सोमबार , भाद्र १, २०८३

पहरिको डाको : गर्भे राजनीति

'हामी मजदुर (नेमकिपा) को स्कुल हप्र (माथि) छ । यो एमालेको स्कुल हो । न्या (यहाँ) पढेपछि हाम्म (हाम्रा) छोराछोरीकन फइल (फेल) गर्दिन्छु । त्यै भएर माथि जान्छन्, यिनीहरू ।’

image

– सार्की

कुखुरी काँ !

आजकाल पहरीको पहिलो डाकोसँगै दलहरू झन्डा बोकेर जनताको घरदैलोमा पुगिरहेका छन् । घरघरमा फहराइरहेको झन्डाले देखाउँछ, यो घर कुन पार्टीको हो ? यो गाउँमा कसको बाहुल्यता छ ? यहाँको स्कुलमा कसले बाहुबली पारा देखाइरहेको  छ ? यसले सामाजिक सम्बन्धमा कस्तो असर पार्छ ? यसका परिणामहरू के के हुन्छन् ? यो लेख यिनै विषयमा केन्द्रित छ ।

प्रश्न : कहाँ जान लागको ?

उत्तर : स्कुल ।

पश्न : तिम्रो स्कुल यो होइन र ? किन माथितिर जान लागेको ?

उत्तर : यो हाम्रो स्कुल होइन । यो त एमालेको स्कुल हो । हाम्रो स्कुल माथि छ ।

छोराको यो उत्तरसँगै आमाले केही वाक्य थपिन्, ‘हामी मजदुर (नेमकिपा) को स्कुल हप्र (माथि) छ । यो एमालेको स्कुल हो । न्या (यहाँ) पढेपछि हाम्म(हाम्रा) छोराछोरीकन फइल(फेल) गर्दिन्छु । त्यै भएर माथि जान्छन्, यिनीहरू ।’

***

यो दृश्य काल्पनिक होइन । पङ्क्तिकारले सात वर्ष अघि सिञ्जा गाउँपालिका वडा नं ६, तत्कालीन शनिगाउँ गाविसको भाडगाउँमा देखेको यथार्थ दृश्य हो । लामो समयदेखि जोडूँ र भाडगाउँको वनको विषयमा झगडा थियो । यसले बेलाबेलामा अरू विषयमा पनि टकराब गराइरहन्थ्यो । दुई गाउँको स्कुल एउटै थियो, ’प्रावि जोडूँ ।’  स्कुलको नाम फेरेर ‘जोडूँ–भाडगाउँ प्रावि’ राख्न भाडगाउँले प्रस्ताव गरेको थियो । सहमति गरेर निर्णय मन्त्रालय पठाइएको भए पनि नाम फेरिएको थिएन ।

द्वन्द्वकलामा डिएफआइडीले भाडगाउँमा एउटा नयाँ विद्यालय भवन बनायो । पछि भाडगाउँले त्यसैलाई आफ्नो नजिकको पायक पर्ने विद्यालयको रूपमा लियो । जोडुसँगको जोडी खोज्ने मेसो पनि मिल्यो । त्यही बीचमा जिल्ला शिक्षा कार्यालयबाट भाडगाउँको विद्यालयमा लगानी भयो । त्यसबेला शिक्षा कार्यालयमा एमाले समर्थक कर्मचारी बढी थिए भने भाडगाउँमा एमाले कार्यकर्ता बढी ।

शिक्षा कार्यालयको आड पाएपछि लामो समयअघि वनको विषयमा भएको दुई गाउँको झगडाले राजनीतिक रूप लियो । राजनीति घुसेपछि झगडा गाउँगाउँको नभएर पार्टीपार्टीको भयो । त्यसपछि गाउँले चलाउँदै आएको अर्म–पर्म, अ‍ैँचो–पैँचो, बिहेबारी, सबैमा राजनीति पस्यो । पानी बारारबराको स्थिति बन्यो । यतिसम्म कि फरक पार्टी समर्थकको घरमा बिहे गरेकी छोरी माइत आउन समेत गाह्रो भयो । यसको प्रभाव सबैभन्दा बढी स्कुलमै पर्यो । एमाले र नेमकिपाको बाहुल्यता रहेका ती दुई गाउँका दुई स्कुलमा भाडगाउँको स्कुल एमाले र जोडुको स्कुल नेमकिपाको भनी चुनियो  । त्यसपछि जोडुका एमाले कार्यकर्ताका छोराछोरी भाडगाउँको स्कुलमा अनि भाडगाउँका नेमकिपा कार्यकर्ताका छोराछोरी जोडुमा पढ्न जानैपर्ने बाध्यात्मक परिस्थिति आइलाग्यो ।

स्कुल आ–आफ्ना पार्टीका, विद्यार्थी र शिक्षक समेत आ–आफ्ना पार्टीका बनाउन दुवै पार्टीका जिल्ला स्तरका शिक्षक नेताहरू समेत सक्रिय रहे । दुई मिनेटमा पुगिने स्कुल छोडेर २५ मिनेटको उकालोमा गर्ह्रौं भारी बोकेर हिँड्नु परेको थियो, विद्यार्थीहरूले ।

जोडुको विद्यालय मावि भएको पनि धेरै भइसक्यो । भाडगाउँको विद्यालयमा आधारभूत तहको पढाइ हुन्छ । निमावि तहको पढाइ सकाउने विद्यार्थीहरू मावि पड्न २५ मिनेट हिँडेर जोडूँ जान छोडी डेड घण्टाको बाटो हिँडेर कैलाश मावि फुँग्र पुग्छन् ।

***

सोही गाविसको गोराँ गाउँमा, त्यस्तै १० मिनेटको दुरीमा दुईवटा स्कुल छन् । कालिका निमावि र मन प्रावि । यी दुई स्कुलको कथा अलि फरक भए पनि परिणाम उस्तै हो । ३०३२ सालमा स्थापना भएको कालिका प्राविमा २०६६ सालसम्म पनि ठकुरी बाहेक अरू व्यवस्थापन समितिको अध्यक्ष हुन नपाएपछि त्यहाँका रावल, रावत र दलितहरू मिलेर विद्रोह गरे । परिणाम अर्को स्कुलको जन्म भयो, मन प्रावि । कालिका निमाविमा मास्टरदेखि विद्यार्थीसम्म ठकुरी छन् भने मन प्राविमा ती बाहेक सबै ।

***

यी समस्या गाउँमा मात्र होइन सदरमुकाममा पनि छन् । सरकारी स्कुलमा मात्र होइन निजी पनि छन् । फलानो स्कुल एमालेको, फलानो माओवादीको र फलानो काँग्रेसको भनी प्रस्टै चिनिने मात्र होइन, प्रचार गर्ने र आफ्ना पार्टी कार्यकर्ताका छोराछोरी सकेसम्म आफ्नै स्कुलमा पढाउन लगाउने भइरहेको छ ।

स्कुलमा एमाले, काँग्रेस, माओवादी वा नेमकिपाको मात्र होइन पार्टीका गुटसम्मको प्रभाव छ । मानौँ कुनै स्कुल एमालेको छ भने त्यो एमालेको भनेर मात्र चिनिएको थिएन, त्यसमा ‘नेपाल’ वा ‘ओली’ गुट मध्ये फलानोको सम्म भन्ने गरिन्थ्यो । आज ती स्कुलहरू नेकपा एकीकृत समाजवादीका र एमालेका भएका छन् ।

यिनै चाङमा थपिएको अर्को विद्यालय हो हिमा गाउँपालिका –५ रुपाकोट आधारभूत विद्यालय, बाँझागाड । विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा तीन वर्ष अगाडि जुम्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन् । एउटा विद्यालय हाल आएर दुई भएको छ । एउटा काँग्रेसको विद्यालय, अर्को नेकपाको ।

विद्यार्थी कित्ताकाट गरे । विद्यालयमा रहेका एक सय छयासी विद्यार्थीमा ९१ नेकपाका र ९५ काँग्रेसका भनी छुट्टाछुट्टै पढाइयो । भवन फरक ठाउँमा थिए, तिनैलाई प्रयोग गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने काँग्रेस र नेकपाका अलगअलक भए । तर, शिक्षकहरू साझा हुँदा दुबैतिर नपढाए टोकाई खानुपर्ने बाध्यता आइलाग्यो । उनीहरूलाई दुबैतिर नपढाई सुखै भएन ।

आ.व २०७३/०७४ मा जिल्ला शिक्षा कार्यालयले  विद्यालय भवन निर्माणका १९ लाख बजेट विनियोजन गरेको थियो । यसरी बजेट आउने भएपछि भवन निर्माणको लागि उपभोक्ता समिति गठन भएको थियो । उपभोक्ता समितिको नेतृत्वमा तत्कालीन एमालेनिकट थिए । शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका अनुसार स्कुल उपभोक्ता समितिले नयाँ भवनका लागि जग्गा नमिलेपछि अर्को ठाउँमा जग्गा व्यवस्थापन गर्यो । जिशिकाले बजेट निकासा गर्दा विद्यालय व्यवस्थापन समितिले परिचालन गर्ने गरी विद्यालयको खातामा  गर्यो । व्यवस्थापन समितिको नेतृत्वमा कांग्रेस निकट व्यक्ति थिए । बजेट निकासा विद्यालयको नाममा भएपछि उपभोक्ता समितिले आपत्ति जनायो ।

स्थानीय तहको निर्वाचनमा पछि हेमा गाउँपालिकामा माओवादी निकट जनप्रतिनिधि निर्वाचित भए । पछि एमाले र माओवादी मिलेर नेकपा भयो । गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा फेरि नयाँ भवन निर्माणका लागि २९ लाख विनियोजन गर्यो । पछिल्लो रकम भने उपभोक्ता समितिको खातामा आयो । उपभोक्ता समितिको अध्यक्ष नेकपानिकट थिए । यो बजेटले नेकपा पक्षधरले विद्यालयको पुरानै भवन भएको ठाउँमा नयाँ भवन बनायो । यसले विवाद झन् ठुलो भयो । विद्यालयमा भुसको आगो त्यहीँबाट लागेको थियो ।

यसरी शृंखलाबद्ध रूपमा विद्यालयमा भएको राजनीतिका कारण एकपछि अर्को गरि सतहमा आइरहेका घटनाक्रमले विगत केलाउन भनिरहेका छन् । हामीले पञ्चायती व्यवस्था फालेर नयाँ व्यवस्था ल्याएका हौँ । पञ्चायत हामीले नचाहेर फालेको हो । राजतन्त्र ठिक नभएर फालेको हो । तर, हामी अनुकूल नभएका पञ्चायत र राजतन्त्रले हाम्रा लागि एउटा ठुलो गुन लगाएर गएका छन् । त्यो हो, जुम्लाका प्रत्येक गाउँमा कम्तीमा एउटा प्राथमिक विद्यालय । ती स्कुल खोल्नमा गाउँलेहरूको पनि ठुलो भूमिका छ ।

यति ठुलो भूमिका कि हामी त्यसलाई वर्णन गर्नै सक्दैनौँ । त्यसबेलाका गाउँलेहरूले विद्यालय भनेको भव्य संरचना भएको हुनुपर्छ भन्ने ठाने । त्यसैले विद्यालय भवन बनाउँदा गाउँकै सबै भन्दा उत्कृष्ट बनाए । गाउँमा सबैका घर कच्ची, माटोका छाना भएका, चुहिने हुँदा पनि विद्यालयको छानो टिनको छाए । त्यसबेला गाउँमा कसैका घर विद्यालय भन्दा राम्रा थिएनन् । सदरमुकामबाट कोसौँ टाढाको विद्यालय भए पनि हप्ता दिन लाएर भए पनि गाउँलेहरूले स्कुलका छाना टिनले छाए । जग्गा हुनेले जग्गा दान गरे, नहुनेले श्रम दान । विद्यालयबाट कसैले नाफाको आस गरेन । सबैको मेल थियो । विद्यालयले ज्ञानको ढोका खोलेको थियो । बेमेलमा पनि मेल खोज्ने उद्देश्य राखेको थियो । तर, आज सब उल्टो भएको छ । विभाजनका बडेबडे खाडल खनिएका छन् । अदृश्य रूपमा बर्लिन पर्खाल खडा गरिएको छ ।

दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत सेनाले अधीनमा लिएको जर्मनीको पूर्वी भागलाई अक्टोबर १९४९ मा जनवादी गणतन्त्र जर्मनी बनायो र रुसी मोडलको समाजवादी शासन स्थापना गर्यो भने पश्चिम जर्मनीमा अमेरिका, बेलायत र फ्रान्सले आफ्नो मोडेलको पुँजीवादी प्रजातान्त्रिक शासन स्थापना गरे । पूर्वी जर्मनको तुलनामा पश्चिम जर्मनीको विकासको बेग तीव्र थियो । यो देखेर पूर्वी जर्मनहरूको पश्चिमतिरको आकर्षण बढिरहेको थियो । समाजवादी शासन सुरु भएको चार वर्षमा झन्डै १० लाख पूर्वी जर्मनहरू पश्चिमतर्फ भागे । आठ वर्षमा झन्डै ३५ लाख मानिस पूर्वी जर्मनीबाट भागेर पश्चिम जर्मनी पुगे । आफ्ना जनतालाई रोक्न सोभियत संघको सहयोगमा पूर्व जर्मन सरकारले सन् १९६१ मा रातारात बर्लिन पर्खाल बनायो । २८ वर्षसम्म यो पर्खालले बर्लिन सहरलाई विभाजन गर्यो । यो अवधिमा पर्खाल नाघेर पश्चिम बर्लिन जान खोज्ने झन्डै एक हजार मानिस मारिए । हजारौँ पक्राउ परे ।

समाजवादीहरूले यसलाई  फाँसीवाद विरुद्धको सुरक्षा कवच  भने, पश्चिमले लाजको पर्खाल नाम दियो । अन्ततः  सन् १९९० को अक्टुबर ३ का दिन दुवै देशबीच एकीकरण भएको घोषणा गरियो । अब त एकीकरणले पनि तीन दस पार गरिसकेको छ । यो अवधिमा पनि न पूर्वी भागमा बस्नेहरूले आफूहरू एकै देशका नागरिक हौँ भनेर सोच्न सके, न त पश्चिमीहरूले उनीहरूलाई सगोत्री सम्झेर आत्मसात् गर्न सकेका छन् ।

ठिक यसरी नै गाउँमा हामीलाई राजनीतिक पार्टीले विभाजन गरे र त्यही अनुसारको व्यवहार गर्न लगाइरहेका छन् । कुनै अमुक दलको भक्त बन्न बाध्य तुल्याएका छन्  । दलप्रति बफादार हुन सिकाएका छन् । हाम्रो स्वतन्त्र चिन्तन, आलोचनात्मक चेत, सृजनशील शक्ति सबै भुत्ते हुँदै छ । हामी केबल कुनै अमूक पार्टीको प्रचारक, भाट र हनुमान बाहेक केही हुन सकेका छैनौँ । जसले हनुमानगिरी गर्छ, ‘हस् हजुर’मा अरूलाई उछिन्छ, बफादारीमा सिपालु छ, त्यसलाई सामान्य रोजगारका लागि, व्यापार व्यवसाय र प्रतिष्ठाका लागि कुनै समस्या छैन । यसकारण हामी विभाजनका जस्तासुकै बडेबडे पर्खाल लगाउन तयार छौँ । यतिमात्र होइन अब बच्चा नजन्मँदै कि त काँग्रेस कि त कम्युनिस्ट बनाउँदैछौं । विद्यालयमा पढिरहेका बालबालिकालाई समेत त्यसरी नै तयार गरिरहेका छौँ ।

दलीयकरणले शिक्षा क्षेत्रमा खडा  गरेका अदृश्य पर्खाल कसरी ढाल्ने हो ? विभाजनको घाउमा खाटो बस्न अझ कति समय लाग्ने हो ? दलीयकरणको दलदलमा  फसिरहेको हाम्रो समाजलाई उम्काउने कसरी हो ? अझ कति मान्छेहरू यसमा पिल्सिरहने हुन ? थाहा छैन । हामी मिलाउन सफल भइहाले पनि चुँडिएको धागो जोड्दा गाँठो परेको जस्तै हुनेछ, हाम्रो सम्बन्ध । न आत्मीयता रहनेछ, न सदाशयता रहनेछ न त सहृदयता नै ।

अहिले स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। यसको प्रचारको क्रममा वा निर्वाचनको मत परिणाम पछि के के हुन्छ ? त्यसले पनि भविष्यमा हाम्रो सम्बन्ध कस्तो हुने भन्ने नजिरकै रूपमा स्थापित होला नै । तर, यी नजिरहरूले हामीलाई गर्भबाटै राजनीति गर्न सिकाउनेमा दुई मत छैन । जसले सामाजिक सम्बन्धलाई बेस्मारी खलबल्याउनेछन् । हामी अव्यवस्थाको दुष्चक्रमा फसिरहने छौँ ।

सम्बन्धित समाचार