‘राष्ट्रिय जनावर मार्न मिल्दैन’ तर के राष्ट्रिय जनावरलाई खुलेआम सडकछाप बनाउन चैँ मिल्छ ? भगवान्को नाममा डामेर छोड्दा चैँ उसलाई दुख्दैन ? गाईलाई भगवान् मान्नेहरूको कुरा र व्यवहार ठ्याक्कै विपरीत छ ।
– विनिता भण्डारी
भारतको हाइद्राबाद सहर बीफको राजधानीको रुपमा परिचित छ । हाइद्रावादको प्रमुख आकर्षण भनेको सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘कल्यानी बिर्यानी’ हो । बिर्यानी बीफको एउटा परिकार हो । बिर्यानी दलित र आदिवासीको भोजन संस्कृतिको अमूल्य हिस्सा पनि हो ।
सन् २०१२ मा सोही सहरको ओस्मानिया युनिभर्सिटीको फुड फेस्टिभलमा बीफ स्टल राखियो । सो बीफ स्टल दलित विद्यार्थीले आफ्नो संस्कृति प्रवर्द्धन गर्ने हिसाबले राखेका थिए । त्यसो त युनिभर्सिटीमाको फुड फेस्टिभल समवेशी छैन भनेर उनीहरूले धेरै वर्ष अगाडिदेखि नै कलेज प्रशासनसँग गुनासो गरेका थिए । प्रशासनले उनीहरूको मुद्दालाई कहिल्यै पनि गम्भीर रूपमा हेरेको थिएन किनभने हाम्रा अधिकांश सार्वजनिक स्थलहरू ब्राह्मणिकल छन्, चाहे त्यो मन्दिर होस् वा विद्वानहरूको युनिभर्सिटी । त्यसैले दलित विद्यार्थी सङ्गठनले फुड फेस्टिभलमा आफैँ बीफ स्टल राख्ने निर्णय गर्यो । कार्यक्रम सुरु भएको केही समयमै अखिल भारतीय विद्यार्थी परिषद् (भारतीय जनता पार्टीद्वारा सञ्चालित एक विद्यार्थी युनियन) ले युनिभर्सिटीमा हमला गर्यो । कार्यक्रम संयोजकलाई हातपात गर्यो र करिब पाँच जना विद्यार्थीहरू घाइते भए ।
हाइद्रवादकै सेन्ट्रल युनिभर्सिटी (सन् २०१६) निकै चर्चामा आयो । कारण थियो, युनिभर्सिटीका दलित अधिकारकर्मी र अम्बेडकर स्टूडेन्ट असोसियसनका सदस्य रोहित भेमुल्लाको आत्महत्या । रोहित सामान्य विद्यार्थी थिएनन् । युनिभर्सिटीमा रहेको ब्राह्मण प्रभुत्वलाई चुनौती दिन उनले निकै प्रयासहरू गरेका थिए । त्यही प्रयासहरूमध्ये एक थियो उनीहरूले आयोजना गरेको बीफ फेस्टिभल । अम्बेडकर जयन्तीको अवसरमा दलित, आदिवासी र मुस्लिमहरूको भोजन संस्कृतिमा पर्ने बीफको फेस्टिभल आयोजना गर्दा उनीहरू र बिजेपीको विद्यार्थी सङ्गठनबीच झडप भयो तर युनिभर्सिटी प्रशासनको नजरमा केबल रोहित र उनका पाँच जना साथी कसुरदार ठहरिए । कारणवश, उनीहरू सस्पेन्ड भए र होस्टेलबाट निकालिए । भनिन्छ, ‘बिजेपी मन्त्री स्मृति इरानीले उनीहरूलाई सस्पेन्ड गर्न कलेज प्रशासनलाई निरन्तर दबाब दिएकी थिइन् ।’ सस्पेन्ड भएको केही दिनमै रोहितले अम्बेडकर स्टूडेन्ट असोसियसनको ब्यानर झुन्ड्याएर आत्महत्या गरे । उनी त्यति सजिलै हार खाने विद्यार्थी त थिएनन् तर सानैदेखि भोगिआएको जातीवाद कलेजमा पनि जरो गाडेर बसेको कुराले उनलाई कमजोर तुल्यायो । उनले आफ्नो सुसाइड नोटमा लेखेका थिए, ‘मेरो जन्म नै मेरो जीवनको घातक दुर्घटना हो ।’ उनको मृत्यु भएको पाँच वर्ष बितिसक्यो तर यस्ता हजारौँ रोहितको हत्या राज्यले अझै पनि गरिरहेकै छ ।
शाहकारी भारतको मिथ्या:
सामान्यतया, मूलधार मिडियामा भारत एक शाहकारी देशको रूपमा परिचित छ तर तथ्याङ्कअनुसार भारतका करिब ७० प्रतिशत जनता मांसाहारी हुन् । महात्मा गान्धीले विश्वभर नै अहिंसाको सिद्धान्तहरू फैलाएका कारणले पनि हुनसक्छ, भारत आज शाहाकारी देशको रूपमा चिनिन्छ । भनिन्छ, ‘गान्धीले शाहाकारी भोजनको प्रचार त गर्थे तर खासगरी मुस्लिम र दलित समुदायले गाईको मासु त्याग्नुपर्ने कुरा बढी जोड दिन्थे ।’ गान्धीका दुई चेहरा थिए र उनी एकदमै ठुलो जातिवादी थिए भन्ने कुरा कयौँ भारतीय बुद्धिजीवीहरूको किताबमा पढ्न पाइन्छ । अम्बेडकरले सन् १९५५ को बीबीसीसँगको इन्टरभ्यूमा ‘गान्धी कहिल्यै महात्मा थिएनन् र म उनलाई महात्मा कहिल्यै पनि मान्दिनँ’ भनेर भनेका थिए । सोहीकारण आजसम्म पनि अम्बेडकर भारतीय इतिहासमा एक खलनायकको रूपमा चिनिन्छन् ।
भारतको संविधान जारी गर्ने बेलामा गान्धी र उच्च जातका हिन्दू नेताहरूको मिलेमतोमा गाईको हक मौलिक अधिकारमा राख्नु पर्ने भन्ने बहस नै चलेको थियो (रे) ! अम्बेडकर संविधान मस्यौदा समितिका अध्यक्ष भएका कारणले यसो हुन सकेन, नत्र कुनै जनावरलाई मौलिक अधिकार दिने भारत पहिलो देश हुन्थ्यो होला !
गौ-हत्या सम्बन्धी एकदमै संवेदनशील देखिएको भारत बिजेपी सरकार अन्तर्गत रहे पनि बीफ निर्यात गर्ने देशमध्ये चौथो स्थानमा पर्छ । बीफ निर्यात गर्ने सबैभन्दा ठुलो कम्पनी हो -अलकवीर प्रा.लि. । यसका मालिक हुन- शतिस सबेरवाल, जो एक उच्च जातीय हिन्दूहरू मध्ये पर्छन् । यस्ता थुप्रै बीफ निर्यात गर्ने कम्पनीहरूका मालिक हिन्दू नै छन् ।
भारतमा उत्पादन हुने अधिकांश बीफ निर्यात हुन्छ तर विज्ञहरूले भने बीफ सस्तो र प्रोटिनयुक्त भएका कारणले यसको खपत भारतमा बढी गर्नुपर्छ भन्ने सुझाव दिन्छन् । भारतका करिब ४५ प्रतिशत बालबालिकाहरू कुपोषित छन् । बोइलर कुखुरा र महँगो मासुभन्दा बीफ खानाले मध्यमवर्गीय परिवारका बालबालिकाहरूले स्वास्थ्यकर जीवन निर्वाह गर्न सक्छन् भन्ने विज्ञहरूको अनुमान छ ।
बीफको हिन्दू इतिहास:
अधिकांश हिन्दूहरुले गाईलाई भगवान्को रूपमा पुज्छन् र यो परम्परागत कालदेखि चलिआएको भन्ने दाबा पनि गर्छन् । तर प्राचीन समयमा हिन्दूहरुले गाईको बली दिने र मासु समेत खाने गरेको कुरा अम्बेडकरले आफ्नो अध्ययनको कर्ममा सार्वजनिक गरेका थिए । यो तथ्य उनले ‘को हुन् अछुत र किन भए?’ भन्ने आफ्नो किताबमा उल्लेख गरेका छन् ।
अम्बेडकरले लेखेका छन्, ‘ऋग्वेद’ कालमा आर्यनहरू मासु खान गाई मार्थे भन्ने कुरा वेदमै भनिएको छ । ‘ऋग्वेद’ ९१० ।८६ ।१४० मा इन्द्र भन्छन्, ‘आफूले एकपल्ट पाँच वटाभन्दा बढी गोरु पकाएको थिएँ ।’ सोही वेदको ९१० ।९१ ।१४० पृष्ठमा अग्निका लागि घोडा, गोरु, साँढे, बाझो गाई र भेडाको बली दिइने गरेको प्रसङ्ग उल्लेख छ ।’ अम्बेडकरले वेदका ऋचाको व्याख्या गर्दै हिन्दू धर्मका भगवान्लाई बली दिन गाई र गोरुबाट छान्ने गरेको बताएका छन् । यसले बलीप्रथा पनि हिन्दू परिपाटी भएको पुष्टि गर्छ । कुन भगवानलाइ गाईको र कसलाई गोरुको बली दिने भन्ने कुरा विधिबमोजिम हुने अम्बेडकरको उल्लेख छ । उनकाअनुसार भगवान् विष्णुलाई गोरुको बलि चल्ने, वृतासूरका लागि सिङधारी चमकदार साँढे, पुसनका लागि कालो गाई, रुद्रलाई रातो गाई बलिको रूपमा चढाइन्थ्यो ।
दलितले किन खान्छन् त बीफ ?
मुस्लिमहरूले त आफ्नो धर्मअनुसार बीफ खान थाले तर ‘अधिकांश दलितहरू हिन्दू भएको बाबजुद पनि किन बीफ खान्छन् त ?’ अधिकांश उच्च जातीय हिन्दूहरूले यो प्रश्न सोध्छन् वा ‘बीफ नै किन खानु पर्यो अरू मासु खाए हुन्न?’ भन्ने गर्छन् ।
यो प्रश्नको उत्तर दलितले भोगेको जातीय बहिष्कार र हिन्दू समाजको श्रम इतिहासको अध्ययनले पत्ता लगाउन सकिन्छ । हिन्दू समाजमा अधिकांश श्रमिक थिए ,दलित । सामान्यतः उच्च जातीय हिन्दूहरूको घरमा छिर्ने बाहेकका अन्य श्रमहरू दलितले गरेको पाइन्छ । मूर्ति कुद्ने, छालाका सामान बनाउने, फलामको सामान बनाउने आदि त उनीहरूले गर्थे नै, साथसाथै अस्वस्थकर र फोहोर मानिने काम पनि उनीहरूद्वारा गराइन्थ्यो ।
अरूको घरमा मरेको वा बिरामी भएको गाईबस्तुको ठेगाना लगाउने जिम्मा दलितहरूको थियो । घरमा अन्नको दाना पनि नहुने भएकाले उनीहरू मरेको गाईबस्तुको मासु खान बाध्य भए । यो पेसा उनीहरूले आफैँ रोजेको भने पक्कै थिएनन्, न त उनीहरूमा गाईको मासु खाने इच्छा नै थियो । यो त केवल भोकसँग जुध्ने निर्विकल्प एउटा संयन्त्र थियो । अन्ततः यसप्रकार बीफ उनीहरूको भोजन संस्कृतिको प्रमुख हिस्सा बन्न पुग्यो ।
यदि कोही उच्च जातीय ब्राह्मण भोको पर्थ्यो भने उसले पनि मरेको गाईको मासु खाने अवस्था आउन सक्थ्यो । भोको बेलामा मान्छे जे पनि खस्न तयार हुन्छ, यो प्राकृतिक नियम नै हो ।
उच्च जातीय हिन्दूहरू जसले कहिल्यै गाईको हेरचाह गरेनन् र जसले धर्मको नाममा गाईहरूमाथि अनेकौँ हिंसा गर्छन्, जो आफ्नो स्वार्थ पूरा भएपछि गाईबस्तुलाई सडकमा मरितुल्य जीवन बिताउन बाध्य बनाउँछन्; उनीहरूले गाईको पवित्रताकोबारे विभिन्न सिद्धान्त निर्माण गरेर अल्पसङ्ख्यकको हत्या गर्नु निकै आइरोनिकल (ironical) देखिन्छ ।
आज दलितहरूको थालमा भएको मासुले सयौँ वर्ष पुरानो उत्पीडन र शोषणको कहानी व्यक्त गर्छ । केही दलितहरूले यस मासुलाई आफ्नो भोजन संस्कृतिअनुरूप पुनः दाबी गरेर (reclaim) ब्राहमणिकल हेजेमोनीलाई चुनौती दिँदै छन् भने केही दलितहरू यू.पी.का केही क्षेत्रमा अझै पनि मरेको गाईको मासु खान बाध्य छन् ।
अहिंसकको हिंसा र हिन्दूत्वको राजनिति :
अहिंसाको नारा लगाउने हिन्दूहरुले बीफको निहुँमा हजारौँ हिंसा गरिसकेका छन् । त्यसो त मोदी’जी ‘अहिंसा परमोधर्म’को ढोल बजाउँदै देश-विदेश विहार गरिरहेका छन् तर तिनका कार्यकर्ता र मन्त्रीहरू त्यसको ठ्याक्कै उल्टो गर्छन् । मोदीका परममित्र र यू ।पी ।का मूख्यमन्त्री योगी आदित्यनाथ ‘गौ-हत्या गर्नेलाई मार्नुपर्छ’ भन्दै खुलेआम मिडियामा भन्दै हिँड्छन् । हिन्दूत्वको रट्टान रटेर सत्तामा पुगेको बिजेपीको प्रभुत्व रहेको राज्य जस्तै: गुजरात, यू ।पी, राजस्थान आदि क्षेत्रमा दलित र मुस्लिमहरूले आफ्नै घरमा मरेको गाईको मासु खाँदा मृत्यु वरण गर्नुपरेको घटना असङ्ख्य छ । इस्वीको २०१९ को तथ्याङ्कअनुसार गौ सम्बन्धित एक सय २८ वटा हिंसा भएका छन् । स्वभावत: त्यस हिंसाका पीडित गरिब दलित र मुस्लिमहरू नै हुन् । यसप्रकारको हिंसा न मिडियामा आउँछ, न त पुलिससम्म नै पुग्छ । यस्ता असङ्ख्यक हिंसा ‘गोदी मिडिया’ले कभर पनि गर्दैन ।

बिजेपीको आगामी योजना पनि यस्तै छ । गरिब र अल्पसङ्ख्यक जातिको व्यक्तिगत स्वतन्त्रताको हत्या गर्नु ! त्यसो त भारत एक धर्म निरपेक्ष राष्ट्र हो तर उनीहरूले सरकारमा आउने बित्तिकै हिन्दूत्वलाई राजनीतिकरण गर्न इस्वीको २०१७ मा सार्वजनिक स्थलमा गौ-हत्या गर्न नपाउने कानुन भारतको सबै राज्यमा लागू गरिसकेको छ । बीफको किनबेचको अनुमति त कानुनले दिन्छ तर यो कानुन सीमित फाइभ स्टार होटेलको पक्षमा मात्र रहेको देखिन्छ । सबैभन्दा विडम्बना त के हो भने यस्ता होटेलहरूका अधिकांश मालिक उच्च जातीय हिन्दूहरू हुन्, जो आफू व्यक्तिगत जीवनमा बीफ त खाँदैनन् तर पैसाका लागि लुकिछिपी बीफको व्यापार भने गर्छन् । बिडम्बना ! उनीहरूको अनुगमन खातिर कोही बिजेपीका कार्यकर्ता त्यहाँ पुग्दैनन् । केबल अल्पसङ्ख्यकहरूमाथि आफ्नो बल प्रयोग गरेर उनीहरू आफ्नो हिन्दूवादी अहङ्कारको अभिव्यक्ति गरिरहेका छन् । बिजेपी सरकारकाले हिन्दूहरूलाई भावनात्मकरूपमा जित्नको लागि यो औजार धेरै वर्षदेखि प्रयोग गरिआएको छ । उनीहरू हिन्दूत्वको राजनीति गर्छन् र सफल पनि भएका छन् । इस्वीको २०१९ मा नागरिकता ऐन ल्याएर लाखौँ मुस्लिम र अल्पसङ्ख्यकलाई अनागरिक घोषणा पनि गरिसकेका छन् ।
भारतको हिन्दूत्व र नेपाल:
उसो त नेपालमा पनि बीफ खाने भोजन संस्कृति भएका जातिहरू छन् । मुस्लिम र केही तामाङ, राई, दलितले पहिलेदेखि नै गाईको मासु खाने गरेका छन् । बीफ उनीहरूको भोजन संस्कृतिमा पर्छ । भारत जस्तै नेपाल पनि उच्च जातीय हिन्दूहरूको प्रभुत्व रहेको देश हो । जहिलेदेखि हिन्दू राजाहरूले नेपालमा राज गर्न थाले त्यहीबेलादेखि नै अल्पसङ्ख्यक आदिवासी, जनजाति र दलितहरूको अधिकार मिचिँदै आएको देखिन्छ । जो शक्तिशाली छ, त्यसैको पक्षमा इतिहास लेखिन्छ र नेपाली इतिहासमा त्यही नै भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा काठमाडौं र कीर्तिपुरका नेवारको नरसंहार गरे, यद्यपी इतिहासमा उनी नायकको रूपमा दह्रिएका छन् । आदिवासी, जनजातिहरूको जीवनमा उनले खेलेको खलनायकको भूमिकाको चर्चा भने कहिले पनि गरिँदैन र गर्न पनि दिइँदैन ।
नेपालमा परापूर्वकालदेखि नै रहिआएको यो ब्राह्मणिकल राष्ट्रवाद र ब्राह्मणिकल प्रभुत्व हाम्रो कानुनमा पनि हाबी भएको पाइन्छ । नेपालको कानूनमा सबै समान छन् भनेर त लेखियो तर यी कानूनी निकायमा जसको प्रभुत्व छ, उसैको पक्षमा काम हुने गर्छ । चाहे त्यो वडा कार्यालय होस्, वा पुलिस चौकी । बलात्कारको मुद्दा होस् वा जातीय भेदभावका मुद्दा, त्यस्ता मुद्दाहरू दर्ता गर्न धेरै आनाकानी हुन्छ । यी निकायहरू जानाजान एकै खालका मान्छेहरूको विशेषाधिकारको संरक्षणको निम्ति सञ्चालित रहन्छन् । गाईलाई राष्ट्रिय जनावर घोषित गर्नुको पछाडि पनि यही कारण देखिन्छ ।

सडकमा डुलिरहेका गाईहरू
अब भन्नुहोला ‘राष्ट्रिय जनावर मार्न मिल्दैन’ तर के राष्ट्रिय जनावरलाई खुलेआम सडकछाप बनाउन चैँ मिल्छ? भगवान्को नाममा डामेर छोड्दा चैँ उसलाई दुख्दैन? गाईलाई भगवान् मान्नेहरूको कुरा र व्यवहार ठ्याक्कै विपरीत छ । यसप्रकार गाईलाई राष्ट्रिय जनावरको रूपमा घोषित गर्नुको कुनै तुक देखिँदैन । गाई कुनै लोपोन्मुख जनावर पनि होइन, जसलाई संरक्षणको आवश्यकता छ । यदि गाईको संरक्षण गर्ने त्यति नै इच्छा छ भने र संरक्षणकै लागि राष्ट्रिय जनावर घोषित गरिएको हो भने सरकारले उसको संरक्षणको निम्ति ठोस कानुन ल्याउनुपर्छ । आफ्नो स्वार्थ पूरा भएपछि सडकमा छोडेर बिच्चली पार्ने कामहरू रोकिनुपर्छ । र, आफ्नो धार्मिक आस्थाको निम्ति अरू कसैको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गर्ने काम पनि रोकिनुपर्छ, अन्यथा गणतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्र भएको कानूनी अक्षरहरू शब्दहरूमा सीमित हुनेछ, शब्दहरूको थुप्रो हुनेछ ।नेपालमा भारतमा जस्तो कट्टर हिन्दूवाद त अझै देखिएको छैन तर आगामी दिनहरूमा यस्तो अवस्थामा नेपाल पुग्न सक्दैन भन्ने यकिन छैन । नेपालका प्रधानमन्त्री केपी ओलीले ढिलोचाँडो मोदीकै रवैया देखाउँदै छन् । चितवन जिल्लाको माडीमा राम मन्दिर बनाउनका लागि बजेट पनि छुट्टाइसके । कहिलेकाहीँ उग्र राष्ट्रवादको कुरा गर्न पछी परिरहेका छैनन् । आगामी दिनहरूमा हिन्दूहरूको भोट उनको पक्षमा आउँछ भन्ने कुरामा उनी ढुक्क छन् ।
(सन्दर्भस्रोत : बीफ, ब्राहमीनस एण्ड ब्रोकन म्यान )