बुधबार , भाद्र १०, २०८३

नेपालको एकमात्र घुमन्ते प्रजाती राउटे

वास्तवमा भनौँ भने राउटेहरू घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको प्रजाति हो । तसर्थ यी राउटेहरूको लागी स्थायी घर बनाइदिने र अन्य व्यवस्था मिलाउने भनेको एक मात्र घुमन्ते प्रजातिलाई हाम्रो समाजमा समाहित गरेर विलुप्त गर्नु हो ।

image

– सुनिल उलक

राउटेको अचेल सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चाले धेरैले राउटेहरूको रहनसहन, भेषभूषा तथा बोलीचालीबारे जानकारी पाउन थालेका छन् । पहिले एनजिओ तथा आइएनजिओको नाममा डलर कमाउनेहरू राउटे बस्तीमा पुग्दथे । अहिले युट्युबरहरू डलर कमाउन राउटे बस्ती पुग्ने गरेका छन् । तर राउटेको जीवनशैलीमा भने कुनै परिवर्तन आएको देखिँदैन । कतिपय सुधार र सामाजिक कुराहरू उनीहरू स्विकार्दैनन् । कतिपय सरकार र यहाँको समाजले स्विकार्न दिँदैनन् ।

पहिलो पटक देखिएको घुमन्ते राउटे समुह

वास्तवमा भनौँ भने राउटेहरू घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको प्रजाति हो । तसर्थ यी राउटेहरूको लागी स्थायी घर बनाइदिने र अन्य व्यवस्था मिलाउने भनेको एक मात्र घुमन्ते प्रजातिलाई हाम्रो समाजमा समाहित गरेर विलुप्त गर्नु हो । यिनीहरूलाई यसरी नै बाँच्न दिनुपर्छ । सरकार वा यहाँको समाजले यिनीहरूको जीवन रक्षा गर्नको लागी यिनीहरूलाई यिनीहरूले उत्पादन गर्ने सामग्री उत्पादनमा सहयोग गर्ने तथा सो उत्पादित सामग्री खरिद गरिदिने हो ।

यी सामग्री बजारमा बिक्छन् वा बिक्दैनन् भन्नुभन्दा पनि यिनीहरूबाट उचित मूल्यमा खरिद गरिदिएमा अन्य आर्थिक सहयोगको अपेक्षा राख्ने गर्दैनन् । बजारमा आउँदा यिनीहरूले तयार बनाएर बिक्रीका लागि ल्याइएका सामग्री किन्न नखोज्ने वा सस्तोमा किन्न खोज्ने गर्दा यिनीहरूमा आर्थिक अभावको अवस्था सिर्जना भयो । जसले गर्दा यिनीहरू आफू बसेको नजिकको बस्तीमा माग्नको लागी पनि पस्न थाले ।

राउटे समुहका मुखिया महिनबहादुर कल्याल (शाही) रेडियो सुन्दै

नेपाल सरकारले मासिक लोपोन्मुख भत्ता बापत रु. ३००० र कर्णाली प्रदेश सरकारबाट रु. २००० गरी मासिक रु. ५००० पाउने व्यवस्था गरेको छ । यस किसिमको व्यवस्थाले सरकारले राउटे प्रजातिको सुरक्षण गरेको भन्ने गरेको छ । वास्तवमा यसरी रकम उपलब्ध गराउनु गलत हो । यसको सट्टा उनीहरूलाई उनीहरूले तयार गर्ने काठको सन्दुस, कौशी, औखल तथा सिलौटाहरू उत्पादन गर्न सहयोग गर्ने तथा ती उत्पादित वस्तु सरकारले खरिद गरिदिने व्यवस्था मिलाएको भए उनीहरू आत्मनिर्भर हुन्थे । तर, अचेल उनीहरूले यी सामग्री उत्पादन गर्न बिस्तारै छोडिसके । काठ पाइँदैन काट्न दिँदैन भनेर पन्छिन थालेका छन् । साथमा सरकारले विभिन्न सहयोगको माग गर्न थालेका छन् । सरकारले लोपोन्मुख भत्ता उपलब्ध गराउँदा उल्टो अझ बढी रकमको अपेक्षा गर्न थालेका छन् ।

काठको सन्दुस बनाउँदै राउटे

नेपालमा राउटेहरूको बारेमा विस्तृत अध्ययन २०२५ सालमा भएको थियो । अमेरिकी मानवशास्त्री एवं पुरातत्वविद योहन रेयनहर्डले २०२५ साल पुसदेखि फागुन सम्म राउटे बस्तीमा नै बसेर अध्ययन गरेका थिए । हुन त रेयनहर्ड २०२४ को अन्तमा नै नेपाल आएर नेपालको अर्को आदिवासी कुसुण्डासम्बन्धी अध्ययन गर्दै थिए । कुसुण्डाका राजामामासँग बसेका थिए । कुसुण्डाको भाषा र लिपि सम्बन्धी पनि अध्ययन गरेका थिए । कुसुण्डासम्बन्धी अध्ययन गर्ने क्रममा नै राउटेहरूको बारेमा पनि सुनेपछि उनले राउटेको अध्ययन पनि थालेका थिए । यस अगाडि राउटेको विषयमा योगी नरहरिनाथले २०१३ सालमा प्रकाशित आफ्नो पुस्तक “इतिहास प्रकाश”मा राउटे बारेमा लेखेका छन् ।

राउटेको खोजीको लागि जहाजमा सुर्खेत जाँदै रेयनहर्ड

विदेशीको हकमा भने रेयनहर्ड नै पहिलो व्यक्ति थिए जो राउटे बस्तीमा पुगेर राउटेहरूसँग बसेर उनीहरूको विषयमा अध्ययन गरेका थिए । रेयनहर्डसंग पछिल्लो चार वर्ष यता दुईपटक मेरो भेट भएको थियो । भेटमा फोटोहरू मलाई हस्तान्तरण पनि गर्नुभएको थियो । भेटमा उहाँसँग कुसुण्डा तथा राउटेको विषयमा कुराकानी नभए पनि उहाँले गर्नुभएको अध्ययनहरू समेटेको लेख दिनु भएको थियो ।

नेपालमा कुसुण्डा प्रजाति र उनीहरूको विलुप्त हुँदै गरेको भाषासम्बन्धी अध्ययन गर्ने मनसायले नेपालमा आएका रेयनहर्डले कुसुण्डाहरूसँगको कुराकानीकै समय राउटेको बारेमा सुनेपछि राउटेहरूको विषयमा पनि विशेष चासो लिन थालेका थिए । राउटेहरूको विषयमा सुनेपछि राउटेहरूको बस्ती खोज्न २०२५ पुस पाँच गते रेयनहर्ड काठमाडौंबाट सुर्खेत लागेका थिए ।

त्यसपछि पनि राउटेहरूलाई खोज्न करिब तीन हप्ता लागेको थियो । अन्ततः २०२५ पुस २७ गते उनले बस्ती सर्दै गरेका लामबद्ध राउटेहरूलाई टाढाबाट देखे । जुन तस्बिर यहाँ राखिएको छ । त्यसपछि उनीहरूको नजिक जाने खोजे । राउटेहरू अन्य मानिसहरूको नजिक जान खोज्दैनन् तथा नजिक आएको रुचाउँदैनन् । त्यसमा झन् एक विदेशीको लागी अझ गाह्रो थियो उनीहरूको बारेमा बुझ्न । उनीहरूको मुख्य बसोबास क्षेत्र कर्णाली भेरी र बबई नदी वरपर सुर्खेत, दैलेख र सल्यान जिल्ला नै थियो । २०२२ को पुस देखी २०२९ को पुस सम्मको अध्ययनमा उनीहरूको बसाइ स्थल यही सेरोफेरो नै थियो । जुन तस्बिरमा पनि देख्न सकिन्छ ।

भरियाहरु तथा सहयोगी भरतका साथ रेयनहर्ड

यी प्रजाति जंगलको राजाको रुपमा धेरै अगाडि देखी वनरावत, जंगली तथा वनमानुस भन्ने गरिन्थ्यो । राउटेहरूको बारेमा जेना फोर्टियरले “Kings of the Forest” लेखेका छन् भने ओम गुरुङले Route of Nepal लेखेका छन् । त्यस्तै गणेश ओलीले The Rautes: The Endangered Jungle Tribe of Nepal लेखेका छन् । त्यस्तै रेयनहर्डको Raute (Nepal): Camp Scenes and Bartering को साथै अन्य पुस्तकहरू पनि भेटिन्छ । साथै बिबिसी टेलिभिजनले Living with Nomads शीर्षकको शृङ्खलामा केथ हम्बलले नेपालका राउटेहरूको साथ बिताएको डकुमेन्ट्री नै बनाएको थियो ।

बस्ती सर्दै गरेका राउटेहरू

समयअनुसार राउटेहरूको जीवनशैलीमा पनि फरक आएको छ । पहिले पहिले छाप्रो बनाउँदा रुखका हाँगा पातपतिङ्गरले छाउँथे । अहिले भने पालमा निर्भर हुन थालेका छन् । बलियो पालको लागी सरकारलाई गुहार्छन् । बस्ती नजिकै बस्न थालेपछि बियरको स्वादमा रम्न थालेका छन् । खाजाको रुपमा चाउचाउको प्रयोग बढ्दै गएको छ । केहीले मोबाइल पनि चलाउन थालेका छन् ।

Photo: Ram Paudel, Asian Geographic

राउटेहरूको इतिहास

राउटेहरूसँग आफ्नो कुनै इतिहास छैन । घुमन्ते र देवताको सन्तान भन्ने गरिएपनि राउटेहरूको उद्गम स्थल फुकोट भन्ने गरिन्छ । उनीहरूकै कथनअनुसार फुकोटमा बस्ने विष्णु ठकुरीका सात भाइ छोरामध्ये माहिलो छोराले पारिवारिक सजाय बापत गाउँबाट निष्कासित भएर जंगल बस्नु परेको भन्ने कथन छ । कति सय वर्ष अगाडिको कुरा हो भन्ने कुनै यकिन तथ्य छैन । अहिलेका राउटे तिनै माहिलोका सन्तान हुन भनिन्छ । राउटेहरूको जनसङ्ख्या ७०० जति भएपनि अहिले वास्तविक राउटेहरूको सङ्ख्या मुस्किलले १५० जति मात्र छ । बाँकी अन्य राउटे समाजमा घुलमिल भइसकेका छन् । राउटेहरूमा आफ्नो सङ्ख्या गन्नु हुँदैन भनेर यकिन सङ्ख्या भन्ने गर्दैनन् ।

रमाइलोको लागी नाचगान गर्दै राउटे समुह

मुख्य गरेर राउटेहरू तीन गोत्रका छन् कल्याल गोत्र, रास्कोटी गोत्र र सूर्यवंशी छत्याल गोत्र । यी तीन गोत्र बिच विवाह चलाउँछन् । आफ्नै गोत्रमा विवाह गर्न नहुने हुँदा कल्यालहरू रास्कोटीसँग र समालहरू कल्यालसँग बिहे गर्दछन् । कल्यालहरूको सङ्ख्या सबैभन्दा अधिक र रास्कोटी तथा समालहरूको सङ्ख्या न्यून हुँदा विवाहको उमेर पुगे तापनि बिहे हुन नपाएका कल्याल युवायुवतीहरूको सङ्ख्या बढ्दै गएको छ ।

राउटेहरूमा समूहगत महामुखिया ने गोत्र अनुरूप तीन मुखिया हुने गर्दछ । निकै लामो समय देखी राउटेहरूको महामुखिया मइनबहादुर कल्याल (शाही) छन् भने अन्यमा कल्याल मुखिया वीरबहादुर शाही, रास्कोटी मुखिया सूर्यनारायण शाही तथा समाल मुखिया डीलबहादुर शाही हुन् ।

राउटे महिला तथा बालबच्चाहरु

 

२०७५ असार ३० गते देखि गुराँस गाउँपालिकाले परिचय पत्र प्रदान गरेको थियो । जसअनुसार उनीहरूलाई नागरिकता पनि दिने प्रयासहरू भइरहेको छ । केही समय देखी सुर्खेतको दमारमा बस्दै आएका राउटेहरू हालै सल्यान जिल्लाको काल्चे डाँडामा बसाइसरेका छन् । अहिले यिनीहरू ४६ घरधुरीका १४३ जना भएको जनाइएको छ । राउटेहरू मुख्यतया कुनै पनि ठाउँमा बस्दै गर्दा कुनै सदस्यको मृत्यु भयो भने बसाइसर्ने गर्दछन् । शवलाई आफू बस्दै आएको ठाउँमा नै गाड्दछन् र सो ठाउँ छोडेर नयाँ ठाउँको खोजीमा निस्कन्छन् । यस पटक सुर्खेतको बसाइमा भने विभिन्न स्थानमा राउटे बस्तीमा आएर युट्युब तथा टिकटक बनाउनेले दु:ख दिन थालेपछि पनि सर्न बाध्य भएका हुन् । तर, मुखियाले भने सुर्खेतमा बढी गर्मी भएको हुँदा बसाइ सर्नुपरेको जानकारी दिएका छन् ।

 

हेरौँ तस्बिरमा राउटेहरू आजभन्दा ५० वर्ष अगाडिको अवस्था । सम्पूर्ण तस्बिर भने योहन रेयनहर्डले नै खिचेका हुन् ।

 

भिडियो क्यामेरा हातमा लिएर हेर्दै गरेका राउटे

राउटेहरुको मुख्य आहार लङ्गुर बाँदर 

 

राउटे बस्तीको रात्रिकालिन दृश्य

सम्बन्धित समाचार