शुक्रबार , मंग्सिर २३, २०७९

ललिपुरको गुरुद्वारा: जो सबै धर्मावलम्बीहरूको लागि खुला रहन्छ

सिख धर्ममा हिन्दुहरूको जस्तो व्रतबन्ध र मुस्लिमहरूको जस्तो 'सुन्नत' गरिँदैन । सिखहरू प्राकृतिक रूपमा जसरी जन्मिए, त्यसरी नै रहन्छन् । त्यसैले उनीहरू कपाल, दाह्री काट्दैनन् ।

image

अनेकौँ भेषभूषा, जातजाति, भाषा, संस्कृति, धर्मले नेपालको सुन्दर विविधतालाई प्रतिबिम्बित गर्छ । नेपालमा हिन्दु, मुस्लिम, क्रिस्चियन, बौद्ध बाहेक पनि धेरै किसिमका धार्मिक आस्था भएका समुदाय छन् । त्यसैमध्ये एक हो- सिख समुदाय ।

धेरैलाई थाह नहुन पनि सक्छ तर कुपण्डोलमा सिखहरूको धार्मिक स्थल ‘गुरु नानक सत्सङ्ग गुरुद्वारा’ रहेको छ । सो गुरुद्वारामा म स्वयम् धेरै पटक प्रवेश गरिसकेको छु तर, त्यहाँ कसैसँग बसेर भलाकुसारी गर्ने मौका भने मिलेको थिएन ।

यसपटक पनि कुपण्डोल पुगेको बेला गुरुद्वारामा प्रवेश नगरी अघि बढ्न मनले मानेन । भित्र प्रवेश गर्नै लाग्दा प्रवेशद्वारमै गुरु नानक सत्सङ्ग गुरुद्वाराका प्रमुख पुजारी ज्ञानी गोविन्द सिंहसँग मेरो जम्काभेट भयो । ज्ञानी गोविन्द सिंहले गुरुद्वारामा गुरुको स्थानका लागि विशेष पढाइ गर्नुपर्ने बताए । उनले पनि भारतमा गएर अध्ययन गरेर आएपछि मात्र गुरुको स्थान पाएका हुन् । उनीसँग प्रवेशद्वारमै केही वार्तालाप गरेपछि गुरुद्वाराको एक कुनामा दुई कुर्सी र कुर्सीमाथि दुई हामी बस्न बाध्य भयौँ । म सुन्न चाहन्थेँ, उनी बताउन तयार थिए ।

..र कुरा गुरुद्वाराबाटै सुरु भयो

गुरुद्वारा भनेको गुरुको द्वार, यानिकी मन्दिर यानिकी धार्मिक स्थल, धार्मिक स्थललाई नै पन्जाबीमा गुरुद्वारा भनिएको हो । गुरुद्वारा सबै धर्मका मान्छेहरूका लागि खुला रहन्छ । गुरु नानकको वाणीमा भनिएको छ- ‘अवल अल्लाह नूर उपाया कुदरत सब बन्दे’ यानिकी ‘हामी सबै भगवान्का दूत हौँ ।’ गुरुद्वारामा कुनै जात, धर्म, वर्ण, वर्गका मान्छेलाई प्रवेशमा रोक लगाइँदैन ।

गुरुद्वाराको सुरुवात सिखहरूको प्रथम गुरु गुरु नानक देवजीबाट सुरु भएको हो । उनीबाटै ‘सिखिज्म’ पनि सुरु भएको हो । गुरु नानकको जन्म १४६९मा भएको थियो । हाल पाकिस्तान (पहिलाको भारत)को लाहौरमा गुरु नानकको जन्मस्थलमा ‘गुरु नन काणा साहिब’ भनेर चिनिने पहिलो गुरुद्वारा बनेको थियो ।

नेपालमा यी ठाउँमा छन् गुरुद्वारा..

कुपण्डोलमा रहेको गुरुद्वारा करिब ५५ वर्षअघि निर्माण भएको हो । काठमाडौंभित्रै विभिन्न स्थानमा गुरुद्वारा रहेका छन् । जसमध्ये पशुपति भित्र गुरु नानक मठ (भस्मेश्वरी) र राज राजेश्वरी (निर्मल अखाडा) गरी दुई गुरुद्वारा रहेका छन् । त्यसैगरि अर्को गुरुद्वारा शोभा भगवती मन्दिर पछाडि रहेको छ । रको गुरुद्वारा ज्ञानेश्वर भैरव मन्दिर पछाडि रहेको छ भने गुरु नानक स्वयम् पुगेका गुरुद्वारा बालाजु, नयाँ बजारमा रहेको छ।

काठमाडौं बाहेक नेपालगन्ज, धनगढी, वीरगन्ज, कृष्णनगर आदि ठाउँमा गुरुद्वारा रहेका छन् । नेपालको पूर्वी भेगमा सिखहरू बसोबास गर्ने भएतापनि गुरुद्वारा निर्माण भने भइसकेको छैन ।

नेपाल, सिख र दुईको सम्बन्ध:

नेपालमा सिखहरूको सबैभन्दा धेरै जनसङ्ख्या नेपालगन्जमा रहेको छ । नेपालगन्जमा करिब २५ देखि ३५ हजार सिखहरू रहेका छन् । त्यसैगरि धरान, वीरगन्ज, काठमाडौं आदि ठाउँमा सिखहरू रहेका छन् ।

त्यसो त नेपाली र सिखहरूको सम्बन्ध धेरै पुरानो छ । पन्जाबका महाराजा रणजीत सिंहको फौजमा अमर सिंह थापा, बलभद्र कुँवर आदि भर्ती भएका थिए । गोरखालीले काँगडालाई युद्धमा पराजित गरेपछि उनी गोरखाली सेनाबाट प्रभावित भएका थिए र आफ्नो फौजमा सामेल हुन अनुरोध गरेका थिए । सो समयमा दुवै राज्यबिच युद्ध नगर्ने सन्धि समेत भएको थियो । एक-आपसमा बिहाबारी समेत चल्न थालेपछि सिखहरू विस्तारै नेपाल भित्रिन थाले र यतै बसोबास गर्न थाले ।

उताबाट बिहे गरेर आउने रानीहरूले आफ्नो साथमा विभिन्न पेसाका सिखहरूलाई नेपाल लिएर आएका थिए, जो पछि नेपालमै बस्न थाले । केही समयपछि उनीहरूलाई तत्कालीन राजाले उनीहरूकै अनुरोधमा पश्चिमतिर जमिन उपलब्ध गराएर नेपालमा बसोबासको व्यवस्था मिलाइदिएकाले पश्चिम नेपालमा सिखहरूको जनसङ्ख्या धेरै हुन पुगेको हो ।

नेपालमा सिखहरू भित्रिनुको अर्को कथा गुरु नानक सत्सङ्ग गुरुद्वारा कुपण्डोलका प्रेसिडेन्ट सरदार प्रितम सिंहसँग जोडिएको छ । जसले नेपालमा पहिलो पटक ‘नेपाल पब्लिक मोटर सर्भिस’ नामक ट्रान्सपोर्ट सर्भिस भित्र्याए । उनी पहिलो पटक २०१४ सालमा नेपाल घुम्न आएका थिए । काठमाडौंको केही दिनको बसाइमा उनलाई यातायातको लागी केही गर्न राजा महेन्द्रबाट अनुरोध भएपछि २०१५ सालमा केही सिखहरूलाई लिएर व्यापार व्यवसाय गर्ने र यतै बस्ने उद्देश्यले उनी नेपाल आएका थिए । र, उनको व्यापार दिनदिनै बढ्दै गएपछि सिखहरूको जनसङ्ख्या पनि बढ्दै जान थालेको ज्ञानी गोविन्द सिंह बताउँछन् ।

गुरुद्वारामा के हुन्छ ?

गुरुद्वारामा बिहान-बेलुका सत्सङ्ग हुन्छ, भजन कीर्तन हुन्छ । शनिवार विशेष पूजा तथा प्रार्थना हुने गर्छ । सो दिन गुरुद्वारा आउनेलाई भोजनको व्यवस्था समेत गरिन्छ, जसलाई ‘लङ्गर’ भनिन्छ । कुपण्डोलस्थित गुरुद्वारामा प्रत्येक शनिवार ८०० देखि ९०० भक्तजनहरू आउने गर्छन् ।

सिख र पगडी

गुरुद्वारा प्रवेश गर्ने जो-कोहिले आफ्नो कपाल ढाक्नुपर्छ । त्यहाँ उपलब्ध या आफैँले लागेको कपडाले कपाल ढाकेपछि मात्र गुरुद्वारामा प्रवेश गर्न पाइन्छ । मुगलकालमा मुगलहरूले पगडी लगाउनेहरूलाई विशेष आक्रमण गर्ने सन्देश जारी गरेका थिए । त्यसकै विरोधमा सिखहरूले पगडी लगाउने प्रथालाई अझ विशेषगरि प्राथमिकता दिन थालेको ज्ञानी गोविन्द सिंहले बताए ।

गुरु नानक देवजीले पनि पगडी लगाएको पाइन्छ तर सिखहरूको दोस्रो गुरु गुरु गोविन्द सिंहले विशेष मर्यादा अनुसार पगडीको परम्परा सुरु गरेका थिए । इतिहासमा पगडीको शान बचाउनका लागि धेरै सिखहरूले बलिदान दिएका छन् ।

कुपण्डोलको गुरुद्वारा

हाल कुपण्डोलस्थित गुरुद्वारा पहिला कान्ति कुमारी शाहको दरबार रहेको थियो । धेरै पछिसम्म यो दरबार अस्तित्वमा रहेको थियो तर ७२ सालको भूकम्पले त्यसलाई तहसनहस बनाइदियो । पन्जाबी समुदायले उनीसँग सो स्थान खरिद गरेका हुन् । पहिला दरबार भित्रै गुरुद्वारा रहेको थियो । १९९९ मा हालको गुरुद्वारा निर्माण भएपछि दरबारबाट गुरुद्वारा सारिएको हो । अहिले सो दरबार रहेको ठाउँमा ‘पाहुना घर’ निर्माण गरिएको छ ।

लङ्गरको परम्परा

लङ्गरको परम्परा गुरु नानक देवजीकै समयबाट सुरु भएको हो । लङ्गर भनेको ‘भण्डारा’ हो या सरल भाषामा भन्दा बिना स्वार्थ कसैलाई खानपानको व्यवस्था गर्नु हो । लङ्गरमा विशेषतः शाकाहारी खाना नै ख्वाउने गरिन्छ ।

गुरु नानक देवजीका बुवाले सो समयमा उनलाई व्यापार गर्न हेतु २० रुपैयाँ दिएका थिए । त्यसपछि उनी व्यापारको खोजी गर्न निस्किए । निस्किने क्रममा उनले बाटोमा भोका साधुसन्त भेटे । जसले उनलाई विचलित बनायो र सो २० रुपैयाँले अन्न इत्यादि खरिद गरे । खरिद गरिएको रासनबाट स्वयम् भोजन तयार गरी साधु सन्तलाई खुवाए र सन्तुष्ट भए । घर फर्किँदा उनलाई बुवाले व्यापारको बारेमा प्रश्न राख्दा उनले अगाडीका दिनमा बढ्दै जाने एक धार्मिक व्यापार गरेको सुनाए ।

उनले २० रुपैयाँबाट सुरु गरेको सो लङ्गरले अरूलाई पनि आकर्षित गर्‍यो । बिस्तारै एकजना दुई जना हुँदै यो लङ्गर परम्परा बन्यो र अहिलेको समयसम्म विशाल धार्मिक कार्यको रूपमा आइपुगेको छ ।

सिखहरूको चाडबाड र संस्कार

सिख धर्ममा हिन्दुहरूको जस्तो व्रतबन्ध र मुस्लिमहरूको जस्तो ‘सुन्नत’ गरिँदैन । सिखहरू प्राकृतिक रूपमा जसरी जन्मिए, त्यसरी नै रहन्छन् । त्यसैले उनीहरू कपाल, दाह्री काट्दैनन् ।

सिखहरूको विशेष चाड गुरु नानक जयन्ती रहेको छ, जसमा उनीहरू ३ दिन पूजा-आजा, भजन कीर्तन गर्ने गर्छन् । धार्मिक पुस्तक (गुरु ग्रन्थ) को विशेष रूपले पूजा गर्छन् ।

जन्मिएको ६ दिनपछि गुरुद्वारामा बच्चाको नाम राखिन्छ । ग्रन्थबाट जुन अक्खर (अक्षर) निस्किन्छ, त्यही अक्खरबाट उसको नाम राखिन्छ ।

विवाह पनि ग्रन्थको ४ फेरा लगाएर गुरुद्वारामै हुन्छ ।

मृत्यु संस्कारमा सिखहरूले देह जलाउने गरेका छन् । तर, नुन बार्ने आदि केही नियमहरू मान्नु पर्दैन । शरीर जलाउनासाथ सम्पूर्ण क्रियाकर्म सकिन्छ । यद्यपि परिवारको इच्छाअनुसार तीन, सात या नौ दिन सम्मको पूजापाठ लगाउन भने सकिन्छ ।

जाँदा-जाँदै उनले नेपालमा बसोबास गरिरहेका सिखहरूको बारेमा धेरैलाई थाह नभएको र ठाउँ-ठाउँमा रहेका गुरुद्वाराप्रति पनि मान्छेहरू अनभिज्ञ रहेकोमा चिन्ता व्यक्त गरे ।

नेपाल पव्लिक मोटर्स सर्विसको ट्रक र यसका चालक सरदारजी


यो पनि पढ्नुहोस्;
सिख र नेपालको सम्बन्ध

सम्बन्धित समाचार