शुक्रबार , अषोज १४, २०७९

क्रान्तिको इतिहासले शान्ति र अभिभावकत्व खोज्ने रहेछ

निहत्थाहरूलाई मारेर, काटेर, लखेटेर, अपहरण गरेर क्रान्तिकारी बन्ने बनाउने होडबाजीमा लाग्नेहरू पनि विश्वभर प्रशस्तै छन् । नेपाल बन्ने र बनाउने इतिहासमा पनि यी र यस्ता घटनाले मानिसको जीवनलाई आहत पुर्याइरहेको छ ।

image

मुसोलिनीले आफूलाई समाजवादी भन्दै सन १९२५ मा इटली आफ्नो कब्जामा लिए । आफू सत्तामा आएपछि परिवर्तनको व्यवस्थापन गर्नु पर्छ,सत्ताबाट आम नागरिकले आशा गरेको हत्या र आतंक होइन भन्ने जति सखाप पारे । विपक्षमा बोलेको कारण आफ्नै ज्वाइँलाई सन १९४४ जनवरी ११ मा झुन्डाएर मारे । पिताको षड्यन्त्रले पतिलाई झुन्डाइदैछ भन्ने आशंकामा दुई दिन अगि मुसोलिनिकी छोरी भेष बदलेर भागेको कारण बचिन् । मुसोलिनिले सत्ता र यौनको उन्मादले आफ्नै श्रीमती र छोरो मारे र सौतेनी बहिनीसँग सम्बन्ध बनाए । छोरीले पिता मुसोलिनीको ज्यादती सहन नसकेर भेष बदलेर भागिन र बाबुको थर त्यागेर पति कायनोको नामले चिनिएर बाँकी जीवन बिताउने प्रण गरिन् ।

हिटलर पहिलो विश्वयुद्धका अनुभवी थिए । प्रथम विश्वयुद्धमा जर्मनीमाथि भएको ज्यादतीको विरुद्ध सन् १९१९मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पाटीको सदस्यता लिए र सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले “कु” को  प्रयास  गरेको कारण जेल परे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धिको कडा आलोचना गर र बृहत् जर्मन भाषिक कारण देखाए साथै यहूदी र कम्युनिस्ट विरोधी गतिविधिलाई आफ्नो वक्तृत्वकलाद्वारा लोकप्रियता स्थापित  गरे । सन् १९३३मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय अधिनायकवादी र निरङ्कुश शासनमा रूपान्तरण गरे ।

अन्धराष्ट्रवादको नाराको समर्थनमा सत्ता प्राप्त गरेका हिटलरले सयौँ महिलासँग यौन सम्बन्ध राखे । लाखौँको घरबार बिगारे ।  जीवनको अन्त्यमा  सन १९४५ जनवरी १६ को ३:०० बजे ३३ वर्षकी इवाब्रुनको साथमा ५६ वर्षको हिटलरले  घटना अघि विवाह गरे र आफ्नै पेस्तोल चलाएर आत्महत्या गरि जीवनलीलाको अन्त्य गरे ।

विश्वमा राज्य र शासकीय स्वरूपको सञ्चालनका लागि अनेकौँ परिकल्पना भए । परिकल्पनाले नयाँ नयाँ सिद्धान्तहरू प्रतिपादन भए । प्रतिपादित सिद्धान्तमा टेकेर मानिसहरूले अनेकौँ सिद्धान्तलाई आदर्श बनाए र प्रयोग गरे। त्यो आदर्शको प्राप्तिको लागि आदर्श प्रेमीहरूले परिवर्तनको नाममा अनेकौँ प्रकृति र नामाकरणका सङ्घर्ष गरे र लाखौँ लाखको हत्या गरे, गराए ।

कुनै समाजवादका नाममा भए त कतिपय प्रजातन्त्रको सिद्धान्तको आदर्शको नाममा लडे र सयौँलाई सहादत गराए । समाजवाद र प्रजातन्त्र जेको नाममा भए पनि प्रत्यक्ष लाभ कसले पायो ? लाभ कति समयसम्म  टिक्यो ? त्यो परिवर्तनबाट कति मानिसले शान्ति र समृद्धिको सास फेर्न पाए ? आम नागरिकको सुख र सुविधाको लागि गरिएको परिवर्तनले  परिवर्तनको अगुवाको घरपरिवारभित्रको सम्बन्धमा लाभ गर्‍यो कि हानी ? भन्ने विषय चाहिँ महत्त्वपूर्ण रहेछ।

यसरी संसारमा भएका अधिकांश क्रान्ति या परिवर्तनले लाखौँलाख मानिसको हत्या, करोडौँ बालबालिका टुहुरा, लाखौँको काख रित्याए भने हजारौँ-हजार महिलाहरूले एकल भएर बाच्नु पर्‍यो । अङ्गभङ्ग हुनेको त कुरै नगरौँ । युद्धले बस्ती बस्ती उजाडिए, आम नागरिक घरवारविहीन भए र शरणार्थीको जीवन बिताउँदै अनेकौँ देश चाहर्दै  मागेर गुजारा गर्न बाध्य भएको सयौँ घटना छन् ।

निहत्थाहरूलाई मारेर, काटेर, लखेटेर, अपहरण गरेर क्रान्तिकारी बन्ने बनाउने होडबाजीमा लाग्नेहरू पनि विश्वभर प्रशस्तै छन् । नेपाल बन्ने र बनाउने इतिहासमा पनि यी र यस्ता घटनाले मानिसको जीवनलाई आहत पुर्याइरहेको छ ।

सन १९४२ को अगस्ट १५ को  साँझ सात बजेपछि अङ्ग्रेज प्रधानमन्त्री विन्स्टन चर्चिल क्रेमलिन प्रवेश गरे । त्यो समय सोभियत भूमिमा फाँसीवादी अतिक्रमणका विरुद्ध घमासान युद्ध भइरहेको थियो । युद्धको कारण मस्को शहर निकै तनाव ग्रस्त  अवस्थामा थियो  । चर्चिल फाँसीवादीको युद्धले आतङ्कित बनाएको अवस्थाको अनुगमनको क्रममा सोभियत पुगेका थिए । त्यही मौकामा सोभियत  सङ्घका प्रमुख  स्टालिनले आफ्नो आवास क्रेमलिनमा चर्चिललाई रात्रीभोजको निम्ति पठाए । निम्तोलाई सहजै स्विकारेर  निम्तो मान चर्चिल स्टालिनको आवासमा गए  ।

क्रेमलिनमा स्टालिनको चार कोठे डेरा थियो । स्टालिनको आवासमा प्रवेश गरेका चर्चिलले मोलोतोभसँगै उभिएकी एउटी किशोरी देखे । तिनै उभिएकी किशोरीसँग स्टालिनले चर्चिलको परिचय गराउँदै भने, ‘उनी स्वेतलाना ! मेरी छोरी हुन् ‘। स्वेतलानासँगको परिचयपछि चर्चिलले रात्रीभोजमा सँगसँगै खाना खाए । स्वेतलानासँग चर्चिलको कुराकानी भयो । कुराकानीमा स्वेतलानाले देखाएको शिष्टता र आफ्ना पिताप्रतिको न्यानो माया र व्यवहारबाट चर्चिल सारै प्रभावित भए ।

उनीहरू रात्रीभोजको गहिरो आनन्द लिइरहेको अवस्थामा स्टालिनका जेठा छोरा याकोभलाई हिटलरको नाजी सेनाले बन्दी बनाएको खबर आयो । रात्रीभोजसँगसँगै  युद्धका समाचारहरू सुनिरहेका थिए, दुवै एकछिन स्तब्ध भए ।  चर्चिलले खानासँगै स्टालिनको मनोवैज्ञानिक पढिरहेका थिए । छोरालाई हिटलरको नाजी सेनाले बन्दी बनाएको समाचारले स्तब्ध बनेका स्टालिनलाई चर्चिलले सहानुभूति प्रकट गरे । चर्चिललाई स्टालिन निष्ठुर क्रान्तिकारी लागेको थियो, क्रान्तिकारीहरूको पारिवारिक  हुँदैन, स्नेह जोडिएको  हुन् भन्ने लाग्थ्यो । त्यो भ्रमबाट चर्चिल बाहिर निस्के  ! परिवार, नाता र सम्बन्धको माया, स्नेहले क्रान्तिकारीहरूको जीवनलाई प्रभावित बनाउँदो रहेछ – भन्ने भाव स्टालिनबाट पढ्ने मौका पाए । साथै, क्रान्तिको जिम्मेवारीको कारण परिवारसँगको खुसी आम नागरिकले झैँ खुलेर पोख्न सक्दा रहेनछन् भन्ने पनि बुझे  ।

त्यही रात चर्चिल र स्टालिनविच नेपोलियनसँगको युद्ध, लाल सेना र सामूहिक खेती लगायतका महत्त्वपूर्ण  विषयमा संवाद भयो । दुई देशका राजनीतिक नेतृत्व विचको त्यो संवादमा जर्मनसँगको युद्ध र क्षतिको बारेमा ध्यानाकर्षण गर्ने गराउने विषयले पनि प्रवेश पायो । त्यही बिचमा स्टालिनले अनेकौँपटक छोरीलाई भँगेरी भनेर बोलाएको, नजिकै राखेर चिनाएको कुराले चर्चिललाई अनौठो लागिरहेको थियो । चर्चिलले  कम्युनिस्टका नेताहरूको रात्रीभोजमा  पहिलोपटक पटक पुगेका थिए । त्यसभित्र एउटा क्रान्तिकारीले छोरीप्रति देखाएको स्नेह देखे । सँगसँगै, हिटलरसँगको युद्धमा जेठो छोरो बन्दी भएको र मारिएको खबर पनि सुने र एउटा क्रान्तिकारी भावनात्मक रूपमा परिक्षिप्त भएको देख्ने प्रत्यक्षदर्शी थिए । एउटा कम्युनिस्ट क्रान्तिकारीको निजी निवासमा छोरोको निधन, छोरीप्रतिको स्नेह, राष्ट्रिय महत्त्व र जनजीविकासँग जोडिएको विषयमा गम्भीर छलफल गरेको अनुभूतिसँगै बफादार क्रान्तिकारीको भूमिकामा स्नेह र प्रेमको सुगन्ध  महसुस गर्दै चर्चिल बिदा भए ।

स्वेतलाना पिता स्टालिनको मृत्युको रहस्य पत्ता नलागेको कारण अशान्त थिइन् । एउटा क्रान्तिकारी योद्धा जसले सोभियत सङ्घको निर्माणमा आफ्नो सम्पूर्ण जीवन दियो, ऊ बिरामी परेर अर्धचेतन अवस्थामा लडेको बेला त्पो पाटीका नेता र सरकारको नेतृत्व गरिरहेको सहयोद्धाले बिरामी नेतालाई अस्पताल पुराउनबाट रोक लगाएको थाहा पाएकी स्वेतलानाले पिताको मृत्युपछि आफैँ असुरक्षित भएको महसुस गरिन् । पाटीभित्रको दुई लाइन सङ्घर्षले आफैँभित्र चलेको सफाया षड्यन्त्र राम्रोसँग बुझेकी मात्रै होइन, शक्तिको लागि पदीय दुरुपयोग र कत्लेआम देखेर उनी अतालिएकी थिइन । क्रान्तिको इतिहासले आम नागरिकमा शान्ति र अभिभावकत्व खोजेको थियो । त्यो अवस्था स्टालिनकी छोरीले नै पाइनन् ।

यस्तो मायामा हुर्किएकी प्यारी छोरीले स्टालिनको निधनको १४ वर्षपछि सन १९६७ मार्चको पहिलो तारिखको दिन भारतस्थित अमेरिकी दूतावासमा शरण लिन पुगिन । पति भारतीय नागरिक सिंहको निधनपछि गंगा नदीमा अस्तु बगाउने नाममा भारत प्रवेश गरेकी स्वेतलानाले अमेरिकी दूतावासको सहयोग लिएर युरोप हुँदै अमेरिकाको न्युयोर्क पुगिन् र अमेरिकी शरण लिएको खुलासा गरिन् ।

सफाया षड्यन्त्रको डरको कारण सृजना भएको आतङ्कले असुरक्षित हुँदै जोगिन आफ्ना मरेका पति भारतीय नागरिक सिंहको अस्तु गङ्गामा बगाउने बहानामा सुटुक्क  भारत छिरिन् । त्यो घटना  क्रान्तिपछि क्रान्तिकारीहरूमा जन्मने सत्ता र शक्तिको चरम अवसरवादको एउटा उदाहरण थियो । स्टालिनकी छोरीलाई त्यो भयले असुरक्षित बनायो । विश्वको राजनीतिमा यस्ता सयौँ घटनाहरू छन् । यस्तो घटना बुझेकी स्वेतलाना गोर्भाचोभ सत्तामा आएपछि पुनः सन १९९२ मा   सोभियत रुस फर्किन् । त्यो बेला पनि उनको लागि वातावरण  सहज  थिएन र  अमेरिका  फर्केर बाँकी जीवन पूरा गरिन्।

भारतमा पुगेर अमेरिकी दूतावासको सहयोग मार्फत अमेरिका पुगेको खुलासा भएपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो प्रतिनिधि अमेरिका पठाएर भारत प्रवेश गरेर भारतको सहयोग नलिई अमेरिकी दूतावास मार्फत अमेरिका जानू परेको कारण खोज्न लगाइन । भारतका प्रतिनिधिलाई स्वेतलानाले  आफू अमेरिकी सहयोग लिएर आउनुको सम्पूर्ण कारण बताइन र भारतीय प्रतिनिधिको साथमा आफ्ना सन्तानलाई आफूले सोभियत सङ्घ छोड्नु परेको कारण सहितको पत्र लेखिन र त्यो पत्र भारतीय प्रतिनिधिले पुर्‍याइदिन वचन दिएको कारण उनैको साथमा पठाइदिएकी थिइन । तर इन्दिरा गान्धीका ती प्रतिनिधिले त्यो पत्र स्वेतलानाका सन्तान समक्ष पुर्‍याइदिएनन् ।

माओको जेठो छोरा एनिङ्ग सन १९६० मा कोरियाको स्वतन्त्रताको पक्षमा लड्दालड्दै अमेरिकी सेनाद्वारा कोरियामै मारिए । सन १९२१ मा जन्मिएकी माओकी जेठी छोरी जिन्हुआ लामो समयसम्म आफ्ना मातापिताबाट टाढा भएर किसानहरूसँगै बस्नुपर्ने अवस्था सृजना भयो ।  युद्धको समय अथवा क्रान्तिकारीहरूको जीवनमा यो अनौठो कुरा थिएन र होइन पनि/मानिँदैन थियो । माओले यी घटनालाई स्वाभाविक माने । तर हाम्रा नेताहरूले यस्ता घटनालाई स्वाभाविक मान सकेनन् । क्रान्तिमा लाग्नेहरूले  क्रान्तिलाई माया गर्ने आम जनताले आफ्नो सन्तान र पाटीको नेताको छोराछोरीलाई आफ्नै सन्तान मानेर आफूले आफ्ना सन्तानलाई जे-जसरी हुर्काए, नेताका सन्तानलाई त्यही खुवाएर हुर्काएका हुन्छन् भनेर बुझ्न सकेनन् । जनताले देखाएको त्यो समानताको सद्भाव नेताले बुझ्न नसकेको कारण पछिल्लो समयमा सन्तान जनताको साथमा छोडेको विषयलाई पश्चात्ताप गरे। हीनताबोधले दु:खी भए र जीवनभर सत्ता र शक्तिको दोहन गरेको थुप्रै  उदाहरणहरू देखिएका छन् ।

अहिले  समय बदलिएको छ । सङ्गठन गर्ने तौरतरिका र अवसर पाउने अवस्था पनि बदलिएको छ । अवसर दिने र लिने विचको सौदावाजी मिलेपछि  विधि,पद्धति तुहिएका सयौँ घटनाले इमानदार कार्यकर्ता बलिदान भएका उदाहरण थुप्रै छन् ।  राजनीतिक परिवर्तनको क्रम सकिएर कार्यक्रम विहीन विकास र सम्वृद्धिको नारा चर्किएको छ ।

हिजो सत्ताको विपक्षमा नारा घन्काउने मानिसहरू नै अहिले सत्तासीन भएका छन् । तर हिजो  तय गरिएका उद्देश्य पूरा गरियो कि गरिएन सोच्न, मूल्याङ्कन गर्न  र गरेका कामको विश्लेषण गर्ने विषय अहिलेका दलहरूको चासो र फुर्सदको विषयमा पर्दैन । आम नागरिकले  क्रान्तिमा आशा गरे जस्तो प्राप्ति त पाएनन् नै तर स्टालिनकी छोरीले असुरक्षित भएर  आफ्नो जन्मभूमि छोड्न बाध्य भए झैँ दिनप्रतिदिन देश छोड्दैछन् । स्वेतलानाले शान्ति र सुरक्षाको लागि देश छोडे जस्तै  नेताका सन्तानहरूले अध्ययनको नाममा विदेश पलायन भएका घटनाले नेताहरूलाई अझै संवेदनशील बनाएको छैन ।

सन्तान विदेशीँदा या विदेश पठाउँदा भविष्य सुरक्षित भएको महसुस गर्ने प्रवृत्तिका नेता भएको हाम्रो देशमा विदेश पठाउनु हुन्न, स्वदेशमै अध्ययन गरौँ/गराऔँ भन्ने सन्तान र नेता कति प्रतिशत छौँ ?  प्रश्न  गम्भीर छ र, जताततैबाट उठेको छ ।

आफ्नै सत्ता र आफैँ शक्तिमा हुँदा आफैँले सोचेको व्यवस्थामा सन्तानलाई  सुरक्षित गराउन नसक्ने व्यवस्थाका नेताका सन्तानले देशको माया बढाउन पढ्छन् कि आफू सुरक्षित हुन पढ्छन् ? यो विषय पनि चिन्तन गर्नुपर्ने विषय होला । अहिलेको युवा जनशक्तिले दलहरूप्रति लक्षित गरेका सवालहरू मध्येको यो प्रमुख सवाल हो ।

यस्ता राजनीति दल र राजनीतिज्ञबाट मुलुकले निकास पाउँछ कि पाउँदैन ? प्रदेश र सङ्घीय निर्वाचनसँग जोडिएर नागरिकहरूले  चर्चा र चासो राखेका छन् । राजनीतिभित्रको घेराबन्दी र निषेधको विरुद्ध स्वतन्त्र उम्मेदवारीको चर्चा पनि राजनीतिक अनिर्णय र घेराबन्दी लक्षित निकासका लागि नै देखिन्छ । यो निकासको दीर्घकालीन असरको बारेमा दलमा छलफल चलेको छ त ?

जेलनेल सहेका नेताले राज्यको शासन चलाउँदा, शासक बन्दा भुइमान्छेले न्याय पाउनु पर्ने हो ! तर परिवर्तनले भुइमान्छेको पक्षमा होइन सत्ता र शक्ति टिकाउन धन, डन, मन भएकाहरू खोज्यो । सत्ता टिकाउन सुरा,सुन्दरी र मदिरा चाहियो । सत्ता र संसद्मा पहुँच बढाउन दलका नेतालाई विधि पद्धति बुझेका विचारले सुदृढ होइन, घन र मन भएका महिला चाहियो । यस्तो व्यवहारले  राजनीतिक दल निर्वस्त्र भए। इमानदार कार्यकर्ताले इमानदारी पूर्वक लड्न सकेन र लड्नु बेकार हो भन्ने ठाने । यस्तो निराशाले दलका नेता निर्वाचनका लागि टिकट खरिद, विक्री गर्ने दलाल भए । सत्ता र शक्तिको पदमा टिकेर व्यक्तिगत लाभमा राजकीय पद किन्न थाले । राजनीतिक जिम्मेवारी तथा राजकीय जिम्मेवारी  योग्यतमलाई होइन, पाटी चलाउन पैसा दिने, निर्वाचन क्षेत्र केन्द्रीकृत र आफूलाई परेको बेला सहयोग गर्नेलाई हिसाब किताब गरेर वितरण गर्ने परम्परा सुरु गरे । अहिले कम्युनिस्टहरूको बहुदलीय जनवाद/प्रचण्ड पथ, जनवाद र प्रजातन्त्रवादीको समाजवादको लक्ष्य नै सत्ता र शक्ति प्राप्त गर्ने होडबाजीमा अब्बल हुनु बन्यो ।

हिजोको सङ्घर्ष  बलिदानको कथा नेताले सिडी चढ्ने भर्‍याङ बन्यो । दलसँग रुष्ट भएकाहरूले स्वतन्त्र व्यक्ति रोज्न थाले तर पनि नेपाली राजनीति सङ्लिने छाँट देखिन्न । परिवर्तनले उठाएका मुद्दाको सम्बोधन र व्यवस्थापन गर्न नजान्दा र आफ्नू शक्ति र जनचाहाना नबुझ्दा पद, शक्ति र सत्ताले पनि छोड्छ भन्ने सयौँ उदाहरण पढेर पनि नेपाली राजनीति बदलिएन ।

सम्बन्धित समाचार