मंगलबार , बैसाख ४, २०८१

नेपालका लोपन्मुख जात्रा एवं चाडपर्वहरू, सायदै हामीले सुनेका छौँ

image

नेपालमा विभिन्न जातजाति, विभिन्न भाषाभाषी बोल्ने र विभिन्न धर्म मान्ने मानिसहरू बस्दछन् । विभिन्न जातजाति र धर्म मान्ने मानिसहरूका आ-आफ्ना रीतिथिति रहनसहन चालचलनहरूमा पनि विविधता पाइन्छ । रहनसहन र चालचलनअनुसार विविध चाडपर्व र जात्राहरू मनाइने गरिन्छ । त्यसमध्ये धेरै चाडपर्व र जात्रासँग हामी परिचित हौला, जसमा राष्ट्रिय स्तरमा चर्चा-परिचर्चा एवं सार्वजनिक बिदा समेत दिने गरिन्छ ।  

तर, त्यसबाहेक पनि नेपालमा अन्य धेरै चाडपर्व र जात्राहरू छन्, जसलाई हामी कमैले जान्दा हौँ, चिन्दा हौँ । यहाँ हामीले केही त्यस्तै चाडपर्व र जात्राहरूलाई प्रस्तुत गर्ने जमर्को गरेका छौँ;

क) मोहर्रम पर्व 

मुस्लिम र हिन्दू समुदायले सामूहिकरुपमा मोहर्रम पर्व मानाउने गर्दछन् । मुस्लिमको पर्व भए पनि सदियौँदेखि नेपालका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्वले दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झना स्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ। हिन्दू र मुस्लिम धर्मावलम्बीले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखी चाड मनाउने गरेका छन् ।

मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै « The Nepal Top

आजभन्दा एक हजार ४ सय ५० वर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परी मारिएका इस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइने गरेका छन् । हुसैनको प्रतीकस्वरुप घरघरमा तहाजियाको पूजा गर्ने चलन रहेको छ ।

ख) कुमारषष्ठी वा सिथी नख:

सिठी वा सिथी नखः नेवार समुदायको प्रसिद्ध पर्व हो । जेठ शुक्ल षष्ठीका दिन मनाइने यस पर्वमा कुमार कार्तिकेयको विशेष विधिले पूजा गरी खटयात्रा गर्ने गरिन्छ । यसै दिन प्रायः नेवारहरूको देवाली पूजाका साथै इनार सफाइ गर्ने काम गरिन्छ । यो चाड कृषक समुदायका प्रसन्नता र समृद्धिसँग पनि सम्बन्धित छ । 

आज सिथि नख: पर्व, पानीको स्रोत सफा गरेर मनाईदै – WASHKhabar

ग) चासोक ताबनाम

किराँत समुदायका लिम्बू जातिको विशिष्ट महान पर्व चासोक ताब्नाम प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा र मंसिर शुक्ल पूर्णिमाका दिन पर्दछ । ‘न्वागी पूजा’ समेत भनिने चासोक ताब्नाम पर्वमा नयाँ पाकेका फलफूल (अन्न, फलफूल) देवी देवताहरूलाई चढाएर मात्र आफूले खाई रातभर यालब्मा, च्याव्रुब नाच नाच्दै, हाक्पारे गीत गाउँदै रमाइलो गरिन्छ । यो पर्व लिम्बू जातिको ऐक्यवद्धता, साझा, समृद्ध, संस्कृतिको प्रतीकको रूपमा मनाइन्छ । 

नेपाली भाषामा ‘चासोक’को शाब्दिक अर्थ न्वागी र ‘तङ्नाम’को अर्थ चाडपर्व रहेको किरात याक्थुम चुम्लुङ धरानका अध्यक्ष सुवास होक्पाचोङवाङ लिम्बूले बताए । लिम्बूहरूले चासोकको दिन चुम्लुङ हिममा भेला भएर आफ्नो खेतमा पाकेको नयाँ अन्न धान, कोदो, मकै, दाल, भटमास तागेरा निङ्वाफु माङलाई चढाएर घरघरमा पूजा गरी परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर खाने प्रचलन रहेको उनले बताए ।

चासोक तङ्नाममा फेदाङ्मा (लिम्बू जातिको पुजारी)को सहारामा युमा साम्माङ, थेवा सम्माङ, मिसेक, चखोवा, फाक्मुरा, थुङ्दाङ्वालगायत नौ प्रकारका देवीदेवताको पूजा गरिन्छ । यो दिन लिम्बूहरूले आफ्ना छोराछोरीलाई संस्कार र संस्कृतिका बारेमा जानकारी गराउने गर्दछन् ।

घ) रात र दिन वरावर भएका दिन मनाउने पर्व : विस्काजात्रा (बिस्केट)

भक्तपुरमा चैत महिनाको अन्तिम हप्ताको चौथो दिनदेखि नववर्षको सुरुवात मेष संक्रान्तिमा मनाइने यो जात्रालाई विश्वकेतु यात्रा, विश्वाकृत यात्रा, विसिका जात्रा भनिनुका साथै एक वर्षको अन्त्यदेखि अर्को नववर्षको सुरुआतसम्म मनाइने यो पर्वलाई दुईवर्षे मेला पनि भनिन्छ । यो बेलामा सब इष्टमित्रहरूसँग भेटघाट गरी एकअर्कामा शुभकामना साटासाट गरिन्छ । शिव स्वरूप भैरव रथयात्रा गर्नुलाई विस्केट जात्राको महत्त्वपूर्ण पक्ष मानिन्छ । साथै, यसदिन रथ जुधाउने, जिब्रो छेड्ने तथा खट जात्रा समेत गर्ने गरिन्छ । 

विस्का जात्रा बोडेको जिब्रो छेड्ने - Visit Nepal TV

बिस्का जात्रा नाग वा सर्प मारेर अथवा तान्त्रीक राजगुरु नागको रुप धारण गरि मृत्यु वरण गरेको संम्झनामा अथवा राजालाई मृत्युवरण गराउन राजकुमारीका नाँक बाट निस्कने नागलाई मारेको खुसियालिमा अर्थात नाग वा सर्पलाई नेवार भाषा (नेपाल भाषा)मा ‘विइ’ भनिने र मरेकोलाई ‘सिका’ भनिने भएकाले विइ याने नाग वा सर्प सिका याने मरेपछि हुन गएको वा विषुवत् दिनमा शुभ दिनका रुपमा मनाउने  यो जात्रा  नाग वा सर्प मरे पछि  मनाउने किम्बदन्ती संग गासिएकोले विइ र सिका  दुई शब्द समायोजन (विइ + सिका = विसिका) हुँदै आएको होस वा विषुवत् दिनमा शुभ दिनका रुपमा मनाउने  जात्रा भई विषुवत् कालमा मनाउने यो जात्रालाई समयको अन्तरालसँगै बिसिका मा रुपान्तरण भएको होस्, यो जात्रा  विस्का पर्व आठ दिन नौरात सम्म मनाउने यो जात्रा  प्रत्यक सौर्य वर्षको वसन्त ऋतुमा मनाउने गरिन्छ ।

ङ) पाता मेला

नेपालका आदिवासी सतार जातिले मनाउने यो पर्वमा झापा जिल्लाको ज्यामिर र भारतका सन्थालहरू हजारौँको संख्यामा सहभागी भई शिव पार्वतीको पूजा अर्चना गर्दै नाचगानका साथै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ । 

च) गौरा पर्व (गोहरा)

नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश तथा भारतको कुमाऊ र गढवाल क्षेत्रमा मनाइने यो पर्वमा विभिन्न जातिका महिलाहरूले सामूहिक रूपमा शिव-पार्वती,गणेशको पूजाअर्चना गर्ने परम्परा छ । स्थानगत आधारमा ‘गोहरा’ समेत भनिने यो पर्वमा मासको पीठोको मूर्ति बनाई पूजा गरिन्छ ।

गौरा पर्व सुरु, आज पहिलो दिन बिरुडा भिजाइँदै

मन्दिरमा फूल, चन्दन, अक्षता, धूपका अतिरिक्त जौँ, गहुँ, मास, केराउ मिश्रित पञ्च विरुडा चढाइन्छ । भाद्र कृष्णाष्टमीदेखि ३ दिनसम्म मनाइने यो पर्वमा अष्टमीका दिन महिलाहरू उपवास बसी घाँसद्वारा निर्मित शिव पार्वती गणेशका मूर्ति (साउ) को पूजाअर्चना गर्ने, भजन कीर्तन गर्ने अठवाली कर्म गर्दछन् । 

छ) सिरुवा पर्व

नव वर्षको उपलक्ष्यमा झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी जातिले आफ्ना कुलदेवताको पूजा गरी हिलो तथा रङ छ्यापाछ्याप गर्दै सिरुवा पर्व मनाउँछन् । राजवंशी जातिको महत्वपूर्ण सिरुवा पर्वको बेलामा लसुन र प्याज घरबाहिर झुण्ड्याइन्छ । महाभारतकालमा परशुरामले क्षेत्रीय जातिविहीन पृथ्वी बनाउन क्षेत्रीयहरूलाई मार्दै हिँड्ने क्रममा राजवंशी जातिलाई मार्न लाग्दा लसुन, प्याज ढोकामा झुण्डयाएको देखेकाले उनीहरू बचेको आख्यान भएकोले अद्यापि लसुन प्याज झुण्ड्याउने परम्परा छ ।  

नयाँ वर्षको सिरुवा पर्व - Purwanchal Daily

यसैदिन सात प्रकारका तरकारी मिसाएको सागजाती बनाएर खाने गरिन्छ । सिरुवा पर्वमा राजवंशी समुदायका कुलदेवता ठाकुर विसरीको पूजा गर्नुका साथै ‘टिष्टाबुढी’का नामले टिष्टा नदीको पनि पूजा गरिन्छ । यो पर्व राजवंशी जातिका अतिरिक्त थारू, ताजपुरीया, कहार, गनगाई जातिले पनि उत्साह र उमङ्गका साथ मनाउने गर्दछन् । यो अवसरमा हाट-मेला भर्ने र गान-बजान गरी ‘रङ्गारङ्ग नृत्य’ गर्ने गरिन्छ । 

ज) पेन्दिया

मध्य तथा सुदूरपश्चिम नेपालका थारूहरू आफ्नो खेतीपाती सकेर खलिहान (धान झार्न बनाइएको समतल ठाउँ) बाट सबै अन्न भित्राएको दिनलाई पेन्दियाको रूपमा मनाउँछन् । यस दिन थारू समुदायका गुरु पुरोहितले खलिहानमा विशेष किसिमको पूजा गर्दछन् । 

झ. पुख्यौर्ली पर्व तेरमीन (तोरनल्ह)

नेपालमा थकाली समुदायमा पितृपूजाका रूपमा प्रचलित यो पर्व फागु पूर्णिमाको एक दिनअगाडि सुरु भई फागु पूर्णिमाको भोलिपल्ट (३ दिन) सम्म मनाइन्छ । यो अवसरमा पितृहरूलाई खिमि (पीक) दान गरिन्छ । यो पर्वमा मध्यरातपछि र बिहान कुखुरा बास्नुभन्दा अगाडि घरकी प्रमुख महिलाले स्नान गरी शुद्ध भएर सालको पातमा राखेर मृतक पितृहरूको सम्झना गरी पिण्डदान गर्ने गरिन्छ । पिण्डदान कार्यमा पुरूषजातिको सहभागिता हुँदैन । 

यस अवसरमा मेवा-मिष्ठान खाने, राम्रा नयाँ कपडा लगाउने, आफन्त इष्टमित्रहरूसँग भेटघाट गर्ने आदिका अतिरिक्त पुरूषहरूबीच धनुवाण हान्ने प्रतियोगिता (तारो खेल) र महिलाहरूमा ढुङ्गाको गट्टा खेल्ने प्रतियोगिता आयोजना गरिन्छ । 

ञ) गुरुङ जातिको परम्परागत ‘ट्होत्हे’ पूजा

गाउँवस्तीलाई विभिन्न विकृतिहरूबाट बचाउन, वन्य जीवजन्तुहरूबाट बालीनाली, पाल्तु जीवजन्तु र मानिसको समेत रक्षाका लागि, बाह्य आक्रमणबाट गाउँवस्तीको रक्षा गर्न तम्सेका तमु राजा मेसरो र उनका वीर योद्धाहरूको लोककथा र गाथाहरूलाई स्मरण गर्दै भकिम्लोबाट निर्मित हातहतियारबाट सुसज्जित भई चर्को स्वरमा कराउँदै र ठूलो आवाजका ढोल, ढ्याङ्ग्रो र याम्रो बजाउँदै आफ्नो शत्रुलाई गाउँवस्तीको सीमापारी कटाएको प्रतिकात्मक अभिनय गुरुव (तमू) जातिको मनाउने ट्रहुटे पर्वमा प्रस्तुत गरिन्छ । सुख, शान्ति, निर्भयको कामना गर्दै अनुहारमा कालो लगाई शिरमा पन्क्षीहरूका प्वाँख सिउरेर बाजागाजा बजाएर नाच्दै मनाइने पर्वले गुरुव (तमू) भेषभूषा, रहनसहन, संस्कृतिको प्रतिनिधित्व गर्दछ । 

ट. रामडी मष्टा मेला

बझाङको तलकोट गाउँपालिका–३ को गैरापातलमा लाग्ने रामडी मष्टा मेला लाग्ने गर्दछ । मेला कृष्णपक्ष सप्तमीदेखि सुरु भएर कृष्ण जन्माष्टमीका दिनसम्म लाग्छ। विशेष गरेर जिल्लाभित्रकै सुवेडा, पैयाँतोलाका बम्म, सेरागाउँ, रुपातोला भाट गाउँदेखि भक्तजनहरु व्रत बसेर मेलामा गएर पूजापाठ गर्नाले आफूले मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ ।

बझाङको रामडी मष्टा मेला सम्पन्न

हाल भुन्टु धामी त्यहाँका १०औँ धामीका रुपमा रहेका छन् । रामडी मष्टालाई ऐतिहासिक तथा धार्मिक रुपमा प्रवद्र्धन गर्नका लागि मन्दिरमा घेराबार, प्रतीक्षालय र तामाको पाता राख्ने लगायतका कामहरु भइरहेको छ ।

ठ.याकको यौनक्रिडा देखाउने ‘खिल्हा पर्व’

मुस्ताङको तीन गाउँ थकालीहरूको मौलिक सभ्यतामा आधारित खिल्हा पर्व बर्सेनी साउनमा सुरु हुने गर्छ । तीन गाउँले मध्येकै ठिनीका थकालीले भदौमा यो पर्व मनाउँछन् ।  बर्सेनी असार महिनाको ९ महिने उवा बाली थन्क्याएर ३ महिने फापर बालीको खेतमा बिउ छरेपछि पर्व मनाउने चलन रहेको छ ।  खिल्हा पर्वअघि पूर्णिमाको दिन स्याउ गाउँकै ३८ सय मिटर उचाईमा रहेको चाङउई धार्मिक स्थलमा पुगेर पुजापाठ र दर्शन गरिन्छ। त्यसपछि भोलिपल्ट नजिकैको खोलाबाट याकको मुकुट लगाएर गाउँ भित्र्याउने चलन छ ।

मुक्ति क्षेत्रमा हिमाली संस्कृति

पर्वका सहभागी घोडा चढेर उक्त स्थान पुगेर फर्किन्छन्। थकाली गीत गाउँदै आपसमा रमाइलो गर्ने पर्वको मौलिक विशेषता हो। पर्वका अवसरमा परम्परागत याक नाच, जोगी नाच, विभिन्न हास्यव्यंग्यसहित बाजागाजा बजाएर मनोरञ्जन गर्ने चलन रहेको  छ ।

सन्दर्भ सामाग्री :
नेपाल परिचय पुस्तक,
अन्नपूर्ण पोस्ट
प्रकाशमान श्रेष्ठ
गण्डक न्यूज
धादिङ खबर

सम्बन्धित समाचार