शनिबार , अषोज ३, २०८३

यौन शिक्षा परम्परामा ज्युँती (रत्यौली) र वनफागु

चन्द्रमासअनुसार मनाइने हाम्रा पर्वहरू सौर्य मासअनुसार सुरु गर्ने परम्पराको सुरुवात गर्ने गोठाला, ढाक्रे र घाँसीहरूको सांस्कृतिक क्रान्तिको रुपमा फागु (फाउ) लाई लिन सकिन्छ । यिनीहरूले सुरु गर्ने फागु अलि अश्लील खालका हुन्थे ।

image

– उत्तरकुमार पराजुली

प्रजनन अङ्गलाई संवेदनशील अङ्ग भएको ठहर गरी बढ्ता सुरक्षाको चासो राख्ने गरियो । त्यसैले अरू अङ्गहरू खुलै रहने अवस्था भए पनि प्रजनन अङ्गलाई ढाकछोप गर्ने गरियो । त्यसैले ती अङ्ग गुप्त अङ्गको नामले चिनिए । गुप्ताङ्ग भनियो । सबैले एकनासको व्यवहार गरुन् भनेर ती अङ्गहरू ढाकछोप नगर्नेलाई लाज सरमको परिभाषा सिकाइयो । अनि ती अङ्गको बारेमा चर्चा परिचर्चा गरिनु अश्लील, अशिष्ट भन्न थालियो । अनि त यौन शिक्षा विस्तारै रहस्यको विषय बन्दै गयो ।

हाम्रो प्राचीन शिक्षा परम्पराले यौन शिक्षालाई न आजको जस्तो रहस्यमय बनाएको छ, न आजकै जस्तो उत्ताउलो र छाडा । हरहमेसा यौन उत्तेजनामा रमाउन चाहने व्यक्तिलाई असाध्यै निम्नस्तरको दर्जामा राख्ने गरेको पाइन्छ । यौन उत्तेजनामा ज्यादै रमाउने पशु बोका हो । त्यसैको प्रतीक हो, पञ्चबलीमा बोकालाई समावेश गरिनु ।

वीर्यलाई बल, शूर्‍याइँ, विवेक, आत्मविश्वास तथा आत्मबलको आधारशीलाको रुपमा लिइएको छ । यस कुरालाई सहज रुपमा बुझाउन हात्ती र सिंहको उदाहरण धेरै सन्दर्भमा दिइएको हुन्छ- हात्तीलाई कामुक जनावरको रुपमा लिएर । सिंहको शूर्‍याइँ र भोलोभालोपन कम यौनाचारको कारण मानिन्छ । सिंह कम यौन व्यवहार गर्ने प्राणी मानिन्छ ।

यौनाचरणको विषयमा कुरा गर्दा पाश्चात्य दर्शनका हस्ती शुकरातलाई पनि सम्झने गरिन्छ । उनी पनि विवेकशील व्यक्ति कामवासनाबाट टाढा रहनुपर्छ भन्ने मान्यताका थिए । उनका बारेमा कहावत छ,

‘उत्तम व्यक्तिले जीवनमा एकपटक मात्र सम्भोग गर्नुपर्छ, त्यो पनि सन्तानका उद्देश्यले । यो साह्रै असम्भव लाग्छ भने वर्षको एकपटक गरोस्, त्यो पनि ऋतुकालको समयमा । त्यो पनि कम भयो भने महिनाको एक पटक गरोस्, ऋतुकालको समयमा । यसमा पनि ठहर्न नसक्ने व्यक्ति जो छ, त्यो पतित हो । त्यसले टाउकोमा कात्रो बाँधेर जे मन लाग्छ, त्यै गरोस् । यो टाउकोको कात्रो भन्ने कुराले यौन क्रियालाई स्वास्थ्यसित जोडेको देखिन्छ । अझ भनौँ भने अकस्मात् मृत्युको अथवा अल्पायुको सङ्केत गरेको देखिन्छ ।’

हाम्रो ग्रामीण परिवेशमा यौन शिक्षाको व्यापक चर्चा हुने सन्दर्भ महिलाका लागि ‘रत्यौली’ अथवा ‘जिउँती’ हो भने पुरुषहरूका लागि वनमा गाइने फागु अथवा ‘वन फागु’ हो । जिउँतीमा केवल महिलाको मात्र सहभागिता हुन्छ तर वन फागुचाहिँ कहिलेकाहिँ महिला-पुरुषको दोहोरी पनि चल्न सक्छ ।

विवाहका लागि दुलाहाका घरबाट दुलाहासहित जन्ती दुलहीका घरतिर हिँडेपछि विशेषगरी रातीमा रतिरागयुक्त गीत र अभिनयसितको नाच नै जिउँती हो । यस संस्कारले अविवाहित केटीहरूलाई यौन शिक्षाप्रतिको जिज्ञासा जगाइदिन्छ । यसमा महिला मात्र सहभागी हुन्छन् भनिए पनि जिज्ञासु भनौँ वा इतरिएका केटाहरूले लुकीछिपी हेर्ने सुन्ने गर्छन् । छिहिल्लिएर नाचगान गरिरहेका महिलालाई गाईभैँसीको गोबरले हानेर हैरान पार्ने काम पनि ती केटाहरूको हुने गर्छ ।

पुरुष निषेधित उक्त जिउँती कार्यक्रममा एकपटक द्रष्टा र श्रोताको रुपमा र एकपटक श्रोताको रुपमा बस्ने अवसर यस पङ्क्तिकारलाई जुरेको छ । पहिलोपटक आफ्नै दाइको विवाहमा, उमेर थियो- छ वर्ष । दोस्रो, आफ्नै कान्छा सालाको विवाहमा । दिनभरको पैदल हिँड्नुपर्ने लामो यात्रामा हिँड्न सक्दैन भनेर दाइको जन्त म लगिइनँ भने सालोको बिहेको निम्तोमा ससुराली गएको बेला ढाड सड्केर हलचल गर्न नसक्ने अवस्थामा जिउँती सुनेर (हेरेर होइन) बसेँ ।

दाइको विवाह सन्दर्भ— त्यो बाल्यावस्थाका बेला रातिका रमाइला कार्यक्रममा भजन, तीजका गीत, भैलो नाच, भैराम (भैरव नाच) हुन्थे । आफ्ना गाउँभन्दा टाढा भैराम नाच्दा बुबाले बोकेर लगेर काँधेकुरी राखेर हेर्न पाएको याद छ । त्यसै गरेर भजन सुन्न गइन्थ्यो- हजुरबुबाका पछि लागेर । भजनका अर्थ नबुझे पनि राग ताल सुनिन्थ्यो । नाच हेरिन्थ्यो । निद लागे हजुरबाकै कोखामा सुतिन्थ्यो । तर जिउँतीको अवसर जुरेको थिएन ।

दाइको बिहाको दिनको साँझ मान्छे जम्मा हुन थाले । घरमा फुपूहरू, भान्जी दिदीहरू पनि हुनुहुन्थ्यो । प्रायः मैले देखे जानेका तल माथिका हजुरआमाहरू, आमाहरू ती आमाहरूका साथमा आउने दिदी बहिनीहरू थिए । ती छिमेकी आमाहरूले त्यसदिन अररू दिनमा जस्तो व्यवहार देखाइरहेका थिएनन् । यो दाइका जन्त गएनछ भनेर सबैजसोले मलाई भन्थे, अलि ठाडो पाराले ।

आमालाई “दुलाहाकी आमा…” यस्तोउस्तो भनेर अति ठाडाठाडा घोचपेचका कुरा गर्थे । मेरा लागि अलि घोचपेच जस्ता लाग्ने कुरा पनि आमा हाँसीहाँसी सहनुहुन्थ्यो । त्यो त खुसीयालीमा रमाइलो गरेर जिस्किएको रहेछ । तर, मैले भने आज बुबा, हजुरबुबा, दाइ नभएको बेलामा आमाको पक्षबाट प्रतिवाद गर्ने कोही नभएको हुनाले हेपेको अर्थमा बुझ्ने गर्थेँ । मेरी कान्छी फुपू नमकला अधिकारी अलि बोलाकी हुनुहुन्थ्यो । उहाँले अझ धेरै त्यस्तो व्यवहार देखाउनुहुन्थ्यो, मेरो बुझाइमा दुर्व्यवहार ! पन्ध्र वर्षकी दिदी पनि आमाको पक्षमा नबोल्दा मलाई उठ्नुसम्म रिस उठेको थियो ।

प्रत्येक आगन्तुकले आमाप्रति गरेको व्यवहारको सञ्चित अभिलेख राख्ने काम मेरो भएको थियो । जब जिउँती सुरु हुन लाग्यो अनि मलाई सबैजसोले ‘सुत्न जाँ, भित्र गएर सुत्’ भन्न लागे । आमालाई हेपाहा व्यवहार गर्नेहरूले भनेको कुरा मलाई झन् उल्टो लाग्यो । उनीहरू जति ‘सुत्, सुत्न जाँ’ भन्थे मेरो निद झन् झन् हराउँदै गयो । यिनीहरूले मेरी आमालाई झन हेप्ने वातावरण बनाउनका लागि मलाई यहाँबाट हटाउन चाहन्छन् । मानौँ, म उनीहरूका लागि हलुवामा बालुवा भएको थिएँ । मेरो सोचाइ थियो ।

जिउँती सुरु भयो । गीत राम्रो लयका थिए । अन्त्यानुप्रासले लयमा अझ मिठास थपेको हुन्थ्यो । मादलको तालले अझ राम्रो सुनिन्थ्यो । तर, ती गीतमा पनि मेरी आमालाई छेपन हानेका, हेपेका कुरा रहेका हुन्थे । आमा भने हाँसीखुसी नै देखिनुभएको थियो । आमाको हाँसीखुसीलाई मैले उहाँको निरीहताको पराकाष्ठा (अरू कुनै उपाय नहुनाले करबलले हाँस्नु परेको स्थिति)को रूपमा बुझेँ । आमालाई हेप्ने गीत यस्तैयस्तै हुन्थे —

गैरी खेत फाँकट सिरिराइराइ,
घुमाउरे कुलो रे सिरिराइराइ,

दुलाहाकी आमाको सिरिराइराइ,
पुठो कति ठूलो रे सिरिराइराइ,

होक्कर पस्ने दुलो रे सिरिराइराइ ।

यस्ता गीत गाउँदा दिदीले प्रतिवाद नगरेको र कान्छी फुपू त यही गीतमा हँसिलो अनुहारसित अभिनय गर्दै ढल्कीढल्की नाचेको देखेर मलाई उठ्नसम्म रिस उठेको थियो । त्यो रिस पछिसम्म मरेको थिएन ।

जिउँतीमा नाच्ने गाउनेलाई चामलको पीठो (पुवा) र अचार दिने चलन थियो । प्रायः रोपाइँमा, अझ भनौँ भने ठूलो खेतको रोपाइँमा उत्तम स्तरको नास्ताका लागि बनाइने त्यस्तो खानेकुरालाई लक्ष्य गर्दै गाइएको गीत पनि मेरा लागि पीडादायक बन्यो ।

भैँसी मेरो केँवराले पाडो पायो बेले, मेरा बादुरै पाडो पायो बेले ।
जिउँतीको काँचो पीठो खान्छ मेरा एले, मेरा बादुरै खान्छ मेरा एले ।

“खान्छ मेरा एले” बोलिँदा नाच्नेले आफ्नो गुप्ताङ्ग क्षेत्रतिर सङ्केत गर्थे । मेरो रिसको पारा यति तात्थ्यो कि तर के गरूँ ? मेरी आमाको खाना पकाउने सीप नभएको भनी हेपेर दिएको धम्की वा चुनौती बुझेर मलाई निकै दुःख लागेको थियो । मनभरि यस्तै पीडाका राँका बालेर रातभरि जिउँती सुनेर, हेरेर बसेँ ।

(बादुरैको अर्थ: आज बुबा, हजुरबुबा आदि पुरुषहरू टाढा अर्थात् जन्त गएका छन् भन्ने भाव जसकारण, छोरी वर्ग ढुक्कले छिहिल्लिएर ज्यूती नाच्न भन्ने हुन सक्छ । पुरानो जमानामा महिला जन्त जाने चलन थिएन । पुरुष मात्र जन्त जाने चलन थियो । त्यसैले पनि यो बादुरैको अर्थ सार्थक छ ।)

डाँडा गाउँकी नइसरी दिदी र कुँवर टोलाकी बल्लेचौरे पवी फुपू त्यो कार्यक्रमका जल्दाबल्दा नायिका थिए । पचास काटेको उमेरका महिलाले गरेको रतिरागको छरितो अभिनयको दृश्य अहिले पनि झल्झली आउँछ र अनौठो लाग्छ । मेरी दिदीले दाइका लुगा लगाएर चिठी वाचन प्रहसन गर्नुभएको थियो ।

यहाँ लेख्न सकिने खालका गीतमध्येको एउटा गीत;

त्यहीँ पारि वनमा बाख्रा हेर्ने भुल्ले, मेरा बादुरै बाख्रा हेर्ने भुल्ले ।
कम्मर राम्रो पटुकीले छाती राम्रो दूधले, मेरा बादुरै छाती राम्रो दूधले ।
खज्र्याङ खोलो बाढी आयो रेसुङ्गाका मूलले, मेरा बादुरै रेसुङ्गाका मूलले ।
कम्मर राम्रो पटुकीले छाती राम्रो दूधले मेरा बादुरै छाती राम्रो दूधले ।

सालाका बिहामा भने यौनजन्य गीत गाइएनन् । त्यसको कारण म थिएँ होला । केही सम्झी टिपिएका गीतहरू यस्तै थिए ।

हामरा बाला बिहा गर्न गएका
चारै दिशा चारै बत्ती बालिदिए है,
चारै दिशा चारै बत्ती बालिदिए है ।

हामरा बाला बिहा गर्न गएका
राम्ररी जिउँती गाइदिए है,
राम्ररी जिउँती गाइदिए है ।…

मकैमा लागे पुतला पुतली चामलु लागे घुन, अरे बोई य चामलु लागे घुन ।
त्यहीँ पारि डाँडामा बिहा गर्न जाँदै कसका बाला हुन्, अरे बोई य कसका बाला हुन् ।
त्यहीँ पारि डाँडामा बिहा गर्न जाँदै हामरा बाला हुन्, अरे बोई य कसका बाला हुन् ।
आज ल्यायो भाइले सुनको साडी, भरे ल्याउँछ भाइले मनकी पियारी ।

कत्तिको इजती होला ? दोहोरो दाइजो देला कि नदेला ?
(जोर दाइजो भनेको दुईवटा गाग्री दुईवटा ताउला… यस्तै भनेको )

कत्तिको इजती होला ? सुनको सिक्री देला कि नदेला ?
कत्तिको इजती होला ? कानमा गोरखु देला कि नदेला ?
कत्तिको इजती होला ? हातमा घडी देला कि नदेला ?
कत्तिको इजती होला ? पत्थर औँठी देला कि नदेला ?

हाम्रो भाइ बढेको सल्ला, ओढाउँदै छ अहिले दोसल्ला ।
बैठक कोठीको कन्तुर, हाल्दै होला अहिले सिन्दूर ।…

अब गाउँले छिमेकीले विवाह घरका परिवारका सदस्यलाई र्‍याखर्‍याख पार्दै यसरी भन्छन्—
जिमिनै थर्कायो भैँचालाले, बुहारी कज्याउली यै चालाले ।
जिमिनै थर्कायो भैँचालाले, भाउजू कज्याउली यै चालाले ।
जिमिनै थर्कायो भैँचालाले, देउरानी कज्याउली यै चालाले ।…

बुहारी कज्याउने अर्ति दिँदै भन्छन्—
जान्दिनौ बजै बुहारीको वेदना खट्टे भुटी हाल्दिनौ बजै फाँदमा । बुहारीको…
जान्दिनौ बजै बुहारीको वेदना मकै भुटी हाल्दिनौ बजै फाँदमा । बुहारीको…
जान्दिनौ बजै बुहारीको वेदना रोटी हाली हाल्दिनौ बजै फाँदमा । बुहारीको…
जान्दिनौ बजै बुहारीको वेदना फाँका च्युरा हाल्दिनौ बजै फाँदमा । बुहारीको…

अब हामी त कराउने कचकच गर्ने मात्रै हो बिहेको रङ्ग रस लिने त यही घरकाले हो भन्ने कुरा यसरी पोख्छन्—
बुहारी कज्याउनी यसै घरका, थोत्रा गाला बजाउनी वरपरका ।
देउरानी कज्याउनी यसै घरका, थोत्रा गाला बजाउनी वरपरका ।…
भाउजू कज्याउनी यसै घरका, थोत्रा गाला बजाउनी वरपरका ।

अब अलि जिस्किएर मात्तिएको अभिनय गर्दै—
के के गरूँ खै मैले के के गरूँ खै ? के के गरूँ खै मैले के के गरूँ खै ?
गुन्द्री बिछाम् कि मैले काम्ली बिछाम् कि ? के के गरूँ खै मैले के के गरूँ खै ?
ढोग गरूँ कि मैले सलाम गरूँ कि ? के के गरूँ खै मैले के के गरूँ खै ?
यता चिलायो मलाई उता चिलायो, के के गरूँ खै मैले के के गरूँ खै ?
( जाँघ, पुठामा कन्याएको अभिनयसित)

लगनको टपरी गौदानको गाई, यति बेला दुलहीले कपडा लगाई ।
लगनको टपरी गौदानको गाई, यति बेला दुलही जग्गे बस्न आई ।…
देखो देखो देखो नेपाल सहर देखो, लेखो लेखो यहीँ दैलो पोत्न लेखो ।
देखो देखो देखो दिल्ली सहर देखो, लेखो लेखो यहीँ पानी बोक्न लेखो ।
देखो देखो देखो बम्बै सहर देखो, लेखो लेखो यहीँ गोबर फाल्न लेखो ।
देखो देखो देखो पाटन सहर देखो, लेखो लेखो यहीँ दाउरा खोज्न लेखो ।
देखो देखो देखो बटौली सहर देखो, लेखो लेखो यहीँ घाँस काट्न लेखो ।

गुन्न मादल काँ बज्यो ? ठकुरीको गाउँमा ।
लाइती माया नभने ठकुरीको गाउँमा ।
गुन्न मादल काँ बज्योे ? ठकुरीको गाउँमा ।
खाइती चुरोट नभने ठकुरीको गाउँमा ।…

पारि डाँडा डोली है आयो, कुलकी बुहारी ल्याए भैयाले ।
पारि डाँडा डोली है आयो, लच्छिनकी बुहारी ल्याए भैयाले ।
पारि डाँडा डोली है आयो, इज्येतकी बुहारी ल्याए भैयाले ।
पारि डाँडा डोली है आयो, ठूला मनकी बुहारी ल्याए भैयाले ।…

बटौलीका सहरमा ताउला ठटाए, तिनै ताउला किनेर यता पठाए ।
बटौलीका सहरमा गाग्री ठटाए, तिनै गाग्री किनेर यता पठाए ।
बटौलीका बजारमा थाल ठटाए, तिनै थाल किनेर यता पठाए ।
कचौरा, आम्खोरा,…

दुहालाकी आमाको भावना पोखिएको गीत—
कोठी त कोठी अचार साँध्ने कोठी ।
….. की छोरीले मेरो छोरो खोसी ।
(यो खाली ठाउँमा दुलहीका माइतीको थर राखेर बोलिन्छ ।)

कोसी त कोसी बरै पूर्व बग्ने कोसी ।
छोरो थियो बुहारी आई मेरै मन खुसी ।
सासू हजुर भनी भने मेरै मन खुसी ।
को हो को हो भनी भने मेरै छोरो खोसी ।
मान्नेगुन्ने गरी भने मेरै मन खुसी ।
झर्कोफर्को गरी भने मेरै छोरो खोसी ।

पानी डोको ढाक्रे डोको ख्वाप्प खापम्ला ।
आज आउने दुलहीलाई डोको बोकाम्ला ।
चना बोडी भिजाइ तारिम् बिरम्ला ।
आज आउने दुलहीलाई दाउरा चिराम्ला ।
बारी जोत्ने हल गोरुलाई राम्रै घँसाम्ला ।
आज आउनी बुहारीलाई गोडा घसाम्ला ।

अर्घाखाँची, गुल्मीमा विगतमा फागुन एक गतेदेखि नै फागु सुरु हुन्थ्यो । यसरी फागु सुरु गर्थे गोठालो र ढाक्रेहरू । वनमा घाँस सोत्तरका लागि जानेहरूको सहभागिता पनि उत्तिकै रहन्थ्यो ।

यसरी चन्द्रमासअनुसार मनाइने हाम्रा पर्वहरू सौर्य मासअनुसार सुरु गर्ने परम्पराको सुरुवात गर्ने गोठाला, ढाक्रे र घाँसीहरूको सांस्कृतिक क्रान्तिको रुपमा फागु (फाउ) लाई लिन सकिन्छ । यिनीहरूले सुरु गर्ने फागु अलि अश्लील खालका हुन्थे । यस विषयमा भूतकालकै प्रयोग गर्नुपर्ने अवस्था आएको छ । किनकि अब त हाम्रो गाउँमा लोप नै भएको छ ।

अहिले यस प्रकारका फागु जहाँतहाँ खेलेको सुन्न, देख्न पाइँदैन । २०५१ सालको फागुनताका लिम्घाको सिरानको सत्यवतीको वनमा यो पङ्क्तिकारले सुन्न पाएको थियो । हालसम्मको लागि त्यो नै पछिल्लो सुनाइ भएको छ । यस खालको फाउ खेल्नु भनेको पद्य कवितात्मक शैलीले दुई समूहमा डाँडा वारि डाँडा पारि, खोला वारि खोला पारि बसेर दोहोरी खेल्नु हो । यो दोहरी सुरु गर्दा चोऽऽऽ दाइ भनेर सुरु गर्ने चलन हुन्छ र अन्त्यमा बिदा हुँदा पनि चोऽऽऽ दाइ नै भन्नुपर्छ । यो चोदाइ शब्द हिन्दीबाट लिइएको हो भने त्यो शब्दले ‘रतिक्रिया’को अर्थ दिन्छ । रतिक्रियाकै बोलबाट उद्घाटन र समापन ! कस्तो तारतम्य ?

वन फागुका केही अंशहरू

दोहोरीको अर्थपूर्ण अंश त यसरी लेख्न सकिँदैन, उपयुक्त पनि हुँदैन । तैपनि दोहोरीको बेलामा प्रयोग हुने अश्लील भाव दोष भए पनि शब्द दोष नभएका केही लाज पचाएर उल्लेख गर्न सकिने अंशहरू यस प्रकारका छन् —

उभोबाट भैसी ल्याए कान्छा मितले ।
राजाको फाउ हो एत्रैसितले ।।१।।
फाउ आयो भनेर फाउ खेल्छन् ।
केटाकेटी बसेर दाउ खेल्छन् ।।२।।
फाउनको डम्फो चइत फाट्यो ।
तेरा बाउको लगौटी मुसाले काट्यो ।।३।।
सालको लाथ्रो मुठ्ठीले फोर ।
चोट पर्यो केटालाई झुन्डेर मोर ।।४।।
ढाक्रेका ढोकामा सिन्की पोकामा ।
तेरा बालाई घारामा तँलाई डोकामा ।।५।।
हात्तीमाथि माहुते घोडामाथि म ।
भैँसी स्याहार्ने तेरो बाउ, पाडी स्याहार्ने तँ ।।६।।

यी माथिका टुक्राहरूमा शब्द दोष नभए पनि अश्लीलताको लागि अर्थ दोष प्रशस्त रहेको छ। अझ यसलाई पनि सकेसम्म अश्लील बनाएर गाउने गरिन्छ। अझ कतिपय अवस्थामा माथिको एक श्लोकको बीचमा “बरै” भन्ने र श्लोक सकिएपछि कुनै अश्लिल स्थायी गाउने पनि गरिन्छ । स्थायीको उदाहरण भने यहाँ उल्लेख गरिएन अश्लिलताका कारणले ।

गाउँ घरमा नखेली वनपाखामा मात्र खेलिने यस प्रकारको फाउलाई ‘वनफाउ’ भन्ने गरिन्छ । तर, आजभोलि यस्ता अश्लील फाउ खेलेको सुन्न देख्न दुर्लभ भइरहेको छ । अश्लील फाउ खेली रमाएका बूढा पाकालाई सोध्दा उनीहरू भन्छन्, “लोग्ने मान्छले फाउनमा मच्चिएर फाउ खेल्यो भने वर्ष दिनसम्मलाई तेज आउँछ ।” महिलाहरूले ज्यूँतीमा यौन उत्कण्ठालाई भाषा र अभिनयमार्फत् पोख्ने गर्छन् भने फागुमा पुरुषहरूले । तर फाउ पुरुषको मात्र भने होइन । वनफागु महिला पुरुषको दोहोरीसमेत चल्ने गर्छ ।

यौन सन्दर्भलाई लाज र सरमको विषय मानिने हाम्रो समाजमा यौनाङ्गलाई संस्कृत भाषामा बोल्दा सामान्य मानिन्छ तर, आफ्नै भाषामा बोल्दा साह्रै नराम्रो मानिन्छ । सम्भोग शब्द तमाम धार्मिक प्रवचनमा बोलिरहिने शब्द हो तर, यसैलाई ‘चकारादि’ शब्दले बोल्नु ज्यादै असभ्य मानिन्छ ।

शास्त्रमा यौन शिक्षाका कुरा

यौन शिक्षाका बारेमा उपनिषद्मध्येको भीमकाय उपनिषद् बृहदारण्यको पनिषद्मा राम्रोसित चर्चा गरिएको छ । सो ग्रन्थको अध्याय ६ को चतुर्थ ब्राह्मणमा सन्तानोत्पत्ति विज्ञानको बारेमा व्याख्या विवेचना गरिएको छ । यसमा शुक्राणु र डिम्बलाई व्यक्तिका सारोत्तमसार वस्तुको रुपमा व्याख्या गरिएको छ ।

मन्त्र १ मा भनिएको छ— चराचर प्राणी तथा वस्तुको आधार वा सार पृथ्वी हो । पृथ्वीको आधार वा सार (यसको मतलव पृथ्वीलाई अर्थपूर्ण बनाउने) जल हो । जलको आधार वा सार औषधि हो । (जीवजन्तुको खाद्यवस्तुमा रस भर्न नसक्ने जल, जल नै होइन भन्ने सन्दर्भमा । विभिन्न कारखानाबाट प्रदूषित पानीले सिँचाइ गर्दा बालीनाली सखाप हुने जस्तो पानीलाई वास्तविक पानी नभनिने सन्दर्भमा ।) औषधिको सार फूल हो । फूलको सार फल हो । (जुन फूलमा फल लाग्दैन त्यस फूलको के अर्थ हुन्छ र ?) फलको सार बीज हो । बीजको सार शुक्र र डिम्ब हो ।

मन्त्र २ मा प्रजापति अर्थात् सृष्टिकर्ताले शुक्रको प्रतिष्ठापन गर्नका लागि पुरुषको लिङ्ग र स्त्रीको योनिको व्यवस्था गरे भन्दै यो यौन संसर्ग भोग, बुद्धिका लागि नभएर उत्तम सन्तान उत्पादनका लागि हो र यो धर्मसम्मत छ भनिएको छ । गृहस्थाश्रम र तरुण अवस्थामा यो ठीक छ तर बाल, ब्रम्हचारी , वृद्ध, वानप्रस्थ र संन्यासीका लागि यो त्याज्य छ । असामयिक भोग र त्याज्य जनका लागि यी कुरा अश्लील हुन् भनी पाठकलाई त्यही सन्दर्भमा बुझ्न भनिएको छ ।

मन्त्र ३ मा भनिएको छ— जो यो कुराको मर्म जानी बुझी सम्भोगमा सहभागी हुन्छन्, तिनीहरूलाई बाजपेय यज्ञ गरे समानको पुण्य मिल्छ । किनकि यौनाचरणको उपयुक्त अवस्थाका पात्रका लागि उपस्थेन्द्रिय (जनेन्द्रियको सेरोफेरोको भाग) वेदी हो । रौँहरू कुश हुन् । योनिको मध्यविन्दुको भाग होम कुण्डको अग्नि हो, लिङ्ग सुरो (घिउ, चरु होम गर्ने साधन) हो ।

मन्त्र ४ मा ऋतुकालको संसर्गमा बाहेक वीर्यस्खलन हुनुहुँदैन र भएमा प्रायश्चित्त गर्नुपर्छ भनी वीर्य संरक्षणका बारेमा सचेत गराइएको छ ।

माथिको अवस्थामा यदि पतिपत्नीमध्ये कसैले सम्भोगको अवसर नदिएमा श्राप लाग्छन् भनी मन्त्र ७ मा उल्लेख गरिएको छ । यसपछि मन्त्र ११ सम्म सम्भोगको अवस्थामा पतिपत्नी दुवैमा उच्च उत्तेजना हुनुपर्ने र सोका लागि गरिने सूक्ष्मातिसूक्ष्म कुराहरूको उल्लेख गरिएको छ । मन्त्र १२ मा परपुरुषसँग पल्केकी स्त्री वा परस्त्रीसँग पल्केको पुरुषलाई तह लगाउने तान्त्रिक विधि रहेको छ ।

रजस्वला भएपछि सरसफाइमा ध्यान दिने, चार दिनपछि जाँघको व्यायाम हुने खालका काम गर्ने, अनि छोरा वा छोरी के जन्माउने र कस्तो वर्णको (कालो, गोरो, धैँसे…) जन्माउने चाहना हो सोहीअनुसार दसौँ दिनपछि आमाको (अर्थात् ऋतुमती स्त्रीको) खानपानको बारेमा विभिन्न उपदेश रहेका मन्त्रहरू (१३—२२) छन् । मन्त्र २३ ले प्रसूति हुन लाग्दा केके गर्नुपर्छ भन्ने तान्त्रिक विधि उल्लेख गरेको छ ।

मन्त्र २४ मा सन्तान जन्मिएपछि दही, मह र घिउ मिसाएर सन्तानलाई बुबाले काखमा लिएर “अस्मिन सहस्रम्…” मन्त्रले मन्त्रेर होम गर्ने भनिएको छ । मन्त्र २५ मा भनिएको छ— जन्मेको बच्चालाई बाबुले काखमा लिएर दायाँ कानमा “वाग् वाग् वाग्” तीनपटक भन्ने । यसको मतलब हो यो सन्तान तीनवटै वेदको ज्ञाता बनोस् । यसपछि घिउ मह र दही मिसाएको लेपलाई शुद्ध सुनको चम्चाले चटाउँदै तिमीमा भू-लोक, भू-वर्लोक र स्वर्गलोक स्थापित गर्छु भन्नुपर्छ । (मन्त्र— अथास्य दक्षिणं कर्णमभिनिधाय वाग् वागिति त्रिरथ दधि मधु घृत संनीयानन्तर्हितेन जातरूपेण प्राशयति । भूस्ते दधामि भुवस्ते दधामि स्वस्ते दधामि भूर्भुवःस्वः सर्वं त्वयि दधामीति ।।२५।।)

२६औँ मन्त्र— यसपछि अर्थात् पच्चीसौँ मन्त्रसम्मको क्रियाकलापपछि उक्त सन्तानको नाम राख्नू “तिमी वेद हौ” भन्दै । यो नामकरण संस्कार अघिको अर्थात् जन्मदाकै दिनको भएको हुनाले यो नाम गोप्य वा गुप्त नाम हुन्छ । (अथास्य नाम करोति वेदोद्रसीति तदस्य तद गुह्यमेव नाम भवति।) यसपछि बच्चालाई आमाको काखमा दिएर व्यवस्थित रुपले दूध पियाउनू अर्थात् स्तनपान गराउनू भनिएको छ । उपनिषद्मा सृष्टिलाई निरन्तरता दिनका लागि व्यवस्थित यौनाचरण आवश्यक रहेको कुरा स्पष्ट पारिएको छ ।

हाम्रा व्यवहारका केही कुरा

अब हाम्रो कार्यव्यवहारमा रहेका कुराहरूको चर्चा गरौँ । महिलाहरूको चाडको रुपमा चर्चित तीजको पञ्चमी अर्थात् ऋषि पञ्चमीमा भनिने कथाले महिलाको रजस्वलाको अवस्थालाई इन्द्रले वृत्रासुरलाई मार्दा लागेको ब्रह्मघातको चौथाइ दोष भन्ने गरिन्छ । (अरू तीन चौथाइमध्ये पानीको फिँजमा, वञ्जर जमिनमा र पहिलो धिप्को छुट्दाको धुँवासितको आगाको ज्वालामा भनिन्छ।)

यस कुरालाई सकारात्मक किसिमले लिने हो भने अति कामुक पुरुषबाट महिलालाई सुरक्षित राख्न र रक्तस्रावको बेलामा आराम गर्नका लागि छूत बार्ने कुरा प्रतीकात्मक र निकै वैज्ञानिक छ । तर, यो कुरा महिलाले सोझासोझ बुझ्ने र हीनताबोध गर्नुचाहिँ भने राम्रो होइन । किनकि शुद्ध पानीमा फिँज आउँदैन । त्यसैले फिँज आउने पानीमा ब्रह्मघात छ भन्ने कुरा कति सरल छ, प्रदूषित पानीबाट जोगिने उपदेश । उपयुक्त किसिमले नजलेको अवस्थाको धुँवा निकै दूषित हुन्छ । यसबाट जोगिनुपर्छ भन्नु त राम्रो हो । रुखबिरुवा, झार आदि केही नभएको जमिन राम्रो होइन । यस्ता जमिनलाई हराभरा पार्नुपर्छ भन्ने सन्देश पनि त उत्तिकै राम्रो छ ।

हाम्रो सनातन परम्पराका केही शाखामा पहिलोपटक रजोवती हुँदा (रजस्वला हुँदा) १० अहोरात्र सूर्यलाई र पुरुषलाई नदेख्ने गरी बन्द कोठामा राख्ने गरिन्छ । यो एघार दिन नै किन राख्ने गरिए होला ? यसको वास्तविक व्याख्यासितको प्रमाण त पाइएको छैन तर पनि सूतक एघार दिन बार्ने भएकोले त्यसैअनुसार गरिए होला भन्न सकिन्छ । छूत बार्ने परम्परा श्रद्धा र संवेदनशीलताको कारणले सुरु भएको देखिन्छ र अहिले हेला र घृणामा रुपान्तरण भएर अमानवीय अपराधको कोटिमा पुगेको छ । विशेषगरी नेपालमा रहेको सुत्केरी हुँदा र रजस्वला हुँदाको छाउपडी प्रथा यसको ज्वलन्त उदाहरण हो ।

सुत्केरी भएको एघार दिनपछि अर्को एघार दिनसम्म सामान्य छोइन भए पनि छोएको पानी नखाने भनिन्छ । यसको अर्थ पनि घरकाज गर्ने अवस्था भएको छैन । काममा लगाउनु हुन्न भनेको हो । यसपछि राम्ररी हिँडडुल गर्न सक्ने भएपछि चार पाँच महिना सुत्केरी पोषिन भनी माइतिले लैजाने चलन रहेको छ । यस्तो अवसर पाएका महिलाहरू ‘बर्सौँटे’ हुनबाट जोगिन्छन् । बच्चाबच्ची राम्ररी दूध खान पाउँछन् ।

यो प्रचलन सबै महिलाका लागि आराम दिने सन्दर्भमा बनाइएको चलन हो र परोक्ष रुपमा यौन शिक्षा पनि । अङ्ग्रेजी भाषामा श्रमलाई “लेवर” भनिन्छ र सुत्केरी हुने कामलाई वा अवस्थालाई पनि “लेवर” भनिन्छ । यसले पनि सुत्केरीलाई आरामको आवश्यकताको सङ्केत गर्छ । यौन शिक्षालाई संस्कारित गर्न विशेषगरी स्त्री जातिका लागि पहिलो रजस्वलाका बखत १० दिनसम्म अँध्यारो कोठामा राखेर महिलाले नै यो यौन शिक्षा दिने विधान बनेको हुन सक्छ ।

त्यसैले ती दिनहरूमा सूर्यको र मर्दको मुख देख्नु हुँदैन भनियो । सूर्यलाई नहेर्नू भनेको अँध्यारोमा रहनू भनेको हो र पुरुष व्यक्तिलाई नहेर्नू वा नदेख्नू भनेको विपरीत लिङ्गको साक्षात्कारको सोच नहोस् भनिएको हुन सक्छ । सुरुको रजस्वलाको ती दश दिनमा परिपक्व महिलाहरूले ती रजोवती नानीलाई आफ्नो अनुभवसहित यौन शिक्षाका बारेमा सुरुसुरुमा उपदेश गर्ने गरे होलान् ।

यौन शिक्षा अश्लील र लाजको विषयको रुपमा स्थापित भएकोले उज्यालोमा वक्ताको (परिपक्व महिलाको) अभिव्यक्ति राम्ररी खुल्न र श्रोताले मुखामुख गरेर सुन्ने परिवेशको असहजता भनौँ वा त्यसरी कुरा गर्दा किशोरीहरू लाजले रातोपिरो हुने र वक्तालाई पनि यौनजन्य कुरा मुखमा हेरेर भन्नका असजिलाले अँध्यारो कोठाको परिकल्पना गरे होलान् ।

यसै सन्दर्भमा पूर्वीय संस्कृतिका अध्येयता प्रा. श्रीधर मजगैयाँलाई सोध्दा उहाँले भन्नुभयो, “हाम्रा प्राचीन ग्रन्थहरूमा रजोवती बारनाको विधान छ तर यसको वैज्ञानिक विश्लेषण भएको पाइँदैन ।”

संस्कृतिविद् सत्यमोहन जोशीसँग ‘नेवारी परम्परामा किशोरीहरूलाई रजस्वला हुनुपूर्व १२ दिन गुफा राख्ने चलन के यौन शिक्षाका लागि हुनसक्छ ?’ भन्ने प्रश्न गर्दा उहाँको जवाफ थियो, “गुफा राखिसकेपछि रजस्वला हुँदा बार्नुपर्दैन भन्ने परम्पराअनुसार रजस्वला नहुँदैका नानीहरूलाई गुफा राख्ने गरिन्छ । यो परम्परा विशेषगरी स्वास्थ्यसित सम्बन्धित देखिन्छ । यौन शिक्षाको लागि भन्ने कतै आधिकारिक प्रमाण भेटिएको छैन ।”

यसै सन्दर्भमा नेवारी संस्कारलाई राम्रोसँग बुझेकी महिला पम्फा श्रेष्ठलाई ‘ती गुफा बस्दाका दिनहरू कसरी कटाउने गरिन्छ ?’ केही कथा, रजस्वला हुँदा ख्याल गर्नुपर्नेसम्बन्धी पाका महिलाका अनुभव सुनाउने जस्ता कुरा गरिन्छ कि भन्दा उहाँले भन्नुभयो, “होइन, त्यस्तो केही हुँदैन । नुहाइधुवाइ गर्ने, सरसफाइ गर्ने, राम्रा पोषिला खानेकुरा फलफूल खान दिने र समय कटाउन नाचगान गर्ने, पुतली बनाउने सिँगार्ने आदि काम गरिन्छ । अनि बाह्रौँ दिनको बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गरेर शुद्ध हुने र सूर्योदयको बेला काँसको थालमा पानी राखी पानीमा सूर्यको छायाँ दर्शन गरेपछि गुफाको कार्यक्रम समाप्त हुन्छ ।”

विशेषगरी मिथिला क्षेत्रमा चर्चा हुने महिला केन्द्रित संस्कार मधुश्रावणीमा यौन शिक्षाका सन्दर्भ छन् कि भनी त्यसका जानकार उमेशलाल कर्णसित कुरा गर्दा उहाँले भन्नुभयो, “मधु श्रावणी साउन महिनामा ब्राह्मणमा कायस्थ जातिका विवाहित महिलाले आफ्नो श्रीमानको आयुआरोग्यको कामना गरी मनाइने संस्कार हो । विवाहको पहिलो साउन महिना अर्थात् मधु श्रावणीलाई अझ विशेष किसिमले मनाउने गरिन्छ । यी जातिमा रजस्वलाको अवस्थामा भगवानलाई पूजा गर्ने, धूप जलाउने जस्ता कामबाहेक अन्य काममा बारना हुँदैन । रजस्वलाको बखत संसर्ग नगर्ने भन्ने अलिखित तथा अव्यक्त परम्परा छ ।”

यौनाङ्ग र यौन शिक्षा निकै संवेदनशील कुरा हुन् । सृष्टि निरन्तरताका लागि अति महत्वपूर्ण भइकन पनि चर्चा-परिचर्चाको लागि अघोषित बन्देज । कस्तो समस्या ! उल्लिखित परम्परालाई सुरुवाती चरणको मर्मलाई पक्रेर उच्च सावधानीका साथ अपनाउँदा बर्सौँटे सुत्केरी समस्या, सानो उमेरको सुत्केरी समस्या, बलत्कार अपराध, छाउपडी प्रथा समस्यालाई निर्मूलीकरण गर्न सहयोग हुनेछ ।

ज्युँती र वन फागुले यौन शिक्षाकै बारेमा कुनै निर्देशन त गर्दैनन् तर, पनि यसलाई यौन उत्कण्ठालाई बाहिर गर्नका लागि एक उपयुक्त माध्यम मानिन्छ । यौन चर्चा छिहिल्लिएर होइन गम्भीर भएर गरौँ, यौन सन्दर्भलाई ज्यादा रहस्यमय नबनाऔँ र यौन अपराधलाई हटाऔँ । (प्रशासनबाट)

सम्बन्धित समाचार