सोमबार , फागुण १४, २०८०

महाशिवरात्रि विशेषः शिव, गाँजा, साधु र सत्कार

उहिले उहिले शिवरात्रिमा आउने साधुलाई नेपाल बसाइका क्रममा खाने-बस्ने सुविधासहित बिदा हुने बखत पदवीअनुसार बाघ, मृग आदि जनावरका छाला उपहार एवं दक्षिणासमेत दिएर बिदा गर्ने चलन रहेको थियो ।

image

हिन्दु धर्मावलम्बीको अनेक पर्वमध्ये एक विशेष पर्व महाशिवरात्रि पनि हो । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक यस पवित्र पर्व शिवको उत्पत्ति भएको रात भन्ने अर्थअनुरूप नामाकरण भएको पुराणहरूमा उल्लेख छ ।

महाशिवरात्रिमा काठमाडौँको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनी र पिण्डेश्वर, खोटङ्गको हलेसी, मोरङ्गको किराँतेश्वर, गुल्मीको गलेश्वर, आदि स्थानका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । पूर्वीय तथा वैदिक दर्शनले संसारमा चार रात्रिलाई बढी सम्बोधन गरेको छ । ती चार रात्रिमध्ये पहिलो ‘मोहरात्रि’ अर्थात् कृष्ण जन्माष्टमी, दोस्रोमा ‘कालरात्रि’ जो दसैँको समयमा पर्दछ । तेस्रोमा ‘सुखरात्रि’ अर्थात् लक्ष्मीपूजाको दिन । चौथोमा ‘शिवरात्रि’ रहेको छ । शिवरात्रिलाई विशेषतः वसन्त ऋतुको आगमनको सङ्केतका रूपमा पनि मानिन्छ ।

पहिले हरेक महिनामा मनाउँदै वर्षमा १२ वटा शिवरात्रि मनाइन्थ्यो । प्रत्येक महिनाको चतुर्दशीका दिन शिवरात्रि पर्ने गरे तापनि फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रिमध्ये विशेष मानिन्छ । त्यसैले, यस दिनलाई महाशिवरात्रि भन्ने गरिन्छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने माहाशिवरात्रिमा भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान शिवलाई दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन तथा शिव-पार्वतीको विवाहको यस दिन निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूधको अभिषेक र शिव महिमा कीर्तन गर्नु पूजा अर्चनाका मुख्य पक्ष मानिन्छन् । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ भने सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ ।

कतिपयले शिवरात्रिलाई ऋषि बोधोत्सवका रूपमा समेत मनाउने गरेका छन् । सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ । साथै, प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् ।

ज्योतिषीय गणनाअनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ । चतुर्दशी तिथिमा चन्द्रमा आफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ । त्यसकारण बलहीन चन्द्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छ । चन्द्रमाको सीधा सम्बन्ध मनसँग हुने भएकाले यतिबेला मन कमजोर हुन्छ । चन्द्रमा शिवको मस्तकमा रहेकाले चन्द्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय लिने गरिन्छ ।

पौराणिक कथा अनुसार महाशिवरात्रिको दिन नै समुन्द्र मन्थन गरिरहँदा कालकेतु विष निकालिएको थियो । भगवान शिवले सम्पूर्ण ब्रम्हाण्डको रक्षाका लागि स्वयंले ती सबै विष पिएका थिए ।

श्रीलिङ्ग पुराणको उमामहेश्वर संवाद खण्डमा एक व्याधाको सिकारको प्रसङ्ग आउँछ । उक्त प्रसङ्गमा मार्न लागेका मृगहरूलाई नमारी छोड्दिनाले ऊ ज्यूँदै स्वर्ग गएको कथा पढ्न सकिन्छ । उक्त व्याधाले भोकभोकै रहेर रातभर नसुती सिकारको ध्यानमा एक चित्तले पटक–पटक बेलपत्र शिव लिङ्गमा चढाएको र शिव प्रसन्न भएको तिथि फाल्गुण कृष्ण चतुर्दशी नै भएकाले त्यसपछि प्रत्येक वर्ष सोही तिथिमा शिवरात्रि मनाउने प्रचलन चलेको हो भन्ने जनश्रुति समेत पाइन्छ ।

पशुपतिभन्दा पुरानो भृङ्गारेश्वर ?

वेदमा रुद्रको रूपमा बलिसमेत स्वीकार गर्ने शिव समयसँगै परिवर्तन भएर महादेव र पशुपतिका रूपमा पुजित भएको डा. बिणा पौडेल बताउँछिन् ।

सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिव भन्ने मान्यता पौराणिक कालमा व्यापक थियो । शैव दर्शनले शिवलाई संहारकर्ताको रूपमा स्वीकार गरे तापनि त्यसको कारक तत्त्व सृष्टि मानेकाले प्रकृति र पुरुषको सङ्गम शिवलिङ्गमा देखाइएको हो । झट्ट हेर्दा शिवलिङ्ग शैव सम्प्रदायका अनुयायीहरूले मात्र पूजा गर्ने देवजस्तो लाग्छ । तर, शिवलिङ्गको माथिल्लो भाग रुद्र, बिचको विष्णु र सबैभन्दा तल्लो ब्रह्म भाग हो । जलहरी स्त्री शक्तिको प्रतीक हो । मुखरहित सादा वा पञ्चमुखी शिवलिङ्ग पूजा गर्दा देवीसहित त्रिदेवको पूजा गरिने भएकाले पनि शिवलिङ्ग स्थापना र पूजा व्यापक भएको हो ।

पुरातात्त्विक प्रमाणको आधारमा पाटन सुनागुठीमा भृङ्गारेश्वर शिवलिङ्ग लिच्छवि कालभन्दा पूर्व नै स्थापित भइसकेको देखिन्छ । यसमा अभिलेख कुँदिएको छैन, तर मन्दिर परिसरमा लिच्छविकालका अभिलेख प्राप्त छन् । अभिलेख र मिति कुँदिएको सबैभन्दा पुरानो शिवलिङ्ग भने लाजिम्पाटको धौबीचौरमा छ । नर वर्माले स्थापना गरेको त्यो शिवलिङ्गमा संवत् ३८८ (४६६ ई.) कुँदिएको छ । शिवलिङ्गको जलहरीमा कुँदिएका अभिलेखको आधारमा यो नै सर्वप्राचीन शिवलिङ्ग हो ।

गोपाल र भाषा वंशावलीमा पाटन सुनागुठीस्थित ‘भृङ्गारेश्वर’ शब्द उल्लेख भएको छ । इतिहासकारहरूले देउपाटनस्थित पशुपतिनाथको शिवलिङ्गभन्दा भृङ्गारेश्वरस्थित शिवलिङ्ग पुरानो मानेका छन् । पशुपतिको हालको शिवलिङ्ग भने ने.सं. ४८० (विसं १४१७) वैशाख शुक्ल द्वितीयाका दिन महामन्त्री जयसिंहरामले जीर्णोद्धार गरेको उल्लेख गोपाल राजवंशावलीमा छ । बङ्गालका सुल्तान शमशुद्दिन पूर्वतिरको बाटो भई नेपाल उपत्यकामा पसेर भक्तपुरमा लुटपाट गरेर पशुपति मन्दिरमा पुगेका थिए । ने.सं. ४७० मा आक्रमण भएको १० वर्षपछि पशुपतिको मन्दिरमा धार्मिक विधानअनुसार शिवलिङ्ग स्थापना गरिएको थियो । यी प्रमाणहरूको आधारमा पनि भृङ्गारेश्वर शिवलिङ्गलाई इतिहासकारहरूले प्राचीन मानेका छन् ।

 शिवरात्रि र गाँजा भाङ

केही मानिसहरूका अनुसार काटकुट विषको राप शान्त गर्न भगवान् शिव कैलाश पर्वत गए । तर पनि उनको पीडा कम भएन । त्यसपछि उनको पीडा भुलाउनका लागि देवताहरूले नशाको खोजी गरे र भाङ, धतुरो, गाँजाको सेवन गरेपछि भगवान् शिवलाई केही राहत भयो ।

मिथिलामा भाङसँग जोडिएको अर्को कथा चर्चित रहेको छ । एकपटक भगवान भोलेनाथले परिवारमा भएको झगडाका कारण घर छाडिदिए । रिसाएर एक दिन खुला आकाशमा एउटा खेतमा बिताए । बिहान उठ्दा उनलाई निकै भोक लागेको थियो । उनले खेतमै रहेको भाङको पातलाई चुँडेर खाइहाले । भाङको पात खाँदा भगवान शिवले आफूलाई चुस्त पाए । तरोताजा महसुस गर्न थाले । पार्वतीले नै यो कुरो पछि कैलाशमा सुनाइन् र एक कान दुई कान हुँदै धेरै ठाउँमा पुग्यो ।

शिवरात्रिमा बाबा तथा जोगीहरूले गाँजा सेवन गर्नाले शिवका अनुयायीहरूले यसलाई शिवको प्रसादको रूपमा व्याख्या गर्ने गरेका छन् । यद्यपि, शिव संहिता, शिव पुराण, लिङ्ग पुराण, स्कन्द पुराणको हिमवत् खण्डमा शिवजीको चर्चा भए तापनि ती कुनैपनि पुराणमा गाँजा वा भाङको वर्णन भने नगरिएको जानकारहरू बताउँछन् ।

आफैँमा साधनाबाट विषपान गरेर शिवजीले सबै प्राणीको रक्षा गरेको भन्ने प्रसङ्ग भने पुराणमा उल्लेख छ । त्यसैले शरीरलाई ऊर्जित गर्न भगवान् शिवजीले गाँजा, भाङ, धतुरो प्रयोग गरे भनेर अर्थ लगाइएको हुनसक्छ ।

जानकारहरूका अनुसार शिवजीका साधकहरूले पनि त्यसरी ध्यान गर्दा, साधना गर्दा शरीरमा ताप पैदा गर्न, ऊर्जा पैदा गर्न जडीबुटीहरू सेवन गरे । यस क्रममा उनीहरूले गाँजाको प्रयोग गरे । यसरी शिवजीको नाम जोडेर साधकहरूले पछि आएर गाँजा प्रयोग गर्न थाले र यसरी एउटा परम्पराको सुरुवात हुन गयो । जानकारहरू भन्छन्, “यो कुनै कालखण्डमा जोडिन आएको एउटा प्रसङ्ग मात्र हो । यसमा पौराणिक आख्यान र शास्त्रीय आयाम हेर्दा शिवजी र गाँजाको सम्बन्धबारे कसैले प्रमाण दिन सकेको छैन ।”

कृष्ण पक्षको चतुर्दशीमा चन्द्रमाको तेज अति क्षीण हुन्छ भन्ने कुरा विज्ञानले पनि पुष्टि गर्दछ । शिवरात्रि भनेको कृष्ण पक्षको चतुर्दशीकै दिन पर्दछ । यस दिन चन्द्रमाको तेज वा प्रभाव कम हुन्छ । चन्द्रमा भनेको मनको शक्ति हो । चन्द्रमाको तेज वा प्रभाव कम भएको बेला मन विक्षिप्त हुन्छ, त्यो मनलाई ऊर्जा प्रदान गर्न, उत्तेजना पैदा गर्न ‘शिव बुटी’ भनेर गाँजा प्रयोग गर्ने चलन चलेको हो । यो चलन धेरैपछि आएर चलेको हो ।

लगभग हजार-पन्ध्रसय वर्षअगाडि शिवजी र गाँजाको केही सम्बन्ध थिएन । साधकहरूले शरीर एकाग्र गर्नका लागि गाँजा प्रयोग गरेपछि यो किंवदन्तीकै रूपमा शिवजीसँग जोडिन पुगेको हो ।

गाँजाका गुण-अवगुण

यद्यपि, विश्वका धेरै देशमा अहिले औषधीजन्य गाँजाले वैधानिकता पाएको छ । केही देशले गाँजा खेती र बिक्रीवितरण गरी आयसमेत= बढाइरहेका छन् ।

गाँजामा हुने क्यानाबिनोइड तत्त्वलाई चिकित्सकहरूले औषधि उपचारका रूपमा प्रयोग गर्ने गर्छन् । बिरामी लट्ठ्याउन वा पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौँ वर्षदेखि गाँजा प्रयोग हुँदै आएको थियो । निद्रा नलाग्ने, पेट दुख्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग हुँदै आएको सिंहदरबार वैद्यखानाको रेकर्डमा देखिन्छ ।

एकातिर गाँजामा औषधीय गुण रहेको छ भने यसका बेफाइदा समेत रहेका छन् । गाँजा, भाङमा हुने ६० भन्दा बढी अलग प्रकारका क्यानाबिनोइडले हाम्रो मस्तिष्कमा पुगेर शरीरलाई नै असर पुर्‍याउने गर्छ ।

यस्तै, गाँजामा हुने क्यानाबिनोइडले निद्रा, भोक, प्यासमा पनि असर गर्ने हुँदा गाँजा सेवनपश्चात् मानिसलाई निद्रा लाग्ने, कसै-कसैलाई अत्यधिक भोक लाग्ने गर्छ । यसबाहेक गाँजा सेवनले मुटुको चाल बिगार्ने, रक्तचाप बढाउने हुँदा हृदयाघातसमेत गराउन सक्छ ।

समग्रमा भन्दा शिवले त काटकुट विष पनि सेवन गरेका थिए । तर, हामी मानवले पनि भगवान शिवजीले त विष नै पिएका हुन् भनेर प्रसादको रूपमा विष ग्रहण गर्न थाल्यौँ भने हाम्रो भौतिक शरीर के होला ? त्यसैले, यसलाई धर्मसँग जोडेर सेवनका लागि सजिलो बाटो खोल्न खोज्नु गलत हुने देखिन्छ ।

नेपालमा शिवरात्रि

नेपालमा वि.सं. २००७ अघि पनि शिवरात्रि निकै महत्त्वका साथ मनाइन्थ्यो । त्यसबेला धार्मिक विश्वासका कारण पशुपति आउने साधुसन्तलाई विशेष सत्कार गरिन्थ्यो । उनीहरूको आगमनलाई व्यवस्थित गर्न वीरगन्जदेखि काठमाडौँसम्म आउन लाग्ने भाडा खर्चका साथै उनीहरूको गाँसबासको खर्च लगायतका बारेमा गोरखापत्रमा त्यसबेला सूचना नै प्रकाशित हुने गरेको थियो ।

वि.सं. १९९० सालको महाभूकम्पका कारण सरकारले यस वर्ष साधुसन्तलाई सत्कार गर्न असुविधा पुग्ने भन्दै शिवरात्रिमा आउने कष्ट नगर्न सूचना नै निकालेको थियो । शिवरात्रिमा आउने साधुलाई नेपाल बसाइका क्रममा खाने-बस्ने सुविधासहित बिदा हुने बखत पदवीअनुसार बाघ, मृग आदि जनावरका छाला उपहार एवं दक्षिणासमेत दिएर बिदा गर्ने चलन रहेको थियो । अहिले चमर, कमण्डलु आदि दिई ऐतिहासिक निरन्तरता दिइएको छ । (गोरखापत्र दैनिक)

शिवरात्रिका अवसरमा पहिले-पहिले सरकारीस्तरबाटै जोगी र बाबालाई गाँजा दिइन्थ्यो । केही समयदेखि पशुपति परिसरमा गाँजा निषेध छ । यो बन्देजमा धेरै बाबा-जोगीले असन्तुष्टि जनाउँदै आएका छन् । वि.सं २०३३ सम्म नेपालमा गाँजा अवैध मानिँदैनथ्यो ।

[सन्दर्भ सामग्री : डा. बिणा पौडेलका बिभिन्न लेख तथा उनीसँग गरिएको कुराकनी ।]

सम्बन्धित समाचार