विपन्न वर्गको स्वास्थ्योपचारका लागि आर्थिक सङ्कलनदेखि, भोकालाई खाना र नाङ्गालाई नानाको प्रबन्ध मिलाउनसमेत सामाजिक सञ्जालले भूमिका खेल्दै आएको छ । पर्यटनको प्रवर्द्धनमा सामाजिक सञ्जालको भूमिकालाई भने आलोचनात्मक दृष्टिकाेणबाट हेर्न सकिन्छ ।
सन् २०२० को सेप्टेम्बरतिर तनहुँको एउटा डाँडा एकाएक चर्चामा आयो । जतिबेला विश्वव्यापी कोरोना महामारीका कारण नेपाल लगायत विश्वका थुप्रै देशका करोडौँ मानिसहरू घरभित्रै थुनिएका थिए । मानिसहरू घरभित्र उकुसमुकुस भएर बसिरहेका बेला तनहुँको व्यास नगरपालिका–५, मा अवस्थित मानहुँकोट डाँडाको चर्चा अकस्मात् चुलियो । सामाजिक सञ्जालका भित्ताहरू उक्त डाँडाको तस्बिर तथा भिडियो सामाग्रीले भरिए । डाँडाले यसरी लोभ्याइदिए कि वरपरका मानिसहरू महामारीलाई नै बिर्सेर घरबाहिर निस्किए अनि लम्किए डाँडातिर । डाँडामा पुगेर बादलमाथि बसेर सेल्फी खिच्न तँछाडमछाड नै चल्यो । मानहुँकोट डाँडाबाट सूर्योदय र सूर्यास्तको अद्भुत दृश्य हेर्न एकै दिनमा पन्ध्र हजारसम्म मानिसहरू डाँडामा पुगे ।
व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेका अनुसार अहिले पनि शनिवार लगायत सार्वजनिक बिदाका दिनमा पाँच सय भन्दा बढी पर्यटकहरू मानहुँकोट पुग्छन् । मानहुँकोटमा अहिले सुविधासम्पन्न होटेल तथा रिसोर्टहरू बनेका छन् । डाँडासम्म पुग्ने बाटो कालोपत्रे हुँदै छ । मेयर न्यौपानेका अनुसार सात किलोमिटर मध्ये पाँच किलोमिटर कालोपत्रे भइसकेको छ । डाँडामा रहेको सिद्धबाबाको मन्दिर पनि निर्माण हुँदै छ । अब मानहुँकोटलाई व्यवस्थित र सुन्दर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नको लागि गुरुयोजना निर्माणको काम भइरहेको मेयर न्यौपानेले बताएका छन् ।
त्यसैगरी सन् २०२१ को अक्टोबरतिर म्याग्दीको बेनी नगरपालिका–१, मा अवस्थित रत्नेचौर एकाएक चर्चामा आयो । चर्चामा आउनुको कारण थियो पहेँलपुर तोरीबारी । त्यहाँका वडाध्यक्ष टेक बहादुर थापाका अनुसार तोरी फुल्ने बेला दैनिक एक सय पचास देखि दुई सयसम्म पर्यटक त्यहाँ पुग्छन् । पर्यटकहरू पुग्न थालेपछि रत्नेचौरमा होटेलहरू पनि बन्न थालेको छ ।
केही महिनाअघि मात्रै रत्नेचौरबाटै म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । पुलले आवतजावतलाई सहज बनाएको मात्रै छैन, पर्यटकहरूलाई पनि लोभ्याएको छ । पर्यटकीय आकर्षण पनि बनेको छ । तोरीबारीको सुन्दरता हेर्न जाने पर्यटकहरू पुलमा पनि पुग्छन् । सो पुलले म्याग्दीको म्याग्दी नगरपालिका–१ स्थित रत्नेचौर र बागलुङको बागलुङ नगरपालिका–४ स्थित कुँडुले फाँटलाई जोडेको छ ।
यी नयाँ पर्यटकीय गन्तव्यहरू चर्चामा आउनुको कारण हो, सामाजिक सञ्जाल । सामाजिक सञ्जालकै कारण यी गुमनाम ठाउँहरू अहिले पर्यटकहरूको रोजाइको गन्तव्यमा दरिएका छन् ।
“मानहुँकोट अहिले आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ, यसको श्रेय सामाजिक सञ्जाललाई जान्छ । सामाजिक सञ्जाल नहुँदो हो त यो अहिले पनि गुमनाम रहने थियो”, व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने भन्छन्, “यहाँ यति राम्रो पर्यटकीय गन्तव्य छ भन्ने हामीलाई थाहा थियो तर मूलधारका भनिएका सञ्चारमाध्यमको नजर नपर्दा प्रचार हुन सकेको थिएन । सामाजिक सञ्जालले गरिदिए । अहिले ठाउँको चर्चा भएको छ । स्थानीयले रोजगारी पाएका छन् ।”
त्यसो त म्याग्दीको रत्नेचौरलाई पनि पर्यटकहरूमाझ पुर्याउने काम सामाजिक सञ्जालले नै गरेकोमा वडाध्यक्ष थापा सहमत छन् । उनी भन्छन्, “सामाजिक सञ्जालले नै हो चर्चामा ल्याएको, पर्यटकहरूमाझ चिनाएको । नभए हामीलाई कुनै मतलब थिएन । हाम्रो गाउँमा पर्यटकहरू आउलान् भन्ने सोचेको थिइनँ ।”
यी त उदाहरण मात्र हुन् । पछिल्लो समय सामाजिक सञ्जालकै कारण नेपालका थुप्रै नयाँ पर्यटकीय गन्तव्यहरू पर्यटकहरूमाझ पुगिरहेका छन् । फेसबुक, ट्विटर, टिकटक, युट्युब, इन्स्टाग्राम, ब्लग लगायत सामाजिक सञ्जालहरूले मानवीय जीवनका थुप्रै आयामहरूमा प्रभाव जमाउन थालेका छन् । यसका सकारात्मक र नकारात्मक प्रभावहरू बहसका विषय हुन् । तर, पर्यटनको विकासमा भने सामाजिक सञ्जाल वरदान साबित हुँदै गएको छ ।
अहिले प्रायः मानिससँग एन्ड्रोइड फोन हातहातमा छ । सबैले एक वा एकभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्छन् । को मानिस कहाँ के गर्दैछन् भन्ने थाहा पाउन उसको सामाजिक सञ्जाल कोट्याएर हेर्दा थाहा पाउन सकिन्छ । मानिसहरू कतै राम्रो ठाउँमा घुम्न जाँदा अनिवार्य रूपमा फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् । आफू पुगेका, आफूले घुमेका ठाउँबारे जानकारी लेखेर, बोलेर अथवा तस्बिर मार्फत दिइरहेका हुन्छन् । जसले अरूलाई पनि ती ठाउँहरूमा जान प्रोत्साहित गरिरहेका हुन्छन् ।
पर्यटनको प्रवर्द्धनमा सामाजिक सञ्जालको अहम् भूमिका रहेको नकार्न नसकिने तर यसलाई आलोचनात्मक रूपमा हेर्नुपर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीको मत छ ।
“अहिले सञ्चारमाध्यम भनेकै सामाजिक सञ्जाल हो । मानिसहरूले पत्रिका पढ्न छोडिसके, टेलिभिजन हेर्न छोडिसके । अहिलेको ग्लोबल भिलेजको युगमा समाचार तथा सूचनाको स्रोत नै सामाजिक सञ्जाल हो । यसले पर्यटनको प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका रहेको कुरालाई नकार्न सकिन्न तर यसको नकारात्मक भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन”, निर्देशक रेग्मी भन्छन्, “सामाजिक सञ्जाललाई व्यवस्थित र थप लाभदायक बनाउन नियमनको जरुरी छ ।”
गत माघ १ गते पोखरामा भएको यती एयर दुर्घटनाको विषयमा सामाजिक सञ्जालले व्यापक भ्रम र त्रास फैलाउने काम गरेको निर्देशक रेग्मीको भनाइ छ । सामाजिक सञ्जालले नकारात्मक प्रचार गरेको र जसको असर समग्र नेपाली पर्यटन क्षेत्रमा परेको उनको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सिर्जना र सङ्कलन गरेका सामाग्रीहरूलाई स्रोत मानेर समाचार सामाग्री प्रकाशन तथा प्रसारण गरेको र त्यसले पर्यटन बजारमा नकारात्मक प्रचार भएकाे उनको विश्लेषण छ । भ्रम फैलाउने सामाग्रीहरूलाई नियमन तथा प्रतिबन्ध गर्ने संयन्त्रको जरुरी रहेको उनको भनाई छ ।
सामाजिक सञ्जालले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएकोमा दुई मत नभएको तर यसलाई नियमन गर्न भने जरुरी रहेकोमा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष एवम् पर्यटन व्यवसायी प्रदीप पण्डित पनि सहमति जनाउँछन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले स्वतःस्फूर्त रूपमा सिर्जना, सङ्कलन तथा सार्वजनिक गरेका सामाग्रीहरूले पर्यटकीय गन्तव्य तथा गतिविधिहरूबारे प्रचारप्रसारमा सहयोग पुर्याए पनि कतिपय भ्रामक तथ्यहरू पनि फैलिने गरेको उनको अनुभव छ । यसका लागि नियमन गर्न जरुरी रहेको उनको ठम्याइ छ ।
त्यसैगरी सामाजिक सञ्जालमा विज्ञापन गर्दा ठुलो परिमाणमा खर्च भइरहेको र ती विदेशी मुद्रामा खर्च हुने भएकाले यसले नेपालमा वैदेशिक मुद्राको सञ्चितिमा असर पारिरहेको उपाध्यक्ष पण्डितको विश्लेषण छ । यसलाई पनि नियमन गरेर करको दायरामा ल्याउनुपर्ने उनको धारणा छ ।
तर, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालका अध्यक्ष एवम् पर्यटन व्यवसायी गोपाल थापा भने सामाजिक सञ्जाल पर्यटन क्षेत्रका लागि वरदान साबित भएको बताउँछन् । थापाका अनुसार पर्यटन प्रवर्द्धनमा सामाजिक सञ्जालको भूमिका अद्वितीय रहेको छ । सामाजिक सञ्जालमा गुमनाम रहेका पर्यटकीय क्षेत्रहरूलाई पर्यटकमाझ ल्याउन र चिनाउन अहम् भूमिका खेलेको र खेलिरहेको थापाको अनुभव छ । “अहिले सामाजिक सञ्जालकै कारण विभिन्न नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान भइरहेको छ । गुमनाम ठाउँहरू पर्यटकीय आकर्षणको केन्द्र बनिरहेका छन्”, थापा भन्छन्, “सामाजिक सञ्जालले नयाँ गन्तव्यलाई चिनाएका मात्रै छैनन्, सित्तैमा प्रचारप्रसार पनि गरिरहेका छन् ।”
सामाजिक सञ्जालमा विज्ञापन गर्दा तुलनात्मक रूपमा सस्तो पर्ने र सजिलै धेरै पर्यटकमाझ पुग्ने भएकाले पर्यटन व्यवसायी मात्रै नभएर सबै क्षेत्रका व्यवसायीहरू यसतर्फ आकर्षित भइरहेको थापाको अनुभव छ । सामाजिक सञ्जालमार्फत विज्ञापनले व्यवसायको प्रवर्द्धन, विकास र विस्तारमा राम्रै टेवा पुग्ने गरेको उनी बताउँछन् । पर्यटन व्यवसायीले विदेशी मुद्रा खर्च गरेर सामाजिक सञ्जालमा विज्ञापन गर्दा विदेशी पर्यटक आउने र विदेशी मुद्रा नै भित्रिने भएकाले यसलाई खर्चको रूपमा नभई लगानीको रूपमा बुझ्नुपर्ने थापाको तर्क छ ।
पर्यटन प्रवर्द्धनसँगै विपन्नको आडभरोसा पनि बनेको छ, सामाजिक सञ्जाल । विपन्न वर्गको स्वास्थ्योपचारका लागि आर्थिक सङ्कलनदेखि, भोकालाई खाना र नाङ्गालाई नानाको प्रबन्ध मिलाउनसमेत सामाजिक सञ्जालले भूमिका खेल्दै आएको छ ।
देशका ठुला-ठुला सामाजिक तथा राजनीतिक घटनाहरूलाई निर्देशित/प्रभावित पार्ने हैसियत सामाजिक सञ्जालले राख्न थालेको छ । मूलधारका सञ्चारमाध्यमको नजर नपुगेका थुप्रै विषयवस्तुहरू सामाजिक सञ्जालले नै उठाउन थालेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले सिर्जना गरेका र सङ्कलन गरेका सामाग्रीहरूलाई मूलधारका सञ्चारमाध्यमहरूले पछ्याइरहेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता ह्वात्तै बढेका छन् । मानव जीवनको आधारभूत आवश्यकता जस्तै बनेको छ, इन्टरनेट र सामाजिक सञ्जाल । पर्यटनको प्रवर्द्धनमा सामाजिक सञ्जालको भूमिकालाई आलोचनात्मक दृष्टिकाेणबाट हेर्न सकिन्छ । तर, तुलनात्मक रूपमा हेर्दा सकारात्मक पक्ष नै बढी देखिन्छ । यसलाई थप व्यवस्थित गर्न राज्य र सम्बन्धित निकायले पहलकदमी लिन सके अझै सुनमा सुगन्ध नै हुने छ ।