नत्र सर्वसाधारणलाई भ्रमित पार्ने देखिन आएको छ ।

-८. पशुवलि चढाएर पूजा गर्दा पनि सो बलिपूजाबाट पन्चतत्वहरूको प्रतीक वस्तुहरू चढाउने विधि अपनाएको पाइन्छ । यसमा रगतबाट तेज तत्त्व र जल तत्त्व चढाइन्छ भने घाँटीको मासुको टुकडा चढाएर पृथ्वी तत्त्वको प्रतीकको चढाइन्छ । त्यसपछि घाँटी शरीरबाट छुटाएर श्वास वायु तत्त्व र आकाश तत्त्व चढाइन्छ ।

-९. तान्त्रिक पूजाहरूमा साधारण त पन्चबलिको झन् ठूलो महत्त्व रहन्छ ।

-१०. तान्त्रिक पूजाहरू मा ख्येसगंको पनि विशेष महत्त्व रहन्छ । ख्येसगं मा फुल/अण्डालाई आकाश तत्त्वको प्रतीकको रूपमा चढाइन्छ र त्यसमा रक्सी चढाएर तेज तत्त्वको प्रतीकबाट पचाउने मान्यता छ । त्यसपछि बारा जसलाई वायु तत्त्वको प्रतीकको रूपमा चढाइन्छ । त्यसलाई पनि रक्सी चढाएर पचाइन्छ । त्यसपछि माछा चढाइन्छ जसलाई जल तत्त्वको प्रतीकको रूपमा चढाइन्छ र त्यसलाई पनि रक्सी तेज तत्त्वबाट पचाउने मान्यता छ । अनि त्यसपछि मासु चढाएर रक्सी चढाइन्छ । त्यसलाई पृथ्वी तत्त्वको प्रतीकको रूपमा चढाइन्छ ।

-११. तान्त्रिक पूजाहरूमा पन्चमकारको ज्यादै महत्त्व रहन्छ र तान्त्रिक शक्ति पूजाहरूमा चढाएको पाइन्छ । यसरी नेपाल मण्डलमा आगम शास्त्र अनुसारको तान्त्रिक शक्ति पूजा विधिहरू अपनाएको र शक्ति उत्पन्न गरी प्राप्त गर्ने आज पनि सुचारु रूपले चलिआई रहेको छ ।

२.. बौद्ध धर्म मान्नेहरू खास गरेर बज्रयान, महायान बौद्ध धर्मावलम्बीहरूले सोही आगम शास्त्र अपनाई मोहनी नख: पूजा तान्त्रिक विधि अनुसार गरी आएको पाइन्छ । तर यसमा सकेसम्म बुद्ध धर्मको पालना पनि भएको छ । योगिनीहरूलाई नवदुर्गाको मान्यता दिएर तान्त्रिक पूजा विधिहरू अपनाएको पाइन्छ । तर यसमा सबभन्दा बढी बदलाव पशुवलि पूजामा भएको पाइन्छ । पशुवलिको स्थानमा गेडागुडीहरू धेरै प्रकारको चढाउने विधि अपनाइएको पाइन्छ ।

३.. वैदिक सनातन हिन्दू धर्म मान्नेहरूले पार्वतीको नौ रूपलाई नवदुर्गा भवानीको मान्यता दिएको छ । तर यसमा विस्तार विस्तार नवदुर्गा भवानीलाई खुसी पार्न पशुवलि चढाएर शक्ति पूजाहरू गर्ने प्रचलनलाई हटाएर लान खोजेको भान हुन्छ । यसमा पशुवलि चढाएर देवी कसरी खुसी हुन्छ भन्नुभन्दा पहिले एकपटक यी शक्ति पूजाहरूको महत्त्व बुझेर सबै बसेर छलफल भएर निर्णय भएमा वेश हुने थियो । नत्र पशुवलि चढाएर प्रसाद ग्रहण गरी शक्ति प्राप्त गर्ने भन्ने मान्यता विस्तार विस्तार हटेर जाने देखिन्छ ।

मोहनी नख: पर्वले सबैलाई शक्ति प्रदान गरुन् !

सम्बन्धित समाचार