सोमबार , जेठ १४, २०८१

स्वस्थानी: वर्तमान समयमा

स्वस्थानी व्रतकथाको किताब हरेक घरमा हुनुपर्छ भन्ने लोकविश्वासको कारण समाजमा पठन संस्कृति र साक्षरतामा ठूलो क्रान्ति भएको छ ।

image

  • शीतल गिरी

माघ महिनाभरि काठमाडौंका अधिकांश पुस्तक पसलमा स्वस्थानी व्रतकथालाई बिक्रीको लागि राखेको देख्न पाइन्छ । नेपाली समाजको एउटा ठूलो हिस्सा स्वस्थानी कथाकै अँगालोमा बेरिएर आफ्नो जीवन बाँचीरहेको पाइन्छ अहिले पनि । स्वस्थानी कुनै चमत्कारी कथा नभए पनि सयौँ वर्षदेखि नेपाली मनमा टिकेको छ— यस यथार्थलाई नकार्न मिल्दैन ।

भारतको काशीमा सवा सय वर्षअघिदेखि छापिन थालेको प्रचलित स्वस्थानीमा पटकपटक प्रकाशनमा भाषा हेरफेर वा थपघट गरिएका संस्करणहरू बजारमा बेचिएको पाइन्छ । स्वस्थानी कथाको सबैभन्दा प्राचीन रूप कुन हो ? स्वस्थानी कथा कसले र कहिले लेख्यो ? यसबारे आधिकारिक धारणा प्राप्त हुन नसकेको हुँदा आज विश्वविद्यालयमा पढ्ने–पढाउने विद्यार्थी–शिक्षकदेखि पुस्तकका व्यापारीहरू सम्मले स्वस्थानी कथाको भाषा सम्पादन गर्दै बेचिरहेका छन् । नेपालमा नेवारी समाजमा मल्लकालदेखि नै स्वस्थानी कथा प्रचलित रहेका विभिन्न पुष्ट–अपुष्ट प्रमाणहरू रहेको भए पनि सवा सय वर्षअघि काशीमा छापाखानाको सुलभतासँगै प्रचलनमा रहेको कथा नै आजको स्वस्थानी कथाको मूल रूप भएको मान्न सकिन्छ ।

शालीनदिस्थित स्वास्थानी माताको मन्दिर

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक व्रत बस्ने र कथा श्रवण गर्ने स्वस्थानीको परम्परा हो । वर्तमान समयमा पठनसामग्रीको विविधता र सूचना प्रविधिको पहुँचले यसको महत्त्व घट्दै गएको प्रतीत हुन्छ । घर घरमा स्वस्थानीको किताब हुनुपर्ने र नभए पनि कथा सुन्नुपर्छ भन्ने लोकविश्वासमा अझै कमी आएको पाइँदैन । स्वस्थानी कथाको विश्लेषण गर्दा यसले समाजमा पुर्‍याएको योगदान, समाजले प्राप्त गर्ने सन्देश र कथाले सुषूप्त रूपमा बताएको इतिहास सबैलाई समेट्नुपर्ने हुन्छ । स्कन्दपुराणको माहेश्वरखण्डको एकखण्ड केदारखण्डमा स्वस्थानीको कतिपय कथावस्तु त्यसमा रहेको पाइँदैन ।

हिन्दुपुराणहरूमा सबभन्दा ठूलो स्कन्दपुराणमा स्वस्थानी स्वरूपा देवीको उल्लेखसम्म छ, त्यसको व्यापक चर्चा भने गरेको पाइँदैन । प्रचलित कथामा पार्वतीले विष्णुको सल्लाहबमोजिम महादेव स्वामी पाएपछि पार्वतीले नै लोकहितका लागि यो कथाको प्रचारप्रसार गराएको प्रसङ्ग र स्वस्थानीको उपासना, व्रत र कथा श्रवणबाट उद्धार भएका केही पात्रहरूको चर्चा पाइन्छ । कथाको पुस्तान्तरण र स्थानान्तरण हुने क्रममा विभिन्न किंवदन्ती र विश्वासहरू थपघट हुँदै गएको अनुमान गर्न सकिन्छ । सिङ्गो स्वस्थानीको कथाको सार भन्नुपर्दा- सृष्टि वर्णन र महादेवका लोकहितका कार्य नै हो भनेर मान्नुपर्ने हुन्छ । महादेवको स्वरूप, लीला, अवतार तथा महादेवबाट देव एवं अन्य प्राणीहितका लागि भएका कामको वर्णन गरेर पारलौकिक सत्तामा महादेवको महत्त्व दर्शाउनु स्कन्द पुराणबाहेक अरू पुराणमा पनि पाइन्छ । विश्वका सबै समुदायमा किंवदन्ती, पौराणिक आख्यान, वंशावली वर्णन, जाति उत्पत्ति आदिका कथाहरू सुन्ने सुनाउने चलन पाइन्छ ।

समाजशास्त्रीय दृष्टिले विचार गर्दा पुराणहरूले वर्णन गर्ने देवता, दानव, दैत्य, मानव सबै नै विभिन्न वर्ग र हैसियतका मानव समुदाय नै हुन् । स्वस्थानीमा वर्णित महादेव द्वैध चरित्रका छन्- एकातिर सतीदेवीसँग महादेवको गहिरो प्रेमको प्रदर्शन गरिएको छ भने पछि पार्वतीलाई असाध्यै सताउने गरेको पाइन्छ । हिन्दू दर्शनमा भक्तिदर्शनको एउटा अव्यावहारिक पक्ष नै हो- यस दर्शनको विशेष महत्त्व भनेको नै सबै त्यागेर भगवानमा समर्पण हुनु पर्छ/बन्नु पर्छ भन्ने नै हो ।

शालीनदिस्थित स्वास्थानी माताको मन्दिर

स्वस्थानी व्रतकथाको किताब हरेक घरमा हुनुपर्छ भन्ने लोकविश्वासको कारण समाजमा पठन संस्कृति र साक्षरतामा ठूलो क्रान्ति भएको छ । कम्तीमा स्वस्थानी पढ्न सक्नु यानी देवनागरी लिपिमा लेखिएको कुरा पढ्न सक्नु नेपालको परिप्रेक्ष्यमा सकारात्मक उपलब्धि मान्न सकिन्छ । शिक्षाको व्यापकता नभएको नेपाली समाजमा पठन संस्कृतिलाई वृद्धि गर्न प्रत्येक वर्ष पढ्नु पर्ने हुँदा अनुपम तरिका सिद्ध भएको छ, स्वस्थानी कथा । स्वस्थानी कथा पाठ रोक्नु हुँदैन भन्ने धारणाले एउटै घरमा एकभन्दा बढी साक्षर बनेको पाइन्छ । नेपाली समाजमा एकताका ‘स्वस्थानी पढ्न सक्ने’ भनेर व्यक्तिको योग्यताकै रूपमा बताउने प्रचलन पनि थियो । नेपाली समाजमा सीमित र पुरुषकेन्द्रित पठन संस्कृतिलाई चिरेर महिला साक्षरतासम्म पुग्न स्वस्थानीको ठूलो योगदान छ ।

काठमाडौंमा पर्ने साँखु शाली नदीसँग जोडिएको प्राचीन सहर नै स्वस्थानीमा वर्णित लावण्य देश हो । नेपालमा पाँच सय वर्ष अघिदेखि नेवारी भाषामा लेखिएका स्वस्थानीका पुस्तक पाइए पनि नेपाली भाषामा भने सय सवासय वर्षदेखि प्रकाशित हुन थाल्यो । उपत्यकाको नेवारी समाजका घर घरमा स्वस्थानीका हस्तलिखित पुस्तक पाइन्छ साथै अभिलेखालयमा रहेको हेर्न सकिन्छ । वि.सं. १७३० सालमा काठमाडौंका तत्कालीन राजा प्रताप मल्लले मखन टोलमा शिवसहितको स्वस्थानीको मूर्ति बनाएर स्थापना गरेको अहिले पनि देख्न पाइन्छ ।

स्वस्थानी नेपालको मौलिक कथा भएको हुँदा नै यो फैलिँदै गयो र व्यापकता भएकै हुनाले नयाँ पुस्तासम्म भिजेको हो ।

शालीनदिस्थित स्वास्थानी माताको मन्दिर

सम्बन्धित समाचार