Photo by: Himal Darpan
‘आकाश छुन फैलिएको रुखको जरा माटोमै गाडिएको हुन्छ ।’
सफलताको आकाश छुन लम्किरहेका कलाकारहरूमध्ये एक हुन् दिव्यदेव पन्त, जसको जरा माटोसँग जोडिएको छ । उनलाई भेट्ने जोकोही एकपटक छक्क पर्छन् । उनको सरल व्यक्तित्व, मिजासिलो व्यवहार र नरम बोलीले हरकोहीलाई आकर्षित गर्छ ।
बाल्यकाल
सुदूरपश्चिम बैतडीको पाटनमा जन्मी-हुर्किएका देवले आफ्नो बाल्यकाल गाउँले परिवेशमा बिताए । गाउँमा विद्युत्को सुविधा थिएन । टुकीको उज्यालोमै पठनपाठन गर्नुपर्थ्यो । कक्षा ५/६ पढ्दाताका गाउँ बिजुलीको उज्यालोमा प्रकाशमय भएको देव सम्झिन्छन् । “अझै पनि ६/७ वटा पहाडका गाउँले ढाँचाका मौलिक घर रहेका छन्, थोरै मान्छे र सीमित सुविधा छ । घरहरू एकअर्काबाट निकै दुरीमा छन्”, देव भन्छन् ।
बुवा शिक्षक भएकाले उनले बुवाकै विद्यालयमा कक्षा सातसम्म अध्ययन गरे । बुवाको निगरानी रहँदासम्म आफ्नो पढाइ राम्रो रहेको उनी सम्झिन्छन् । कक्षा ४/५ मा हुँदा पहिलोपटक साइकल देख्दा उनलाई जादु देखेजस्तो लागेको थियो । पुस्तकमा मात्र देख्ने गरेको साइकल यथार्थमै देख्न पाउँदा उनी निकै उत्साहित हुन्थे । स्कुलमुनिको गोरेटो बाटोमा साइकल भएको मान्छेले पाँच रुपैयाँ लिएर घुमाउने गर्थ्यो । उनी खाजाको पैसा साइकल चढेर सक्थे र अघाउँथे ।
त्यस समय गाउँमा मोटरसाइकल कममात्रै हुन्थे । मोटरसाइकल आउदा सबैलाई निकै चासो र उत्साहको कुरा हुन्थ्यो । एकदिन स्कुलभित्र पढिरहेको बेला परबाट आएको मोटरसाइकलको आवाजले उनीसँगै शिक्षकहरू यति उत्साहित भएकि पढ्न/पढाउन छोडेर पुरा स्कुल नै त्यो मोटरसाइकल हेर्न भेला भयो । लगभग सानो तिनो मेला जस्तै ।” पेट्रोलको डढेको गन्ध निकै मनपर्थ्यो”, उनी अगाडी भन्छन्, “त्यतिबेलाको समय अहिलेको समयभन्दा निकै पृथक् तथा जादुमय थियो ।”
कक्षा सात पढ्ने समयमा द्वन्दकाल चलिरहेकाले बालबालिकालाई मन्जुरी या बिना मन्जुरी सशस्त्र द्वन्दमा लिएर जाने त्रास रहने गर्थ्यो, जुन कुराको सुइँको उनको बुवाले पनि पाए । बुवासँग उनी बैतडीको ‘गोख्लापानी’मा रहेको मामाघर गए । बैतडीको सदरमुकाममा रहेको उनको मामाघर छेउमा आर्मी ब्यारेक रहेका कारण माओवादीहरू त्यति सक्रिय रहँदैन थिए । परिवारले सुरक्षित महसुस गर्थ्यो ।
“अहिलेको समयमा बच्चाहरूको हातहातमा मोबाइल हुन्छ तर, त्यो समय त्यस्तो थिएन । कक्षा आठदेखि दशसम्मको अध्ययन मामाघर बसेँ” उनी भन्छन्, “मैले पहिलोपटक टिभी त्यहि हेरेको हुँ ।” अरू बालबालिकाझैँ आफूलाई टिभीको मोह भएको उनी सम्झन्छन् । एउटै मात्र च्यानल ‘दूरदर्शन’ आउने टिभीमा प्रत्येक आइतबार हिन्दी चलचित्र प्रसारण गरिन्थ्यो । आइतबार आउने सो चलचित्रसँगै धारावाहिक टेलिशृंखला हेर्ने लत नै बस्यो। दूरदर्शनबाट आउने अनेकन् टेलिशृङ्खलामध्ये रामायण विशेषसरि उनलाई याद छ ।
बदमासीहरू
गाउँमा हुर्किँदाखेरिको तितामिठा बदमासीहरू सम्झिएर अहिले पनि उनी मुस्कुराउने गर्छन् । अहिले धेरै गाडी गुड्ने महेन्द्र हाइवेकै छेउमा पर्ने बाटोमा त्यतिबेला २/३ दिनमा आक्कलझुक्कल गाडी कुद्थे । उनी र उनका साथीभाइलाई गाडी यति आकर्षक लाग्थ्यो कि त्यसलाई रोकेर नजिकबाट हेर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। स्कुल नभएको दिन बाख्रा चराउन जाने क्रममा बाटोमा ढुङ्गै ढुङ्गा ओछ्याएर उनीहरू गाडीको बाटो छेक्थे । माथि डाँडाबाट गाडीको दुर्दशा हेरेर उनको समूह आनन्द लिन्थ्यो । उनी भन्छन् ‘गाडीवालाहरूलाई दु:ख हुन्थ्यो तर, हाम्रो गाडी नजिकबाट हेर्ने धोको पुरा हुन्थ्यो ।’
बुवाको स्कुलमा रहँदासम्म राम्रो पढिरहेका उनले मामाघर गएर टिभी धेरै हेर्ने बानीले पढाइ बिगारे। फलस्वरुप उनी एसएलसीमा फेल भए । आफ्नै बुवा गणितको शिक्षक भएर पनि गणित विषयमा फेल हुँदा उनलाई नरमाइलो लागेको थियो । उनी पाठ्यक्रमभन्दा बाहिरका पुस्तक, रेडियो, टिभीसँगको संगत आफू फेल हुनुको मुख्य कारण देख्छन् । सानैबाट नवराज लम्साललगायतका व्यक्तिहरूको कार्यक्रम, क्रिकेटको कमेन्ट्री सुन्न उनलाई रमाइलो लाग्ने गर्थ्यो ।
काठमाडौँदेखि अस्ट्रेलियासम्म
सन् २००५ मा उनी काठमाडौँ आएर आरआर कलेजमा भर्ना भए, जहाँ उनले मेजर इङ्ग्लिस र पत्रकारिता विषय लिएर अध्ययन सुरु गरे । इन्टर गरेर व्याचलर पहिलो वर्ष पढ्दापढ्दै विदेशमा अध्ययन गर्न अस्ट्रेलिया हानिए । त्यतिबेला अस्ट्रेलिया जाने रन्को कसरी आयो उनी अनभिज्ञ छन् । उनको अस्ट्रेलियाको बसाई करिब दुई/अढाई वर्ष मात्र रह्यो ।
देव अस्ट्रेलिया बसाइँकै क्रममा राम्रा चलचित्रसँग नजिकिए । उनले पुराना ढर्राका ‘ढिसुम ढासुमवाला चलचित्र’ मात्रै हेर्ने गरेका थिए । अस्ट्रेलिया बस्दा टम ह्यांक्सको ‘द टर्मिनल’ भन्ने चलचित्रले उनलाई भित्रैबाट छोयो । ह्यांक्सको अभिनयबाट उनी आजसम्म पनि उत्तिकै प्रभावित छन् । उनका अनुसार पहिलादेखिको थाँती राखेको कलाकारिताको रहरलाई सो चलचित्रले मलजल गरिदियो ।
साथीभाइ भेला हुँदा अभिनय गरेर देखाउने गरेता पनि त्यतिबेलासम्म उनलाई चलचित्र उद्योगको धेरै ज्ञान थिएन । अभिनिय सिक्नुपर्छ भन्ने लागेपछि उनी बागबजारका अभिनय सिकाउने कक्षाहरूमा धाए । यद्यपि, उनले अहिलेसम्म कतैबाट पनि आधिकारिक रूपमा अभिनय तालिम भने लिएका छैनन् । अस्ट्रेलिया जाँदा राम्रै पैसा खर्च गरिदिएकाले उनले विस्तारै परिवारलाई आर्थिक बोझ दिन छोडे । बुवा एकजना कमाउने र आमाको उपचार, भाइको खर्च धान्नु पर्ने हुनाले उनी यस विषयमा बेलैमा सजग बने ।
अस्कर कलेज र नाटक
अस्ट्रेलियाबाट फर्किएपछि उनी अस्कर कलेजमा भर्ना भए । यहि समयमा उनी थिएटर (रङ्गमञ्च) सँग नजिकिए । यसपछिका दिनहरूमा उनी ‘वान रोल थिएटर’ भनिने इङ्ग्लिस थिएटर कम्पनीसँग जोडिए, जहाँ डाक्टर डेब्रा मरुलासँग उनको भेट भयो । मरुलाबाट उनले कलाका थप आयाम बुझ्न पाए ।मरुलासँग अस्कर कलेज पढ्दापढ्दै भेट भएको उनी सम्झिन्छन् ।
गुरुकुलमा नाटक महोत्सव भएको थियो, जहाँ कलेजहरूबाट नाटक छानेर लैजाने गरिन्थ्यो । अस्कर कलेजबाट उनी पनि गुरुकल पुगे । सुखद संयोग उनी पहिलोपटक नाटकमा छानिए । दोस्रो नाटक ‘एन्जल्स इन् अमेरिका’का लागि गुरुकुलमै अडिसन दिएका हुन् । नाटकमा उनले गे पात्रको मुख्य भूमिका निभाएका थिए । नाटकमा उनले समलिङ्गी बनेर अर्को पात्रलाई लगातार १२ दिनसम्म चुम्बन गरेको कुरा उनले मुस्कुराउँदै सुनाए ।
उक्त नाटकपछि उनले फर्किएर हेर्नु परेन । उनी भन्छन्, ‘नाटकका निर्देशकले मभित्रको कलाकारलाई अझ निखार्न थाल्नुभयो र, मलाई एकपछि अर्को नाटकमा मौका दिनुभयो ।’ धेरैजसो अङ्ग्रेजी नाटकमै काम गरेका उनी नेपाली नाटकहरूमा पनि देखिएका छन् । ‘ह्याम्लेट’को नेपाली रूपान्तरण, अभि सुवेदीको ‘सान्दाजुको महाभारत’, ’प्रोग्रेट्री’ (जुन उनले गुरुकुलमा गरेको पहिलो नाटक थियो) उनका नेपाली नाटकहरू हुन् । नाटक क्षेत्रमा लागेकै १२ वर्ष भइसकेको छ ।
चलचित्र
अस्कर कलेजको वातावरण र त्यहाँका धेरै साथी चलचित्रकर्मी भएकाले उनले लघु चलचित्र आदिमा काम गर्ने मौका समेत पाए । विकास न्यौपानेले बनाएको ‘साइलेन्स अफ रिक्सा’ नामक लघु चलचित्रमा उनले अभिनय गरे,जसमा उनले रिक्सावालाको भूमिका निभाएका थिए । चलचित्रको छायाङ्कन नेपालगन्जमा गरिएको थियो । सोही चलचित्रपछि उनले अरू कामहरू पाउन थाले । ‘एकजना रिक्सावालाले आफ्नो सर्वस्व गुमाएपछि आफ्नो ठाउँ छोडेर जानु परेको बाध्याताम्क अवस्था’ चलचित्रमा देखाइएको थियो । उनले अहिलेसम्ममा १५/२० वटा लघु चलचित्रमा काम गरिसकेका छन् । त्यसैगरि म्युजिक भिडियो, विज्ञापनमा उनी देखिइरहन्छन् ।
चलचित्रतर्फ भने राज वल्लभ कोइराला मुख्य भूमिकामा रहेको ‘अपवाद’मा उनी पहिलोपटक देखिए । सो चलचित्रका लागि उनलाई कलेजबाटै लगिएको थियो, जहाँ ‘कसले डाइलग भन्न सक्छ?’ भन्ने प्रश्नमा सबैले उनलाई देखाएका थिए । चलचित्रमा उनले एक पत्रकारको छोटो भूमिका निभाएका थिए ।
विमल पौडेलले निर्देशन गरेका चलचित्र ‘नागरिक’मा उनको ठुलो भूमिका थियो । त्यसपछि उनले ‘आवरण’, ‘सुपरहिट’ लगायतका चलचित्रमा काम गरे । यी फिल्महरूमार्फत उनले चलचित्र क्षेत्रसँग सम्बन्धित ज्ञान बटुले । त्यतिबेलाका उनका ती चलचित्र सफल नभए पनि ती चलचित्रहरूले आफूलाई धेरै कुरा सिकाएको उनको अनुभव छ ।
चलचित्रप्रति उनी यति लगनशील थिए कि टाइफाइडको बिरामी हुँदाहुँदै उनले चलचित्र ‘आवरण’को छायाङ्कन पुरा गरेका थिए । त्यसपछि केही वर्ष उनले चलचित्रहरूमा काम गरेनन्, आफूलाई तयार गर्न तिर लागे । यद्यपि उनले नाटकलाई भने निरन्तरता दिइराखे । सो समयमा भाग्यले साथ दिएर उनले राम्रो नाटकहरूमा भूमिका निभाउन पाए ।
सोही क्रममा, दिनेश पाल्पालीले चलचित्र ‘चिसो एष्ट्रे’को बारेमा उनलाई बताए र उनी चलचित्रमा अनुबन्धित भए । तर, बिचैमा भूकम्प आयो र काठमाडौँको कथा देखाउनु पर्ने भएकाले चलचित्रको छायाङ्कन अन्यौलमा पर्यो । सन् २०१६ बाट छायाङ्कनमा जानुपर्ने चलचित्र २०१८ सम्म सर्यो । तर, त्यसअघि चलचित्र ‘रुदाने’बाट प्रस्ताव आयो ।
बाटोबाटोमा ‘थाहा’ लेख्दै हिँडे, पर्चा बाँड्दै हिँडे
रुदाने अर्थात् नेपाली माटोमा जन्मिएका एक दार्शनिक । विद्रोहको पर्याय । आफैमा एउटा आन्दोलन । एक सामाजिक अभियन्ता । कवि र साहित्यकार । खेलाडी र शिक्षक । छाप्रे जनताको राजनीति गर्ने राजनीतिकर्मी। आदि–इत्यादि । रुदानेको विचारका प्रभाव पछिल्ला राजनीतिक, सामाजिक क्षेत्रहरूमा परिरहेको छ ।
एउटा यस्तो व्यक्ति, जसले नेपाली समाजलाई चेतनशील बनायो, सो व्यक्तिलाई पर्दामा उतार्नु र मुख्य भूमिकामा आफू रहनुले उनलाई थप साहसी बनायो । रुदानेले ठुलो चुनौती पनि लिएर आएको उनी बताउँछन् । त्यसको तयारीदेखि लिएर त्यो भूमिकाले खोजेको परिश्रममा उनी तनमनले लागे । तर, यो त्यती सजिलो भने थिएन ।
रूपचन्द्र बिस्टको केही भाषणका रेकर्डिङहरू फेला पारे, जसले उनलाई उनको आवाज कस्तो थियो भन्ने ज्ञान दियो । यतिले क्यारेक्टर डेभलप हुन सकेन, उनी थप अध्ययनका लागि रूपचन्द्रको गाउँ पुगे । त्यहाँ सहकर्मी तथा इष्टमित्रसँग भेटेर हाउभाउ, बोलीको लवज, उनको अन्दाज बटुले ।
यो सब गरिसक्दा पनि उनको मन रमाएको थिएन । केहि थियो, जो अपुरै थियो, अधुरै थियो । देवकै भनाइमा, रुपचन्द्रको आत्मा आफूभित्र आइसकको थिएन । आई नसक्नु कारणबारे उनी भन्छन्, ‘उहाँ त विशिष्ट मान्छे, उहाँले गरेको कामहरू, भोगेको जिन्दगी, साधारण मान्छेले त्यसरी बाँच्न सक्दैन । असाधारण कुरा गर्नु भएको छ जीवनमा, पर्चा बेचेर चुनावको खर्च निकाल्नु हुन्थ्यो । उहाँलाई सिद्ध्याउन पछाडि पुरै राज्य लागेको थियो । त्यस्तो विशिष्ट मान्छेको हाउभाउ मात्र नक्कल गरेर हुँदैन भनेर मैले गहिराइमा पुग्ने निर्णय लिएँ ।‘ रूपचन्द्रलाई पर्दामा जीवन्त उतार्न उनले धेरै मिहिनेत गरेका छन् ।
क्यारेक्टरलाई बुझ्नका लागि उनी हमेशा यात्रामा निस्कने गर्छन्। एकदिन हिँड्ने क्रममै उनले आफू रूपचन्द्र नै भएर हिँड्नु पर्यो भन्ने निर्णय लिए । त्यसपछि उनले रूपचन्द्रले जस्तो लुगा लगाउने गर्थे त्यही लगाएर हिँड्न थाले । छायाङ्कन नसकिँदासम्म उनले त्यही लुगा लगाइराखे । भेट्न आउने जोकोहीसँग रूपचन्द्रकै तरिकाले बोल्न थाले । बाटोबाटोमा ‘थाहा’ लेख्दै हिँडे । त्यसैगरि पर्चा समेत बेच्दै हिँडे । बाटोमा भाषण पनि गरे ।
सोही क्रममा रत्नपार्कको पुलमा उभिएर उनले भाषण गरेको बताए । र, पछिपछि चलचित्रका अरू सदस्यलाई पनि लिएर उनी कहिले पुलमा, कहिले पार्कभित्र भाषण गर्दै हिँड्न थाले । यस्तो क्रियाकलापले आत्माविश्वास बढाउने काम गर्यो । ‘म त्यही हुँ’ भनेर उनलाई मान्न सहयोग गर्यो । उनले अहिलेसम्म सबैभन्दा बढी मिहिनेत गरेको पात्र नै रुदाने रहेको बताउँछन् । चलचित्रको केही भाग भने छायाङ्कन हुन बाँकी नै छ । बाँकी भागको छायांकन आगामी दिनहरूमै हुने उनले बताए ।

नाटकमा काम गरिरहेका उनी साहित्यमा पनि उति नै रुचि राख्छन् । कुनै समय उनी अच्युत घिमिरेको कार्यक्रम ‘बुलबुल’मा आफ्ना गजलहरू समेत पठाउने गर्थे । हाम्रो भेटघाटको क्रममा, हाम्रै अनुरोधमा उनले आफ्नो एक गजल पनि सुनाए ।
तिम्रो माया पाउने सपना बोकेर म आएको छु
डरै-डरले सास कतै रोकेर म आएको छु
शुभ काम गर्नलाई साइत हेर्नु पर्छ अरे
दिन बार मिति पनि तोकेर म आएको छु
सम्बोधनका शब्द कतै खोजेर नि नभेट्टाउँदा
तिमीलाई बोलाउन खोकर म आएको छु
तिमीलाई देखेपछि धेरै फरक भाछु अरे
आफैँलाई आज फेरी जोखेर म आएको छु
होश हवास गुमेपछि बिर्सने पो हो कि कतै
तिमीलाई भन्ने कुरो घोकेर म आएको छु
नेपाली चलचित्रकर्मीहरूले दर्शकहरूबाट लगातार विश्वास गुमाइरहेकाले नेपाली चलचित्रहरूले व्यावसायिक सफलता हासिल गर्न नसकिरहेको उनको बुझाइ छ । साथै, दर्शकहरूले विदेशी चलचित्रलाई बढी महत्त्व दिएकाले नेपाली चलचित्रहरू सफल हुन नसकिरहेको उनी बताउँछन् ।उनी आफूले निभाउनु पर्ने भूमिकाका लागि इमान्दारितापूर्वक मेहनत गर्छन् ।
उनको सरल र मिठासपूर्ण व्यवहारले उनी खुला किताब भएको पुष्टि गर्छ । उनी २०७५ साल फागुन २३ गते कृपा बस्न्यातसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । उनलाई आउँदो चलचित्र रुदानेको लागि अग्रिम शुभकामना !
भिडियो