मंगलबार , भाद्र ९, २०८३

वैशाख १ : साली–भिनाजू सिस्नुपानी छ्यापाछ्याप गर्ने बिसु पर्व

image

बिसु पर्व विशेष गरी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही पहाडी जिल्लाहरूमा मनाइन्छ । जसमा अछाम, डोटी, डडेलधुरा, बझाङ, बाजुरा , बैतडी , दैलेख र अन्य जिल्लाहरू पर्दछन् ।

यो पर्व वैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइने गरिन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसुको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ।

हरेक वर्ष बिसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन (बिसु तिहार) सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजूबिच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै गएको छ ।

बिसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी अहिले पनि रमाइलो गर्ने गरिन्छ । बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ ।

बिसु तिहारमा महिलाहरूले ‘पुतला नाच’ खेल्ने गर्दछन् भने पुरुषहरूले ‘बिसु बाघ’ बनाएर दौडाउने गर्छन्।

यो पर्व सुरु हुनु भन्दा केही दिन पहिलेदेखि नै अछाम, बाजुरा लगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल सुरु गर्छन् ।
बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (फाँडो, मासको विशेष प्रकारको दाल ) पकाएर खाने चलन छ।

किम्बदन्ती
हिन्दू सम्राट् विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयाली स्वरूप पौराणिककादेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किम्बदन्ती छ।

नयाँ वर्ष, बिसु तिहारका साथै चैते दसैँसमेत यसै महिना परेकाले नोकरीको सिलसिलामा भारतका विभिन्न प्रदेशमा रहेका कतिपय सुदूरपश्चिमेली  घर फर्किने गर्दछन् ।

विसु पर्वलाई प्राय हिन्दु धर्म मान्नेहरूको वस्ति भएको प्रत्येक ठाउँमा मनाउने गरेको पाइन्छ । नेपाल लगायत भारतको कतिपय ठाउँहरूमा यो पर्वलाई वैशाखी अथवा वैशाखीको नामले चिनिन्छ । वैशाखीको दिनमा गङ्गा स्नानको ठुलो महत्त्व छ । भारतको हरिद्वारमा यस पर्वको दिन नेपाल तथा भारतका विभिन्न स्थानबाट ठुलो सङ्ख्यामा स्नानार्थीहरू गङ्गास्नान गर्नको लागि आउने गर्दछन् ।

बिसु पर्वलाई कतिपय ठाउँमा बिसु सङ्क्रान्ति पनि भनेको सुनिन्छ । त्यस्तै कतिपय ठाउँमा यसलाई ‘बिखतीको तिहार’, ‘बिसु पुज्ने दिन’ पनि भनिन्छ । भारतको आसाम राज्यमा यस पर्वलाई ‘बिहु पर्व’ भनेर मनाइन्छ । नेपालको पश्चिमी भेगमा यस दिन महिलाहरूले ‘बिसु पूजा’ गर्दछन् ।

नयाँ वर्षको उपलक्षमा प्रत्येक ठाउँमा बिसु पर्वको राती ‘गल्लौडीको जात्रा’ लगाएर रमाइलो गर्ने प्रचलन अहिले पनि छ ।

Tags:

सम्बन्धित समाचार