हाँडिगाउँमा कतिपय घरहरू बनाउन जग खन्ने क्रममा प्राचीन कलाकृति भेटिएका छन् तर निर्माणकार्य अवरुद्ध हुने डरले त्यस्ता कुरालाई गुपचुप राख्नु नै जग्गाधनिहरू उचित ठान्दछन् ।
डिसेम्बर २०२१ तिर पाटन दरबार स्क्वायर हाताभित्र पुरातात्त्विक अभिलेख सहितको चट्टान भेटिएको खबरले सामाजिक सञ्जाल तताएको थियो । भिमसेन मन्दिर अगाडि रहेको नाली व्यवस्थापन गर्ने क्रममा मजदुरहरूले हिमपाइप मुनि गढेर बसेको अवस्थामा डेढ मिटर अग्लो उक्त शिलालेख फेला पारेका थिए ।
शिलालेखको टुप्पोमा कुँदिएको धर्मचक्रतिर फर्केर बसेका दुई मृगको आकृतिले उक्त शिलालेख बौद्ध संस्कृतिको भएको जनाउँछ । अभिलेखविद श्याम सुन्दर राजवंशी र पुरातात्त्वविद् प्रकाश दर्नालको नेतृत्वको समुहले गरेको शिलालेख एवम् त्यस क्षेत्रको अध्ययनले उक्त शिलालेख १४०० वर्ष पुरानो भएको निष्कर्ष निकालेको छ । त्यसमा लेखिएको लिच्छवि सम्वत् ५३७ ले इति सम्वत् ६१३ जनाउँछ ।
“त्यसमा वृषदेवले निर्माण गरेर अंशुवर्माले जिर्णोद्दार गरेको विहारको पनि वर्णन छ”, लिच्छविकालिन शासकहरूको नाम लिँदै राजवंशीले भने, “सामान्यतता शिलालेखहरू सम्पदाकै आसपास राख्ने चलन छ जसले गर्दा शिलालेख फेला परेको त्यस क्षेत्रमा कुनैबेला सम्पदा रहेको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।”
शिलालेख फेला पर्दा चमक गुमेको साथै त्यसका केही अंश माटो र सिमेन्टले गर्दा बिग्रेर पढ्न नसकिने अवस्थामा थियो । तर अचम्मको कुरा त के भने, शिलालेख सिमेन्ट लगाएर टाँसिएको थियो जसबाट हालसालै त्यस शिलालेखमा कसैले दखल दिएको बुझ्न सकिन्छ ।
“त्यसो गर्नेले त्यसको उपस्थितिबारे थाहा हुँदाहुँदै पनि पुर्न उचित ठान्यो । हाम्रो इतिहासको यति महत्त्वपूर्ण हिस्सा लापरवाहीका कारण यतिका वर्षसम्म माटोमुनि गडेर बसिरह्यो”, उनले भने ।

नाली व्यवस्थापनमा काम गर्ने मजदुरहरूले पाटनको भिमसेन मन्दिर अगाडि १,४०० वर्ष पुरानो शिलालेख फेला पारेका थिए ।
सोही क्षेत्रको अध्ययनका क्रममा दर्नालले उत्खनन गरिएको सतहभन्दा १.४ मिटर मुनि पुरातात्त्विक महत्त्व झल्कने किसिमको एउटा पर्खाल फेला पारेका थिए । “यो पर्खाल विहारकै हो वा होइन भनेर भनिहाल्न सक्ने अवस्था छैन तर यो महत्त्वपूर्ण भने पक्कै छ”, उनले भने ।
पुर्खाले छाडेका सम्पत्तिको जगेर्ना गरेनौँ
विगतका शताब्दीमा उपत्यकामा शासन गरेका विभिन्न वंशहरूले मठमन्दिर, दरबार जस्ता संरचना छोडेर गएका छन् जसमध्ये कतिपय मल्लकालिन संरचनाहरू अझै शेष छन् तर, त्यस अघिको काठमाडौंको वास्तुकलाबारे भने खासै जानकारी उपलब्ध छैन, अझ विशेषगरी यहाँका पुरातात्त्विक सम्पदाबारे त कुनै ज्ञान नै छैन भन्दा पनि गलत नहोला ।
लुम्बिनीमा बाँकी रहेका संरचना मुनि उत्खनन् गरि हेर्दा त्यहाँ काँचा इट्टाका संरचनाहरूको भग्नावशेष भेटिएको थियो । यसबाट त्यहाँ कच्ची घरहरू बन्नु अघि नै काँचा ईट्टाका संरचनाको विकास भइसकेको पुष्टि हुन्छ । काठमाडौं उपत्यकामा चौँथो शताब्दीतिरको अभिलेखहरू फेला पर्नु र यहाँ ऐतिहासिक वस्ती रहेको प्रमाण भेटिनुले यहाँको लुम्बिनीकै जस्तो भएको हुनसक्ने विज्ञहरूको भनाई छ । प्राचीन कालखण्डको विवरणले पनि काठमाडौंमा पशुपति लगायत अन्य केही सम्पदा तेस्रो शताब्दीतिर नै बनिसकेको सङ्केत गर्दछ अर्थात् यी प्राचीन सम्पदा मुनि अझै केही महत्त्वपूर्ण जानकारी लुकेर बसेको हुनसक्छ तर, अनियोजित सहरीकरण तथा राजनीतिक एवम् सामुदायिक चासोको अभावमा हाम्रो यति समृद्ध ईतिहास त्यसै हराएर जाने खतरा भने उत्तिकै बढेर गएको छ ।
इटालियन मिसनरी इपोलिटो देजिदेरीको ‘एन अकाउन्ट अफ तिब्बत द ट्राभल्स अफ इपोलिटो देजिदेरी अफ पिस्तोइया’ नाम गरेको यात्रा विवरणमा उल्लेख भएअनुसार उनी १७२१ मा नेपाल आएका रहेछन् । उनले त्यसमा यहाँ एउटा तलाउ नजिक दुई माइलसम्म फैलिएको खुल्ला मैदान रहेको उल्लेख गरेका छन् । उक्त मैदान रानिपोखरी नजिकै रहेको टुँडिखेल भएको हुनसक्ने अनुमान गरिएको छ । “यहाँ भगवानप्रति समर्पित थुप्रै पिरामिड एवम् टावरहरू रहेका छन्”, उनी लेख्छन् ।
यदि उनले उल्लेख गरेको मैदान टुँडिखेल नै हो भने यस वरपर “भगवानप्रति समर्पित” केवल दुईवटा मात्र त्यस्ता सम्पदाहरू बाँकी छन् – पुर्वतिर भद्रकाली, त्यस्तै पश्चिमतिर महाँकाल मन्दिर । यात्रा विवरणमा उल्लेखित अन्य थुप्रै संरचनाहरू या त भत्किसकेका छन् या यहीँ मुनि पुरिएर बसेका छन् । त्यसो हो भने तिनका अवशेषको संरक्षण गर्नु आवश्यक देखिन्छ ।

Rani Pokhari from the German publication ‘Die Reise Seiner KöniglichenHoheit des PrinzenWaldemar von PreußennachIndien in den Jahren 1844 bis 1846’ (The journey of His Royal Highness Prince Waldemar of Prussia to India: in the years 1844 to 1846). The temple is in the original Shikhara style spire.
“समय बित्दै जाँदा सहरको जमिनी सतह पनि चुलिँदै गइरहेको छ । आगलागी तथा काठमाडौं उपत्यकाको हकमा बेलाबेलामा गइरहने भुकम्पजस्ता यावत कुराहरूबाट क्षति भएका एवम् हेलचेक्र्याईँ गरि बेवारिसे अवस्थामा पुर्याइएका सम्पदामाथि नयाँ संरचना ठडाइन्छन्”, सम्पदा पुनर्स्थापनामा विद्यावारिधि गरेका काठमाडौं उपत्यका संरक्षण कोषका रोहित रञ्जितकार बताउँछन् ।
रोमस्थित प्यान्थियन ईसापुर्व २७ तिर निर्माण सम्पन्न भई पछि आगलागीमा परेर ध्वस्त भएको त्यस्तै अर्को सम्पदा भएको ठाउँमा निर्माण गरिएको हो । सन् ८० तिर मर्मतसम्भार गरिएको प्यान्थियन त्यसको ३० वर्षपनि बित्न नपाउँदै ठूलो चट्याङ्ग लागेर ध्वस्त भएपछि सन् १२८ मा यसको पुनर्निर्माण गरिएको थियो । यसबारे विस्तृत जानकारी पुरातात्त्विक एवम् ऐतिहासिक दस्तावेजहरूमा पाउन सकिन्छ ।
एथेन्स तथा पोम्पेजस्ता अन्य युरोपेली सहरहरूले समेत पुरातात्त्विक उत्खननको प्रयोजनका निमित्त त्यहाँका ऐतिहासिक सम्पदाहरूको जगेर्ना गरेर राखेका छन् ।
वसन्तपुरको नौ तल्ले दरबार छेउको डबलिमा हालको भू-सतहभन्दा एक मिटर मुनि दुईवटा चैत्य रहेका छन् । त्यसैगरी कुमारीघर अगाडि १५ वर्षअघि सडक निर्माण गर्ने क्रममा कामदारहरूले चिबाको कलश फेला पारेका थिए । उक्त कलश अहिले पनि वरिपरि फलामका बार लगाएर सोही स्थानमा संरक्षण गरेर राखिएको छ । यस्ता कुराहरूले गर्दा केही वर्षयता काठमाडौंको जमिनको सतह अग्लिँदै गएको पुष्टि हुन्छ ।
रञ्जितकारका अनुसार १९९० को भुकम्पअघि डबलि दरबार हाताभित्रै पर्थ्यो । त्यहाँका घरहरू भुकम्पले भत्किए तर तिनको पुनर्निर्माण गर्नुको साटो त्यस स्थानलाई दरबारमै समेटियो ताकी जुद्ध शमशेरको गाडी बाहिरभित्र गर्ने ठाउँ फराकिलो होस् । महाभूकम्पपश्चात् दरबारमा धेरै सूक्ष्म देखि ठुला परिवर्तनहरू भए । काठमाडौंमा ६०-७० वर्षको अन्तरालमा भुकम्प गइरहने गरेको ईतिहास छ । ईसापूर्वको चौँथो शताब्दी यताका शिलालेख, आठौँ शताब्दीका कोलोफोन पाण्डुलिपि तथा गोपालराजवंशावलीजस्ता अभिलेखहरूले उपत्यकाका प्राचीन ऐतिहासिक घटनाक्रमबारे जानकारी दिन्छन् ।
यस्ता विवरणहरूले नेपालमा सन् १२२४, १२५५, १२६०, १३४४, १४०८, १६१८, १७६७, १८२३, १८३३, १८३४, १८६९ र १९३४ मा गरि पटकपटक ठुला भूकम्प गएको जनाउँछन् भुकम्पविद्हरूले हिमालयमा बेलाबेलामा टेक्टोनिक प्लेट्स शिफ्ट हुनेगर्दछ भनेर गर्ने गरेको तर्क साँचो भएको यसबाट पुष्टि पनि हुन्छ । अन्य भुकम्पबारे खासै तथ्यगत जानकारी हामीसँग उपलब्ध नभएपनि १८३३ र १९३४ का भुकम्पबारे भने प्रशस्त प्रमाणित जानकारी उपलब्ध छन् ।
१९९० को भुकम्पपछी पाटन दरबार स्क्वायरमा रहेको भण्डारखाललाई नजिकैका दरबार तथा अन्य क्षेत्रबाट भत्किएका संरचनाका इट्टा माटो ल्याएर फ्याँक्ने प्रयोजनका लागि प्रयोग गरियो । वर्षौँसम्म पनि भण्डारखाल सफा गर्नेतर्फ कसैको ध्यान गएन र सरकारी कार्यालयका रुपमा दरबार प्रयोगमा आइरहँदा पनि भण्डारखालले भने कहिल्यै स्याहारसुसार पाएन ।
२००९ मा भण्डारखाल पोखरीको मर्मतसम्भार गर्ने क्रममा १९९० को भूकम्प अघि त्यहाँको जमिनको सतह अहिलेभन्दा निकै गहिरो रहेको कुरा पत्ता लाग्यो । पोखरी असाध्यै जिर्ण अवस्थामा थियो । भूकम्पले भत्काएका भवनहरूको भग्नावशेष जम्मा गरेर राख्नका लागि पोखरीको माथिल्लो भागमा पर्खाल लगाइएको थियो र पोखरीको असलि सतह पनि निकै पछि त्यसको जिर्णोद्धार गर्ने बेला मात्र पत्ता लागेको थियो ।
“त्यहाँको असलि भू-सतहबारे हामीमा कौतुहलता जाग्यो त्यसैले हामीले पुरै बगैँचा सफा गरेर त्यसको संरक्षण गर्नु आवश्यक ठान्यौँ ।” रञ्जितकार बताउँछन् ।

Patan Durbar in 1854
भूकम्प अघि जमिनको उचाई कति बढेछ भन्ने कुरा त्यस वरपरका रुखहरू हेर्दा पनि थाहा हुन्छ । चुलिएको भुभागका भएका रुखहरूलाई टेका लगाउनुपर्ने भएपछी त्यहाँ एउटा संरचना पनि तयार पारिएको छ । भग्नावशेष हटाउने क्रममा टोलीले केही ऐतिहासिक कलाकृतिसमेत फेला पारेको छ र तिनलाई हाल पाटन सङ्ग्रहालयको बगैँचामा राखिएको छ ।
उक्त स्थानलाई केही हदसम्म भएपनि १९९० अघिकै अवस्थामा पुर्याएपछि त्यसअघि पनि त्यहाँ मुनि अझै अर्को सतह रहेको भेटियो । त्यसअघिका भूकम्पले भत्काएका सम्पदाहरूको भग्नावशेष त्यहिँ मुनि लुकेर बसेको पाइयो । “भण्डारखालको उत्खननका क्रममा ढुङ्गाका ठुलाठुला आकृति फेला परे । यसरी जति खन्यो उति सामग्री भेटिँदै जानुले पनि काठमाडौँको भित्री सतहमा गढेको सम्पदाबारे अझै अथाह जानकारी निकाल्न बाँकी रहेको पुष्टि हुन्छ”, उनी बताउँछन् ।
२०७२ को भूकम्पपश्चात युनेस्को र पुरातात्त्व विभागले संयुक्त रुपमा स्वयम्भुस्थित तासी गोमाङ्ग स्तुपा (मङ्गल बहुद्वार चैत्य) मा आकस्मिक इन्टरभेन्सन गरेको थियो र सोही क्रममा स्टुको गुम्बा रहेको ठाउँ मुनि विभिन्न मुर्ति र टेराकोटा जडित अर्को गुम्बा रहेको कुरा पत्ता लागेको थियो । सो गुम्बा पाटनस्थित महाबौद्ध गुम्बासँग मिल्दोजुल्दो प्रकृतिको भएको हुँदा दुबैको निर्माण एउटै समयमा भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
यसरी सम्पदा भएको स्थानमा पुरिएको अवस्थामा अर्को सम्पदा भेटिनुले यस कुराको सङ्केत गर्दछ कि एकमाथि अर्को सतह थपेर पहिलेको भन्दा ठूलो आकृतिको संरचना निर्माण गर्ने काम प्राचीन कालदेखि नै चलिआएको छ र यो आज मात्र निम्तिएको समस्या होइन ।
काठमाडौंस्थित हाँडीगाउँ पक्कैपनि लिच्छविकालिन ईतिहास बोकेका स्थानमध्ये सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ । तत्कालीन शासनकालमा देशको राजधानीसमेत रहेको यस ऐतिहासिक स्थानको १९६० को दशकयता धेरैपटक अनुसन्धान भएको छ र सोही क्रममा १,३०० वर्ष पुराना थुप्रै टेराकोटा आकृतिहरू फेला परेका छन् जसमध्ये राजा अंशुवर्माको पालाको शिलालेख पनि एक हो ।

तिथिमितिसहित अभिलेख भएको नेपालकै पहिलो संरक्षणमा कोषको बेवास्ता कारण नालामा छ, तस्बीर : कान्तिपुर
सन् १९८९ मा इटालिको एउटा टोलीले हाँडीगाउँस्थित सत्यनारायण मन्दिरको उत्खनन् गर्दा उपत्यकामा पहिलो शताब्दीतिर बाटै मानिसको बसोबास हुन थालिसकेको कुराको सङ्केत गर्ने यथेष्ट प्रमाण फेला परेका थिए । अनेकौँ पुरातात्त्विक कलाकृतिका साथसाथै सन् ७२६ मा राजा प्रीयवर्मनको पालामा निर्मित एउटा ढुङ्गेधारा समेत भेटिएको थियो । साथै दोस्रो शताब्दी तिर निर्माण भएको आशंका गरिएको जयवर्माको मान्छे जत्रै शालिक पनि मालिगाउँ नजिकै उत्खनन् गर्दा भेटिएको हो । संरक्षण वास्तुकार सुदर्शन राज तिवारी लगायत अन्य थुप्रै विद्वानहरू प्रख्यात कैलाशकुट भवन यहिँ आसपास रहेको विश्वास गर्छन् । राजा अंशुवर्माको पालामा सन् ५९८ मा निर्मित उक्त दरबार यति विशाल थियो रे कि काठमाडौं भ्रमणमा आएका बेला त्यहाँ पुगेका चिनियाँ भिक्षु शन्जङ्गले दरबारको माथिल्लो तल्लामा मात्र १,००० जना अटाउन सक्ने बताएका थिए रे !
“कैलाशकुट भवनको खोजी गर्ने क्रममा हामीले बालमन्दिर वरपरको स्थानमा केही पुरातात्त्विक अवशेष फेला पारेका थियौँ । ती अवशेष पक्कै कुनै ऐतिहासिक धरोहरका हुन् भनेर भन्न सकिने अवस्था भने छैन । पुरातात्त्वविदहरू स-साना टुक्राबाट मात्र कुनै निष्कर्ष निकाल्न नसकिने र सिङ्गो एउटा पर्खाल नै भेटिए मात्र यकिनसाथ केही भन्न सकिने बताउँछन् तर पर्खाल नभेटिएको खण्डमा त्यस स्थानमा कुनै संरचना नै थिएन भनेर भनिहाल्नु अलि यथार्थपरक नहोला किनभने कतिपय ऐतिहासिक स्थानहरूमा पहिलैदेखि व्यापक छेडखानी हुँदै आइरहेका छन्” तिवारी बताउँछन् ।
हाँडीगाउँमा तीव्र गतिमा घर तथा कार्यालयका भवनहरू ठडिँदै छन् । पुरातात्त्व विभाग त्यस स्थानमा प्राचीन दरबारका अवशेष भेटिएको त भन्छ तर त्यहाँको संरक्षणप्रति भने उदासीन देखिन्छ ।
तिवारी भन्छन्, “सबैभन्दा पहिला त यस्ता पुरातात्त्विक महत्त्वका क्षेत्रमा घर बनाउन नै रोक लगाउनुपर्छ । हामीले यस विषयमा सरकारलाई बारम्बार घचघच्याइरहेका छौँ तर त्यसको कुनै असर आजसम्म पनि देखिएको छैन । हालसालै हामीले सो स्थानको ‘ग्राउन्ड रेडार सर्भे’ पनि सडकमा गर्नुपरेको थियो ।
सर्भेका क्रममा हामीले त्यहाँको जमिनमा पनि बेलाबेलामा पानीका पाइप बिछ्याउने र ढल बनाउने जस्ता क्रियाकलाप गरेर दखल दिइएको कुरा थाहा पाएका थियौँ ।
यस्ता घटना हुनेमा हाँडीगाउँ एकमात्र यस्तो स्थान भने होइन । सन् १९८४ मा भोटाहिटिमा अन्डरपास(सुरुङ्गमार्ग) बनाउने क्रममा त्यहाँ १५०० वर्ष पुराना ढुङ्गेधारा फेला परेका थिए तर तिनलाई त्यही स्थानमा संरक्षण गरेर राख्नुको बदला नगरले तिनलाई छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा स्थानान्तरण गरेर तिनको ठाउँमा ढलान गरिदिएको थियो । पछि त्यहाँ विरलै प्रयोगमा आउने सुरुङ्गमार्ग निर्माण गरियो । भेटिएका धारामध्ये पूर्वतिर फर्केको एउटा धारोमा तिनको निर्माण सन् ५९६ मा राजा अंशुवर्माको पालामा विभुवर्मनद्वारा भएको जनाउने अभिलेख अंकित छ । पश्चिमतिर फर्केका बाँकी तीनवटा धारा भने मल्लकालमा बनेका रहेछन् । उत्खनन् गरेर हेर्दा तिनबाट अझै पानी आउँदै थिए । अहिले त्यहाँबाट हटाइएपनि ती धारा भएको ठाउँमा अझै पानी रसाइ रहन्छ ।

सन् १९८४ मा भोटाहिटिमा अन्डरपास(सुरुङ्गमार्ग) बनाउने क्रममा त्यहाँ १,५०० वर्ष पुराना ढुङ्गेधारा फेला परेका थिए तर तिनलाई त्यही स्थानमा संरक्षण गरेर राख्नुको बदला नगरले तिनलाई छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा स्थानान्तरण गरेर तिनको ठाउँमा ढलान गरिदिएको थियो । तस्वीर स्रोत- ओल्ड फोटोज अफ नेपाल/फेसबुक
स्थानीयहरूका अनुसार भोटाहिटी सो क्षेत्रमा रहेका सातवटा मध्ये एउटा ढुङ्गेधारा मध्ये एक थियो तर सन् १८८० मा राणा खलकले टुँडिखेलको विस्तार गर्ने क्रममा उक्त धारो मासिएको हो ।
भोटाहिटिबाट जमल जाँदैगर्दा करिब ८० मिटर उत्तरतिर पुरिएर बसेको अवस्थामा झाँगाहिटी नामको अर्को ढुङ्गेधारा १९८१ मा फेला परेको थियो । स्थानीय फुटबल टिमलाई उक्त स्थानमा क्लबको भवन बनाउने अनुमति दिईयो । त्यस भवनको भुइँतल्लामा आज पसलहरू सञ्चालनमा छन् भने माथिल्ला तल्लामा क्लबको कार्यालय तथा बैठक कोठा रहेका छन् ।
स्थानीयहरूका अनुसार रत्नपार्कको पूर्वतिर अवस्थित नेपाल विद्युत प्राधिकरणको भवन भएको स्थानमा पनि अर्को एउटा ऐतिहासिक ढुङ्गेधारा पुरिएर बसेको छ । त्यसको खोजी गर्ने काम तत्काल असम्भवै देखिन्छ ।
“इतिहास शाब्दिक तथा वास्तविक दुवै अर्थमा पुरिएको छ”, वृत्तचित्रकार एवम् संरक्षण अभियन्ता आलोक सिद्धि तुलाधर बताउँछन्, “राणा शासन छँदा सम्पदा मासिनु खासै आश्चर्यको विषय होइन तर पछि जनताका प्रतिनिधि सरकारमा पुगेपछि पनि त्यस्तो हुनु र आजको दिनसम्म पनि भइ नै रहनु चाहिँ ठुलै दुर्भाग्य हो ।”
यस्ता सम्पदाको संरक्षणमा तिनको स्वामित्वले पनि भुमिका खेल्ने हुन्छ । हाँडिगाउँमा कतिपय घरहरू बनाउन जग खन्ने क्रममा प्राचीन कलाकृति भेटिएका छन् तर निर्माणकार्य अवरुद्ध हुने डरले त्यस्ता कुरालाई गुपचुप राख्नु नै जग्गाधनिहरू उचित ठान्दछन् ।
सन् १९८९ मा गोकर्ण नजिकै रहेको बालुवागाउँमा घर बनाउने क्रममा सन् ५३६ तिरको लिच्छविकालिन शिलालेख भेटिएको थियो । उक्त शिलालेखमा सो स्थानमा कुनैबेला राजविहार रहेको कुराको जिकिर हुनुले उक्त स्थानलाई पुरातात्त्विक दृष्टिकोणबाट निकै महत्त्वपूर्ण बनाउँछ ।
प्रकाश दर्नालका अनुसार जब उनीहरूले निर्माणकार्य रोक्न गाविसलाई आग्रह गरे तब गाविसले उक्त जमिन निजि सम्पत्ति भएकाले कुनै हस्तक्षेप गर्न नमिल्ने भन्दै पछि हटेको थियो । त्यसैगरी हात्तीसारमा पनि एउटा निजि आवासका लागि जग खन्ने क्रममा एउटा ढुङ्गेधारा फेला परेको थियो तर त्यहाँ पनि आखिर कुनै निकायले केही गरेन ।
विशेषज्ञहरू काठमाडौंको ऐतिहासिक सम्पदाको संरक्षणमा जनचेतनाका साथसाथै राजनीतिक चासो पनि महत्त्वपूर्ण भएको बताउँछन् ।
“हामी जमिनमुनि कुनै ऐतिहासिक वस्तु छ कि भनेर हेर्न उत्खनन गर्छौँ अनि त्यत्तिकै छोडिदिन्छौँ । उत्खनन् गरिएका स्थानको सर्वेक्षण रिपोर्ट सर्वसुलभ हुनुपर्छ र सबैले बुझ्ने किसिमको हुनुपर्छ । यसो गर्दा बल्ल आम सर्वसाधारण संरक्षणको महत्त्वबारे जानकार हुन्छन् । साथै सरकारले पनि निर्देशन जारी गर्ने अनि सिमाहरू निर्धारण गर्ने काम गर्नुपर्छ । सम्पदाको संरक्षणतर्फ सबैजना गम्भीर भएर लागि पर्नुपर्छ ” तिवारी बताउँछन् ।
उपत्यकाका दरबार स्क्वायर मुनि के छ?

काठमाडौं दरबार सक्वायरको प्रोभिजनल रिस्क म्याप

पाटन दरबार स्क्वायरको प्रोभिजनल रिस्क म्याप

भक्तपुर दरबार सक्वायरको प्रोभिजनल रिस्क म्याप
स्रोत: पोस्ट डिजास्टर अर्बन आर्कियोलजिकल इन्भेस्टिगेसन, इभ्यालुएसन एण्ड इन्टरप्रीटेसन इन द काठमाडौं भ्याली वर्ल्ड हेरिटेज प्रोपर्टी
२०७२ को भुकम्पपश्चात दरहम युनिभर्सिटीको एउटा समुहले युनेस्को तथा नेपाल सरकारको संयोजकत्वमा उपत्यकाका तिनै दरबार स्क्वायर क्षेत्रको “ग्राउन्ड पेनेट्रेटिङ्ग रेडार सर्भे” र “जियो आर्कियोलजिकल एनालाईसिस” गर्ने काम गर्यो । त्यसबाट बाह्रौं शताब्दीमा निर्माण सम्पन्न भएको भनिएको काष्ठमण्डपको निर्माण वास्तवमा सातौँ शताब्दीमा भएको तथ्य बाहिर आएको थियो । साथै पानी, बत्ती तथा ढलजस्ता आधुनिक उपयोगीताका पुर्वाधारहरूको विस्तार गर्ने क्रममा तीनै दरबार क्षेत्रका भित्री सतहमा बारम्बार दखल परेको कुरा पनि यसैबाट पत्ता लागेको थियो ।
टोलीले तीनै दरबार क्षेत्रका पुरातात्त्विक स्थानहरूमाथि प्रकाश पार्दै यिनको ‘प्रोभिजनल रिस्क म्याप‘ समेत तयार पारेको छ । रातो सङ्केतहरूले दरबार स्क्वायर आसपासका क्षेत्रको मात्र नभई सिङ्गो उपत्यकाकै ऐतिहासिक विकासक्रमबारे बुझ्न मद्दत गर्छन् । यी स्थानमा उच्च जोखिम भएको भन्दै त्यहाँ आइन्दा कुनै किसिमका हस्तक्षेप नगर्न साथै सम्भव भएसम्म त्यहाँ भएका आधुनिक संरचना हटाउनसमेत निर्देशन दिइएको छ ।
निम्न जोखिमयुक्त स्थानमा गरिएका पहेँलो सङ्केतले निश्चित दरबार स्क्वायर क्षेत्रको विकासबारे बुझाउँछ र यी स्थानमा निर्माणकार्य सकेसम्म नगरेको राम्रो । गर्नै परेमा पुरातात्त्विक निर्देशनको दायरामा रहेर गर्नुपर्छ ।
हरियो सङ्केत गरिएका स्थानमा कुनै सम्पदा नरहेको र यी स्थानमा पनि पुरातात्त्विक निर्देशनकै दायरामा रहेर विकास निर्माणका कार्य सञ्चालन गर्नुपर्छ ।
नेपाली टाइम्समा प्रकािशत यस लेखलाई निशान अधिकारीले अनुवाद गरेका हुन्- सम्पादक