शुक्रबार , मंग्सिर २३, २०७९

बाला चतुर्दशी अर्थात् शतबीज छर्ने परम्परागत पर्व

image

  • जीआर रञ्‍जित

बाला चतुर्दशीलाई शतबीज छर्ने परम्परागत पर्वको रुपमा लिइने गर्दछ । नेपाल भाषामा “बालामु वानेगु” भनिन्छ भने नेपालीमा ‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बीउ हो । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनो र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।

काठमाण्डौको पशुपतिनाथको मन्दिरमा शतबीज छर्नेहरुको ठूलो भीड लाग्दछ । सुरुमा सप्तबीज छर्दै मृगस्थलीमा रहेका गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्दछन् । पछि आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्ग कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा शतबीज छरिन्छ । यस परिसरमा त्रयोदशीका राति देखि भक्तजनहरू बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन गर्ने गर्दछ ।

यसबारे एक किंवदन्ती पनि रहेको छ कि बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस मृगरूपी शिवलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न कैलाश लगेको थियो । भगवान शिव मृगरुप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

Tags:

सम्बन्धित समाचार