बिहिबार , मंग्सिर १४, २०८०

डा. हर्क गुरुङकाे १६औँ स्मृति दिवस सम्पन्न, काे हुन् उनी ? 

प्रा.डा. भीम सुवेदीले स्वर्गीय डा. हर्क गुरुङले नेपालको पर्यटन, समाज र भौगोलिक अध्ययनमा दिएको योगदानको विषयमा विशेष चर्चा गरेका थिए । प्रा.डा. सुवेदीले डा. हर्क गुरुङको व्यक्तिगत स्वभाव, आचरण र सँगै बिताएका दिनहरूका बारेमा पनि स्मरण गरेका छन् ।

image

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले नेपाली पर्यटनका विज्ञ, पूर्व राज्यमन्त्री एवम् भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङको १६औँ स्मृति सभा सम्पन्न गरेको छ ।

एनएमएले तमू बौद्ध सेवा समिति, नेपाल गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) र न्यू एरा काठमाडौँसँगको सहकार्यमा आज स्मृति सभा आयोजना गरेको हो ।

सभामा “वर्तमान सन्दर्भमा जनसङ्ख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटन: एक सिंहावलोकन” शीर्षकमा प्रा.डा. भीम सुवेदी र डा. योगेन्द्र गुरुङले बोलेका थिए । डा. योगेन्द्र गुरुङले गुरुङ समुदायको वर्तमान जनसङ्ख्या, बसाइसराई र पर्वतीय पर्यटनमाथि अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी प्रा.डा. भीम सुवेदीले स्वर्गीय डा. हर्क गुरुङले नेपालको पर्यटन, समाज र भौगोलिक अध्ययनमा दिएको योगदानको विषयमा विशेष चर्चा गरेका थिए । प्रा.डा. सुवेदीले डा. हर्क गुरुङको व्यक्तिगत स्वभाव, आचरण र सँगै बिताएका दिनहरूका बारेमा पनि स्मरण गरेका छन् ।

अनामनगरस्थित तमू बौद्ध सेवा समितिको डा. हर्क गुरुङ स्मृति सभा भएको कार्यक्रममा गुरुङ समुदायका थुप्रै दिग्गज व्यक्तिहरूकाे उपस्थिति थियाे । पर्यटन व्यवसायीहरूकाे पनि उपस्थिति थियाे ।

को हुन् डा. हर्क गुरुङ ? 

उत्तरी लमजुङको बाहुन डाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विक्रम संवत् १९९५ साल पौष २१ गते उहाँको जन्म भएको थियो । भुलभुले गाउँ विकास समिति वडा नं. ५, ताङ्लिचोक घर भएका बुवा पारसै गुरुङ र माता मैँस्यो गुरुङको कोखबाट ठूल्कान्छा छोराको रूपमा जन्मनु भएको थियो ।

बाबुको पछि लागेर लाहुर छिरेका उहाँले एडीनवरा विश्वविद्यालय बेलायतबाट डिप्लोमा र २०२० सालमा भूगोल विषयमा पिएचडी गर्ने पहिलो नेपाली हुनुभयो । लामो समयसम्म भूगोल विषयको अध्यापन गरेका गुरुङ नेपाल भौगोलिक समाजमा स्थापनादेखि नै सक्रिय हुनुहुन्थ्यो ।

डा. गुरुङ १७ भदौ २०३३ मा डा.तुलसी गिरीको नेतृत्वमा बनेको सरकारमा उद्योग, वाणिज्य र शिक्षा राज्य मन्त्री, २०३४ सालमा पर्यटन राज्यमन्त्री भएका थिए ।

विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा डा. हर्क गुरुङ चढेको हेलिकप्टर २०६३ असोज ७ गते दुर्घटना भएको थियो । ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा भूगोलविद् डाक्टर हर्क गुरुङसहित २४ जना स्वदेशी एवं विदेशीले आफ्नो ज्यान गुमाएका थिए ।

नौ वर्षसम्म डा गुरुङ भेडी गोठ र गाई गोठको सहारामा रमाइरहेका थिए । पेन्सन थाप्न काठमाडौँ आउने आफ्ना पिताको टोलीलाई पछ्याउँदै खाली गोडा उनी सात दिनको बाटो पैदल हिँडेर काठमाडौँ आइपुगे । उनी काठमाडौँको दरबार स्कुलमा भर्ना भए । लाहुरे परिवारको भएकाले पछि भारतको देहरादून र जालन्धरमा पढ्न गए। त्यसपछि काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना भएर आई.ए प्रथम स्थानमा उत्तीर्ण गरे । अनि भूगोल विषयमा उनले पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा बी.ए. अनर्स गरे। तत्पश्चात् एडीनवर्ग विश्व–विद्यालयबाट पहिले डिप्लोमा र पछि सन् १९६५ मा भूगोल विषयमा डाक्टर गरेर त्यस विषयमा पीएच.डी. गर्ने पहिलो नेपाली बने । त्रिचन्द्र कलेजबाट आई ए गरेपछि पटना विश्वविद्यालयमा भर्ना हुँदा नेपाली छात्र परिषद्को गठन भएको थियो । उनी परिषद्को महासचिव बने ।

२६ वर्षकै उमेरमा पिएचडी गर्ने दुर्लभ इतिहास बनेका उनले बेलायतबाट अध्ययन पूरा गरेर नेपाल फर्किएपछि पनि उनले घुमफिरलाई निरन्तरता दिए। पर्यटनमा उत्तिकै चासो राख्ने तत्कालीन कुमार खड्गविक्रम शाह र उनको दोस्तीकै कारण २०२९मा नेपाल पर्वतारोहण सङ्घ स्थापना भयो । त्यसको दुई वर्षपछि नै सरकारले पर्यटन मन्त्रालय गठन गर्‍यो र डा. गुरुङ पर्यटन मन्त्रालयको बागडोर सम्हाल्न पुगे । उनकै पालामा पर्यटन ऐन, ट्राभल-ट्रेकिङ नियमावली बने ।

२०४०मा डा. हर्क गुरुङ संयोजक रहेको एक अध्ययन समितिले ७० बुँदे सुझावसहितको ‘नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ’ प्रतिवेदन तयार पार्‍यो । २०४९ तिर उनी एसियन एन्ड प्यासिफिक डेभलपमेन्ट सेन्टरको निर्देशक बनेर मलेसिया पुगे । त्यहाँ करिब पाँच वर्ष बिताउँदा उनले अनुभव गरे, ‘देशको समग्र विकास गर्नु छ भने पहिला अल्पमतमा परेका र पिछडिएका जातिको उत्थान गर्नुपर्छ ।’ यही सत्य बुझेकाले पछिल्लो समय उनी अल्पमत र आदिवासी जनजातिका एक सशक्त प्रवक्ता बनेका थिए ।

आफ्नो गाउँको सिरानी बनेर बसेका मनासलु र हिमालचुली हिमशिखर पछिल्तिर के छन् र मर्स्याङ्दी नदी के कारणले गडगडाएर बग्छ भन्ने जिज्ञासाले उनलाई बाल्यकालमै चिमोट्थ्यो र ज्ञानको एउटा नौलो संसार हेर्न उनी घरबाट भागेका थिए । यो घुमन्ते स्वभावले उनलाई जीवनभर एक ठाउँमा बस्न नदिई ठाउँ ठाउँमा घुमाइरह्यो― कहिले शिक्षक, कहिले अनुसन्धाता, कहिले योजनाकार र कहिले समाजशास्त्रीका रूपमा । सन् १९५० को दशकमा नेपालका तराई, पहाड र हिमाली भागको चप्पाचप्पा पैदल घुम्नेमा स्वीस भूगर्भविद् टोनी हागन चिनिन्छन् । उनले नेपालभरि १४ हजार किलोमिटर पैदल यात्रा गरेको कुरा आफ्ना पुस्तकमा खुलाएका छन् । टोनी हागनले कायम गरेको त्यस कीर्तिमानलाई कुनै नेपालीले चुनौती दिन सक्छ भने डा. हर्क गुरुङले सक्छन् । यो कुरा उनको ‘भिन्यात्स् अफ नेपाल’ नामक पुस्तकमा समाहित भ्रमण वृत्तान्तहरू र त्यसपछिका उनले लेखेका अन्य विवरणहरूबाट प्रमाणित हुन्छ । नेपालका हरेक भागबारे उनलाई आफ्ना हत्केला जत्तिकै जानकारी थियो ।

सम्बन्धित समाचार