मंगलबार , असार २, २०८३

स्वस्थानी व्रतकथा: ‘गोमयजु’ देखि ‘गोमा ब्राह्मणी’सम्मको यात्रा

सबैभन्दा पुरानो स्वस्थानीको कथा भने करिब ४५० वर्षअगाडि नेपाल सम्वत ६९३ (वि.सं. १६२९) मा हस्तलिखित संस्कृतमा नेवारी भाषामा मिसाएर लेखिएको राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ ।

image

-सुनिल उलक
हिजोबाट पौष शुक्ल पूर्णिमा ! हिजोबाट स्वस्थानी व्रत तथा कथापाठ प्रारम्भ भयो । तसर्थ, स्वस्थानी सम्बन्धी केही तथ्यहरू यहाँ राख्दैछु ।
मसँग दुईवटा विद्यावारिधी गरेका थेसिसका कापी छन् । एउटा लिण्डा लुइस ईलटिसको जसले यूनिभर्सिटी अफ विस्कन्सिन मेडिसिनबाट विद्यावारिधी गरेकी थिइन् । उनको विषय छ – “स्वस्थानी व्रत: नेपालमा नेवा: महिला र संस्कार” । उनको विद्यावारिधीको विषयमा स्वस्थानी व्रतलाई नै प्राथमिकता दिइएको छ । उनले सन् १९८५ मा विद्यावारिधी गरेको करिब २५ वर्षपछि जेस्सिका वान्थाइन बर्कन्होल्जले सिकागो यूनिभर्सिटीबाट स्वस्थानी व्रतकथाको विषयमा विद्यावारिधी गरिन् । उनको विषय छ – “स्वस्थानी व्रतकथा परम्परा: नेपालका हिन्दूहरूमा स्वयंको, स्थानको तथा पहिचानको परिवर्तन”
यसरी लामो अन्तरालमा दुई अमेरिकी महिलाले स्वस्थानी व्रत र स्वस्थानी व्रतकथामा विद्यावारिधी गरे तापनि कुनै नेपालीले भने यो विषयलाई प्राथमिकता दिएर शोध गर्न चाहेको भेटिँदैन । जेस्सिकाले भने यसैलाई पुस्तकका रूपमा पनि छपाइन्  । Reciting The Goddess नाम दिइएको उक्त पुस्तक बजारमा आएको पनि छ । यसरी दुई विदेशी महिलाले नेपालमा मात्र प्रचलित स्वस्थानी व्रतकथाको गहन अध्ययन गरे ।
सबैभन्दा पुरानो स्वस्थानी कथा

वि.सं. १८९३ – १९७९ बिच नेपाली-नेवारी-संस्कृतमा लेखिएको स्वस्थानी व्रतकथा

स्वस्थानी शब्दको अर्थ हो – स्व अर्थात् आफ्नो तथा स्थान अर्थात ठाँउ हो । तसर्थ, स्वस्थानी कथा भनेको आफ्नै ठाउँको वर्णित कथा हो । यसमा वर्णित देवी नेवा:हरूले पूज्ने अष्टमात्रिकाको रूप हो भने यसमा वर्णन गरिएको शहर लावण्य देश – साँखु हो । साथै, यही साँखुमा बस्ने एक महिला “गोमयजु” को जीवनका सुख-दुःख, आँसु-हाँसो तथा सम्पन्नता-विपन्नताबिच रुमल्लिएको कथा नै स्वस्थानीको कथा हो । सबैभन्दा पुरानो स्वस्थानीको कथा भने करिब ४५० वर्षअगाडि नेपाल सम्वत ६९३ (वि.सं. १६२९) मा हस्तलिखित संस्कृतमा नेवारी भाषामा मिसाएर लेखिएको राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ ।

वि.सं. १६२९ मा लेखिएको पहिलो स्वस्थानी व्रतकथा

साथै, सो समय यो व्रत केवल २ दिन १ रात अर्थात् केवल दुइ दिनको हुने देखिन्छ । तर, यसको केवल ३० वर्षपछि लेखिएको स्वस्थानी व्रतकथामा भने ३० दिनको हुने वर्णन गरिएको छ । वि.सं. १६५९ देखि मात्र स्वस्थानी व्रत ३० दिनको हुन थालेको भन्ने बुझ्न सकिन्छ । साथै, यो नेवारी भाषामा मात्र लेखिएको थियो । यसरी नेवा:हरूबिच स्वस्थानी व्रतकथा व्यापक हुन थालेपछि वि.सं. १७३० माघ शुक्ल पञ्चमीका दिन कान्तीपुरका राजा प्रताप मल्लले मखन तानाबहा:मा पहिलोपटक स्वस्थानीको मूर्ति स्थापना गराएका थिए ।

वि.सं. १९०४ मा नेवारी लिपीमा लेखिएको स्वस्थानी व्रतकथा

संस्कृत तथा प्रचलित नेवारी लिपीमा लेखिएको स्वस्थानी व्रतकथ

संस्कृत तथा प्रचलित नेवारी लिपीमा लेखिएको स्वस्थानी व्रतकथा

स्वस्थानी कथाको छपाइ, संस्करण र सम्पादन
यसरी हेर्दा मल्लकालमा शुरू भएको स्वस्थानीको व्रत कथा गाेरखालीले काठमाडौँ विजय गरेपछि वि.सं. १८६६ मा मात्र
नेपालीमा लेखिएको थियो । यसपछि अन्यले पनि यसलाई अंगिकार गरेको मान्न सकिन्छ । शुरूमा वनारसबाट छापिने नेपाली भाषाका स्वस्थानी व्रतकथाका पुस्तक धेरै पाइन्थ्यो । जसले गर्दा भाषागत रूपमा अशुद्ध धेरै भेटिन्थ्यो । अचेल भने नेपाली प्रकाशकका पाइन्छन् । जसले गर्दा केही कम नै अशुद्ध भेटिन्छ । साथै, कथामा धेरै नेपालीकरण र ब्राम्हणीकरण धेरै भेटिन्छ ।
शुरूका स्वस्थानी आठ पन्नाको ताडको पातमा लेखिएको थियो भने पछि यो विस्तृत भएर करिब ४०० पन्नाको मोटो किताब बनेको थियो । शुरूका करिब २०० वर्षसम्म केवल नेवारी भाषा मात्र प्रयोग भएको भेटिएको छ । साथै, यसको कथामा पनि समय समयमा फेरबदल भइरहेको पनि पाइन्छ । स्वस्थानीको मूलकथा १८ पुराणमध्येको पुराण स्कन्द पुराणमा रूमल्लिएको छ । यही स्कन्द पुराणमा रहेको केदार खण्डलाई नै केन्दविन्दु बनाएर यो कथा लेखिएको छ । पुराणका कथामा प्रमुख पात्र भने स्थानीय विभिन्न नाममा राखिएको छ ।
पुरानी गोमयजु नयाँमा गोमा ब्राह्मणी
यस कथाभित्र मुख्य पात्र गोमयजु नै हुन् । नेपाली अनुवाद गरिँदा ‘गोमा ब्राम्हणी’को रूपमा लेखिएको छ । दोश्रो गोमयजुको छोरा नवराज र तेश्रो नवराजकी श्रीमती चन्द्रावती । तीन पात्रसँगै तीन चरित्र रहेको छ । गोमयजु जस्तै दुःखमा पनि नआत्तिने शान्त , नवराज आमाको आज्ञाकारी सुपुत्र जसको असल चरित्रले गर्दा पछि राजा बन्छन् । र चन्द्रावती भने स्वार्थी स्वभावकी । केवल सुखभोग गर्न चाहने । लोभ, लालच र घमण्डले गर्दा निकै दुःख पाएकी ।
स्वस्थानी कथामा महिला
यस कथाको मुख्य विषयवस्तु नै महिला केन्द्रित रहेको छ । यसमा पनि मुख्य विवाहपछि पतिको घरलाई स्वीकार्नुपर्छ तथा नयाँ घरमा जस्तै विषम परिस्थिति रहे तापनि खुशीसँग रहनुपर्छ भन्ने देखाइएको छ । गोमयजुले विवाहपछि पुगेको पति शिवदत्तको घरको दयनीय अवस्था र चन्द्रावतीले विवाह पछि पुगेको पति नवराजको घरमा खासै धेरै फरक देखिँदैन । दुवै गरिब थिए । साथै, धनी घर र सुखसयलमा हुर्किएका गोमा र चन्द्रावती थिए ।
आखिर को हुन् त गोमयजु वा को हुन त नवराज भन्ने प्रश्न हामी स्वस्थानी पढ्ने हरेकमा खुलदुली हुने गर्दछ । के यी पात्र केवल काल्पनिक हुन वा कुनै राजनैतिक चरित्रलाई लिएर लेखिएका हुन् ? स्वस्थानी व्रत कथा के साँच्चै पौराणिक कथा हो त ? के यसको सम्बन्ध महाभारतसँग छ ? के यसमा हरेक अध्यायमा भनिएजस्तो कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्यमुनि अर्थात् कुमारले भन्ने र अगस्त्यमुनिले लेखेकै हो त ? यी सबै अनुत्तरित प्रश्नहरू छन् । सबैभन्दा महत्त्वपूर्ण यो केवल नेपालमा मात्र पढिन्छ । यसमा लेखिएका पिठहरू पौराणिक कथाहरूसँग मिल्दैन ।
यो कथामा महिलामाथि अन्याय भएको बढी देखिन्छ । तर, महिलाको सहनशीलता र उसको धैर्यले गर्दा जीवनमा सुख सुविधा सबै प्राप्त हुन्छ । यस कथामा दैवी शक्तिको कथावस्तु देखाएर महिलालाई धैर्य गरेमा अवश्य फल प्राप्त हुने देखाइएको छ । यसको कथावस्तुले भगवानका छलकपटहरू देखाएको छ । भगवानमाथि प्रश्न चिह्न उठाइएको छ । भगवान सम्पूर्ण रूपले पूर्ण होइन हामी मनुष्यझैँ स्वार्थी पनि हुने गर्छन् भन्ने देखाइएको छ ।
यसको व्रत बस्दा सोचेको पूरा हुन्छ भनिन्छ । तर, यसको दैवी शक्तिले होइन यसका कथावस्तुले महिलामा आत्मविश्वास वृद्धि भएर । कार्यमा लगनशीलता बढाउँछ, जसले गर्दा आफ्नो लक्ष्य प्राप्ति हुन्छ ।
स्वस्थानी कथा र शालिनदी
स्वस्थानी व्रतकथामा शालिनदीको वर्णन रहेको हुँदा शालिनदीमा व्रत बस्ने तथा नुहाउनेहरूको भिड लाग्ने गर्दछ । तर, पुराना स्वस्थानी कथामा भने कुनै पनि नदीको नाम उल्लेख गरिएको थिएन । करिब २०० वर्ष अगाडिबाट मात्र शालिनदीको उल्लेख गरिएको भेटिएको छ । तसर्थ, शालिनदीमा व्रत बस्ने चलन पनि बढीमा २०० वर्ष मात्र भएको अनुमान गरिएको छ ।
पुनश्चः
साथै, यही स्वस्थानी व्रत आरम्भ हुने समय पौष शुक्ल पूर्णिमाको दिनबाट दुई जात्रा दुई ठाउँमा लाग्ने गर्दछन् । चाँगुनारायणमा चाँगुनारायण जात्रा तथा साँखुमा माधवनारायण जात्रा । यो दुवै जात्रालाई धेरै पुरानो जात्रा मानिँदैन । माधवनारायणको भने एक महिना लामो कठिन व्रत पनि बस्ने गरिन्छ ।

सम्बन्धित समाचार